पत्रकारका साहित्यमा मातृभूमि र महामारी



गोरखापत्र संस्थानबाट साढे दुई वर्षअघि उमेरहदबाट अनिवार्य अवकाशप्राप्त रामेछापका गान्धीराज काफ्लेले गत वर्ष एकै पटक दुई कृति लिएर आए – एक कविता र अर्को निबन्धसङ्ग्रह । संस्थानबाट प्रकाशन हुने ‘द राइजिङ नेपाल’ का नायब कार्यकारी सम्पादक काफ्ले आफ्नो पत्रिकामा नियमित रुपमा समसामयिक लेखरचना त लेख्थे नै, सँगसँगै सिर्जनशील रूपमा कविता र निबन्ध पनि लेखी पत्रपत्रिकामा पनि प्रकाशन गर्थे । यसअघि उनका ‘मुक्तिवेगका नायक’ (कवितासङ्ग्रह, २०४७), ‘आस्था र अभिमत’ (निबन्धसङ्ग्रह, २०६५) र ‘शब्दको ऐनामा महाभूकम्प’ (निबन्धसङ्ग्रह, २०७२,७३) प्रकाशन भइसकेका छन् ।

पछिल्लो पटक ओरिएन्टल पब्लिकेसन हाउस प्रालिबाट प्रकाशित ‘मेरो सालु मेरो रामेछाप’ (कवितासङ्ग्रह, २०७८) र ‘मास्क एन्ड मिजरिज’ (अङ्ग्रेजी निबन्धसङ्ग्रह, २०७८)ले उनको लेखकीय निरन्तरतालाई पुष्टि गरेका छन् । जागिरबाट अवकाशपछि लगत्तै सल्केको कोरोना महामारीले मन्थली–४ का उनलाई सिर्जनशील रचना रच्न प्रशस्त समय दियो र दुइटा सङ्ग्रह एकैचोटि ल्याउन उनि सफल भए ।

बोलीवचनमा अत्यन्त मितव्ययी र मृदुभाषी ६० वर्षीय काफ्ले बेलाबेलामा पत्रिकामा छापिन मन पराउथे तर हल्लाखल्ला त्यति मन पराउँदैनथे। भोग्य–सगुन राष्ट्रिय पत्रकारिता पुरस्कार (गोप, २०७१) र गोरखापत्र पत्रकारिता पुरस्कार (गोप,२०७४) बाट पुरस्कृत उनले हालै बिडी त्यागी योगदान सम्मान (बिडी त्यागी स्मृति केन्द्र, २०७९) पनि प्राप्त गरेका छन्।

त्रिचालिस वर्षअघि प्रवेशिका परीक्षा उत्तीर्णपछि सालु, च्याउकेठाँटीबाट राजधानी पसेका लेखकलाई सानैमा देवकोटा, सम आदिका रचना पढ्दाका क्रममा साहित्यमा रस बसेको थियो । त्यसैले पत्रकारितामा संलग्न भए पनि उनले कविता र निबन्धलेखनबाट आफूलाई टाढा राख्न दिएनन् । बाल्यकालमा मोटोघाटो काफ्ले हाल भने महात्मा गाँधीजस्तै कृशकाय(४५ केजी) बन्नु साहित्यप्रतिको एकोहोरो लगावले पनि हो कि भन्न सकिन्छ । भारतमा पढाइ र कामका लागि गएका हजुरबुवा भोजराजलाई महात्मा गाँधीको प्रभाव पर्नु स्वाभाविकै थियो र उनको सिद्धान्त र आन्दोलनले लेखकका बुवा खेतराजलाई छोयो र उनिबाट नै गान्धी नाम पाए । महात्मा गाँधीको अहिंसा र कमलो भाव रामेछापमा जन्मियका लेखक गान्धीका काव्य र निबन्धमा पनि प्रशस्त प्रतिविम्बित भएका छन् । यसअघि प्रकाशित उनको लघुकाव्य ‘मुक्तिवेगका नायक’ मा सबै युगमा एउटा न एउटा आशालाग्दो नेता जन्मने र आशाको दियो जलाउने भाव प्रकट गरिएको छ । जननेता बिपी कोइरालालाई हृदयमा राखेर लेखिएको सो काव्यमा उनलाई मुक्तिको वेगका रूपमा प्रतिविम्बन गरिएको छ ।

