मात्तिएको त्यो लाहुरे



हामी पोखराको अमरसिंह हाईस्कुलबाट छुट्टीपछि घर जाँदै थियौं । गफ गर्दै, केटी–केटीको समूह । आधा बाटो जतिमा खत्रीपसल भन्ने ठाउँ आउँछ । त्यहाँ केटीको बीचबाट एउटा साइकल फुत्त छिर्याे ।

साइकल चलाउने व्यक्तिले दुईतिरबाट कुइनाले दुईजनालाई ठेल्यो । एउटा कुइनाले मलाई लाग्यो । अर्काले अर्को साथीलाई । हामी दुवैजना ढल्यौं । पारा हेर्दा जानी–जानी धक्का लगाएको प्रस्टै थियो ।

‘कुनचाहिँ मोरो रैछ’, उठ्दै हामीले सराप्यौं, ‘आँखै नदेख्ने मुर्दार ।’

साइकलवाला टाप कस्यो । पछाडिबाट अनुहार चिनिएन । तर, हाम्रो संस्मरणमा हुलिया भने ताजै थियो ।

हामीसँग एकजना दिदी हुनुहुन्थ्यो शान्ता गुरूङ । उहाँले चियो–चासो राखेर सोधीखोजी नै गर्नुभएछ ।

‘त्यो हिजोको मान्छे त मेरो भाइको साथी रहेछ । हङकङमा लाहुरे छ रे । तेक्वान्दो सिकेको’, भोलिपल्ट त्यही ‘बदमास’ व्यक्तिको कुरा उठ्नासाथ शान्ता दिदीले सुनाउनुभयो ।

‘कस्तो मात्तिएको लाहुरे’, मेरो मुखबाट फुत्कियो ।

पोखरा लाहुरेको सहर । त्यस बेला अमरसिंह हाईस्कुल बिदामा आउने लाहुरेको युवती छान्ने ढुक्ने थलो थियो । अनेक बहानामा स्कुलको गेटबाहिर खासगरी अविवाहित लाहुरेको चहलपहल हुन्थ्यो । कति लाहुरे भनेर चिनिने शैलीमा हुन्थे । कतिपय नचिनिने ढाँचाले प्रस्तुत हुन्थे । तर, उनीहरुको ध्येय एउटै हुन्थ्यो– राम्रा–राम्रा गुरूङसेनी ठिटीलाई साइड हान्ने । भरसक त्यहींबाट छानेर बिहेसम्म गर्ने ।

कोही अप्रत्यक्ष हेरेर जान्थे । कोही हर्कत देखाइहाल्थे । जो हर्कत देखाउँथे, ती खासमा युवतीलाई ‘टाइम पास’ को साधन ठान्थे । त्यही सोच राखेर आएका हुन्थे ।

तेक्वान्दो सिकेको हङकङको त्यो लाहुरे, जसले साइकलबाट धकेलेर हामीलाई लडाएको थियो, उसलाई हामी केटीको ‘ग्याङ’ ले ‘बदमास’ र ‘घमण्डी’ ठहर्यायो । ‘हिरो पल्टिने’ उसको स्वभावको सबैले टीकाटिप्पणी गरे ।

‘कस्तो सन्काहा’, कोही भन्थे ।

‘कहीं नभको, मात्तिएको’, कसैले गाली गर्थे ।

कोही त धारे हात पारेर सराप्थे ।

हुन त त्यस्तैलाई मन पराउने युवती पनि हुन्थे । अझै हुन्छन् । त्यो स्वभाव मन पराएर कतिपय भने भित्रभित्रै उसको आकांक्षाले जल्न थालेको हामीले थाहा पायौं । किनभने, अधिकांश किशोरी लाहुरे नै सबथोक हो भन्ने ठान्थे । ‘पराक्रमी’ र ‘निडर’ केटो पो खासमा लायकको हो भन्ने योग्यता तोक्थे ।

