भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित



कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको छ । उनीहरुलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता छ । अस्पतालमा जनशक्तिको अभाव हुँदा भेन्टिलेटर चल्दैनन् भने अक्सिजनको जताततै हाहाकार छ । भेन्टिलेटर नचलेपछि उपचारका लागि भर्ना भएका बिरामीले भेन्टिलेटर हेरेर ज्यान गुमाउनु परिरहेको छ । पछिल्लो दुई दिनमा मात्रै टीकापुर अस्पतालमा १४ जनाले ज्यान गुमाएका हुन् । अस्पतालमा दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएपछि २२ जनाले ज्यान गुमाइसकेका छन् ।

टीकापुर नगरपालिका–१ का ४५ वर्षीय एक पुरुष चार दिनदेखि अस्पतालमा भर्ना भएका थिए । उनमा सुधार नभएपछि आफन्तले भेन्टिलेटरको खोजि गरेर कोहलपुर लैजाने निणर्य गरे । भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने उनलाई उच्च उपचारकक्षबाट एम्बुलेन्समा राख्दै गर्दा आइतवार उनको ज्यान गयो । ‘भेन्टिलेटर हुँदासमेत हामीले उपचार पाएनौँ । उपकरण भएर पनि त्यसको प्रयोग नहुँदासम्म कुनै काम नहुँदोरहेछ । आफन्तलाई अकालमै गुमायौँ’, उनका एक आफन्तले भने, ‘उपचारकक्षमा राखिएका तिनै भेन्टिलेटर हेरेर बिरामीले ज्यान गुमाइरहेका छन् । भेन्टिलेटर उपलब्ध गराउने सरकारले जनशक्ति दिन किन कन्जुस्याइँ गरेको होला ?’

अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा रेमकुमार राईले अस्पतालमा उपलब्ध जनशक्ति, स्रोत साधनको प्रयोग गरेर उपचार गरिरहेको बताएका छन् ।

कोरोना सङ्क्रमितलाई उपचार गर्ने भन्दै टीकापुर अस्पतालमा स्थापना भएको भेन्टिलेटरसहितको आइसीयू जनशक्तिको अभावमा प्रयोगविहीन भएपछि बिरामी ज्यान गुमाउन बाध्य छन् । एनेस्थेसिया र फिजिसियनको अभावमा सातवटा भेन्टिलेटरसहितको आइसीयू प्रयोगविहीन जस्तै बनेको छ । अस्पतालले लामो समयदेखि एनेस्थेसिया र फिजिसियनको माग गर्दै आएको भए पनि व्यवस्था हुन नसक्दा आइसीयू र भेन्टिलेटरमा भर्ना गरेर उपचार गर्नुपर्ने कोरोना सङ्क्रमित उपचार नपाएर ज्यान गुमाइरहेका छन् ।

अस्पतालले हाल २० शैय्याको एचडीयू (उच्च उपचारकक्ष) स्थापना गरेर कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा रेमकुमार राईले अस्पतालमा उपलब्ध जनशक्ति, स्रोत साधनको प्रयोग गरेर उपचार गरिरहेको बताएका छन् । ‘आंशिकरूपमा भेन्टिलेटर हामीले चलाइरहेका छौँ, हामीले लिएको तालिमका आधारमा उपचार भइरहेको छ’, डा राईले भने, ‘एनेस्थेसियोलोजिष्ट भएको भए भेन्टिलेटर ट्युबको प्रयोग गरेर कृत्रिम श्वास दिएर उपचार गर्न सकिन्थ्यो । एनेस्थेसिया नहुँदा भेन्टिलेटर चलाउन सकिएको छैन । उपकरण भएर पनि जनशक्ति नहुँदा बिरामीलाई जोगाउन मुस्किल हुन थालेको छ ।’

सोमवार कार्यपालिकाको बैठकले अस्पतालका लागि गाउँपालिकाले खर्च व्यवस्थापन गर्ने गरी निर्णय भएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए ।

