अमेरिकाको झझल्को



करिव डेढ दशकअघि आफ्नी श्रीमतीसहित अमेरिकाको भ्रमणमा जाँदा देखेका, भोगेका र सिकेका कुराहरूलाई अनुभवजन्य किसिमले रामविनयद्वारा ‘अमेरिकामा ९० दिन’ यात्रा संस्मरणमा अमेरिकाको तात्कालीन झझल्को उतारिएको छ । अध्ययन र रोजगारीका सिलसिलामा अमेरिकामा रहेका छोरा, बुहारी र नातिको मायामा झाँगिएर अभिभावकीय जिम्मेवारी पूरा गर्दै टुङ्गिएको यो यात्रामा रमाइला र वास्तविकता बोकेका संस्मरणहरू प्रस्तुत गरिएको छ ।

यात्राका क्रममा उनले भेटेका विभिन्न मानिसहरूको अनुभव लिने, परिवारिक मायाममता, दायित्वबोध बहन गर्ने, प्राप्त अनुभूतिहरूलाई विगत र भविष्यसँग जोड्दै लेखन यात्रामा एक भरपर्दो जिम्मेवार नागरिक र प्रतिवद्ध लेखक बन्न पुगेका छन् रामविनय ।

यात्राका क्रममा जोडिएको परिवारको सन्दर्भलाई सायद यो कृति प्रकाशन हुँदा रामविनयका बुबा र भाईहरूले सुखानुभूति महसुस गर्न पाएनन् । विगत दुई वर्षसम्म कोरोनाको कहरमा विश्व जगत नै जकडिन बाध्य भयो । अझै यसको असर परिरहेको छ । यही समयमा कोरोनाका कारण नियात्राकारका बुबा र दुई भाई परिवारबाट दुःखद् किसिमले गुम्न पुगे ।

उनी पनि कोरोनासँग लड्दै अन्त्यमा हामीसामु सतिसाल झैँ उभिन आइपुगे र आफ्नो लेखनलाई निरन्तरता दिन थाले । यसै क्रममा कोरोना कालखण्डको प्रभाव घट्दै जाँदा २०७८ सालमा भुँडी पुराण प्रकाशनबाट उनको ‘अमेरिकामा ९० दिन’ नियात्रा सङग्रह प्रकाशित हुन पुगेको देखिन्छ ।

यसअघि पनि ‘म आएको छु’ (२०४७), ‘जराको स्वर’(२०६०), ‘फेरिएको चित्र’ (२०६८) ३ वटा कविता सङग्रह, ‘घर विनाको घर’ (२०७३) कथा सङ्ग्रह, ‘टापुमा तैरिदा’ (२०६६) ‘झझल्को’(२०७४) र ‘साबिति वयान’(२०७७) यात्रा संस्मरण सङग्रह प्रकाशन भएका छन् । रामविनयका लेखनमा वैचारिक प्रस्टता, यथार्थता र परिवर्तनशीलताको झल्को पाइन्छ ।

उक्त सङग्रह प्राप्त हुनासाथ मैले अध्ययन गरेँ, मन छोयो, केही शब्द पोखेँ । यस नियात्रा सङग्रहमा समेटिएका विभिन्न शीर्षकहरूका १३ वटा विषयका प्रस्तुतिबारे अध्ययन गर्दा पारिवारिक माया, अमेरिकी विकास र शासनपद्धति, अमेरिकामा जीवन गुजार्न पुगेका नेपालीहरूका सुख, दुःखका कथा, आफूले यात्रा गर्दैगर्दा स्वदेश एवम् अन्य क्षेत्रका जीवन भोगाइका विविध घटनाहरुको समेत पुनरावृत्ति गर्दै सारमा सबल विचारहरू प्रकट भएको पाइन्छ ।

anup1
यो पनि…
‘आमा’

यसैक्रममा ‘प्रस्थानको पहिलो दिन’ पहिलो शीर्षकमा अमेरिकाको जर्जिया राज्यको एथेन्स जानुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन पुगेको र त्यहाँ घटेका कुराहरू, राहदानी बनाउने प्रकृयामा गरिएका कृयाकलापको पुनारावृत्ति र सुरक्षा जाँचको प्रबन्धका बारेमा वर्णन गरिएको छ ।

