English

कठोर गुरू, मिलनसार मित्र



ब्रिटिस गोर्खा पल्टनमा प्रायः गोरा नै फिजिकल ट्रेनिङ इन्स्ट्रक्टर हुन्थे । पश्चिमेली र एसियालीका सोच्ने/काम गर्ने तरिका नै फरक । हाम्रालागि उनीहरु सहज नहुने । सम्भवतः उनीहरुका लागि हामी सजिला नहुने । केही न केही अप्ठ्यारा र असमझदारी बढिरहन्थे ।

तुलसी गुरूङ फिजिकल ट्रेनिङ इन्स्ट्रक्टर बनेर आउँदा सायद गोर्खाली त्यति प्रसन्न भएनन्, म जति प्रफुल्लित थिएँ । ताइवानमा जन्मिएको म । हङकङ आइल्यान्डमा हुर्किएँ । र, सेककङको आर्मी क्याम्पमा काम गरिरहेको थिएँ । ब्रिटिसभन्दा एसियाली (नेपाली) गुरूजी पक्कै सजिला हुन्छन् भन्ने मेरो अपेक्षा थियो ।

म भर्खरै तालिमे चरणमा थिएँ । तुलसी गुरूजी निकै ‘सिरियस’ स्वभावको हुनुहुन्थ्यो । जब उहाँसँग घनीभूत तालिम लिन पाइयो, थाहा भयो– तुलसी त सोचेभन्दा कठोर तर निष्पक्ष र मित्रवत् पनि हुनुहुँदो रहेछ ।

उहाँकै भनाइमा, किन गुरूजी कठोर हुनुपर्छ भने सेनामा सानो गल्तीले ठूलो दुर्घटना निम्त्याउन सक्छ । हरेक गुरूजीले सैनिक तालिम सकेसम्म कठिन बनाउन चाहन्छन् । किनकि, यसले तालिमेलाई मजबुत बनाउँछ । जस्तै संकटमा पनि विचलित नहुन तयार पार्छ ।

सन् १९९७ मा पल्टनबाट छुटेको दुई दशकभन्दा बढी भइसक्दा पनि हामी बाक्लो सम्पर्कमै छौं । उतिबेलाको गुरूजी भए पनि अहिले उहाँसँग मेरो सम्बन्ध साथीजस्तो छ । यसमै उहाँले सहजता महसुस गर्नुहुन्छ । अरु गुरूजी यस्ता छैनन् ।

कतिपय सिपाही पनि गुरूजीको सम्पर्कमा भएजस्तो पाउँदिनँ म । आफैंआफ टाढिएका छन् । किनकि, अरु गुरूजी चेलालाई वास्तै गर्दैनन् । गुरू पल्टिनुमा आनन्द मान्छन् ।

कठिन शारीरिक अभ्यास (फिजिकल ट्रेनिङ) मेरो जीवनको ठूलो लक्ष्य थियो । भाग्यवश मैले यस्तो गुरूजी पाएँ, जसले सधैं कठोर–कठोर काममा अभ्यस्त गराउनुभयो ।

एउटा अविस्मरणीय उदाहरण सुनाउँछु । यसले सैनिक जीवनमा ‘अर्डर’ र अनुशासनको कति महङ्खव छ भन्नेसमेत झल्काउँछ । के थियो त्यो, जान्न चाहनुहुन्छ ? अवश्य रोचक पनि छ ।

उहाँले दिनभर जटिल अभ्यासहरु गराउनुहुन्थ्यो । मानौं ४ बजे ट्रेनिङ सकियो । हामी हर्षको सास फेर्थ्याैं । दुई घण्टा ओछ्यानमा पल्टिएर खाना खाने आशा गथ्र्यौं । कतिपय दिन त्यो मौका मिल्थ्यो । तर, अधिकांशतः उहाँ भन्नुहुन्थ्यो, ‘अहँ, आज यतिले पुगेन ।’