मलाई भने उसको व्यहोरा फिटिक्कै मन परेन । म त्यस्तालाई मान्दिन पनि थिएँ । गन्दिन पनि थिएँ ।

कसैले हेप्न नसक्ने, कोहीसँग नडग्ने मेरो जन्मजात स्वभाव थियो । मलाई जिस्क्याउन सितिमिति कसैले हिम्मत गर्दैन थियो । त्यस्तै परे म कठालो समाउनै पुग्थें । होच्याउने वा हेप्नेलाई मुखले थर्काउन त म पछि पर्दै पर्दिन थिएँ ।

पोखरामा एकजना दाइ हुनुहुन्थ्यो, तीर्थ श्रेष्ठ । त्यो लाहुरे र ती दाइ साथी–साथी रहेछन् । उहाँलाई मेरो विशेषता राम्ररी थाहा थियो ।

‘सक्छस् भने त्यो केटीलाई जिस्क्याएर देखा’, वास्तवमा तीर्थ दाइले मलाई इङ्गित गरेर त्यो लाहुरेलाई एक दिन भन्नुभएको रहेछ । त्यो लाहुरे त्यस्तै कामलाई ‘पौरख’ ठान्ने । उट्पट्याङ गर्न उत्तिकै पोख्त ।

एक दिनको कुरो हो । एकजना बज्यै (हजुरआमा) पर्ने बिरामी हुनुहुन्थ्यो । नजिकको एक फुपू र म उहाँलाई भेट्न अस्पताल जाँदै थियौं । अमरसिंह हाईस्कुलकै बाटो ।

‘ड्याङ्ग’, अचानक हाम्रोसामु भलिबल खस्यो ।

केटाहरुको समूह स्कुलको चौरमा भलिबल खेल्दै रहेछन् । त्यसमध्ये एक रहेछ– त्यही लाहुरे ।

उसले हामीतिर बहादुरीको अनुहार फर्कायो ।

‘त्यो अस्ति साइकलबाट ठेलेर लडाउने बज्या त्यही हो’, फुपूले भन्नुभयो, ‘जाउँ छिटो ।’

उसले जानेरै बल फ्याँकेको रहेछ । उसको हेराइले त्यो बतायो ।

फुपूले थप्नुभयो, ‘यस्ता बदमाससँग गलफती गर्नु हुँदैन ।

हामी वास्ता नगरी हिँड्न लागेको देखेर उसको उल्टै मनोबल बढेछ । सिठी बजाउन थाल्यो । के–के भनेर जिस्क्याउन थाल्यो ।

‘बदमास मुर्दार’, ऊतिर फर्किएर मैले थर्काएँ, ‘तेरो घरमा दिदी–बहिनी छैनन् ?’

मेरो गालीले ऊ झन् आक्रोशित भयो । स्कुल कम्पाउन्ड फलामे बारले घेरिएको थियो । ऊ त त्यसलाई नाघेर सडकतिर हामफाल्यो, जहाँ हामी थियौं ।

ऊ आक्रमण गर्ने शैलीमा हानिएर आएको देखेपछि हामीले हतार–हतार नजिकैको ट्याक्सी रोक्यौं । हतार–हतार भित्र पस्यौं र टाप कस्यौं ।

आपत्मा ट्याक्सी त चढियो, अस्पताल पुगेर हेर्दा हामी दुवैसँग पैसा छैन रहेछ । ट्याक्सी ड्राइभरले पैसाका लागि हामीतिर हेर्यो ।

‘हामीले पैसा ल्याउन छुटाएछौं । बस्दै गर्नुहोस्’, हामीले भन्यौं, ‘भित्र हाम्रो बिरामी हुनुहुन्छ । उहाँसँग मागेर ल्याइहाल्छौं ।’

त्यतिन्जेल मान्छेमाथि अविश्वास गरिहाल्ने जमाना थिएन । हाम्रो कुरा बिचरा उसले पत्यायो । तर, हामीले बेइमानी नगरी सुखै थिएन । भित्र पैसा माग्न मन लाग्ने बिरामी वा कुरूवा थिएनन् ।
भित्रभित्रै अर्को बाटो भाग्यौं । सायद ट्याक्सीवालाले हामीलाई सराप्यो ।

….