‘बैङककदेखि सिउलसम्म’ मा विमानले भुइँ छाडेर आकाशतिर विचरण गर्दाको अनुभव , विमानभित्रका यात्रुहरुको अनुभवजन्य गफगाफ, कोरियन एयरलाइन्सको काउन्टर खोज्ने क्रममा गरिएका गतिविधिसँगै थाइल्यान्ड र नेपालका नेताहरूको दृष्टि र सोचाइमा हुने अन्तरका सम्बन्धमा पुनःस्मरण गरिएको सन्दर्भ उल्लेख गरिएको छ ।

‘प्रशान्त महासागर तरेपछि’मा बाल्यकालीन अवस्थामा कल्पनामा उडान भरेको प्रशान्त महासागर तर्दाका अनुभूतिलाई पस्कँदै पाठकलाई पनि त्यसरी नै तैराउन सफल भएका छन् । घाम कोरियाबाट पश्चिमतिर लाग्दा आफू उडेको यान पूर्वतर्फ लागेको र विपरीत दिशामा यात्रा गर्दाका अनौठा अनुभूतिसँगै प्लेनबाट ओर्लिएपछि सामान लिन रेल चढ्नुपर्दोरहेछ भन्ने कुरामा प्रस्ट ध्यान नदिँदा यस घटनाबाट व्यहोर्नु परेका झन्झटलाई सविस्तार वर्णन गरिएको छ ।

नियात्राकारले कुनै कार्य गर्नुअघि सो सम्बन्धी दृष्टिकोण स्पष्ट हुनुपर्छ भन्दै नेपालको राजनैतिक दृष्टिकोणका कुरासँग जोडेर सानातिना कुरालाई समेत गम्भीरतापूर्वक लिन सुझाव दिएका छन् । काठमाण्डौबाट ३८ घण्टाको लामो यात्रामा एथेन्सको भूमि टेक्दा उनले एक्कासी चितवनको गर्मी समेत सम्झन पुगेका छन् ।

‘बेलाको राग’ शीर्षकमा यात्रा गर्ने सन्दर्भमा उमेर, समय, परिवेश र पेशाजस्ता विविध रागले उत्पन्न हुने उत्सुकता, जिज्ञासा र रोमाञ्चकता पनि व्यक्तिपिच्छे फरक–फरक हुने कुरा व्यक्त गरेका छन् । यो शीर्षक अध्ययन गर्दै जाँदा प्रचलित रहेका रुसको जर्जिया र ग्रिसको एथेन्स भन्ने ठाउँ अमेरिकामा पनि नामाकरण भएका रहेछन् भन्ने जानकारी पाइन्छ ।

‘एथेन्स टेकेपछि’ शीर्षकमा जागिरे जीवन र अवकास प्राप्त जीवनमा पाइने बेफुर्सद–फुर्सद, टेन्सनयुक्त –टेन्सनयमुक्त यात्राको अनुभूतिगत उतारचढावलाई प्रस्तुत गरिएको छ । यसका साथै एथेन्सको हरियाली, सडकको घुमाउरो जालो, शान्त वातावरण, व्यापारिक गतिविधि, सपिङमल र उपभोक्तावादी समाज निर्माणका कुराहरुलाई पनि प्रभावकारी ढङगले पस्किएको पाइन्छ । ‘अमेरिकन बहिनी र हामी’ मा ट्राभल चेक साट्न जाँदा एउटी महिला कर्मचारीको शिष्ट व्यवहारले गर्दा अमेरिकाको बैङ्किङ क्षेत्रमा प्रभावकारी सेवा प्रवाह हुने कुरामा लेखक विश्वस्त भएको भाव व्यक्त गरेका छन् ।

यस आधारमा उनले सारमा विकासको लक्ष्य नै प्रभावकारी सेवा प्रवाह हो भन्ने भाव व्यक्त गरेका छन् । ‘इन्टरनेट र हामी’मा नेपाली र विदेशी भूमिमा हुने सदस्यहरूका बिचको पारिवारिक मायाममतालाई कसरी जोड्न सकिन्छ, नातागोताको चिनजान र नयाँ पुस्ता(नाति/नातिना) का लागि एकअर्कामा सम्बन्ध गाँस्न कसरी इन्टरनेटले सहयोग पुर्याएको छ भन्ने भावना व्यक्त गरिएको छ ।

