यात्राको तरङ्गमा तैरिँदा



२०१२ साल असार १४ गते नेपालको पूर्वीय पहाड संखुवासभा खाँदबारीमा नर्मदेश्वरी सत्याल जन्मिएकी हुन् । करिब नौ महिना नपुग्दै आमा गुमाएकी नर्मदेश्वरीले आफू हुर्किने क्रममा चेतनालाई सुदृढ पार्दै आमालाई सम्झन खोज्दा आमाको नामसमेत थाहा पाइनन् । यसरी पितृसत्तात्मक सोचका कारण टाठाबाठा भनिएका ब्राह्मण परिवारमा समेत महिलाको स्थान अपरिचित हुन्थ्यो भने अन्य समुदायमा झन् कस्तो हुन्थ्यो होला हामी अनुमान लगाउन सक्छौँ ।

साहित्यिक चेतनाको स्तरसँगै नर्मदेश्वरीको पहिलो कविता सङग्रहका रूपमा ‘आमाछोरी’ (२०५८) मा आमालाई सम्झिँदै कविता रच्ने क्रममा नामै नभएकी आमालाई समपूर्ण गरी ममतामयी साहसी भाव व्यक्त गरेकी छन् । अनेकौँ कुसंस्कारका बाबजुद सानै उमेरमा उनी विवाह बन्धनमा बाँधिए पनि बिस्तारै जीवन साथी र समाजका केही सहयोगी व्यक्तिहरूको साथ र सहयोगले आफ्नो अध्ययनलाई अघि बढाउँदै, चेतनालाई तिखार्दै, साहित्य र राजनीतिको यात्रामा साधनारत हुँदै, नियात्राका तरङ्गमा आइपुगेकी छन् ।

अन्य साहित्यिक कृतिहरू थप्दैजाने क्रममा २०७७ सालमा भने ‘यात्राका तरङ्ग’ (नियात्रा सङ्ग्रह) पाठकका सामु आइपुगेको देखिन्छ । नियात्राकार नर्मदेश्वरी सत्यालको ५०औं स्वर्ण विवाहको पावन अवसरमा प्रकाशित ‘यात्राका तरङ्ग’ पुस्तकले ऐतिहासिक सन्दर्भ लिएर प्रकाशित हुने अवसर पाएको देखिन्छ । नर्मदेश्वरी र मदनप्रसाद सत्यालको विवाह २०२८ फागुन १८ भएको र उनकै छोरी डा. जया र डा. प्रदीप केसीको विवाह पनि २०६३ फागुन १८ गते भएको हुँदा डा.द्वयले पुस्तक प्रकाशन गरी सुनमाथि सुगन्ध थपेको देखिन्छ । फलस्वरूप विवाह महोत्सवका लागि फागुन १८ अविस्मरणीय बनेको छ ।

प्रस्तुत यात्राका तरङ्गमा नेपाल प्रज्ञा–प्रतिष्ठान र विभिन्न साहित्यिक, सांस्कृतिक संस्थाहरूको अगुवाइमा गरिएका कार्यक्रमहरूमा भाग लिन जाँदा गरिएका अनुभवजन्य वर्णन, साहित्यिक विचार विमर्श, भ्रमणका क्रममा प्राप्त नयाँ ज्ञानका साथै व्यक्तिगत दृष्टिकोणका बारेमा समेत सूक्ष्म ढङ्गले केलाइएको पाइन्छ । यस सङ्ग्रहमा स्वदेश तथा विदेशमा गरिएका यात्राका क्रममा देखेका, भोगेका र सुनेका अनुभवजन्य कुराहरूलाई समेटेर उपयुक्त शीर्षकहरूको चयन गरिएकाले शीर्षक सार्थक देखिन्छ ।

