English

वाम एकता किन र कसका लागि ?



धार्मिक अस्थाको हिसाबले हिन्दुको मठ, मन्दिर, नदिनाला, प्रकृति छन् । इस्लामको मस्जीद, दरगाह, बौद्धधर्मावलम्वीको चैत्य, विहार, धर्मशालाहरु छन् । इसाईको चर्चहरु छन् । तिनीहरुको पनि आ–आफ्नो सम्प्रदाय छ । त्यस्तै प्रकार आस्था अनुरुपको ढाँचामा संचनाहरु खडा गरिएका छन् । कोई ईश्वरको छोरा, कोही ईश्वरबाट उत्पादित, कोहि ईश्वरको अवतार, ईश्वरवादी, अनात्मवादी बुद्धधर्म । अनेकौं प्रपन्चानाहरु, विचारहरु धार्मिक आस्थाको रुपमा मायाको वजाररुपी संसारमा यत्रतत्र छरिएका रहेका छन् ।

बुद्धले प्राणीमात्र अस्तित्वको लागि चार तत्व जल, वायू, अग्नी र आकाशको स्वरुपलाई मत्र स्वीकार गरीएको देखिन्छ । हिन्दु धर्मले मूलतः जल, वायू, अग्नि, आकाश संगै आत्मा पनि तत्वको रुपमा जोडेका छन् । आत्मा र परमात्माको अटुटु आस्थासंग हिन्दु जोडिएका छन् । बुद्धधर्म मान्नेहरू पनि फुटे, हिनयानि र महायानि बने । महायानिहरु बुद्धलाई अवतार मान्न थाले । आ–आफ्ना धर्म सम्प्रदाय महान बनाउने क्रममा धर्म–तारण हुदै आ–आफ्ना संकृतिमा अतिक्रमण हुदै गएको छ । एक धर्मले अर्को धर्मको खोइरो खनिरहेको छ ।

यो खोइरो खनाई र अतिक्रमण धार्मिक साम्राज्यको लागि भैरहेको छ । एक अर्काप्रति घृणा फैलाउने काम भैरहेको छ । आँखा नदेख्नेले हाती छामे जस्तै आफ्नो विश्लेषण, तर्क, निर्णय, को आधारमा धर्मगुरुहरुको व्याख्या गरिरहेका छन् । हिन्दुको विभिन्न मत, इसाइको क्याथोलिक–प्रोस्टेन्ट, बौद्धको हिनयान, महयान, ब्रजयान, इस्लामको सिया–सुन्नी विभाजित भएझैँ नेपालका प्रजातन्त्रवादीहरु र नेपालका कम्युनिष्ट भनिनेहरु विभिन्न सम्प्रदायमा विभाजित भएका छन् । यिनीहरुले राजनैतिक आस्थाको चलखेलमा सम्प्रदाय निर्माण गरेका छन् । आफु सहि अरु गलत रहेको नेताहरुको मनोगत चिन्तन, महत्वाकाँक्षा, सत्ताप्रतिको मोहका कारणबाट आरोप–प्रत्यारोपमा उत्रेका छन् । सामान्य कार्यकर्ताले विद्रोह गरेर चिन्तनको लागि पार्टी फुटाएको इतिहास छैन । नेतृत्व तहबाटै यस्ता घटनाहरु घटित हुने गरेका छन् ।

सत्ताको लाग चुनावी माहोलको सुरुवात हुन लागेको छ । यस पृष्ठभूमीमा वामपन्थी एकताको चर्चा, परिचर्चा हुनुपर्छ, हुनुहुदैन भन्ने बहसको श्रृङ्खला विस्तारै फैलिदै छ । पुष्पलाल गद्दार भन्नेहरु, पुष्पलाल क्रान्तिकारी भन्नेहरु, पुष्पलाललाई पछि बुझ्यौ भन्नेहरु, पुष्पलालको नयाँ जनवादी क्रान्तीको सट्टा जनताको बहुदलिय जनवाद भन्नेहरू, जनयुद्धबाट नयाँ जनवादी क्रान्ती गर्नुपर्छ भन्दै जनयुद्धमा हजारौ मान्छेको नरसंहारपछि बहुलवादमा प्रतिस्पर्धाबाट समाजवाद आउने ठहर गर्नेहरु, त्यस्तै अनेकौं आ–आफ्नो भात भान्सा र आफ्नै कार्यकर्तारुपी सेना छ । सेना–नेताको आदेशमा मर्न र मार्न मात्र जान्दछ । विचार,विवेक,चिन्तन सबैको ठेक्का नेतामा केन्द्रित छ ।

