तेक्वान्दोको तागत



लड्ने–भिड्ने मेरो सानैदेखिको स्वभाव थियो । सानोतिनो कुरामा बिनासित्ती निहुँ खोज्ने बानी थियो । जोरी खोज्दै कोही आयो भने त मबाट बाँकी रहँदैन थियो । कि भाले किक पाउँथ्यो, कि जम्बो मुक्का ।

त्यो दादागिरी पल्टनभित्र चल्ने कुरै भएन । तर, रगतमा बगेको मेरो जुझारूपनले बेला–बेला सकसक गराउँथ्यो । त्यही सकसक मेट्न म निस्किएँ तेक्वान्दो सिक्न ।

हङकङमा त्यतिन्जेल तेक्वान्दोलाई ‘बदमासले खेल्ने खेल’ को नजरले हेरिन्थ्यो । कुट्ने–पिट्ने भएकाले त्यस्तो ठानिएको हुन सक्छ । हाम्रो पल्टनमा तेक्वान्दोको तालिम दिने व्यवस्था पनि थिएन । तर, पल्टनभित्रकै केही सिनियर गुरूहरुले इच्छुकलाई सिकाउँथे । अन्यथा बाहिरै जानुपर्थ्याे । एक प्रकारले लुकी–लुकी खेल्नुपर्थ्याे ।

गोर्खा सैनिकको तलब कमै थियो । त्यसमाथि गाडी भाडा, सिक्दा तिर्नुपर्ने शुल्क, पोषण तङ्खव खान लाग्ने खर्चसमेत जोड्दा पारिश्रमिकले पुग्न धौ–धौ हुन्थ्यो । तर, मनले अह्राएको काम गर्नैपर्ने मेरो स्वभावलाई यी कुनै समस्याले रोक्न सकेनन् ।

आर्मी क्याम्पबाहिर जान रोक्ने ममाथि समय र अनुशासनको पावन्दी पनि थियो । म ट्रान्सपोर्ट युनिटमा थिएँ । फरक रूचिको फिजकल ट्रेनिङ लिने चाहना पनि थियो । त्यसमाथि थपियो– तेक्वान्दो खेल ।

आर्मी भन्नेबित्तिकै पल्टनको बन्धके जिन्दगी हरेकको अनुहारमा नाच्छ । नियमले बाहिर निस्कन मिल्दैन थियो । तर, सम्भवतः तेक्वान्दोमा मभित्र कुनै यस्तो गुण थियो, जसलाई व्यक्त गर्दा तत्कालीन हाकिमसाबहरु प्रभावित भए । र, मलाई सिक्न जाने अनुमति दिए । सन् १९७९ को अन्त्यतिर म तेक्वान्दो सिक्न सैनिक क्याम्पबाट बाहिर निस्किएँ ।

हङकङमा त्यतिन्जेत तेक्वान्दोको खास पहिचान बन्न सकेकै थिएन । सिक्ने र खेल्ने क्रमसम्म सुरू भएको थियो । तर, यसले राष्ट्रिय प्रतिष्ठा आर्जन गर्न सकिन्छ भन्ने त्यहाँ परिसकेको थिएन । मेरो मनमा भने यसबाटै केही गरेर देखाउने चाहना गडेको थियो ।

त्यही रहर मेट्न सुरूमा नेपाली गुरूजी रमेश गोसाईंकहाँ सिक्न गएँ । त्यसपछि मार्सल आर्टसमा कहलिएका सिन जे क्वानकहाँ पुगें । उनीसँग सिक्दैछु भन्नुको रवाफ भिन्दै थियो ।

मनैदेखि गडेको खेल, सानैदेखिको सपनाको रोजाइ भएर हुन सक्छ, मैले तेक्वान्दोमा छिट्टै प्रगति गरें । गुरूजीहरु मैले चाँ–चाँडो सिकेको देख्दा प्रसन्न थिए । सुरू गरेको एक वर्ष चानचुनमै ब्ल्याकबेल्ट पाएँ भन्दा धेरैलाई पत्याउन हम्मे पर्थ्याे । तर, त्यही अपत्यारिलो सफलता हात पारें मैले ।

