English

नेपाल यसरी बन्न सक्छ दुग्धजन्य पदार्थमा आत्मनिर्भर



दूध । बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अमृत तत्व । अनि, व्यावसायिक हिसाबले सामान्य चिया पसलदेखि, मिठाइ पसल हुँदै तारे होटलसम्मका मेनुमा यसका परिकार भेटिन्छन् । गाउँघरका किसानको आम्दानीको एउटा पाटो यही दूध बनेको छ । त्यसो त दूधको महत्व कति होला ? सहजै अनुमान लगाउन सकिन्छ ।

नेपालबाट यही दूग्धजन्य पदार्थको आयातका नाममा वर्षेनि अर्बौं रुपियाँ बाहिरिरहेको छ । यद्यपि, गतवर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूधमा आत्मनिर्भर भएको घोषणा गरे । तर, भन्सार विभागको तथ्यांकले त्यसो भन्दैन । दुग्धजन्य पदार्थका (बटर, दही, घ्यु, पाउडर दूध) भारत, चीन, अस्ट्रेलिया, स्पेन, टर्कीलगायतका देशमा निर्भर रहनुपरेको विभागले जनाएको छ ।

डा. बालक चौधरी
निर्देशक, राष्ट्रिय दुग्ध विकास बोर्ड

उत्पादन भएको सबै दूध बजार आउँदैन, उत्पादित दूध सोही स्थानमा नै उपभोग भएको छ । २५ प्रतिशत गरिबीको रेखामुनि रहेकालाई आफ्नो भागमा परेको दूध उपभोग गर्न पनि धौ–धौ छ ।

विभागका अनुसार आर्थिक वर्ष ०७७/७८ मा २२ हजार ९ सय ५४ लिटर र २८ लाख ७४ हजार ३ सय ८० केजी दूग्धजन्य पदार्थ आयात गरिएको छ । यसका लागि १ अर्ब १० करोड ८८ हजार १५ हजार रुपियाँ खर्च भएको छ ।

प्रतिव्यक्ति १२ लिटर दूध अपुग

संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार प्रतिवर्ष एक जनाले ९१ लिटर दूध उपभोग गर्छन् । तर, नेपालको उत्पादनबाट वर्षमा प्रतिव्यक्ति ७९ लिटर दूध मात्र पुगेको र प्रतिव्यक्ति १२ लिटर दूध आयात गर्नुपरेको राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा. बालक चौधरी बताउँछन् । डा. चौधरीका अनुसार नेपालमा वार्षिक २ अर्ब ३० करोड १० लाख लिटर दूध उत्पादन हुन्छ । ‘उत्पादन भएको सबै दूध बजार आउँदैन,’ उनले भने, ‘उत्पादित दूध सोही स्थानमा नै उपभोग भएको छ ।’

उत्पादित दूधमा सबैको पहुँच एकरूपता नभएको चौधरीको भनाइ छ । ‘२५ प्रतिशत गरिबीको रेखामुनि रहेकालाई आफ्नो भागमा परेको दूध उपभोग गर्न पनि धौ–धौ छ,’ उनले भने ।

किसानलाई प्रोत्साहन गर्नका लागि दूधको मूल्य वृद्धि गरेका छौँ, अब दूध संकलन पनि बढ्छ भन्नेमा आशावादी छौँ ।

राजेन्द्रप्रसाद अधिकारी
सूचना अधिकारी तथा निमित्त उपमहाप्रबन्धक, दुग्ध विकास संस्थान

दुग्धजन्य पदार्थको आयात उकालो लाग्दै

नेपाल दूधमा आत्मनिर्भरोन्मुख भए पनि दूग्धजन्य प्रदार्थमा भने ठूलो मात्रामा आयात गर्नुपरेको राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानका वैज्ञानिक तुलसीप्रसाद पौडेल बताउँछन् । उनका अनुसार २० प्रतिशत दुग्धजन्य पदार्थ अपुग छ । साथै, नेपालमा दूध पाउडर, चिज, क्रिमलगायतको उत्पादनलगायत धेरै हुने भएकाले पनि व्यापारीहरूले आयात गर्ने गरेको पौडेलको भनाइ छ ।

सूचनाप्रविधिको बढ्दो विकासले विश्व एउटा गाउँजस्तो भएको छ । उसो त मानिसहरू हरेक खानपिनमा फरक स्वाद खोजिरहेका हुन्छन् । त्यो स्वाद दुग्धजन्य पदार्थमा पनि खोजिएकाले यसको आयात गर्नुपरेको नेपाल डेरी साइन्स एसोसिएसनका प्रमुख टेकबहादुर थापा बताउँछन् । ‘नेपालमा जति दूध उत्पादन हुन्छ त्यसको ५० प्रतिशत उत्पादित क्षेत्रमै खपत हुन्छ, ३३ प्रतिशत दुग्धजन्य पदार्थ उत्पादनमा र १६–१७ प्रतिशत दूध मात्रै वितरण हुन्छ,’ उनले भने ।

नेपालमा दूध उत्पादन घट्दै

दुग्ध विकास संस्थानको तथ्याङ्कअनुसार नेपालमा वर्षेनि दूध उत्पादन घट्दै गएको छ । संस्थानका सूचना अधिकारी तथा निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीका अनुसार केही वर्ष पहिलासम्म नेपालमा दैनिक १ लाख ५० हजार लिटर दूध संकलन हुन्थ्यो तर, अहिले १ लाख ३० हजार लिटर मात्रै संकलन हुन्छ ‘किसानलाई प्रोत्साहन गर्नका लागि दूधको मूल्य वृद्धि गरेका छौँ,’ उनले भने, ‘अब दूध संकलन पनि बढ्छ भन्नेमा आशावादी छौँ ।’