आइसीयू सञ्चालनमा आउन नसक्दा कोरोना सङ्क्रमितलाई थप उपचारका लागि धनगढी र नेपालगञ्ज पठाउनुपर्ने बाध्यता छ । ती ठाउँमा रहेका अस्पतालमा समेत कोरोना सङ्क्रमितले सहजरूपमा उपचार पाउन नसक्दा ज्यान गुमाउनुपर्ने अवस्था आएको हो । स्थानीयवासीले जनशक्तिको व्यवस्थापन गरेर भए पनि तत्काल आइसीयू सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन् । अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जनशक्तिको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेको भन्दै आइसीयू सञ्चालनका लागि स्थानीय तहसँग निरन्तर समन्वय गर्दा पनि सफल हुन नसकेको बताए । ‘गत वर्षदेखि नै एनेस्थेसिया माग्दै आएका छौँ, आफू पनि खोजिरहेका छौँ तर पाउन सकेका छैनौँ’, अध्यक्ष रावलले भने, ‘सङ्घीय मन्त्रालयका मन्त्री, प्रदेश सरकारका मन्त्रीदेखि सबैलाई भन्दाभन्दै थाकिसक्यौँ, स्थानीय सरकारले पनि सुनुवाइ गरेको छैन । अहिले त फोन पनि उठ्दैन ।’ अध्यक्ष रावलले अस्पतालमा भएका पूर्वाधारको प्रयोग गर्ने जनशक्ति नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनु परिरहेको गुनासो गरे ।

कैलालीको पूर्वी क्षेत्रका टीकापुर, लम्कीचुहा र भजनी नगरपालिकाका साथै जानकी, जोशीपुर, बर्दगोरिया, मोहन्याल गाउँपालिका र छिमेकी बर्दिया जिल्लाको पश्चिमी भेगका पालिकाका बासिन्दाले उपचार सेवा लिँदै आएको यस अस्पतालले विगत लामो समयदेखि नै जनशक्ति अभाव भोग्दै आएको छ । अस्पतालले स्थानीय सरकारसँग आइसीयू सञ्चालनका लागि सर्वदलीय छलफलसमेत गरेको थियो । छलफलमा जनप्रतिनिधि सकारात्मक देखिए पनि छलफलपश्चात भने जनप्रतिनिधिबाट कुनै प्रतिक्रिया नआएको अध्यक्ष रावल बताउँछन् ।

दश विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल पाँच जना मात्रै कार्यरत छन् । तीमध्ये तीन करारमा कार्यरत छन् ।

कोरोनाको सङ्क्रमणका कारण स्थिति नियन्त्रण बाहिर जान थालेपछि जानकी गाउँपालिकाले एनेस्थेसियालोजिस्टका लागि माग गरेको छ । सोमवार कार्यपालिकाको बैठकले अस्पतालका लागि गाउँपालिकाले खर्च व्यवस्थापन गर्ने गरी निर्णय भएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए । उनले पहिले पनि अस्पतालसँग समन्वय भए पनि अन्य पालिकासँग पनि समन्वय भइरहेका कारण निर्णय गर्न ढिलाइ भएको बताउँदै एनेस्थेसियाका लागि खर्च हुन आउने रकम गाउँपालिकाले खर्च गर्ने बताए ।

दश विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल पाँच जना मात्रै कार्यरत छन । तीमध्ये तीन करारमा कार्यरत छन् । अध्यक्ष रावलले सुदूरपश्चिम प्रदेश सरकारसँग तत्काल दुई मेडिकल अधिकृत र १५ स्टाफ नर्सको माग गरेको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले हाल सात जना मेडिकल अधिकृत खटाएको छ ।

यो पनि पढ्नुहोस्
मास्कको भारी : कोही लाउँदै नलाई, कोही चलाको चलाई
‘नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्न ढिलो भइसक्यो’
के कोरोना जैविक हतियार हो ?
गाउँका डाक्टर : पुछारे माइला
निषेधाज्ञामा घर बस्दा के खाने, के नखाने ?
होम आइसोलेसनमा बस्दा के गर्ने, के नगर्ने ?
कोरोना संक्रमितले कस्तो अवस्थामा अस्पताल जाने ?
निषेधाज्ञामा घरमै समय कसरी बिताउने ?
कोरोनासँग जोडिएका १० भ्रम र सत्य



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जब वर्षामास सुरु हुन्छ । तब, राजमार्गमा यात्रा गर्नेहरुको मन अतालिन्छ । अझै सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबाको फेदी छिचोल्न

कोरोनाको दोस्रो लहरको निषेधाज्ञा अहिले जारी छ । केही खुकुलो गरिएपनि पूर्ण रुपमा सबै कुरा सञ्चालनमा आउन सकेका छैनन् ।

आकर्षण केवल मेनिकेयर, पेडिक्योरहरू, मोइस्चराइजरहरू प्रयोग गर्ने, महँगो लुगा लगाउनु होइन । व्यक्तिगत सौन्दर्यता पनि आकर्षण हो । त्यहि व्यक्तिगत

काठमाडौं उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा बढाइएको छ । उपत्यकाका तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको