English

गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो



गहुँ । परिकारको राजा । गहुँबाट नबन्ने कुनै परिकार छैन । अनि नेपालमा गहुँ नफल्ने कुनै खेतबारी छैनन् । तैपनि, नेपाल गहुँमा अझै आत्मनिर्भर बन्न सकेको छैन । पछिल्लो आँकडा हेर्दा नेपालमा गहुँ आयातको ग्राफ उकालो लाग्दो छ ।

उत्पादनको त कुरा छोडौँ, गहुँको बिउमा समेत नेपाल आत्मनिर्भर छैन । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुुसार नेपाल गहुँको बिउका लागि भारत र मेक्सिकोसँग निर्भर हुनुपरेको छ ।

केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७-०७८ मा भारतबाट १४ लाख ८९ हजार ४ सय केजी र मेक्सिकोबाट ३ सय ४१ केजी गहुँको बिउ नेपाल भित्रिएको छ । जसको मूल्य ४४ करोड ३५ लाख २ हजार १ सय ६ रुपैयाँ हुन आउँछ ।

यसैगरी, उपभोगका लागि पनि ठूलो परिमाणमा गहुँ आयात भइरहेको छ । गत वर्ष भारतबाट मात्रै ३८ करोड ६७ लाख ८९ हजार १ सय ३७ केजी गहुँ नेपाल भित्रिएको छ । जसका लागि ११ अर्ब ९२ करोड ८५ लाख २३ हजार ७ सय ९९ रुपैयाँ खर्च भएको छ । गहुँका नाममा हुने आयात यतिमा मात्र सीमित छैन ।

गहुँको पीठो पनि उत्तिकै आयात भइरहेको केन्द्रको तथ्यांकले देखाउँछ । पीठोका लागि भने भारत, चीन, थाइल्याण्ड, जापान, दुबई, बेलायत लगायतका देशमा नेपाल निर्भर छ । उसो त ०७७-०७८ को तथ्यांकअनुसार यी देशहरूबाट एक वर्षमा २ लाख ६१ लाख ३ हजार २ सय २६ रुपैयाँ बराबर गहुँको पीठो आयात गरिएको छ ।

नेपालमै गहुँको उत्पादन बढाउने नीति सरकारले ल्याउने हो भने यति ठूलो रकम देशमै रोकिने र मुलुकको समृद्धिका लागि सहयोग पुग्ने बाली प्रजनक तथा वैज्ञानिक दीपक पाण्डे बताउँछन् ।

जसमा सबैभन्दा धेरै भारतबाट ६ लाख ३७ हजार २ सय ६९ केजी पीठो भित्र्याइएको छ । यस्तै, चीनबाट २ हजार ३ सय ७५, थाइल्यान्डबाट १ सय ८०, जापानबाट २१, दुबई र बेलायतबाट २–२ केजी गहुँको पीठो भित्रिएको छ ।

त्यसो त समग्रमा गहुँ र पीठोका नाममा नेपालबाट वर्षेनि १२ अर्ब २९ लाख ७९ हजार १ सय ३१ रुपैयाँ बाहिरिएको छ । यदि, नेपालमै गहुँको उत्पादन बढाउने नीति सरकारले ल्याउने हो भने यति ठूलो रकम देशमै रोकिने र मुलुकको समृद्धिका लागि सहयोग पुग्ने बाली वैज्ञानिक दीपक पाण्डे बताउँछन् ।

विसं.२०५२-०५३ तिर नेपालमा प्रतिहेक्टर १ हजार केजी गहुँ उत्पादन हुन्थ्यो । अहिले ३ हजार केजी गहुँ उत्पादन हुने गरेको बाली प्रजनक तथा वैज्ञानिक पाण्डे बताउँछन् । ‘उत्पादन बढे पनि नेपालमा गहुँको आयात भने रोक्न सकिएको छैन,’ उनले भने– ‘तराईमा उत्पादित गहुँले त्यहीँको जनसंख्यालाई धान्न धौ–धौ छ, पहाडी क्षेत्रको उत्पादन अझै कम छ ।’