तुलसीप्रसाद पौडेल
वैज्ञानिक, राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान

डीडीसी र नेपालडेरीले ठूलो मात्रमा दूध उत्पादन गर्छन् तर, सहर केन्द्रित मात्रै छ, यसलाई व्यवास्थापन गरेमा तरल दूधमा नेपाल आत्मनिर्भर बन्न सक्छ, दूग्ध जन्यवस्तुमा २ वर्षमा आत्मनिर्भर हुने योजना छ, तर यो सम्भव देखिँदैन ।

आत्मनिर्भरको बाटो

नेपाललाई दूधमा आत्मनिर्भर लागि नश्ल सुधार, प्राविधिक पक्ष सबल, घाँस आहारमा आधारित पालनलाई जोड दिनुपर्ने जानकारहरु बताउँछन् । साथै, नेपालमा उत्पादित दूधको बिक्री सहर केन्द्रित भइरहेको वैज्ञानिक पौडेलको भनाइ छ । यसको समान वितरणलाई व्यवस्थापन गरेमा तरल दूधमा आत्मनिर्भर हुन सकिने उनको विश्वास छ । ‘डीडीसी र नेपालडेरीले ठूलो मात्रमा दूध उत्पादन गर्छन् तर, सहर केन्द्रित मात्रै छ, यसलाई व्यवास्थापन गरेमा तरल दूधमा नेपाल आत्मनिर्भर बन्न सक्छ,’ उनले भने, ‘दूग्ध जन्यवस्तुमा २ वर्षमा आत्मनिर्भर हुने योजना छ, तर यो सम्भव देखिँदैन ।’

बाच्छी मात्र जन्मिने वीर्यको प्रयोग

पूर्णरूपमा आत्मनिर्भर बन्नका लागि पहिला प्रविधिको विकास र आत्मसाथ गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘दूधबाट के–के बनाउन सकिन्छ भन्ने अनुसन्धानको पाटोलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने, ‘उत्पादन बढाउनका लागि कृतिम गर्भाधान गराउँदा बाच्छी जन्मिने वीर्य प्रयोगमा ल्याउन आवश्यक छ ।’

दूधालु गाई–भैँसीको सुधार योजना बनाएर सरकारी स्तरबाटै लागू गर्नुपर्नेमा उनको जोड छ । यसका साथै दाना भन्दा घाँसमा आधारित गाईवस्तु पालनको आवश्यक रहेको उनले सुझाए ।

राइट म्यान अन द राइट जब’को खाँचो छ, कुनै पनि कुरामा आत्मनिर्भर हुनका लागि राजानीतिक भिजनको हुनपर्छ, साथै दूधको गुणस्तरीयतामा निष्पक्ष प्रचार–प्रसार र कडा निगरानी गर्नुपर्छ ।

टेकबहादुर थापा
प्रमुख, नेपाल डेरी साइन्स एसोसिएसन

यसैगरी, बोर्डका निर्देशक डा. चौधरीका गाई–भैंसीको नश्ल सुधारमा पनि ध्यान दिनुपर्ने बताउँछन् । ‘दूधालु गाई–भैँसीको छनोट गरी राम्रो साँढे र एआई प्रविधि (कृत्रिम गर्भधारण) गराएर नश्लको सुधार गर्न आवश्यक छ,’ डा. चौधरी भन्छन्, ‘गाई–भैँसीको आहारमा पनि ध्यान दिनु आवश्यक छ । जसका लागि पोसिलो घाँस विकास कार्यक्रम जारी छ ।’

यी सबैकुरा भएर पनि बजार व्यवस्थापन भएन भने त्यसले सफलता हासिल गर्न नसक्ने डा.चौधरी सुनाउँछन् । ‘बजार व्यवस्थापनको ठूलो खाँचो छ । मध्य पहाडी र हुलाकी मार्ग तयार भएमा दूधको बजार व्यवास्थापनमा सहयोग पुग्छ,’ डा. चौधरी दूध उत्पादनमा ध्यान दिनुपर्ने कुरा सुनाउँदै छन्, ‘किसानलाई तालिम, स्थानीयस्तरमा प्राविधिक उपलब्धतामा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ ।’

एसोसियसनका प्रमुख थापा दूधमा आत्मनिर्भर हुनका लागि राजनीतिक स्थिरता र सुशासनको जरुरी रहेको बताउँछन् । ‘राइट म्यान अन द राइट जब’को खाँचो छ, कुनै पनि कुरामा आत्मनिर्भर हुनका लागि राजानीतिक भिजनको हुनपर्छ,’ उनले भने, ‘साथै दूधको गुणस्तरीयतामा निष्पक्ष प्रचार–प्रसार र कडा निगरानी गर्नुपर्छ ।’

त्यसैले, दूधको गुणस्तरमा सुधार गरेमा बाहिरी आयातको खाँचो नपर्ने उनी ठोकुवा गर्छन् । ‘नेपाली दूधको गुणस्तर फ्याट ३.५ प्रतिशत र एसएनएफ ८ प्रतिशत छ । फ्याटलाई यथावत् राखी गाईंको दूधमा एसएनएफ ८.५ प्रतिशत र भैँसीको दूधमा एसएनएफ ८.७ प्रतिशत बढाउनुपर्छ,’ उनले भने, ‘यसले नेपाली दूधको गुणस्तर बढ्दछ र आयातित दूधको उपभोग घट्छ ।’

यो पनि…
आलुले पनि बनाउँछ आत्मनिर्भर
गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,