कार्ल माक्र्सको भनाइ छ– ‘व्यक्तिले आफ्नो अस्तित्वको रोजाइ आफैँ निर्माण गर्ने हो ।’ वास्तवमा आफ्नो अधिकार, स्वमूल्याङ्कन र अस्तित्वको पहिचान गर्न यात्राको सिकाइ पनि आवश्यक हुन्छ । जीवन भोग्ने क्रममा मान्छेले कुनै न कुनै रूपमा यात्राको तय गरेको हुन्छ नै । घरको र कार्यस्थलको व्यवहारिक जिम्मेवारी पूरा गरेर समय मिलाई बाहिर निस्किएपछि केही न केही नयाँ कुराको जानकारी अवस्य मिल्छ । यससँगै नयाँ अनुभव, नयाँ ज्ञान प्राप्त हुन्छ र भविष्यमा आफ्नो क्षेत्रमा प्रयोग गर्न, अन्वेषण गर्नसमेत काम लाग्न सक्छ ।

यसै क्रममा सत्यालले नियात्राको पहिलो शीर्षकमा ‘मलाई भानुभक्तका सन्तान जस्तो लाग्यो’ मा शुक्ला साहित्य सङ्गमले भाषा, साहित्यमा पु¥याएको योगदान, कार्यक्रममा प्राप्त अनुभव र यात्रा गर्दाका रोमाञ्चक पलहरूलाई उल्लेख गरेकी छन् भने क्रमशः ‘सांस्कृतिक जागरणका अभियन्ताहरूमा’ दोलखा जिल्लामा २०७१ सालमा सम्पन्न सांस्कृतिक जागरण अभियानमा सहभागिता जनाउन जाँदाका क्षणहरूलाई वर्णन गरेकी छन् । साहित्यिक कार्यक्रमसँगै चरिघ्याङगुम्बाबाट देखिएको मनोरम दृश्यको वर्णन, अनिष्ट हुने देखिएमा भिमेश्वर मन्दिरमा पसिना आउने सन्दर्भको लोकोत्तिसँगै सांस्कृतिक अभियानमा लागेका बिर्खक्रान्तिको सम्झना गरेकी छन् ।

‘साहित्यिक हिमाल आरोही र ढुङ्खर्कको सक्रियता’मा महानन्द सापकोटा वाङ्मय प्रतिष्ठान काभ्रेका अध्यक्ष तथा प्रथम साहित्यिक हिमाल आरोही लक्ष्मण सापकोटाको आथित्यमा सम्पन्न साहित्यिक कार्यक्रममा सरिक हुँदा स्थानीय व्यक्तिहरू, आमन्त्रित र बालबालिकाको सक्रियताका सन्दर्भहरूलाई उठाइएको छ । ‘मृत्युको मुखमा पुग्दा’मा चाइना राइटर एसोसिएसनको निम्तो मान्न चीन भ्रमण गर्दाका प्रसङ्गहरू सँगै चीनले गरेको प्रगति उन्नतिको खुलेर चर्चा गरिएको छ । यात्राको क्रममा प्लेनमा आकस्मिक रूपमा धुवाँ फैलिएर समस्या आइपरेको अवस्थामा यात्रीहरू हतास हुँदै आत्तिएको र रोएको प्रसङ्गसँगै आफैँ मृत्युको मुखमा पर्दा कस्तो अनुभूति उब्जिएछ भन्ने सन्दर्भमा मर्माहत हुने किसिमले उल्लेख गरिएको छ । कसरी दिमागमा करेन्ट लाग्छ र के के सोच्न पुगिन्छ भन्ने कुराहरूलाई मृत्युको अन्तिम बिन्दुमा पुगेका बेलामा समेत पारिवारिक माया, देशप्रेम र कर्तव्यबोधको भावना एक्कासि उब्जिँदोरहेछ भन्ने मार्मिक भावनाले जो कोहीको मन ढक्क फुलाउँछ नै ।

