English

नेपाल यसरी बन्न सक्छ माछामा आत्मनिर्भर



माछा । सामान्य पसलदेखि तारे होटलसम्मका मेनुमा अटाएको परिकार । नेपालका कतिपय ठाउँ माछाबाटै प्रख्यात छन् । मलेखु होस् या जनकपुर । तर, नेपाल माछामा अझै आत्मनिर्भर बन्न सकेको छैन । नेपालमा उपभोग गरिने माछा चीन, हङकङ, भारत, थाइल्यान्ड, इन्डोनेसियालगायत देशबाट आयात गरिन्छ ।

यो बिडम्बना हो । विश्वमै जलस्रोतको दोस्रो धनी देश हो– नेपाल । यहाँका नदिनाला, ताल–तलैया, सिमसार, पोखरी, सिञ्चित धानखेत, घोलहरू नेपालभरि छरिएर रहेका छन् । यस्ता सिमसार क्षेत्रले नेपालको ५.५ प्रतिशतभन्दा बढी भू–भाग ओगटेको छ । यसको सही सदुपयोग गरेर माछापालनमा कृषकलाई प्रोत्साहन गर्ने हो भने पक्कै नेपाल माछामा आत्मनिर्भर बन्न सक्ने विज्ञहरू बताउँछन् ।

पछिल्लो समय माछापालनमा युवावर्गको ध्यान तानिए पनि सरकारले स्पष्ट नीति र बजारको व्यवस्था नगर्दा ती व्यवसायीहरू पनि पलायन हुने अवस्थामा छन् । तराईका साना पोखरीमा माछापालन हुन्छन् । तर, त्यो निर्वाहमुखी छ । जसले नेपालको मागलाई पूर्ति गर्न सक्दैन । उसो त नेपालका नदीनाला, तालतलैया र पोखरीहरूमा माछापालन बढाउन आवश्यक देखिन्छ ।

भन्सार विभागका अनुसार गतवर्ष मात्र विभिन्न देशबाट ६३ लाख ४ हजार ९ सय ५२ केजी माछा आयात गरिएको छ । जसमा १ अर्ब ७० करोड रुपियाँ खर्च भएको देखिन्छ । कालीमाटी फलफूल तथा तरकारी बजारबाट बिक्री हुने माछामध्ये ७० प्रतिशत आयातित माछा रहेको विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । ‘कालिमाटीमा अधिकांश भारतबाट माछा आयात गरिन्छ,’ श्रेष्ठले भने, ‘त्यहाँ माछा धेरै उत्पादन हुन्छ र नेपालको तुलनामा सस्तो पनि हुन्छ ।’

त्यसैले, माछाकै लागि नेपालबाट ठूलो धन राशि बाहिरिरहेको छ भन्ने प्रष्ट हुन्छ । नेपालमा उत्पादित माछाले मात्र मागलाई धान्न गाह्रो हुने भएकाले विदेशबाट माछा आयात गर्नुपरेको श्रेष्ठको भनाइ छ ।

चार वर्षयता कालिमाटी बजारमा माछा व्यापार गर्दै आएका युजेन श्रेष्ठ ९० प्रतिशतभन्दा बढी विदेशी माछा बिक्री गर्दै आएको बताउँछन् । ‘मैले माछा व्यापार गर्न थालेको चार वर्ष बित्यो तर, विदेशी माछा मात्रै बेचेको छु,’ उनले भने, ‘नेपालमा माछापालन नै एकदमै कम छ, व्यावसायिक छैन त्यसैले यो अवस्था आएको हो ।’

६ हजार ३ सय टन माछाको खाँचो

भन्सार विभागका अनुसार विभिन्न देशबाट गत वर्ष ६ हजार ३ सय ४ टन माछा आयात भएको थियो । अब यति नै मात्रा माछा नेपालमै उत्पादन हुने हो भने आत्मनिर्भर बन्न गाह्रो नहुने राष्ट्रिय मत्स्य अनुसन्धान केन्द्रका मत्स्य वैज्ञानिक प्रेम तिमल्सिना बताउँछन् ।

प्रेम तिमल्सिना
मत्स्य वैज्ञानिक
राष्ट्रिय मत्स्य अनुसन्धान केन्द्र


सरकारले एकलिङ्गे तिलापिया र पंगास माछालाई खुला रूपमा पालन गर्नका लागि मान्यता दिनुपर्छ ।