भन्नलाई सबै भन्छन् हामी माक्र्सवादी मात्र हौ–कोही लेनिन पनि थप्छन्, कोही माओवाद थप्छन् । जनताको लागि, समाजवादको लािग, सर्वहारा अधिनायकत्वको लागि, मजदूर किसानको राज्यको लागि लडिरहेका छौ भन्छन् । प्रत्येक नेता आफूले बोकेको चिन्तनबाट क्रान्ती हुने कुरो गर्छन् । फुट–सग्लो, फेरी फुट फुटमा फेरी फुट यिनै दिनचर्याभित्र कोही सत्ताको लागि, कोही सामान बेच्नका लागी आफ्ना–आफ्ना औकात, कार्यकर्ताको संख्याको आधारमा ठूला साना मठाधिस बनेका छन् । मठाधिसलाई आजिवन मठाधिस हुने रहर हुन्छ, नयाँले विस्थापित गर्छ कि भन्ने चिन्ताले आफूले बोकेको विचारभित्र पनि कोटरीहरू निर्माण गर्छ र गरेका छन् ।

वामपन्थी मतदाताहरु शुलभ शौचालय बनेका छन् । कलियुगमा नाम संकिर्तनबाट बेडापार लाउनेसंग भने झै कार्यकर्ताहरु आफ्ना–आफ्ना नेतारुपी इष्टदेवहरुको भजन नाम संर्कितन गाइरहेका छन् । इमान्दार पनि गाइरहेका छन्,बेइमानले पनि गाइरहेको छ । बेइमान विचारको विश्लेषक बन्छ इमान्दार पूरातन पद्धती धानिरहेको छ । माक्र्सले भनेका थिए म माक्र्सवादी होइन । कम्युनिष्ट घोषणा पत्र सन् १८४८ मा लेखिएदेखि माक्र्सवादको नाममा नाना रुपहरु देखियो । नेपाल पनि अछुतो रहेन । पुष्पलाललाई किनारा लगाइए, मनमोहन किनारा लगाइए, तुल्सीलाल, मोहनविक्रम, निर्मल लामा, सिपी मैनाली आदिहरु किनारा लगाइए, विचारको नाममा क्रान्तिको नाममा । उनीहरुका आ–आफ्ना कमजोरी,बेइमानी,सोझोपन,निष्ठा लगायतको विभिन्न तत्वले काम गरेको होला । मदन भण्डारी मारिए राष्ट्रवादको प्रखर योद्धा भएकै कारणबाट ।

तिनीहरु पनि एकजुट हुन सकेन । फुटको अबधारणाको बिजारोपण तिनीहरुबाटै भयो र लहलहाउँदो फुटका रुखहरु बढ्न थाले । माकुरोले आफ्नै माउ खान्छ भने झै भयो । उनीहरुले पनि आ–आफ्नो मठहरूको निर्माण गरेकै थिए । मठ एकीकरणको बेला बेलामा नाटकहरु पनि मन्चन पनि भएकै थिए । वर्तमानको त्यही पिढिको प्रशिक्षित उत्तराधिकारीहरु अझ उन्नत रुपमा फुटको नयाँ नयाँ शिलान्यास गर्दै घरहरु निर्माण गर्दै गएका छन् । गजबको इतिहास निर्माण गरेका छन् ख्यातिनामा नेताहरुले ।