यस्तै गरेर ‘अस्तित्वको खोजी’मा विभिन्न परिस्थिति र बाध्यताका कारण अवसरको खोजीमा जीवनयापन गर्दै गरेका व्यक्तिहरूका सुःख, दुःखका भोगाइहरू पस्किएका छन् । ‘एटलान्टामा एकदिन’ शीर्षकमा दिशा, तापक्रम पत्ता लगाउन र गाडीमा पेट्रोल भर्ने ठाउँमा प्रयोग भएका स्वचालित मेसिन प्रणालीको व्याख्या गरिएको छ । यस्तै सी. एन. एन, कोकाकोलाको मुख्य कार्यालयकोे व्यवस्थापकीय पक्ष, ओलम्पिक पार्कको रमणीयता देखेर प्रभावित भई सोको वास्तविकता वर्णन गरेका छन् ।

‘नातिको आगमन’मा सेन्टमेरिज हस्पिटलको सुविधा सम्पन्न ठाउँमा सुत्केरी भएकी बुहारीको अवस्था, नातिको आगमनमा परिवारमा छाएको उत्सुकतालाई अभिभावकीयरुपमा जिम्मेवारीपूर्ण किसिमले व्यक्त गरेका छन् । सम्झनाका क्रममा उनले नेपालमा रहँदा सुत्केरी भएकी आफ्नी जीवनसाथीको परिस्थितिलाईसमेत सम्झन पुगेका छन् । साथै मातृशक्ति, नारी शाक्तिको महिमा र ममतालाई केलाउँदै मायालु भाव पोखेका छन् ।

‘परिकल्पना र शक्ति’ शीर्षकमा स्वभाविकरूपले हुने इन्धनको भाउ घटबढको प्रक्रिया दर्शाउँदै नेपालमा दोस्रो जनआन्दोलनताका बिना गृहकार्य भाउ बढाउँदाको नकारात्मक परिस्थितिले जन्माएको जनआक्रोशको सम्झना गरिएको छ । यसै सिलसिलामा अमेरिकाका हरेक क्षेत्रमा हुने व्यावसायीकरणको चर्चा गर्दै तुलनात्मक हिसाबले नेपालको सन्दर्भ समेत समेट्ने प्रयास गरिएको देखिन्छ ।

‘कामना र अपेक्षा’मा विद्यालयले साना विद्यार्थीहरूको समय तालिका निर्धारण गर्न र सिकाइ क्रियाकलापमा सहभागिता जनाउन गरिएको प्रयास, अमेरिकामा मनाइने कोलम्बस दिवसका सन्दर्भमा अमेरिका कोलम्बसले पत्ता लगाएको हो या पहिल्यैदेखि अस्तित्वमा रहेको अमेरिकामा युरोपियन उपनिवेश थोपरिदिएको हो ? भन्ने त्यहाँका मानिसहरूको दुईखाले मतका बारेमा पनि उल्लेख गरिको छ । यसैगरी त्यहाँ रहेका नेपालीहरु सबैको अभिभावक आफू भएर नेपालीबिच मनाइएको २०६३ सालको दसैँको रमाइलो झझल्को पनि पस्किएको छ । साथै भूगोलको नक्शा हेर्दै नातिले नेपाल देश पत्ता लगाउँदा खुसी महसुस गरिएको गौरवपूर्ण अनुभूतिलाई पनि उल्लेख गरेका छन् ।

अन्तिम शीर्षकको रुपमा रहेको ‘गएको बाटो भएर फर्केर’ शीर्षकमा तीन महिनाको अमेरिका बसाइपछि फर्किदाको क्षण, नेपाल आगमनको बेला भेटिएका यात्रुहरूसँगको कुराकानी, जीवनसाथीको घुँडाको दुखाइले ट्रान्जिटमा पछाडि पर्नुपरेको सन्दर्भ र घर आएपछि नेपाली नियममा जीवन सञ्चालन भएको प्रसङ्गसँगै नियात्रा लेखनीलाई टुङ्ग्याएको देखिन्छ ।

मैले सर्सती नियात्रा सङ्ग्रहको अध्ययन गर्दा विवरणात्मक मात्र नभई निजात्मकताको कलाकारिता सजिएको भेटेँ । यसका साथै वस्तुपरकता, स्थानीय परिवेशसँगै सन्दर्भ मिलेका अन्य क्षेत्रका अनुुभूति, नियात्रामा रमाउँदै विगतका सुक्ष्म क्षणहरूको संस्मरणलाई आधार मानेर आफ्नो वैचारिकतालाई समेत अन्तरघुलन गरी प्रभावकारी पारामा प्रस्तुत गरेको पाएँ ।