अमरसिंह हाईस्कुलले रजतजयन्ती समारोहको टिकट बेचिरहेको थियो । त्यसमा हुने मनोरञ्जनात्मक कार्यक्रम सकेसम्म धेरै पोखरेलीलाई देखाउन सरहरु किन्न सक्ने मान्छे खोज्दै यताउता जानुहुन्थ्यो ।

टिकट धेरै बिकाउनुहुन्थ्यो । कतिपयलाई बलपूर्वकसमेत भिडाउनुहुन्थ्यो । किन्नेमा स्वाभाविक रुपमै लाहुरे बढ्ता परिहाल्थे । पूर्वलाहुरे को–को हुन्, बिदामा आएको को–को छन् जस्ता कुरा धुइँधुइँती खोज्नुभएको थियो सरहरुले ।

कार्यक्रमको दिन त्यो ‘मात्तिएको लाहुरे’ पनि दर्शकदीर्घामा रहेछ । लामो–लामो भद्रगोल छाडिएको जुल्फी । ब्रुस लीले लगाउनेजस्तो पहेंलो रङको माथिदेखि तलसम्मकै टाइट पोसाक । त्यसमाथि जिन्सका ब्याचैब्याच । सम्भवतः तेक्वान्दोमा हासिल गरेका हुनुपर्छ ती ब्याच ।

हेर्दै जोकरजस्तो लाग्ने ऊ चोर बिरालोले दूधको कराही खोजेजस्तै यताउता आँखा घुमाइरहेको थियो ।

मेरो भोजपुरी गानामा नाच थियो । ऊ हिन्दी फिल्मको हिरोझैं जुरूक्क उठेर मञ्च छेउमा आयो । म नाचिरहेकी थिएँ, ऊ फुरफुर पैसा फाल्न थाल्यो । अन्य दर्शकले मेरो नाच होइन, उसको चर्तिकला सायद बढी हेरे ।

पूरै नाचभरि ऊ खुद्रा पैसा छरेरै बस्यो । नाच सकियो । मैले दायाँ–बायाँ पल्याकपुलुक हेरेर केही रूपैयाँ टिपें । बाँकी कसले टिप्यो, थाहा भएन ।

तर, लाग्यो– ऊ हिन्दी फिल्मको हिरो होइन, ‘भिलेन’ पो रहेछ । भिलेनकै स्वभाव देखाएरै छाड्यो ।

भोलिपल्ट स्कुल खुल्यो । कार्यक्रमको समीक्षा भयो । त्यो लाहुरेको ‘भिलेन’ प्रस्तुतिबाट मेरा केटी साथीहरु भने आकर्षित पो भएछन् । उनीहरुको मुखबाट उसका तारिफमा शब्दहरु फुत्किन थाले ।

‘आहा, क्या ह्यान्डसम छ हौ त्यो लाहुेर त’, एउटीले भनी ।

‘धेरै फरवार्ड रहेछ’, अर्कीले थपी ।

‘त्यसको लाहुरेनी बन्लिस् नि मोरी’, अर्कीले अर्कैलाई जिस्क्याई ।

‘त्यो त मेरो मनमा बसिसक्यो, तैंले पाउन त उही हो’, अर्कीले नाक फुलाई ।

ती प्रशंसा मलाई भने किञ्चित मन परेन । मनले सधैं भन्थ्यो, ‘कस्तो मात्तिएको !’

….