केन्द्रका अनुसार नेपालको कुल क्षेत्रफलको १३ हजार ४ सय ७६ हेक्टरमा पोखरी छ । यी क्षेत्रफलमा ८० प्रतिशत अर्धसघन (आंशिक) र २० प्रतिशत सघन (पूर्ण) माछापालन गरिएको केन्द्रका मत्स्य वैज्ञानिक तिमल्सिना बताउँछन् । ‘यतिबेला पूर्ण मात्रामा छडी र ट्राउट माछाको पालन गरिएको छ,’ उनले भने, ‘यसले मात्र नेपालको मागलाई धान्न सक्दैन ।’

कृषि तथा पशुपंछी विकास मन्त्रालयका अनुसार ०७४/७५ मा ७६ हजार ५ सय मेट्रिक टन माछा उत्पादन भएकोे थियो । यस्तै, ०७५/७६ मा करिब ९२ हजार मेट्रिक टन र ०७५–७६ मा ९९ हजार ५ सय मेट्रिक टन उत्पादन भएको थियो । माछाको उत्पादन बढे पनि आयातको ग्राफ भने झरेको देखिँदैन ।

कसरी बन्न सकिएला माछामा आत्मनिर्भर

वर्षेनि अर्बौको माछा आयात गर्नुभन्दा माछापालन भइरहेको पोखरीलाई व्यवस्थित माछापालक किसानलाई प्रोत्साहन गर्नतर्फ सरकारको ध्यान गएमा माछामा आत्मनिर्भर हुन सकिने मत्स्य वैज्ञानिक तिमल्सिनाको ठम्याइ छ । ‘नेपालमा परम्परागत तरिकाले माछापालन भइरहेको छ, यसलाई आधुनिकता दिएर व्यावसायिक तरिकाले पालन गर्नुपर्छ,’ उनले भने, ‘माछापालन भइरहेको क्षेत्रमा प्रविधिमैत्री बनाउन सक्ने हो भने पक्कै पनि नेपालकै उत्पादनले धान्न सकिन्छ ।’

साथै, भुरा माछा उत्पादन हुने माउ माछा पनि बुढो भइसकेकाले जति उत्पादन हुनुपर्ने हो त्यो मात्रामा नभइरहेको तिमल्सिना बताउँछन् । ‘१९ औं शताब्दीका माउ माछाबाट भुरा उत्पादन भइरहेको छ,’ उनले भने, ‘माछाको उत्पादन बढाउनका लागि तत्काल उत्पादित माछाको नयाँ नस्ललाई ल्याउन आवश्यक छ, जुन सरकारी स्तरबाटै सम्भव छ ।’

सरकारले मान्यता दिएको माछाको उत्पादन अन्य माछाको तुलनामा कम छ । सरकारी मान्यता पाएको कार्प माछा प्रतिहेक्टर ५–७ मेट्रिक टन मात्र उत्पादन हुन्छ । यद्यपि, एकलिङ्गे तिलापिया माछाको उत्पादन प्रतिहेक्टर सरदर ११ मेट्रिक टन र पंगास माछाको उत्पादन प्रतिहेक्टर ७० मेट्रिक टनसम्म नेपालमा उत्पादन हुने उनले जानकारी दिए । ‘सरकारले यी माछालाई खुला रूपमा पालन गर्नका लागि मान्यता दिनुपर्छ,’ उनले भने–‘यी माछा सघन प्राविधिमा पालिने माछा हुन, विदेशमा पंगास माछाको उत्पादन प्रतिहेक्टर ४ सय देखि ५ सय मेट्रिकटनसम्म भएको छ ।’

साथै, माछा ढुवानी व्यवस्थापनका लागि माछापालन क्षेत्रमा आइस फ्याक्ट्री निर्माणको खाँचो रहेको उनले बताए । ‘माछापालन सामग्री सहुलियतमा उपलब्ध गराउनका साथै सघन रूपमा माछापालन गर्दा पोन्ड एरेसन एयर किट प्रयोग गर्नुपर्छ, जसका लागि किसानलाई कृषि युनिट उपलब्ध गराउन आवश्यक छ ’ तिमल्सिनाले भने– ‘कोरोनापछि धेरै युवाहरू नेपाल फर्किएका छन् । उनीहरूलाई माछा पालनतर्फ प्रेरित गर्नका लागि तालिमको खाँचो छ, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।’
तस्बिरहरु : किरण स्याङ्बो/मेरोलाइफस्टाइल

यो पनि…
आलुले पनि बनाउँछ आत्मनिर्भर
गहुँमा आत्मनिर्भर हुन ४ लाख २५ हजार मेट्रिक टन खाँचो




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,