‘अमेरिकामा ९० दिन’ कृति पढ्दै जाँदा लेखकसँगसँगै पाठक पनि जिज्ञासा, रोचकता र उत्सुकताका साथ अमेरिका यात्रामा रमाउन पुग्छन् भन्ने विश्वास म’मा छ । यसरी निजी भ्रमणमा निस्किएका लेखकले निजी भावना, पारिवारिक मायाममता, अभिभावकीय जिम्मेवारीसँगै समाज र राष्ट्रप्रतिको प्रेम कर्तव्य र दायित्वबोधले समेत ओतप्रोत भई आफ्ना तरङ्गित भावनाहरू चाखलाग्दो किसिमले प्रस्तुत गरेका छन् ।

Rupak Adhakari
यो पनि…
अन्तिम भेट

नियात्रा पढ्दै जाँदा केही भाषागत त्रुटी, प्रस्तुतिका क्रममा दोहोरिएका एउटै सन्दर्भका भनाइहरू र कालगत वाक्य संरचनाको भिन्नता जस्ता केही त्रुटीहरूले गर्दा पाठकको मन रटक्क रड्किन सक्छ ।

नियात्राको पहिलो शीर्षक ‘प्रस्थानको पहिलो दिन’ र अन्तिम शीर्षक ‘गएको बाटो भएर फर्केर’मा केही सन्दर्भहरू उस्तै–उस्तै लाग्न सक्छन् । तर, पनि सम्पूर्ण शीर्षकगत सन्दर्भहरुले पाठकलाई रुचि जगाउँदै जिम्मेवार भई लेखकले नियात्रा लेखेका छन् भन्नेकुराको बोध गराउँछन् । समग्रहमा रामविनय वैचारिक हिसाबले प्रतिवद्ध र व्यवहारगत पक्षबाट आफ्नो लेखनलाई अगाडि बढाउने श्रष्टा हुन् भन्ने लाग्छ ।

समय फर्कर्दैन तर सम्झना सधैँ रहन्छ । सम्झनामा बाँच्छ मान्छे । उखानै छ ‘बस्नेको माटो हिड्नेको बाटो’ । हिँडाइ, घुमाइसँगै नयाँ–नयाँ अनुभव हासिल गर्न, अन्वेषण गर्न, नयाँ ठाउँको ज्ञान प्राप्त गर्न र जीवनमा उचित किसिमले प्रयोग गर्न यात्राले सहयोग पु¥याउँछ । विनयले पनि अमेरिकाको यात्राका क्रममा ९० दिन खर्चिदा त्यहाँका अनुभूतिलाई त्यत्तिकै हावामा नउडाइ, दिमागमा नजमाइ सुक्ष्म कुराहरूदेखि गहनतम् कुराहरूको सिलसिलेवार सन्दर्भ जोडेर हामीलाई एउटा उपयोगी नियात्रा सङ्ग्रह दिएका छन् ।

कृतिमा हरेक मानिसको परिकल्पनाको मुलुक अमेरिकाको जीवन पद्धति र विकासका विभिन्न आयाममा नियात्राकारले देखेका त्यहाँका राम्रा, नराम्रा पक्षहरूलाई थोरै समयमा पनि भोगिएका आधारमा जिम्मेवारी पूर्ण ढङ्गबाट प्रस्तुत गरिएको छ । यात्राका क्रममा भेटिएका तथ्यगत सूचना, अनुभवजन्य कुराहरू र रोचक प्रस्तुतिले गर्दा कृति पठनीय बनेको छ । लेखकलाई अझ वास्तविकताको सुक्ष्म अध्ययन गरेर अन्य लेखनको निरन्तरताका लागि शुभकामना व्यक्त गर्दछु । 

यो पनि…
समाज र शिक्षामा लगाव

प्रेरक अनि उत्प्रेरक



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको उद्घाटन गरिएको छ । काठमाडौंको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको शुक्रबार उद्घाटन गरिएको हो

गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को कमाइ सार्वजनिक गरिएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले गत शुक्रबारदेखि

दुई वर्षअघि घोषणा भएको फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । रिमेश अधिकारीको लेखक तथा निर्देशन रहेको यो

भारतीय टेलिभिजन उद्योगकी ‘क्वीन’ एकता कपूर र उनकी आमा शोभा कपुरविरुद्ध वेब सिरिज ‘एक्सएक्सएक्स सिजन २’ को विषयलाई लिएर बेगूसराय

Suggested