यस खेलमा मेरो झन् रस बस्दै गयो । सन् १९८२ मा हङकङको नेसनल च्याम्पियन भएँ । त्यसले मेरो उत्साह झन् बढायो । अझै केही गरौं भन्ने भावना जगाउँदै लग्यो ।

सुनेको थिएँ– तेक्वान्दोको मूल थलो कोरिया हो । त्यहाँ गएर सिक्न हुटहुटी छँदै थियो । भाग्यवश संयुक्त राष्ट्रसंघको गार्ड अफ अनरका लागि कोरिया जाने गोर्खा पल्टनमा अवसर आयो । त्यसलाई किन उपयोग नगर्ने !

‘कोरिया जान पाए त म तेक्वान्दोको पनि च्याम्पियन बनेर फर्किने थिएँ’, मैले बोसहरुलाई आग्रह गरें । अन्ततः जान पाएँ । सन् १९८२ डिसेम्बर १५ देखि १९८३ फेबु्रअरी २० सम्म दुई महिना पाँच दिन कोरिया बस्दा ड्युटीबाहेकको अधिकांश समय मैले यसैलाई दिएँ ।

अर्को भाग्यको कुरा, कोरियाबाट फर्किंदा हङकङको राष्ट्रिय खेलकुद अन्तिम तयारीमा थियो । त्यसमा तेक्वान्दोलाई समेत सामेल गरिएको थियो । मैले भाग लिएँ । र, लगातार दुई वर्ष जित्ने सौभाग्य बटुलें ।

हङकङका मिडियाले तेक्वान्दो खेल र त्यसमा मेरो प्रस्तुतिलाई गतिलै ठाउँ दिए । सरकार पनि यसबाट उत्साही हुँदै गयो । जब मैले हङकङ टपें, त्यहाँको राष्ट्रिय टिमलाई प्रतिनिधित्व गरेर सन् १९८३ मा डेनमार्कमा छैटौं वर्ल्ड तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर पाएँ । दुर्भाग्यवश कुनै पदक भने ल्याउन सकिनँ ।

सन् १९८४ मा बिदामा घर पोखरा आएको थिएँ । नेपालमा राष्ट्रिय खेलकुदको माहोल थियो । मैले गण्डकी अञ्चलबाट मार्सल आर्ट्समा भाग लिएँ । त्यति बेला मार्सल आर्ट्स नाममा कराते र तेक्वान्दोको मिश्रित खेल भएको थियो । त्यसमा म नेसनल च्याम्पियन भएँ ।

नेपालबाट फर्किएर पछि हङकङमा मैले क्वाक जे योङसँग पनि प्रशिक्षण लिएँ । क्रमशः आफूलाई निखार्दै र तिखार्दै लगें । क्वाक त्यतिबेला हङकङका चिफ कोच थिए । म भने हङकङ टिममा खेल्थें ।

ब्ल्याकबेल्ट ‘आतंक’

एकैचोटि धेरैवटा नाउमा खुट्टा हाल्ने अनौठो अहंकारी ठान्छु म आफूलाई कहिलेकाहीं । न कसैको सुझाव सुन्ने, न आफ्नो अठोट बदल्ने । यो गर्छु भनेर सोचेपछि भेडो तालले लागेको लाग्यै गर्ने ।

मार्सल आर्टस सिक्दै छु वा जानेको छु भन्ने फुर्तीफार्ती नेपाली समुदायका दाजुभाइसामु निकै देखाइयो । कुटपिटैचाहिँ गरिएन । तर, धेरैजनासँग जोरी मज्जैले खोजियो । पल्टनमा हुँदा लाहुरेका छोरीहरुलाई ‘शक्तिशाली’ देखाउन मन पर्थ्याे । घर बिदामा आउँदा पोखरेली ठिटीहरुका सामु रवाफ देखाउन मज्जा लाग्थ्यो । त्यही कारण फुर्ती देखाउनुपर्ने स्वभाव थियो मेरो ।