यस्तै, गरेर ‘झल्किरहन्छ खाँदबारी’मा मकालु साहित्य समाज खाँदबारीसँग मिलेर प्रज्ञा–प्रतिष्ठानले बाल साहित्यसम्बन्धी कार्यक्रम गर्ने सिलसिलामा यात्रा गर्दाका प्रसङ्गलाई लेखकको आफ्नै जन्मस्थान खाँदबारी भएकाले बाल्यकालीन हुर्काइ र सङ्घर्षका कथाहरूलाई समेत प्रेरणादायी किसिमले प्रस्तुत गरिएको छ । ‘चुँदी रम्घालाई चुम्दा’मा साहित्यिक कार्यक्रमकै सिलसिलामा यात्रा गर्दा बाटोघाटोमा देखिएका रमाइला प्रसङ्ग, रम्घा गाउँको चित्रण र भानुभक्तको घरको अवशेष, गाउँका सानातिना होटलमा पनि देखिएको विकृतिले कुडिएको मन, भानु पुस्तकालय सङग्रहालयको प्रसङ्ग, उपलब्धिमूलक रहेको कार्यक्रमको झलक, बन्दीपुरको मनोरम दृश्य र चुँदी रम्घाको यात्राको छापलाई मनछुने गरी प्रासाङ्गिक रूपमा वर्णन गरिएको छ ।

‘बेलबारी र श्रीअन्तुमा उभिन पाउँदा’मा आख्यान र बाल कवितासम्बन्धी साहित्यिक कार्यक्रममा सरिक हुन जाँदाका प्रसङ्गका साथै यात्राका क्रममा गरिएको नेपाल बन्दको आह्वानले पारेको असर, समयमा वर्षात् नभएका कारण पछाडि डाँडामा देखिएको हुर्हुराउँदोपन र सिक्रिक्क परेका बोट बिरूवा देखेर विरक्तिएको मन, आफ्नो देशको भूबनोटअनुसार विकास हुन नसकेको गुनासो, सोचेर काम गर्न पाए कति वेश हुन्थ्यो हो भन्ने मनोभावनाका साथै साहित्यिक कार्यक्रमको रमझमको झलक बारे चर्चा गरिएको छ ।

anup1
यो पनि…
‘आमा’

‘ओखलढुङ्गा र सोलुसँग गासिँदा’मा लोकवार्ता र बाल साहित्यसम्बन्धी भएका कार्यक्रमको चर्चाका साथै यात्रामा देखिएका भौगोलिक बनावट, सामाजिक, सांस्कृतिक रहनसहनका बारेमा खुलेर चर्चा गरिएको देखिन्छ । ‘चिसापानीको बास र गाउँको आस’ शिर्षकमा रामेछापको चिसापानीमा आयोजना गरिएको साहित्यिक कार्यक्रमको चर्चा, रामेछापको पर्यावरणीय अवस्था, साँघुटारको भौगोलिक विकटता, साहित्यिक कार्यक्रममा शिक्षक, विद्यार्र्थी र स्थानीय अभिभावकको सक्रियता, गाउँघरका करेसाबारीमा फलफूल सजाउने ऐतिहासिक संस्कार, चिसापानीबासीहरूको कामप्रतिको सचेतताका प्रसङ्हरूलाई उल्लेख गरिएको छ ।

११औँ शीर्षकमा रहेको ‘अजम्बर खातीको अजम्बरी काम’ मा सुब्बेनी आमा रतनवाई खाती प्रतिष्ठानद्वारा २०७३ सालको टेकध्वज लक्ष्मीदेवी खाती साहित्य सम्मान डा. गार्गी शर्मालाई गरिएको सन्दर्भ, सम्मान पत्रसँगै दुईका ढक्की चुल्याएर पाथीजस्तो डालो भरेर नगद दिने अनौठो परम्परा, सिद्दबाबा मन्दिर घुमेको प्रसङ्ग, अजम्बर खातीले समाजमा पु¥याएको अनुकरणीय योगदानहरूलाई प्रेरणादायी हुने किसिमले उल्लेख गरेको देखिन्छ ।

