English

मासुमा आत्मनिर्भर बन्न खसी–बोकाको उत्पादन बढाए पुग्ने

गत वर्ष १ अर्ब ५९ करोड ५३ हजार बराबरको मासु आयात


गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मासुमा आत्मनिर्भर भएको घोषणा गरे । ओलीको यो घोषणालाई कतिले स्वागत गरे भने धेरैले आश्चर्य माने । आश्चर्य नै सही । किनकि, भन्सार विभागको तथ्यांकले ओलीको त्यो बोलीलाई गिज्याउँछ ।

विभागका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा मात्रै १ अर्ब ५९ करोड ५३ हजार रुपियाँ बराबरको खसी–बोकाको मासु आयात भएको छ । अण्डा र कुखुराको मासुमा नेपाल आत्मनिर्भर भएको व्यवसायीहरू बताउँछन् । यद्यपि, खसी–बोकाको आयातको आँकडाले अहिले नै मुलुक मासुमा आत्मनिर्भर भएको पुष्टि हुँदैन ।

डा. चन्द्र ढकाल
सूचना अधिकारी, पशु सेवा विभाग

पाँच वर्षअघि पाँच लाख खसी बोका आयात गरिन्थ्यो, केही वर्षयता भने ४० हजार मात्रै आयात गरिएको छ, आयातको ग्राफ भने घटेको छ थोरै मिहिनेत गर्दा यसलाई पनि शून्यमा झार्न सक्छौँ ।

पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार नेपालमा विशेषगरी कुखुरा, राँगा, खसी, बोका र बुंगुरको मासुको माग धेरै छ । तर, खसी–बोका बाहेक अन्य मासुमा नेपाल आत्मनिर्भर रहेको उनले प्रष्ट पारे ।

साथै, पाँच वर्षभन्दा अघिको तुलनामा खसी–बोका आयात घट्दै गएको डा. ढकाल बताउँछन् । ‘पाँच वर्षअघि पाँच लाख खसी बोका आयात गरिन्थ्यो, केही वर्षयता भने ४० हजार मात्रै आयात गरिएको छ,’ उनले भने, ‘आयातको ग्राफ भने घटेको छ थोरै मिहिनेत गर्दा यसलाई पनि शून्यमा झार्न सक्छौँ ।’

खसी बोकामा आत्मनिर्भर हुनका लागि वितरण र बजार व्यवस्थापन चुस्त पार्नुपर्नेमा उनको जोड छ । ‘नेपालमा बजारको असहजता र समान वितरण नहुँदा भारतबाट वर्षेनि हजारौँ खसी बोका आयात गरिँदै छ,’ उनले भने, ‘यदि, बजार व्यवस्थापन गर्ने हो भने नेपालमै उत्पादित खसी–बोकाले धान्छ ।’

यसैगरी, नेपालले बाख्रापालनका लागि उन्नत जात बाख्रा पनि आयात गर्दै आएको राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानका वैज्ञानिक तुलसी प्रसाद पौडेल बताउँछन् । ‘यहाँको उत्पादनलाई बजारीकरण र व्यवस्थापन गर्न सकेमा आयात गर्न आवश्यक हुँदैन,’ वैज्ञानिक पौडेलले भने, ‘तयारी मासु होटेल व्यवसायका लागि आयात गरिएको हो, जुन बाहिरबाट आउने पाहुनाका लागि प्रयोग गरिन्छ ।’

उत्पादन व्यवस्थापनको खाँचो

नेपालमा मासुको माग फरक–फरक छ । नेपालमा ५ लाख ५२ हजार १ सय ५६ मेट्रिक टन मासु उत्पादन भइरहेको प्रतिष्ठानको तथ्यांकमा उल्लेख छ । वैज्ञानिक पौडेलका अनुसार १ लाख ८९ हजार मेट्रिक टन राँगा भैँसी, १ लाख १५ हजार मेट्रिक टन कुखुरा, ७० हजार मेट्रिक टन बाख्रा, ३० हजार मेट्रिक टन बंगुर र अन्य (कालिज, लोकल कुखुरा, टर्की, हाँस, बट्टाई, खरायो, बँदेल आदि) करिब १ लाख मेट्रिक टन उत्पादन हुन्छ ।

राष्ट्रिय मासु उपभोग दर प्रतिव्यक्ति सरदर १४ केजी छ । नेपालको उत्पादनले प्रतिव्यक्ति १८ केजीसम्म पुग्छ । तर, बजार व्यवस्थापन नहुँदा यसको समान देखिँदैन । ‘ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा बढी मात्रामा उपभोग भएको देखिन्छ,’ वैज्ञानिक पौडेलले भने, ‘यसलाई समान वितरण गर्न आवश्यक छ ।’