अरुले सम्मान गरेको रहेछ भने पनि मचाहिँ अपमानजस्तो ठान्थें । झन् झोंक चल्थ्यो । कहिलेकाहीं, कसैकसैलाई त ठोकिदिउँजस्तो लाग्थ्यो ।

ब्रुस लीको पहेंलो ड्रेस लगाएर हिँड्थें प्रायः । मान्छे कोही तर्सिन्थे । कोही भने रमिता मानेर हेर्थे । मलाई केही पर्वाह थिएन त्यसको । ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ जस्तो लाग्थ्यो ।

पोखरामा बिदामा आउँदा स्थानीय युवालाई तेक्वान्दो सिकाउँथें । लाहुरे भनेर तिनीहरु पछि लाग्थे । तर, मसँग तिनीहरुका लागि खर्च गर्ने स्रोत भने हुँदैन थियो । जति कमाउँथें, तेक्वान्दोमै सक्थें ।

त्यसैले उनीहरुले नै चना–अन्डा खुवाउँथे । तर, रवाफचाहिँ मेरै ठूलो हुन्थ्यो ।

‘ब्ल्याकबेल्ट’ धारेको चुरीफुरीमा मैले गर्नु–नगर्नु धेरै गरें । धेरैले यसलाई आतंकै ठान्ने भइसकेका थिए । मसँग सन्किएर बोल्न त कसैले हिम्मतै गर्दैन थियो ।

नत्र भेटिहाल्थ्यो फ्रिकिक ।

महेन्द्रपुलमा जिमनास्टिक

सन् १९८१ मा पहिलो छुट्टीमा नेपाल आउँदा धेरै उटपट्याङ गरियो । भर्खरको लाहुरे जोस थियो । त्यसमाथि तेक्वान्दोको ब्ल्याकबेल्ट लिइसकेको । फिजिकल ट्रेनिङका क्रममा जिमनास्टिकसमेत सिकेको ।

ब्रुस लीको पोसाक लगाएर हिँड्थें म । चौरतिर जिमनास्टिक देखाउँथें । उल्टो–सुल्टो अर्थात् फ्रन्ट–ब्याक दुवै । धेरैलाई लाग्थ्यो होला– यसले के गरिरहेछ ?

मलाई त्यसको केही मतलब थिएन । सुर आफ्नै थियो । ताल आफ्नै । विगतमा फर्किंदा आफैंलाई असहज लाग्नेचाहिँ यो छ कि– म महेन्द्रपुलको बीचमै जिमनास्टिक हानिदिन्थें । गुडिरहेका गाडी रोकिन्थे । मेरो जिमनास्टिक सबैले रमिता मानेर हेर्थे । जति धेरै मान्छेले हर्याे, उति जोस बढेर आउँथ्यो । उति हौसिँदै थप हान्थें ।

कपाल लामो पालेको थिएँ । जिमनास्टिकमा फ्रन्ट समर शट र ब्याक फ्लिक अर्थात् ब्याक समी पनि भनिन्छ । त्यो अलि रमिता हेर्नेलाई पनि कलात्मक हुन्छ । म दुवै हानिदिन्थें । केटी दर्शक भए भने त झन् धेरै बेर र गहन जिमनास्टिक जान्थ्यो ।

नसामा तेक्वान्दो, पेसामा तेक्वान्दो

मेरो नसा–नसामा तेक्वान्दो बग्न थालेको थियो । सन् १९८३ मा कोरियाबाट फर्किएपछि यही पेसामा मैले फरक भविष्य देख्न थालिसकेको थिएँ । सेककङ क्याम्पबाट तेक्वान्दो सिक्न भने हङकङ आइपुग्नु पर्थ्याे । आउन बसमा करिब दुई घण्टा, जान दुई घण्टा, सिक्न दुई घण्टा । शनिबार र आइतबार बिदाका ६ घण्टा यसमा उपयोग गरिन्थ्यो ।