अनि आदेश दिनुहुन्थ्यो, ‘जाऊ, ऊ त्यो माथिको नेमलेस हिलसम्म दौडिएर छिचोलेर आऊ ।’

निर्धारित दूरी यति लामो हुन्थ्यो । तीव्र गतिमा दौडिन नसक्नेले समयमा पार लाउनै सक्दैन थियो । खानाको भान्सा ६ देखि ७ बजेसम्म मात्र खुल्थ्यो । जो लोसे तालले दौडिन्थ्यो, उसको खाना छुट्थ्यो । त्यसमा कुनै सम्झौता हुन्न थियो । उसले त्यो रात भोकै सुत्नुपथ्र्यो ।

उहाँ हाकाहाकी भन्नुहुन्थ्यो, ‘ढिलो गर्यौ भने भोकै परौला ।’

त्यस्ता भोकै हामी कति पर्याैं, कति ।

उहाँसँग हामी सबै डरले छुलछुल हुन्थ्यौं । साथसाथै, रिसले बमबम पनि । मुख खोल्न नसके पनि प्रायः असन्तुष्ट थियौं । तालिम सकिएपछिको निजी समयसमेत यो गुरूजी किन पेलाउँछ भनेर आपसमा कुरा गर्थ्याैं । कतिपयले त बोसलाई ‘कम्प्लेन गरौं’ समेत भन्थे ।

तर, जब मैले फिजिकल ट्रेनिङ इन्स्ट्रक्टरको तालिम लिन यूके जाने अवसर पाएँ, बल्ल उहाँको गाह्रो तालिमको औचित्य र आवश्यकता अनुभूत गरें । त्यहाँ यति कष्टदायक कठिन तालिम दिइँदो रहेछ, धन्न तुलसी गुरूले बानी पारेकाले धान्न सकियो । नत्र बीचमै छाडेर भाग्न बेर लगाइँदैन थियो ।

आर्मीमा फिजिकल ट्रेनिङको सिद्धान्त नै हुन्छ– तालिम गाह्रो लेऊ, युद्ध सरल लड । अर्थात्, जति तालिम अप्ठेरो, उति युद्ध सजिलो । जुन सैनिकसँग खास तालिम हुन्न, ऊ युद्धका लागि तयार छैन भन्ने ठानिन्छ ।

गल्ती गर्दा वा भनेजति गर्न नसक्दा उहाँले दिने दण्ड–सजायका प्रायः साथी आलोचक हुन्थे । सुरूमा म पनि थिएँ । उहाँलाई कमैले मन पराउँथें । तर, पछि गएर थाहा भयो– त्यो कठोरता हाम्रै हितमा रहेछ । सजाय त खासमा जीवनको पुरस्कार पो रहेछ ।

व्यवसायभित्र व्यावसायिकतामा सम्झौता गर्नु हुन्न भन्नुहुन्थ्यो उहाँ । तर, बाहिरी जीवनमा व्यावसायिकता जोड्नु हुन्न भन्ने पनि उहाँ नै हो । त्यही कारण मेरो उहाँसँग अहिलेसम्म दौत्यपूर्ण सम्बन्ध रह्यो । गुरूजी र चेलाको मैत्रीपूर्ण घनिष्ठता बिरलै हुन्छ । जुन उहाँको स्वभावका कारण मात्र सम्भव भयो ।

पान्डा ली, तत्कालीन सैनिक प्रशिक्षार्थी

(तुलसीकुमार गुरुङद्घारा लिखित ‘तुलसी’ पुस्तकमा लेखकका तत्कालीन सैनिक प्रशिक्षार्थी पान्डा लीले ब्यक्त गरेको भावनाको अंश,पुस्तक जेठ १४ गते काठमाडौंमा लोकार्पण हुँदैछ ।)

यो पनि…
हीराकाजी श्रेष्ठको ‘संसारा’ बजारमा
काव्यिक उपासनामा ‘प्रियमौनता’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

Latest










Popular
Suggested