English

‘सुपर म्यान’ हाम्रो पापा



पापा तेक्वान्दोका लागि जन्मिनुभएको थियो, म अरु नै प्रयोजनका लागि जन्मिएको थिएँ ।

खुसीको कुरा, उहाँमा पृथक् अवधारणा थियो– तेक्वान्दो खेल्नुपर्छ तर पढाइलाई पनि गतिलो बनाउनुपर्छ भन्नुहुन्थ्यो सधैं । उहाँका दुइटै छनोटलाई समानान्तर लैजान चाहें मैले । तर, त्यसरी पार लागेन । अन्ततः तेक्वान्दोमा कम, शिक्षामा बढी मिहिनेत हुँदै गयो ।

अहिले आएर तेक्वान्दोमा उहाँको चाहना पूरा गर्न नसके पनि शिक्षामा ठीकै गरेकै छु भन्ने लाग्छ मलाई ।

तेक्वान्दो मात्र होइन, पौडी पनि उहाँले सानैमा सिकाउनुभयो । म र भाइ दुवैलाई । रक क्लाइम्बिङ, विन्ड सर्फिङजस्ता साहसिक खेलको अनुभूतिसमेत बेलैमा लिन पाइयो । साहसी र सुरो बन्नुपर्छ भनेर प्रेरित गर्नुहुन्थ्यो उहाँ ।

उहाँको स्वभाव ‘स्टेट फरवार्ड’ छ । त्यही भएर हामी सानामा पापा भनेपछि थर्कमान हुन्थ्यौं । कुनै क्षण घरमा मस्तले खेलिरहेका हुन्थ्यौं, पापा आउनुभयो भन्ने सुन्दै ढुकढुकी बढ्थ्यो ।

जब हामी बुझ्ने हुँदै गयौं । माया र सम्मानको आयाम बुझ्न सक्ने भयौं । अनि पो उहाँ त कडा तर मायालु हुनुहुँदो रहेछ भन्ने छर्लङ्ग भयो । उहाँको व्यक्तित्व, सफलता एवं सेवाका कुराहरुले अझ चिनाउँदै लग्यो ।

म मावलमै बसें । त्यहीं हुर्किएँ । पोखराको सत्यदीप इङ्लिस मिडियम बोर्डिङ स्कुलमा पढ्न थालें । त्यहीं कक्षा ४ सम्म पढें । सन् १९९३ मा हङकङ लगिएँ । सेककङ भिलेज प्राइमरी स्कुल र सेन्ट जर्ज स्कुलमा गरी ३ वर्ष हङकङमा पढ्ने मौका पाएँ ।

सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गरिएपछि ब्रिटिसको सेन्ट जर्ज स्कुल बन्द भयो । ब्रिटिस सैनिकका बालबच्चालाई लक्ष्य गरेर खोलिएको थियो त्यो ।

लगत्तै पापा–आमाजीले मलाई पढ्न बेलायत नै पठाउनुभयो । त्यहाँ ड्युक अफ योर्क्स रोयल मिलिटरी स्कुलमा भर्ना भएँ । सन् २००० मा त्यहींबाट स्कुल तह सिध्याएँ । बेलायतमै उच्च शिक्षा लिएँ । पढाइ सकें, उतै बसें ।

पापा सधैं हङकङ बस्नुभयो । म अधिकांश बाहिर बाहिरै । त्यसैले जिन्दगीको यति यात्रा पार गर्दासम्म उहाँसँग बसेका सबै पल जोड्दा अधिकतम ५ वर्ष पुग्छ होला ।

हो, सँगै बस्नैपर्छ भन्ने छैन । उहाँका लगनशीलता, इमानदारी र सद्गुणी विशेषता हाम्रा ऊर्जा हुन् । हामी तिनैलाई अनुकरण, अनुसरण गर्ने प्रयासमा छौं ।

यो ध्रुवसत्य हो, सबै बाबु–आमाले छोरा–छोरीलाई औधी माया गर्छन् । तर, माया देखाउने प्रकृति भिन्दाभिन्दै हुँदो रहेछ । हाम्रो पापा अरुभन्दा भिन्न हुनुहुन्छ ।

अहिले उहाँ पापा मात्र होइन, श्रीमान् हो । साथी हो । ससुरा हो । बाजे हो । उहाँका फरक भूमिकाका फरक व्यक्तित्व सुस्त–सुस्त म पहिचान गर्दै गएको छु । वास्तवमा सबै भूमिकामा उहाँ अब्बल हुनुहुन्छ ।

विगतमै फर्किऔं । हरेक बालबच्चालाई आफ्ना बाबा–आमा सबैभन्दा ठूलो ‘हिरो’ अनि ‘रोल मोडल’ हुन् भन्ने लाग्छ । मलाई सानामा जब त्यस्तो परिकल्पना हुन्थ्यो, सोच्थें– मेरो पापा पक्कै ‘सुपर म्यान’ हुनुहुन्छ ।

किनकि, उहाँ लाहुरबाट पोखरा बिदामा आउँदा तेक्वान्दोका विभिन्न प्रस्तुति देखाउनुुहुन्थ्यो । त्यस क्रममा उहाँ १२ जना मान्छेलाई नाघेर किक हानी काठको भित्ता फोर्नुहुन्थ्यो । त्यस्तो देखेपछि साथीभाइसँग कुरा गर्दा ‘मेरो बाबाले तिम्रो बाबालाई पिटिदिनुहुन्छ’ भनेर धाक लगाउँथें म पनि ।

‘मेरो बाबा त सुपर म्यान हो’, फुर्ती छाँट्दै हिँड्थें ।

पवन (बालकृष्ण) गुरूङ, जेठा छोरा

(तुलसीकुमार गुरुङद्घारा लिखित ‘तुलसी’ पुस्तकमा लेखकका जेठा छोरा पवन(बालकृष्ण) गुरुङले ब्यक्त गरेको भावनाको अंश, पुस्तक जेठ १४ गते काठमाडौंमा लोकार्पण हुँदैछ ।)

यो पनि…
समाज र शिक्षामा लगाव

प्रेरक अनि उत्प्रेरक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य