प्रायः तालिम बेलुकी ८ बजेतिर हुन्थ्यो । करिब १० बजे सकिन्थ्यो । त्यतिबेला सार्वजनिक सवारीसाधनको उपलब्धता अहिलेको जति सहज थिएन । अहिलेजस्तो छिटो दौडने बस पनि थिएनन् । कहिलेकाहीं क्याम्प पुग्दा रातको १२–१ नै बज्थ्यो । लामो यात्रा, कडा तालिम, समयको दबाब आदि झेल्न सहज थिएन । थकित भएर पुगिन्थ्यो ।

पल्टनको नियमबमोजिम बाहिर निस्कनेले राति ११ बजेभित्र ओछ्यानमा पुगिसकेको हुनुपर्थ्याे । नत्र गुरूजीले सजाय दिन्थे । तेक्वान्दोको रहरका कारण मैले त्यस्ता सजाय धेरै भोगेको छु । कतिपल्ट अतिरिक्ति ड्युटीमा परेको छु । कतिपल्ट निश्चित दिनका लागि बाहिर निस्कन नपाउने गरी प्रतिबन्ध खेपेको छु । शनिबार–आइतबार बाहिर निस्कन बन्देज लागेका सजाय पनि तोकिए । तर, म अटेर गरेर लुकी–लुकी निस्कन्थें । तेक्वान्दोप्रतिको अमीट चाहना पूरा गरेरै छाड्थें ।

मैले हङकङको राष्ट्रिय टिममा जब जितें, बिस्तारै पल्टनमा मेरो र मभित्रको तेक्वान्दो क्षमताको पहिचान बढ्दै गयो । समय क्रमसँगै आर्मीको गाडीमा जान–आउन पाउन थालें ।

म हङकङ च्याम्पियन भएपछि त्यहाँका प्रतिष्ठित मिडियाले ‘गोर्खा लिड्स एचके च्यालेन्ज’ जस्ता शीर्षकमा समाचार छापे । बिस्तारै तेक्वान्दोमा चासो दिने सैनिक हाकिमहरु बढ्दै गए । तेक्वान्दो खेल्नेको संख्या बढ्दै गयो ।

खेल्न गएँ, रूँदै फर्किएँ

लाहुरे जिन्दगी एउटै डोरोबाट हिँड्ने कुरै भएन । त्यसको परिकल्पना पनि व्यर्थ हुन्छ । कहिले कुन जिम्मेवारीमा कहाँ पुग्नुपर्ने, कहिले कुन भूमिकामा कता दौडिनुपर्ने ।

यूकेमा पीटीआई कोर्स गरेर जब म हङकङ फर्किएँ, सन् १९८६ मा एउटा सुनौलो अवसर पाएँ । हङकङ तेक्वान्दो एसोसिएसनले एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न मलाई छनोट गर्यो । त्यसमा भाग लिन म कोरियाको सोल गएँ ।

आर्मीको खेलाडी भएकाले मलाई सोलमा आर्मी क्याम्पभित्रै राखिएको थियो । अर्को दिन म आयोजक समितिमा नाम दर्ता (रजिस्ट्रेसन) गराउन पुगें । सबै कागजात केलाइसकेपछि त्यहाँका कर्मचारीले सोधे, ‘तपाईं कुन देशको नागरिक हो ?’

‘नेपाल’, मैले गर्वसाथ भनें ।

‘कहाँबाट प्रतिनिधित्व गरेर खेल्न आउनुभएको हो ?’ अर्को प्रश्न गरे ।

‘हङकङ’, ढाँट्ने कुरै भएन ।

‘आई एम सरी’, उनले भने, ‘तपाईंले खेल्न मिल्दैन ।’

दुर्भाग्यवश मैले त्यो खेल खेल्न पाइनँ । हङकङको राष्ट्रिय खेलकुदमा खेलेकै थिएँ, दुई पटक नेसनल च्याम्पियन बनेकै थिएँ । अन्तर्राष्ट्रिय प्रतियोगितामा भने ओलम्पिक कमिटीले निकै चासो लिँदो रहेछ । त्यहाँ राष्ट्रियताको अर्थ लाग्दो रहेछ ।