मासुको मूल्य चोकैपिच्छे फरक हुन्छ, जसका लागि मूल्य निर्धारणको आवश्यक छ, खसीको मासु बढी माग छ, नेपाली उत्पादनबाटै अन्य मासु पुग्ने भए पनि खसीको मासु भने १२ देखि १५ प्रतिशत अपुग छ ।

तुलसी प्रसाद पौडेल
वैज्ञानिक , राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानका

मूल्य निर्धारणको खाँचो

नेपालमा उत्पादित मासुलाई नै व्यवस्थापन गर्न सके आयात गर्न आवश्यक नरहेको जानकारहरू बताउँछन् । ‘मासुको मूल्य चोकैपिच्छे फरक हुन्छ, जसका लागि मूल्य निर्धारणको आवश्यक छ,’ पौडेलले भने, ‘खसीको मासु बढी माग छ, नेपाली उत्पादनबाटै अन्य मासु पुग्ने भए पनि खसीको मासु भने १२ देखि १५ प्रतिशत अपुग छ ।’

भन्सार विभागका अनुसार गत वर्ष मात्रै भारत, सिङ्गापुर, थाइल्यान्ड र इटालीबाट ३ करोड १३ लाख बराबरको तयारी मासु पनि आयात भइरहेको छ । यसरी तयारी मासु आयात हुनुको मुख्य कारण होटल व्यवसायका लागि रहेको डा. ढकालको भनाइ छ ।

यसैगरी, भारतबाट १३ हजार ८ सय २७ बाख्रा आयात गरिएको छ । जसबापत १० करोड ७८ लाख ८६ हजार रुपियाँ खर्च भएको विभागको तथ्यांकमा उल्लेख छ । नेदरल्यान्डबाट ८ वटा भेडा ७ लाख ५० हजार रुपियाँको आयात भएको छ । क्यानडा, फ्रान्स, मलेसिया, थाइल्यान्डलगायत राष्ट्रबाट १३ लाख ६८ हजार बराबरको कालिज आयात भएको छ । जसबापत १ अर्ब ४५ करोड ५३ लाख ७० हजार रुपियाँ खर्च भएको छ ।

विश्वनाथ गौतम
वरिष्ठ योजना अधिकृत, नेपाल लाइभस्टोक सेक्टर इनोभेसन

घाँसमा आधारित पशुपालनमा जोड दिएमा उत्पादन बढ्छ । यसका साथै नयाँ उन्नत जातका नश्ल र पशु स्वास्थ्य व्यवस्थापनमा पनि ध्यान पुर्यानुपर्छ ।

आत्मनिर्भरको बाटो

नेपालमा उत्पादित पशुपन्छीको व्यवस्थापन गर्न सके मासुमा आत्मनिर्भर हुन सकिने जानकारहरूको भनाइ छ । दानामा आधारित पशुपन्छी पालन भइरहेको छ । घाँसमा आधारित पशुपालनमा जोड दिएमा उत्पादन बढ्ने नेपाल लाइभस्टोक सेक्टर इनोभेसन आयोजना व्यवस्थापन कार्यालयका वरिष्ठ योजना अधिकृत विश्वनाथ गौतमले बताए । नयाँ उन्नत जातका नश्ल र पशु स्वास्थ्य व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

बोयर जातको बाख्रा हाल पाठापाठीको उत्पादनका लागि मात्रै पालन गरिएको छ । यसलाई मासु प्रयोगका लागि पालन गर्नुपर्ने वैज्ञानिक पौडेलको जोड छ । ‘बोयर बाख्रा मासु उत्पादनका लागि पालन गरिएमा १२ देखि १५ प्रतिशतको आवश्यकता पूर्ति हुन्छ,’ उनले भने, ‘खुलारूपमा बाख्रापालन भएकाले पाठापाठीको मुत्युदर बढी, परजीविका कारण उत्पादनमा ह्रास आएको छ । खुलाभन्दा बँधुवा प्रणाली पालनको आवश्यक छ ।’ पशु आहारमा ध्यान दिएमा उत्पादन बढ्ने पौडेलको विश्वास छ । ‘पशु सेवालाई प्रभावकारी बनाउन सके उत्पादनमा वृद्धि हुन्छ ।’ उनले भने ।

स्थानीय खरी जातको बाख्रामा रोगसँग लड्ने क्षमता बढी छ । यसबाट छनोट गरी व्यावसायिक पालनमा जोड दिएमा ५० देखि ६० प्रतिशत उत्पादन वृद्धि हुने तथा अजमेरी जातको बाख्रापालनमा जोड लिए १० प्रतिशत बढी मासु उत्पादन हुने पौडेलले बताए ।

यो पनि…
आलुले पनि बनाउँछ आत्मनिर्भर
गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ । न्यायाधीश

बाढी–पहिरोले देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । जसका कारण सामान ढुवानीमा समेत ठूलो असर परेको छ । अविरल वर्षा

Latest










Popular
Suggested