जन्मभूमिप्रति प्रेम

जम्मा ५२ पृष्ठमा १५ कविता अटाएको प्रस्तुत समीक्ष्य काव्यसङ्ग्रह भने नामैले जन्मभूमिको मायाले भरिपूर्ण छ । जागिरको अवकाशअघि ‘सालु, मेरो सालु १ ’(गोप, २०७), सङ्ग्रहमा भने परिमार्जन र शीर्षक फेरिई ‘मेरो आफ्नै परिभाषा’ लेखेर जन्मभूमिप्रति उच्च प्रेम पोखिसकेका कविले अवकाशपछि १४ कविता र निबन्ध (पहिले अप्रकाशित) लेखी सङ्ग्रहका रूपमा ल्याएका थिए । कसैले भनेका छन्, ‘हरेक लेखकले आफ्नो बाल्यकाल र जन्मस्थान आफ्नो कृतिमा ल्याएकै हुन्छन ।’ हुन पनि हो, कवि–लेखकलाई आफ्नो बाल्यकाल, जन्मेहुर्केको स्थलको स्मृतिले सधैँ पछ्याइरहेकै हुन्छ । आफ्नो लेखनीमा आफ्नो जन्मस्थल (हुर्केको ठाउँ पनि) बारे नलेख्ने कमै होलान् । त्रेतायुगमा राम पनि आमा र जन्मभूमि स्वर्गभन्दा ठूला हुन्छन् (अपि स्वर्ण मयी लंका, न मे लक्ष्मण रोचते । जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी) भनेर लङ्का राज्य विजयपछि जन्मभूमि अयोध्या नै फर्केर आए, जुन प्रसङ्ग वा श्लोक संस्कृत साहित्यको उच्चस्तरको मानिन्छ । कविशिरोमणि, महाकवि, राष्ट्रकवि, युगकविका साथै कवि भूपि शेरचन, लेखक रमेश विकल आदि पनि त्यस्ता लेखक–कविका केही उदाहरण हुन् । पत्रकार काफ्ले पनि यसमा अछुतो रहेनन । उनि भन्छन,

‘भावनाले आस्थाले
प्रेम अनौठो जोडिन्छ
जन्मभूमिसँगको नाता
जन्मसँगै जन्मिन्छ ।’ (जन्मसँगै जन्मभूमि)

कवि सालु, रामेछापलाई शिरको टोपी जस्तै, मन्दिरको गजुर जस्तै सबै तीर्थको तीर्थ, पवित्र, लक्ष्यको सीमाहीन उचाइ र अति प्रिय मान्छन, अनि ‘रामेछापको सालु नपुगी, फेदी भेटिन्न मेरो परिचयको’ भन्थे । उनि आफ्नो भावनाको स्रोत आफ्नो जन्मभूमि रामेछाप, सालु नै भएको जनाउँदै आफ्नो अस्तित्व र परिचय तिनमै खोज्छन र आफ्नो यो परिचय कहिल्यै परिवर्तित नहुने ठान्छन । ‘जीवनको गहनता बुझ्न र गाँठी कुरा इमान नछाड्न’ तथा दृढ भएर हिँड्न, चरित्र राम्रो बनाउन र असल कर्म गरी नाम राख्न आफूलाई सालु, रामेछापले नै दिएको कवि ठोकुवा गर्छन् । बाधाव्यवधान र पछौटेपन छाडेर आफ्नो जन्मभूमि अब रोजगारी र शान्तिका साथ प्रगति–विकास–उन्नति शिखरमा पुग्नुपर्ने औँल्याउँदै उनि तर विकास बाटो, मोटरगाडी, कारखाना, उद्योगमा नभएर शान्त प्रकृतिमा नै भेटिने बताउछन् । कविले यहाँ रामेछापका सुपुत्र शहीद गङ्गालाल श्रेष्ठलाई पनि सम्झेका छन र अन्यायविरुद्ध स्वतन्त्रताका पक्षमा बोल्न–लड्न उनीबाट सदैव प्रेरणा लिइरहनुपर्ने आह्वान पनि गरेका छन् ।