गहुँमा आत्मनिर्भर बन्न ४ लाख २५ हजार मेट्रिक टन खाँचो

कृषि तथा पशुपंछी विकास मन्त्रालयका अनुसार २०७४–०७५ मा ७ लाख ६ हजार ८ सय ४३ हेक्टर जमिनमा गहुँ खेती गरिएको थियो । २०७५–०७६ मा ७ लाख ३ हजार ९ सय ९२ र २०७६–०७७ मा ७ लाख ७ हजार ५ सय ५ हेक्टर क्षेत्रफल जमिनमा गहुँ खेती गरिएको छ ।

सोहीअनुसार नेपालमा २०७४–०७५ मा १९ लाख ४९ हजार १ मेट्रिक टन, ०७५–०७६ मा २० लाख ५ हजार ६ सय ६५ मेट्रिक टन र ०७६–०७७ मा २१ लाख ८५ हजार २ सय ८९ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

बिउ र उपभोगका लागि नेपालले ४ लाख २५ हजार ४ सय १७ मेट्रिक टन गहुँ विभिन्न देशहरूबाट आयात भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयको पछिल्लो तथ्यांकले नेपाल गहुँमा आत्मनिर्भर बन्नका लागि हाल आयात भइरहेको परिमाणको गहुँ उत्पादन गर्नुपर्ने देखिन्छ ।

खेमराज पन्त
गहुँ प्रजनक

किसानले नेपालमै उत्पादित गहुँको बिउ प्रयोग गर्ने हो भने उत्पादन पनि बढ्छ


किन बढ्यो आयात ?

मन्त्रालय र केन्द्रको तथ्यांकअनुसार गहुँको आयात बढ्नुमा जनसंख्या वृद्धि, खानपान शैलीमा परिवर्तन, गाउँघरमा आयातित खानाको सहजै पहुँच लगायतका कारक रहेको जानकारहरू बताउँछन् ।

आयात गरिएको गहुँले औद्योगिक मैदा, आँटाजस्ता पीठो प्रयोग हुने औद्योगिक क्षेत्रमा उपयोग भइरहेको गहुँ प्रजनक खेमराज पन्त बताउँछन् । ‘गहुँ औद्योगिक क्षेत्रका लागि बाहै्रमास आवश्यक पर्छ,’ पन्तले भने–‘नेपालमा उत्पादन भएको गहुँले ७० प्रतिशत मात्र औद्योगिक क्षेत्रमा टेवा दिएको छ, बाँकी ३० प्रतिशत अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ ।’


गहुँमा कसरी बन्ने आत्मनिर्भर ?

गहुँमा आत्मनिर्भर हुन सबैभन्दा पहिला सरकारले किसानलाई सहुलियत दरमा गुणस्तरीय बिउ उपलब्ध गराउनुपर्ने पन्त बताउँछन् । ‘किसानले नेपालमै उत्पादित गहुँको बिउ प्रयोग गर्ने हो भने उत्पादन पनि बढ्छ,’ उनले भने–‘यसका लागि सरकारले बिउका साथै रासायनिक मल, सिचाइँमा पहुँच पुर्याउन जरुरी देखिन्छ ।’

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले नेपालमा डुमर जातको गहुँको विकास गरेको छ । जुन गहुँको पीठोबाट चाउमिन, पास्ता, पिज्जा बनाउन प्रयोग गरिन्छ । त्यसैले, यसलाई प्रोत्साहन गर्नुपर्नेमा पन्तले जोड दिए । ‘नार्कले खजुरा डुमर–१ र खजुरा डुमर–२ गहुँ नार्कले विकास गरेको छ,’ उनले भने–‘यो गहुँको उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्नुपर्छ, साथै, उद्योगसँग पनि जोड्न आवश्यक छ ।’

‘गहुँको क्षेत्रफलमा ७ गुणा, उत्पादनमा २० गुणा र उत्पादकत्व मा ३ गुणाले वृद्धि भएको छ,’ पन्तले भने, ‘नेपालमा गहुँको खेती गर्न ९५ प्रतिशतभन्दा बढी उन्नत जातको प्रयोग गरिएको छ, तैपनि गहुँमा आत्मनिर्भर नहुनु भनेको सरकारले कृषिलाई प्राथमिकतामा राखेको छैन भन्ने देखिन्छ ।’

नेपालको पश्चिम तराई र पहाडका जिल्लाहरूमा गहुँ खेती धेरै गरिन्छ । तर, पूर्वी (तराई र पहाड) मा धान उठाइसकेपछि अधिकांश जमिन बाँझो छन् । त्यसैले, यहाँका किसानलाई मल, बिउ, सिँचाइमा आकर्षक प्याकेज दिएर गहुँ खेतीको हुने क्षेत्रफल बढाएमा ४०–५० प्रतिशत उत्पादन बढाउन सकिनेमा उनको जोड छ ।

साथै, गहुँको उत्पादनलाई बढाउन स्थानीय निकाय पनि सक्रिय हुनुपर्ने पन्त बताउँछन् । ‘अहिले नेपालमा प्रतिहेक्टर ३ टन गहुँ उत्पादन हुँदै आएको छ,’ उनले भने–‘स्थानीय सरकारले पालिकाभित्र खेतबारी बाँझो राख्न नपाइने नीति ल्यायो भने नेपाल गहुँमा आत्मनिर्भर हुने दिन टाढा छैन ।’


नेपालमा गहुँको इतिहास

नेपालमा धान र मकैपछिको तेस्रो मुख्य बाली हो, गहुँ । सन् १९६० को दशकदेखि नेपालमा गहुँ खेती शुरु गरिएको थियो । शुरुवाती वर्षमा १ लाख ११ हजार हेक्टरमा क्षेत्रफलमा गहुँ खेती गरिएको थियो भने त्यतिबेला १ लाख २६ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

तर, गहुँको उत्पादन हुने क्षेत्रफल र उत्पादन बढे पनि अझै पनि नेपालमा गहुँ अपुग छ । ‘गहुँको क्षेत्रफलमा ७ गुणा, उत्पादनमा २० गुणा र उत्पादकत्व मा ३ गुणाले वृद्धि भएको छ,’ पन्तले भने, ‘नेपालमा गहुँको खेती गर्न ९५ प्रतिशतभन्दा बढी उन्नत जातको प्रयोग गरिएको छ, तैपनि गहुँमा आत्मनिर्भर नहुनु भनेको सरकारले कृषिलाई प्राथमिकतामा राखेको छैन भन्ने देखिन्छ ।’

नार्कअन्तर्गत रहेको राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमले हालसम्म गहुँको ५४ वटा उन्नत जात विकास गरेको छ । जसमा ४१ वटा जातहरू कृषकले खेती गर्दै आएको पन्तले जानकारी दिए । बाँकी १३ वटा जातहरू, कम उत्पादन हुने, सिन्दुरे (खैरो र पहेँलो) र डढुवा रोग बढी लाग्ने भएकाले खेती लगाउन छाडेका छन् ।

यो पनि पढ्नुहोस्
विदेशको सपना लत्याएर बङ्गुरमा भविष्य खोज्दै युवा
केरामा आत्मनिर्भर बन्दै झापा, वार्षिक यति हुन्छ उत्पादन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

काठमाडौ । संशोधित छापाखाना तथा प्रकाशन ऐन र नियमावली कार्यान्वयनका क्रममा उत्पन्न कानुनी तथा संरचनागत अन्योलका कारण प्रदेश सरकारअन्तर्गत सञ्चार

काठमाडौः गीत, संगीत मानव जीवनको संवेदनशील अभिव्यक्ति हो । गीत, कविता र गजलजस्ता विधाले व्यक्तिको मनभित्र लुकेका भावना, पीडा र

इटहरी/ बालबालिकाहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ को दोस्रो संस्करण भव्यताका साथ सम्पन्न भएको

Latest










Popular
Suggested