English

‘कुमारी’ सँग एक दिन (भिडियो सहित)



भक्तपुर कमलबिनायकको भित्री गल्ली छिचोल्दै जाँदा भेटिन्छ– प्रसन्नशील महाविहार अर्थात् कुमारी घर । त्यही घरको आँगनमा लटुपुटु गर्दै गरेकी एउटी सानी बालिका । ठूला आँखा, बाटुलो चेहरा, उस्तै जिउडाल । अनि मीठो बोली र मायालु व्यवहारले सबैलाई लठ्ठ पार्छिन् ।

उनी हुन्– भक्तपुरकी जीवित देवी अर्थात् ‘कुमारी’ । उनको वास्तविक नाम लुनिभा बज्राचार्य । उमेर ४ वर्ष । दसैंयता महाविहारमा कुमारीको रुपमा भित्रिएकी हुन् । दसैंको १५ दिन यही घरमा बिताएर घर फर्किएकी लुनिभा कसैले पूजाकोलागि बोलाए भने दगुर्दै आइहाल्छिन् ।

उनी कुमारी घर आएको मौका छोपेर गत शुक्रबार मेरो लाइफस्टाइलको टीम प्रसन्नशील महाविहार पुग्यो । त्यहाँ पुग्दा लुनिभा बिहानीको खाजा खाएर सुसारेहरुसँग खेलिरहेकी थिइन् । उनको दिनचर्या अन्य बालबालिकाको जस्तै सामान्य थियो । खेलिसकेपछि उनले भनिन्, ‘अब खाना खानुपर्छ नत्र स्कुल जान ढिला हुन्छ ।’

विद्यालय जाने जीवित देवी
खाना खाएर उनी विद्यालय जाने तरखरमा लागिन् । विद्यालयसम्म पुर्याउन उनको आमा आइपुगिन् । कुमारीसँगै हामी पनि विद्यालय गयौँ । टिनिनि…घन्टी बज्छ । कुमारी दगुर्दै कक्षामा पुग्छिन् । केहीबेरमा पढाई सुरु हुन्छ । हामीलाई कक्षाकोठामा लन्छिन् । उनले शिक्षकसँग नबुझेको कुरा सोधि–सोधि पढिन् । गृहकार्य देखाइन् । पढाईका साथै, अतिरिक्त क्रियाकलापमा पनि उनको रुचि छ । त्यसैले शिक्षिकासँग सिक्दै चित्रमा रङ भर्न थालिन् ।

कुमारी भएपछिको स्कुल…
यहिक्रममा हामी कुमारीकी शिक्षिका सजिना लाब्रेसँग भलाकुसारी गर्न थाल्यौं । कुमारी छनोट भएपछिको केही दिन त लुनिभा स्कुलमा साह्रै निराश देखिएको उनले सुनाइन् । ‘सायद कुमारी घरमा बोल्न नपाइने, भीडभाड हुने भएर पनि होला,’ लाब्रे सम्झन्छिन्, ‘सुरुको एकदुई दिन त स्कुल आएपछि रुन थाल्थिन्, बिस्तारै सामान्य अवस्थामा आइन् ।’

पढाईका साथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल कुमारीलाई पढाउन पाएकोमा लाब्रे गर्व गर्छिन् । ‘अझै हाम्रो क्षेत्रको त भगवान,’ उनी भन्छिन्, ‘साक्षात भगवानलाई नै शिक्षा दिन पाउँदा को खुशी नहोला र !’

यत्तिकैमा ४ बज्छ । कुमारी घर फर्कन्छिन् । घर पुगेर हातगोडा धुन्छिन् । खाजा खान्छिन्, एकछिन् खेल्छिन् । अनि गृहकार्य सिध्याउँछिन् । बेलुकाको खाना खाएर सुत्न जान्छिन् यसरी नै बित्छ उनको दिनचर्या ।

तलेजु भगवतीको प्रसाद शिरमा लगाइदिएपछि बालिका बिरामी भइन् भने उनलाई कुमारी मानिदैन बिरामी भईनन् भने मात्र कुमारी छानिन्छ ।

कुमारीबारे स्थानीय नै अनभिज्ञ
भक्तपुरमा कुमारी राख्ने चलन सुरु भएको सदिऔं भइसक्यो । तर, स्थानीयलाई कुमारीबारे सोध्यो भने उल्टै प्रश्न तेर्स्याउँछन् । भन्छन्, ‘के भक्तपुरमा पनि कुमारी छिन् र ? कुमारी त काठमाडौंमा मात्र हुन्छन् हैन र ?’