एकजना आफन्तको मृत्यु भएको थियो । गुरूङ संस्कृतिअनुसार अघ्र्युंको दिन थियो । अर्घ्यु गुरूङ समुदायको मृत्यु संस्कार हो । काजकिरिया सकिने दिन पाहुना बोलाएर खुवाउने, नाच–गान गर्ने चलन हुन्छ ।

त्यही निम्ता मान्न हामी स्कुलबाट साथीहरुको समूह बनेर एक रात बस्ने गरी फेदीखोला गयौं । पोखराबाट करिब ३० किलोमिटर टाढा पर्छ फेदीखोला । त्यति टाढा बसमा जाने मौका हतपती जुर्दैन थियो ।

अचम्म ! भोलिपल्ट बिहान त्यो लाहुरे त त्यहाँ पनि पो प्रकट भयो । एक्लै होइन, जमातसहित हाम्रो पछि–पछि आइरहेको देखियो ।

खासमा ऊ छेलो हान्ने खेल जितेर आएको रहेछ । उसको टाउकामा पगरी बाँधिएको थियो । अनुहार र जिउभरि अबिर दलिएको थियो । साथीहरुमा हर्षोल्लास थियो ।

उसलाई जतिले भेट्थे, थप अबिर लगाइदिन्थे । यथाशक्य भेटी दिन्थे । मेरा साथीले त्यसै गरे ।

यस्तो सुखद अवस्थामा दुस्मनीको अर्थ रहन्न । मैले पनि अबिर लगाइदिएँ । र, केही नगद हातमा थमाइदिएँ ।

उसले मतिर पुलुक्क हर्याे । फरक छड्के नजरले ।

फेरि मेरो मनले भन्यो, ‘मात्तिएको लाहुरे ।’

नजिकै बस लागिरहेको थियो । हाम्रो समूह र लाहुरेको समूह छ्यासमिस ह्वारह्वार बसमा चढ्यो ।

कसरी मिलाएको हो वा के भएको हो । जे भयो, अचम्म भयो । त्यो मोरो लाहुरे मसँगैको सिटमा पो टस्स बस्यो ।

मलाई संकोच लाग्यो । रिस पनि उठ्यो । तैपनि असभ्यता देखाएर अर्कातिर सर्ने आँट गरिनँ ।

जब बस गुड्यो, ऊ मसँग बोल्न खोज्यो । मैले भने ‘बाल’ दिइनँ । उसका अबिरसहितका हात मेरो कुमतिर अप्रत्याशित बढे । र, झ्याप्प अँगालो मार्यो ।

जसलाई ‘मात्तिएको’ भनेर म फुटेका आँखाले हेर्न सक्दिनँ थिएँ, उसैले यस्तो हर्कत देखायो ।

मैले आकाशे रङको स्विटर लगाएकी थिएँ । बेलायतबाटै कसैले उपहारस्वरुप ल्याइदिएको । त्यसलाई म बडो जतनले र आत्मीयतापूर्वक लगाइरहेकी थिएँ । त्यही स्विटर उसको शरीरको रङैरङले लतपत भयो ।

त्यसभन्दा बढी उसको चर्तिकला मेरा लागि असह्य भयो । रिसको आवेग थामिनसक्नु उर्लियो । बस अघि बढ्यो । मैले प्रतिवाद गर्न भने सकिनँ ।

‘तँलाई त त्यो लाहुरेले अँगालै हाल्यो’, भोलिपल्ट स्कुलमा साथीहरुले गलल्ल हाँस्दै जिस्क्याए ।

‘मलाई अँगालो हालोस् ठानेकी थिएँ, तँ भाग्यमानी निस्किइस्’, कसैले आरिस गरे ।

‘ल है लाहुरेले पट्याउला’, कसैले भने ।

ऊ त्यति मरिहत्ते गरिरहेको थियो । मेरो मनमा भने किन–किन ऊप्रति झन् नकारात्मकता बढ्यो । ‘मात्तिएको’ भन्दा माथि कहिल्यै देख्नै सकिनँ ।

….