‘दिक्तेलबासीको सद्भाव र सहयोग’मा राष्ट्रिय बालसाहित्य सम्मेलन र कार्यक्रमको परिचर्चा, गाडीमा साहित्यकार एकाराम सिंह बिरामी परेर उपचारका लागि काठमाडौं फर्काइएको प्रसङ्ग, बाटोमा गनिनसक्नु खोल्सा, खोला, नाला तरेको प्रसङ्ग, बालसाहित्यप्रतिको चासोलाई गम्भीरतापूर्वक लिनुपर्ने सोचाइ, हलेसी महादेव (पूर्वको पशुपति) को चट्टाने गुफा, उक्त गुफामा धार्मिक सहिण्णुताको उच्चतम् भावना, दिक्तेलवासीको सद्भावको प्रसङ्ग प्रभावकारी ढङ्गमा प्रकाश पारेको पाइन्छ । ‘वाल्मीकि आश्रम र बुद्धभूमिमा पाइला चाल्दा’ मा लोकवार्ता परिषद्द्वारा कपिलवस्तु, रूपन्देही र नवलपरासीमा गरिएको ऐतिहासिक कार्यक्रमको चर्चा, कपिलवस्तुको तौलिहवामा रहेको तौलेश्वर महादेव र त्यसकै छेउमा वृद्ध महिला सुतेको र झिंगा भन्किएको प्रसङ्ग, क्रकुच्छन्द बुद्धको चर्चा, जगदीशपुरको तालको दृश्यावलोकन, रूपन्देहीको साहित्यिक कार्यक्रम र हिलपार्कको भ्रमण, नवलपरासीको तीन दिने साहित्यिक कार्यक्रम, सुनवलस्थित तरगौली ताल र बुद्धको प्रसङ्ग, रामग्राम स्तुप, सम्राट अशोकको प्रसङ्ग, वाल्मीकि आश्रमको अवलोकनको प्रसङ्गलाई ऐतिहासिक वास्तविकताका आधारमा जानकारी दिने उद्देश्य राखेको देखिन्छ ।

यस्तै, ‘मनमा नेपाल आँखामा चीन’ मा सिफ्लेक्स (चाइना फेडेरेसन अफ लिटरेरी, एन्ड आर्ट सर्कल) को निमन्त्रणामा चीनको भ्रमण गर्दा सद्भावपूर्ण आगन्तुक सत्कार र सरसफाइको सौन्दर्यको प्रसङ्ग ,समर प्यालेसको प्राकृतिक प्रसङ्ग, थेनमेन स्क्वायरको सौन्दर्य र यथार्थ, उचनको वातावरणीय प्रभाव, सिख्हु (वेस्ट लेक)को जलयात्रा, हाङ्चौमा राइटर्स भिलेजको अवलोकन, चीनले देशको समुन्नतिमा चालेका पाइलालाई आत्मसात गर्दै आफ्नो देशलाई पनि कसरी सिगार्ने हो भन्ने भावना पोखिएको छ ।

यस्तै गरेर ‘लोक रामायणको अक्षरीकरण’ मा २०७४ सालमा अक्षर सदन र प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्तरूपमा नवलपरासीमा गरिएको कार्यक्रमको झझल्को, बाटो पारेर गरिएको सौराहाको भ्रमण, यात्रामा पृथ्वी राजमार्गको दुरावस्थाले बाटो भरि मथिङ्गल मच्चिएका कुराहरू समेटिएको पाइन्छ । ‘धनगढीको सम्झना’ मा नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वाङ्मय परिषद्को संयुक्त आयोजनामा धनगढीमा भएको आख्यान एवं बाल साहित्यसम्बन्धी कार्यक्रमको चर्चा गरिएको छ । यात्राका क्रममा मौसम खराबीका कारण प्लेन डिले हुँदा कार्यक्रममा नै सहभागी हुन नसकिएला कि भन्ने छट्पटी, बाटोमा भेटिएकी विरामीले नेपालमा भन्दा भारतमा उपचार सस्तो पर्ने भएकाले उपचारका लागि भारतै जानुपर्ने सन्दर्भ, वनवासाको यात्राका क्रममा देखिएका ऐतिहासिक सीमासम्बन्धी कुराहरूमा घोत्लिन बाध्य भएका कुराहरूलाई संवेदनशील ढङ्गबाट उठाइएको छ ।