सन् १९१७ को क्रान्तिभन्दा अगाडी लेनिनले भन्ने गर्थे–प्लेखनोभ रुसी माक्र्सवादको जनक हुन र जसले प्लेखनोभ पढेको छैन उ माक्र्सवादी होइन । तर सन् १९१७ पछि प्लेखनोभलाई धूजा धूजा गरी इतिहासको चिहानमा गाडियो । लेनिनका सहयोद्धा ट्राटस्कीको विचारकै नाममा जिवन गुमाए स्टालिन कालमा तत्कालिन सोभियत रुसमा । माक्र्सवाद– लेनिनवादको संरक्षण र विकासको नाममा स्टालिनले लाखौ जिवन्त माक्र्सवादहरूको बलि दिए । माक्र्सको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको दर्शन समय कालखण्डमा नेतृत्वले नेतृत्वको लागि आफ्नै ढंगबाट व्याख्या विश्लेषण गर्दै गयो । माक्र्सवादीभित्र पनि नेतृत्वसँग असहमत हुनेहरुलाई खाल्डोमा पुर्ने नयाँ व्याख्या जन्मियो । जो नेपालमा आजका मितिसम्म सो व्याख्या सबै प्रकारका माक्र्सवादी मठाधिसहरूको वेद र गायत्री मन्त्र बनेको छ ।

एक अर्कालाई संशोधनवादी दक्षिणपन्थी सत्तालोलुप लगायत आदी एक अर्कोलाई गाली गरिरहेका छन् । ब्रह्माण्डमा उनीहरु मात्र सहि छन् भने जसरी गालीको रुखमा मल र पानी हालीरहेका छन् । स्वार्थ मिले–जनताको हितको लागि नभए एकताको नाटक पनि देखेका छौ । नाममात्रको प्रधानमन्त्री मनमोहन बनाइनु र आलोपालो प्रधानमन्त्री बन्ने लिखित संझौताको वामपन्थीको ठूला समूहको एकता र फेरि भागबण्डा नमिल्दा टुटेको कथा बच्चा बच्चाहरूलाई थाहा छ । उनीहरुको जनसंगठन पनि त्यहि रुपमा रहेका छन् । विश्वभर वैज्ञानिक सबैभन्दा सर्वोत्तम दर्शन मानिएको माक्र्सवादी दर्शनका अनुयायी भन्नेहरुको मठ–मठबीच, चर्च–चर्चबीचको लडाई झैं एक अर्काको रगतका प्यासी बनेका छन् ।

मान्छे चेतनाबाट होइन प्रकृतिबाट सञ्चालित हुन्छ भन्नेहरु चेतनारुपी आ–आफ्ना स्वार्थी धारणाको आधारमा वामपन्थी मतदातालाई भ्रमित गरेका छन् । नेताप्रति आस्थाको जड यति अंधविश्वासी बनाएका छन् कि त्यहा विज्ञानको गुन्जायस नै छैन । अहिले चुनावी माहौलमा विपक्षले जित्छ कि भनेर मठाधिसहरु भित्र–भित्र र अलिकति बाहिरू माक्र्सवादीबीच जो ठूला शक्तिछन् तिनको कार्यगत एकता, मोर्चा, एकिरणको राग अलापी रहेका छन् । जितेको जोगीहरु नै हुन्, औकात, हैसियत, स्वार्थ लिप्सा, कोटरी प्राप्तिको भोह, परिवारवादको मोह कति छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । तिनै स्वार्थका लागि फेरी राग अलाप्दै छन् । भलै इमान्दार माक्र्सवादीहरू नामको माक्र्सवादी विच एकिकरण भैदिए पनि माक्र्सवादको रक्षा नभए पनि नाम संर्कितन हुन्छ भनेर लागि रहेका छन् । एकता भए पनि इमान्दारहरु फेरी खोपीको देवता बन्ने छन् । महत्वाकांक्षीहरु नयाँ दौरा सुरवाल सिलाउन मासन गल्लीमा भिड गर्ने छन् ।

विचार मिल्नेको बीच एकता होस् । एकता नहोस् भनेको होइन । वर्तमानको अनुहार हेर्दा एकता किन कसका लागि, जनताले हिजो एकता हुदा के पाए र एक आपसको खुट्टा तानातान बाहेक । सबैभन्दा पहिले छिनोफानो हुनुपर्छ एकता के का लागि ? जनताले के प्राप्ति गर्छन् त्यो एकताबाट ? को अध्यक्ष, को पोलिटव्यूरो, को कार्यकारी अध्यक्ष, को प्रधानमन्त्री, मन्त्रालय कति कति भाग, सभामुख कसलाई, सांसद संख्या मठहरुबीच कति कति बाँडफाँड कै लागि हो भने एकता किन चाहियो र !