अर्को दिन । त्यो लाहुरे स्कुल छेउमा फेरि देखियो । साथीहरुले मलाई जिस्क्याउन थाले । मैले उनीहरुलाई उल्टै गाली गरें । र, त्यसबाट छलिन स्कुलबाट भागेर सिनेमा हेर्न जान प्रस्ताव राखें ।

साथीहरु तयार भए । त्यहाँ पनि अचम्म भयो । सिनेमा हलमा उही लाहुरे हाम्रैसामु टुप्लुक्क देखियो । कति पछ्याएको ! जहाँ गयो, त्यहाँ कसरी भेटिएको ?

मैले त्यहाँ छलिने प्रयास गरें । पैसा धेरै हुने साथीले माथि (बाल्कोनी) को टिकट काटे । हामी कम हुनेजतिले तलको ।

फिल्म हेरून्जेल मैले उसलाई देखिनँ । पछि पो थाहा भयो– माथि मेरै साथीहरु (केटी) सँग बसेर उसले फिल्म हेरेको रहेछ ।

हुन पनि मेरा साथीहरु उसप्रति फिदा थिए । म भने उसलाई हेर्नसम्म चाहन्न थिएँ । सायद उनीहरुले सँगै बस्न प्रस्ताव राखे । उसले स्विकार्याे । वा, संयोगवश सँगै परे ।

छुट्ने बेला उसले मतिर हर्यो । मैले रिसले आँखा तरें । त्यो आँखा तराइमा सम्भवतः उसले मीठो प्रेमको अनुभूत गर्याे ।

अनि त, दिनमै पटक–पटक सामुन्ने झुल्किन थाल्यो । पछ्याउन छाडेन । हैरान बनाउँदै मन जित्ने प्रेमको ‘सूत्र’ प्रयोग गर्याे । गरिरह्यो । कहिल्यै थाकेन । जति दुत्कार्दा पनि चित्त दुखाएन । पछि लागिरह्यो ।

र, फिल्मी शैलीको प्रेम–जालमा मलाई बाँधेरै छाड्यो ।

हो, त्यही मात्तिएको लाहुरे थियो– तुलसीकुमार गुरूङ

अर्थात्, मेरो पति । मेरो स्वर्ग । मेरो खुसी । मेरो प्राण । मेरो सर्वस्व ।

त्यता फर्किएर हेर्दा अहिले लाग्छ, ‘हँ, उहाँ पनि त्यस्तो मान्छे हुनुहुन्थ्यो र ?’

गंगा गुरुङ, श्रीमती

(तुलसीकुमार गुरुङद्वाारा लिखित ‘तुलसी’ पुस्तकमा लेखककी श्रीमती गंगा गुरुङले ब्यक्त गरेको भावनाको अंश, पुस्तक जेठ १४ गते काठमाडौंमा लोकार्पण हुँदैछ ।)

यो पनि…
समाज र शिक्षामा लगाव

प्रेरक अनि उत्प्रेरक
नटेर्ने, नझुक्ने, तेक्वान्दो नछोड्ने



...
अमेरिकाको झझल्को - Mero LifeStyle Mero LifeStyle

[…] यो पनि…मात्तिएको त्यो लाहुरे […]

...
तेक्वान्दोको तागत - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

तीन वर्ष अघि प्रशारण आएको नेपाली चलचित्र ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ बन्ने भएको छ । बिहिबार काठमाडौंमा आयोजित पत्रकार

बलिउडको सन् ५० देखि ६० को दशकका फिल्ममा प्रमुख डान्सरका रूपमा परिचित शीला वाजको निधन भएको छ । उनको ९०

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले करिब एक वर्षयता शतक प्रहार गर्न सकेका छैनन् । कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटको तीनै फर्म्याट

ऐतिहासिक सम्पदाको धनी पनौती नगरमा धार्मिक र साहसिक खेल–पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको छ । पर्यटनका रणनीतिक योजना तथा पूर्वाधार निर्माण

Suggested