लघुसङ्ग्रहका हरेक कविता खँदिला र रसिला छन् । छोटाछोटा यी कवितामा संस्कृत शब्द भने अत्यधिक प्रयुक्त छन् । कविले आफ्नो मातृभूमिको वर्णन गर्दा प्रकृतिलाई बढी सम्झिएका छन भने जनजीवनका कुरा कम राखेका छन् । ‘गङ्गालाल’बारे उत्कृष्ट कविता लेख्ने कविले रामेछापकै अर्का ‘लाल’ कृष्णलाल र पुष्पलालबारे भने लेख्न बिर्सेछन । मातृभूमिप्रतिको पे्रमभाव यत्रतत्र दोहोरिएका छन्, तेहोरिएका छन् । संस्कृत व्याकरणका प्रणेता पाणिनिको जन्मस्थल नेपालको अर्घाखाँची मानिए पनि कवि चिप्लिएर ‘पाणिनी हामै्र गुल्मीका’ लेख्छन भने ‘मध्य’ नेपालका ठाउँमा मुद्रा राक्षसको गल्तीले ‘मद्य’ हुन पुगेको छ । त्यस्तै ‘अरु’, ‘रङ्ग’, ‘परिपुरक’, ‘गारो’, ‘तमाकोशी’, ‘कम्ति’ जस्ता केही शब्द अशुद्धि भेटिएका छन् । मातृभूमिलाई माया गर्ने जोकसैले यी कविता पढेमा तिनलाई पनि आफ्ना ठाउँबारे लेख्न हुटहुटी दिन सक्ने क्षमता यस सङ्ग्रहमा पक्कै छ ।

यो पनि…
‘आमा’

नकाब र दुःखहरू

पत्रकार काफ्लेका अघिल्ला निबन्धमध्ये ‘आस्था र अभिमत’ मा स्वतन्त्रता, ‘ब्रेन ड्रेन’ जस्ता छरिएका विषय थिए भने ‘शब्दको ऐनामा महाभूकम्प’ चाहिँ ‘गोरखा भूकम्प’बाट जन्मेको डर, घर जस्ता संरचना बनाउँदा मापदण्डको कमी, सुरक्षा आदि विषयमा केन्द्रित छ । प्रस्तुत अङ्ग्रेजी निबन्धसङ्ग्रह ‘मास्क्स एन्ड मिजरिज’ पनि भूकम्प जस्तै कोरोना भाइरसको महामारीमा मात्र सीमित छ ।

निबन्धसङ्ग्रहमा रहेका दश रचनामध्ये एकमा भने आफ्नो अति नै कविताप्रेम छुटाउन नसकेका कारण यी कवि–लेखकले कविता पनि पारेरै छाडेका छन । महाव्याधिपछि मानिसहरूमा रहेको जीवनप्रतिको प्रेम, स्वास्थ्यकर्मीको कामको प्रशंसा, रोगप्रति विज्ञानको मौनता र मानिसले खोपलगायत औषधि प्राप्तिमा गरेको आशा, विश्वमारी सङ्कट युद्धतुल्य भएको विचार, वैदेशिक रोजगारीमा गएका नेपालीले भोगेको दुःख, मिडियाले खेलेको भूमिका, रोग प्रतिरोध क्षमता, यसबारेका तथ्यतथ्याङ्क र मानिसहरूका धारणा आदि विषयलाई मसिनोसँग निबन्धहरूमा समेटिएको छ । हुन पनि उनिले ‘लकडाउन’को समय घरमै ‘आइसोलेशन’मा बसेर सधैँजसो कोभिड–१९ सम्बन्धी घटना, समाचार र विचारहरू रेडियो, टेलिभिजन र छापा समाचारपत्र अध्ययन गरेरै बिताए र वैश्विक महामारीबारे राम्ररी ‘अपडेट’ पनि भए । त्यसैले यी निबन्ध समयका दस्ताबेज पनि हुन् र यी भविष्यमा अध्ययनअनुसन्धानका लागि महत्त्वपूर्ण साबित बन्ने छन् ।

अत्यन्त सरल भाषामा र सामान्य अङ्ग्रेजी भाषासँग परिचित पाठकले पनि यिनलाई बुझ्न सक्नेछन् । कवितामा जस्तै यिनमा पनि लेखकले धेरै कुरा दोहोयाई दोहोर्याई भनिरहेका छन् । एकै विषयमा लेख्दा त्यसो हुनु स्वाभाविक पनि हो । लेखकबारे बुझ्न तथा हाम्रो भूगोल र समयबारे परिचित हुन उनका दुवै रचनाले पाठकलाई सहयोग गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।

यो पनि…
कथा : सकुबस
नाल्दुम



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ । नेपाल, भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको प्रेमगीत ३

हास्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् । लामो समयदेखि प्रेम

नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ

दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुका फ्यान फलोइङ विश्वभर छन् । अभिनेता नागा चैतन्यसँग डिभोर्स भएपछि एक्लिएकी सामन्था

Suggested