‘बङ्गलादेशप्रतिको सद्भाव’मा साहित्यिक कार्यक्रममा भाग लिन जाँदाको रोमाञ्चकता, यात्राका क्रममा जागेको देशप्रेम, बङ्गलादेश र पाकिस्तानको स्वतन्त्रताका कथाव्यथाहरू, खालिदा जिया महिला प्रधानमन्त्री बनेपछि महिला उत्साह थपिएका प्रसङ्गहरू, बंगलादेश विकासको सम्भाव्यता बोकेर अगाडि बढ्दै गरेका प्रसङ्गहरूलाई मनछुने गरी व्याख्या गरिएको छ । ‘कर्णाली र महाकालीको सम्झना र माया’ मा साहित्यिक गतिविधिका प्रसङ्गसँगै महाकाली नदी, लिम्पियाधुरा, नैनीताल, पूर्णागिरी, कालापानी, लिपुलेकका प्रसङ्गलाई समेत प्रभावकारी रूपमा समेटिएको देखिन्छ ।

यो पनि…
अन्तिम भेट

यस्तै, गरेर ‘भोजपुरको पुनरावलोकन’ मा साहित्यिक गतिविधिको परिचर्चा, भ्रमण गर्ने क्रममा ग्राभेलमा गरिएको पहाडी लोकमार्गको धुलो सँगै थुरथुराउँदै गरिकोे आपतकालीन तर रमाइलो यात्रा, भोजपुर सदरमुकामको घुमाई, टक्सारमा रहेका कला, संस्कृति, थिरवादी बौद्धस्तूपा, टक छाप्ने शुरुवाती बेलाका प्रसङ्ग, दिङला बजारको भ्रमण, फर्किंदा अचानक साहित्यकार झमकसँगको भेटघाटका साथै बराहक्षेत्रको अवलोकनका प्रसङ्ग्रहरूलाई सूचनामूलक ढंगबाट प्रस्तुत गरेको देखिन्छ । ‘सिन्धुको मिलन’ मा व्यक्तिगत भ्रमणका साथै साहित्यिक कार्यक्रमका क्रममा गरिएका अनुभूतिगत प्रसङ्गहरूलाई सिलसिला मिलाएर केलाइएको देखिन्छ । सिन्धुको स्थानीय लोक संस्कृति, भूबनोट, सामाजिक परम्पराका साथै स्थानीय तहको सक्रियताका सन्दर्भमा चर्चा गरिएको छ ।

अन्तिम शीर्षकका रूपमा रहेको ‘लोकवार्ता परिषद्सँग जोडिएर गम्दा’मा २०७१ सालमा नेपाल प्रज्ञा–प्रतिस्ठानको प्राज्ञ परिषद् सदस्य भएर रहँदा गरिएका विभिन्न साहित्यिक कार्यक्रम, गोष्ठी, छलफल, विमर्श र कार्यक्षेत्रमा देखिएका र भोगिएका व्यक्तिगत अनुभवहरूको फेहरिस्त प्रस्तुत गरिएको छ । नियात्राकारले बाल साहित्यको प्रचारप्रसार र उत्थानमा लाग्नुपर्ने सन्दर्भ जोड्दै लोकवार्ता अभियानका प्रसङ्गहरू, विविधखाले धर्म, प्रचलित संस्कार र तत्सम्वन्धी कुरीतिहरूलाई समायानुसार परिमार्जन गर्नुपर्ने कुरा उठान गर्दै सुसंस्कारित हुन र सभ्य समाजको निर्माण गर्न प्रभावकारी सुझावहरू पस्किएको देखिन्छ ।

यो पुस्तक अध्ययन गर्दा प्रायः बौद्धिक चिन्तनसहित हरेक कुराहरूलाई सुक्ष्म ढङ्गले केलाइएको पाइन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा रहँदा र नरहँदाका अवस्थामा आफूले सक्रियतापूर्वक कार्यक्षेत्रमा खटिनुपर्दाका अनुभव र प्रसङ्गहरूका साथै यात्राका क्रममा प्राप्त अन्य अनुभवहरूलाई समेत व्यवहारिक किसिमले प्रस्तुत गरिएको देखिन्छ जसले ज्ञान र विज्ञानलाई सन्तुलन मिलाएर पर्गेल्ने गरेको देखिन्छ । सत्यालको वास्तविक जीवन पद्धति पनि लेखनजस्तै देख्न सकिन्छ । नियात्राका सन्दर्भमा विदेशी भूमिसँग सम्बन्धित तीनवटा, नेपाली भूमिभित्रका सत्रवटा र कार्यक्षेत्रमा रहँदाका अनुभवजन्य कुराहरू प्रतिवेदन लेखन जस्तो हिसाबले विविध पाटाहरू गाँसिएर आएका देखिन्छन् ।