त्यतिबेलाको हङकङ ब्रिटिस कोलोनी थियो । म ब्रिटिस लाहुरे । त्यही आधारमा मिल्ने ठानेको थिएँ मैले । छनोटकर्ता पनि त्यसमै ढुक्क थिए । हङकङ तेक्वान्दो एसोसिएसनले त्यही विश्वाससाथ मलाई पठाएको थियो । म नेपाली राहदानीवाहक भएकाले हङकङबाट खेल्न पाउँदिनँ भन्ने कसैको सोचाइसम्म गएको थिएन ।

जब उसले ‘सरी’ भन्यो, ढुंगाजस्ता मेरा आँखा एकाएक रसाए । परेलीका डिलबाट दुई थोपा नेपाली आँसु कोरियाली माटोमा टुप्लुक्क खसे । बिलाए । तर, मेरो मनमा यति गहिरो घाउ लाग्यो, त्यो हतपती पुरिएन । खाटा बसेन । अहिले सम्झिँदा पनि चसक्क गर्छ ।

मसँग गएका विभिन्न खेलका खेलाडी उत्साहसाथ हङकङलाई जिताउन मिहिनेत गर्न थाले । म भने मुन्टो निहुराएर त्यही साँझ जहाजभित्र छिरें । सोलबाट हङकङसम्मको यात्रामा अरु केही सोच्न सकिनँ । मानसपटलमा त्यही दुर्भाग्य मडारिइरह्यो । मडारिइरह्यो । आकाशमा बादल मडारिएर हुने मेघ गर्जनझैं मेरो अन्तरमनमा धेरै खेप चट्याङ पर्याे । छाती चिरियो । मन भाँचियो ।

त्यसपालि हङकङले र मैले नै पदकको ठूलो आशा गरेका थियौं । संयोगवश त्यही पटक नेपालले कांस्य पदक जित्यो । नेपाल भर्खर तेक्वान्दोमा बामे सर्दै थियो । र, पनि पदकसम्म पुगेको थियो । मैले खेल्न पाएको भए सम्भवतः अर्को संयोग हुन सक्थ्यो– कतै नेपाली खेलाडीसँग अर्को देशको तर्फबाट मैले भिड्नुपर्ने हुन सक्थ्यो ।

सायद त्यो दिन अर्को अप्रिय बन्न सक्थ्यो मेरालागि । आफ्नो देशलाई हराएर पराइ भूमिका लागि पदक थाप्नु पो पथ्र्यो कि ? त्यस अर्थमा जुन अवसर गुम्न गयो, मन बुझाउने ठाउँ पनि रह्यो ।
आखिर नियम भनेको नियमै हो । बिस्मात मानेर गर्नु नै के थियो र ? विस्वाद लिएर पाउनु नै के थियो र ?

तर पनि मन न हो, मानिरहेको थिएन । आखिर म मेरै राजी–खुसी, लहड वा रहरले खेल्न गएको थिइनँ । हङकङ ओलम्पिक कमिटी र हङकङ तेक्वान्दो एसोसिएसनले छानेका थिए । नेपाल ओलम्पिक कमिटीले सहमति जनाएकै थियो । ती सबैले खेलाडीको राष्ट्रियता, त्यसका नियम र सम्भावित समस्याबारे ख्याल पुर्याएको भए यो बदनामी हुने थिएन ।

यस्तै–यस्तै सोचिरहें । यात्राभरि ।

मेरो परिवार हङकङमै थियो । छोराहरु सानै थिए । बुझ्ने बेला भएकै थिएन । तर, जिन्दगीमा पहिलोपल्ट म श्रीमतीसामु जान संकोच मानिरहेको थिएँ । मेरो स्वाभिमानको शिर झुकेको थियो । अनियन्त्रित ग्लानिबोध भइरहेको थियो ।

पदक ल्याउने ठूलो उत्साहको छाती फुलाउँदै उडेको म खेल्नै नपाई मुसोझैं लत्रिएर अवतरण भएको थिएँ । मनको कुनामा अनेक प्रश्न थिए । अनेक जवाफ ओहोर–दोहोर गर्थे । केही फटाइँ गरेर, ढाँटेर आयो कि भन्ने ठान्लान्, सबैभन्दा ठूलो डर थियो ।