सबैभन्दा पहिले जनताका लागि के गर्न सकिन्छ ? त्यो नीति लिदा नेपालीपन अनुसार जनहित हुन्छ कि हुदैन ? विस्तारै समाजवादको चरणको बाटोमा कसरी पुग्ने ? संसदीय मोर्चाबाट समाजवाद प्राप्त हुन्छ कि हुदैन ? यस्ता अनेकौ सवालहरु इमान्दार एकताका अभियन्ताहरुले मथिंगल खियाउने कि नाम संकिर्तनबाटै आत्मसन्तुष्टी लिने र कुराहरु धेरै आदर्शको मात्र गर्ने हो की ? जुनसुकै सम्प्रदाय का किन नहुन्,विचार मिल्नेहरुको एकता हो विचार, आस्थाको आधारमा । एकताको नाममा जनताको मनोभावलाई शुलभ शौचालयमा परिणत नगरुन यहि कामना । शुलभ शौचालय विम्व हो । तर नेपाली कम्युनिष्टका नाममा रहेका दुई दर्जन कम्युनिष्ट घटकहरुले जनताको दिल, निंद, भरोसा र उम्मिद दुवैलाई छिया छिया पारेका छन् फुटेर, लुटेर, मारेर, नेतृत्वको राजा भएर । को ठिक को गलत छुट्याउनै गाह्रो । कठै बरा वामजनमत पनि शुलभ शौचालयको रुपमा तयार हुनुपर्ने रागहरु अलापी रहेका छन् एकता, मोर्चा, केन्द्र बनाउने भनेर ।

२०४६ साल देखि पटक पटक सत्तामा पुगेको वामदलहरु समाजवादी आचरण व्यवहार देखिएन, दलाल पूँजीपति मन र मष्तिष्कमा आवरण समाजवादी पहिरन मात्र हो भनि एक बृद्ध वाममतदाता २०१५ साल देखि वाम मतदाता भएका ९० वर्षे वृद्धको भनाई छ । मौजुदा वामपन्थीदलहरु र नेतृत्वबाट समाजवादको कलपना गर्नु मरेपछिको स्वर्गको कल्पना हो उनको ठहर छ । वामपन्थीहरु र प्रजातन्त्रको खोल ओड्नेहरु सबै हाकाहाकी लटेर घिउ खाने भै सकेको छन् । अब त कम्बल पनि ओड्दैनन् । २०४६ साल देखि नै सो क्रम छोडि सके । म वामपन्थी हु तर यिनीहरुको एकता, फुटसंग अब मेरो ९० वर्षको उमेरमा लेनादेना केही छैन भनेर भन्छन् । म सोचमग्न भएको छु । बृद्धको कुरा यथार्थ छन् ।

पुष्पलाल, मनमोहन, मोहनविक्रम, सिपी, मदन, माधव, प्रचण्ड, वावुराम, के.पी, झलनाथ लगायतलाई उनले राम्रैसंग भोगेका र चिनेका छन् । ती ९० वर्ष बृद्ध बाले । म साठी पुग्न थालेको मानिसको के कुरा । हामी त अन्धाले हात्ती छामे जसरी छामी रहेका छौं जसको भीड र चर्को आवाज छ त्यसलाई सत्य मानिरहेका छौं । वृद्ध भन्छन् वृद्धले नै नामाकरण गरेको बारम्बार कति शुलभ शौचालयमा बाम मतदातामा परिणत हुने । आगामी पिढीले यो प्रश्नको उत्तर खोजोस् । म वृद्धको त्यो सत्यलाई कसरी आत्मसात गर्न सकिन्छ भनेर चिन्तनमा डुब्ने प्रयत्न गर्दै छु भनेर साठीका हाराहारीका इमान्दारहरु मलाई कानमा सुटुक्क आएर भन्दै छन् ।

यो पनि…
मान्छेले बाँचेको आजको परिवेश
म र मेरो मध्यमवर्गीय भ्रमको आलाप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य