यसरी हेर्दा जम्मा २१ वटा शीर्षकमा प्रस्तुत पुस्तक तयार गरिएकोछ । प्रत्येक पाठ पढ्दै जाँदा पाठक पनि लेखक सँगसँगै यात्रा गर्दै त्यहाँ उठेका सन्दर्भ, प्रसङ्ग र चेतनामा थप सोच्दै राष्ट्रियताको भाव उजागार गर्दै जान सक्छ । लेखनका क्रममा विभिन्न क्षेत्रका सांस्कृतिक पहिचान, भौगोलिकता, सामाजिक परिवेशको छिद्र छिद्र केलाउँदै आलोचनात्मक चेतले प्रस्तुत पाठहरू कुँदिएका छन् । फलस्वरूप पाठकहरू पनि लेखकसँगै छिद्र छिद्र केलाउन र राष्ट्रियताको बहस गर्न उद्दत हुन पुग्छन् ।

प्रस्तुत पुस्तक अध्ययन गर्दै जाँदा पाठकका आँखा केही त्रुटि हुन पुगेका ठाउँमा अड्न सक्छन्, त्यसैले स्वयम् त्रुटि मिलाउँदै अगाडि बढ्नुपर्ने हुन सक्छ । सङ्ग्रहलाई ‘यात्राका तरङ्ग’ नामाकरण गरेर नियात्रात्मक ढाँचामा लेखिएता पनि नियात्रा लेखनमा प्रयुक्त केही निजात्मकताको लेपन र आत्मचेतनको अभिव्यक्ति दिन खड्किएको अनुभूत हुन्छ नै ।

समग्रमा सामाजिक, शैक्षिक, सांस्कृतिक अभियन्ताहरूलाई अनि चेतना फराकिलो पार्न रूचाउने पाठकहरूलाई पक्कै पनि यो कृति एउटा सन्दर्भ सामग्री हुन पुग्ने छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । कृतिमा एकोहोरो यात्राको वर्णन मात्रै छैन । यसमा प्रकृति, भूगोल, सांस्कृतिक सम्भावना, इतिहासको चित्रण, सजगता, अपेक्षा, मिलन र राष्ट्रियताको भावना पनि एकैसाथ बहेको देखिन्छ ।क्रमशः नियात्राकारको लेखन उत्कृष्ट बन्दै जाओस् । हार्दिक शुभकामना !

यो पनि…
कथा : सकुबस
नाल्दुम



...
पत्रकारका साहित्यमा मातृभूमि र महामारी - Mero LifeStyle Mero LifeStyle

[…] यो पनि…यात्राको तरङ्गमा तैरिँदा […]

...
जहाँ सित्तैमा यात्रा गर्छन् मानिसहरू - Mero LifeStyle Mero LifeStyle

[…] हुने भएकाले धेरै मानिसहरू रेल यात्रा गर्न रुचाउँछन् । रेलमा यात्रा गर्दा […]

...
पुरानो सामानबाट नयाँ सजावट - Mero LifeStyle Mero LifeStyle

[…] बोतलहरू सङ्कलन गरेर, त्यी बोट ललाई रङ्ग लगाएर डोरीले बाँध्न सकिन्छ । र यसलाई […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

जति यौन चाहना बढी भयो उति नै बढी योनीबाट तरल पदार्थ प्रवाह हुन्छ । तर, यौन इच्छा भएन भने महिलाको

पापा तेक्वान्दोका लागि जन्मिनुभएको थियो, म अरु नै प्रयोजनका लागि जन्मिएको थिएँ । खुसीको कुरा, उहाँमा पृथक् अवधारणा थियो– तेक्वान्दो

काठमाडौंमा एउटा निश्चित समुदायले मधेसी सुमदायका ब्यक्तिलाई ‘मनु मखु मर्स्या ख:’ (मान्छे होइन, मधेसी हो) भन्छन् भन्ने जुन भाष्य सिर्जना

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४

Suggested