त्यही भएर मैले ‘अस्वीकृत’ भएको पत्रै मागेर ल्याएको थिएँ । जसले पत्याउँदैन वा मुखै खोलेर अन्यथा भन्नेछ, उसलाई त्यही पत्रको झट्टी हान्ने रहर थियो ।

‘के यो तपाईंको गल्ती हो र ?’ पहिलो प्रस्टीकरणमै श्रीमतीले सम्झाइन्, ‘हङकङले छानेर पठायो, जानुभयो । मिल्दैन भनिदियो, आउनुभयो । वाहियात चिन्ता किन लिनुहुन्छ ?’

मैले उनीतिर पुलुक्क हेरें । उनको मनमा दुःखको भाव थिएन । यसलाई उनी सामान्य र स्वाभाविक रुपमा लिइरहेकी थिइन् ।

उनी वास्तवमा एक परिपक्व गृहणी थिइन् । सानैदेखि परिपक्व । उमेरले जेठो भए पनि ममा अझै बालापन थियो ।

‘मेरो बेइज्जत भयो’, गंगाका सामु म एक प्रकारले रोएँ, ‘मेरो अपमान भयो ।’

‘ढाँट, छल वा बेइमानी गरेको भए पो बेइज्जत हुन्छ’, उनले भनिन्, ‘नियम बदलिएछ, तपाईंलाई थाहा भएन । यसलाई सामान्य रुपमा लिनुहोस् ।’

‘तैपनि’, मैले चित्त बुझाउन कठिनाइ जनाइरहेकै थिएँ ।

‘छोड्नुहोस् तैपनि–सैपनि’, उनले भनिन्, ‘तपाईं नेपाली नागरिक हो । हङकङको ब्रिटिस लाहुरे हो’, उनले बिट मारिन्, ‘दुईमध्ये एउटा तथ्य फेरेको भए बरू अपराध हुन्थ्यो । किन चिन्ता लिनुहुन्छ ?’

उनका लागि चित्त बुझाउन सजिलै देखियो । मलाई त्यति सजिलो थिएन । दिन–रात बितेसँगै केही हप्तामा सामान्यीकरण हुँदै गएँ म ।

बसाइ हङकङ । अवसर त्यही हुने । त्यस काण्डले मलाई अन्य मौकाबाट पनि ओझेल पार्न थाल्यो । गंगाले जति सम्झाए–बुझाए पनि आफ्नो ‘मोरल’ घटेको अनुभूति भयो । उमेर चढ्दै गएकाले जुझारूपन कम हुँदै गयो । खेल्ने जाँगर मर्दै गयो ।

तर, गंगाले हौसला बढाउन रोकिनन् । त्यही भएर मैले हिम्मत हारिनँ । तेक्वान्दोप्रतिको लगाव त्यागिनँ ।

तुलसीकुमार गुरुङ, लेखक

(तुलसीकुमार गुरुङद्वारा लिखित ‘तुलसी’ पुस्तकबाट लिइएको आत्मकथाको अंश, पुस्तक जेठ १४ गते (आज) काठमाडौंमा लोकार्पण हुँदैछ ।)

यो पनि…
समाज र शिक्षामा लगाव

प्रेरक अनि उत्प्रेरक




Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

आसन्न मंसिर ४ को चुनावलाई लक्षित गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । बुधाबार ‘हाइहाइ

यति बेला देश निर्वाचनमय बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब ९ दिन मात्रै बाँकी छ । निर्वाचन

लोक गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीको सम्बन्ध विच्छेद भएको छ । उनीहरूले बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर

समाजसेवी अमृत दोर्जे (कान्छा लामा) द्वारा लिखित आत्मकथा ‘पर्खाइ’ को विमोचन गरिएको छ । सोमबार बुढानीलकण्ठस्थित हातीगौँडामा भएको कार्यक्रममा नेकपा

Suggested