तर, भक्तपुरमा कुमारीको आवश्यकता परेपछि गुरु न्हच्छेरत्न शाक्य लुनिभाको घरमै पुगेका थिए । उपयुक्त गुण र व्यवहार हेरेर गुरुले उनको शिरमा फूल राखिदिए । तलेजु भगवतीको प्रसाद शिरमा लगाइदिएपछि बालिका बिरामी भइन् भने उनलाई कुमारी मानिदैन बिरामी भईनन् भने मात्र कुमारी छानिन्छ ।

यो प्रक्रियाबाट लुनिभा पनि गुज्रिइन । उनको शिरमा फुल राखेपछि लुनिभा बिरामी भइनन् । उनको गुण र व्यवहारमा पनि कुनै परिर्वतन आएन । यसपछि उनलाई कुमारीको रुपमा छानियो ।

कसरी छानिन्छ कुमारी ?
काठमाडौं, पाटन र भक्तपुर तीनै ठाउँमा कुमारी छनोट गरिने धार्मिक तथा सांस्कृतिक विधि उस्तै भए पनि शैली भने फरक हुन्छ । काठमाडौंमा शाक्य तथा भक्तपुर र ललितपुरमा बज्राचार्य थरका बालिका कुमारी हुन्छन् । काठमाडौंमा कुमारी छान्ने बेलामा चिना पनि हेरिन्छ । ३२ गुण भएको बालिकालाई मात्र कुमारी छानिन्छ । तर, भक्तपुरमा चिना देखाउनु पर्दैन ।

पहिले वि.सं २०४१ भन्दा अघि ४/५ वर्षको बालिका छाने पनि ३ देखि ४ वर्षको लागि मात्र कुमारी हुने चलन थियो । दुध दाँत झरिसकेपछि तथा घाउ चोट लागेपछि फेरिने गरिन्थ्यो । तर, २०४१ पछि सरकारले १०/ ११ वर्ष सम्म कुमारी हुने नियम लागू गरेको छ । कुमारी छान्दा ३/४ देखि ६/७ वर्षको बालिका हेरिन्छ त्यसैले ४ देखि ५ वर्ष कुमारी हुने चलन छ ।

यसो भन्छन् कुमारीका सुसारे
२५ वर्षदेखि भक्तपुरको कुमारीहरुलाई स्याहार गरेर बसेकी भक्तपुर कुमारी घरकी सुसारे रुक्मनी शाक्य आम मानिस र कुमारीमा धेरै फरक हुने सुनाउँछिन् । ‘कुमारी भनेको जीवित देवी हो उहाँमा छुट्टै शक्ति हुन्छ’ उनी भन्छिन्, ‘दसैँ भरि कुमारी घरमा कुमारीको पहिरन र गहना लगाएर बसिरहँदा मुहारमा छुट्टै चमक आउँछ भगवान् जस्तै ।’

दसैँभरि कुमारी र पूजा गर्ने व्यक्तिले दिनमा एकपटक भोज मात्र खाने हो तैपनि भोक लागेको महसुस नहुने रुक्मनी बताउँछिन् । राजधानीको कुमारी भएर काठमाडौंको कुमारीलाई धेरै महत्व दिइएको छ । भक्तपुरको कुमारीलाई भने खासै वास्ता नगरिएको उनको गुनासो छ ।

काठमाडौंको कुमारीलाई बढी सेवा सुविधा छ । भक्तपुर र पाटनको कुमारीलाई भने काठमाडौंको जस्तो सेवा सुविधा नभएको बडागुरु शाक्य बताउँछन् । ‘भक्तपुर नगरपालिकाले पनि भक्तपुर कुमारी घरको लागि केही व्यवस्था गरेको छैन,’ उनको गुनासो छ ।

काठमाडौंमा कुमारी छान्ने बेलामा चिना पनि हेरिन्छ । ३२ गुण भएको बालिकालाई मात्र कुमारी छानिन्छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा कुमारी छान्ने चलन नौलो होइन परापुर्व काल देखिकै चलन हो । कुमारी भएपछि बालिका भगवान्को रुप हुने भएकाले उनीहरुमा छुट्टै शक्ति हुने र पूजा गर्ने पुजारीमा पनि शक्ति आउँछ । ‘दसैँको १५ दिन कुमारी र हामी पुजारीहरु खाना नखाई एक छाक मात्र भोज खाएर बस्छौ, तैपनि हामीलाई भोक लाग्ने तथा कमजोर महसुस हुँदैन,’ न्हुच्छेले बताए ।

कुमारीपछि लुनिभाको व्यवहारमा परिवर्तन
कुमारी भएर कुमारी घरमा बस्ने बेलामा कुमारीले बोल्नु हुँदैन भनेर सिकाइन्छ । जस्ले गर्दा कुमारी घरबाट बाहिर आईसकेपछि लुनिभाको बोली व्यवहारमा थोरै परिर्वतन आएको कुमारीको आमा सुजिना बज्राचार्य सुनाउँछिन् । ‘छोरीलाई कुमारीको रुपमा सबैले पुजेको देख्दा खुसी लाग्छ,’ उनी भन्छिन् ‘भक्तपुरको कुमारी छान्दा यसपटक तीन जना मध्ये मेरो छोरी छानिइन् ।’

भक्तपुरका पूर्व कुमारीहरु धेरैले विवाह गरिसकेका छन् भने केहि विवाह नगरि बसेका छन् । २०४१ भन्दा पहिलेको कुमारीहरुले त कहीँबाट केही सहयोग पनि नपाएको शाक्य बताउँछन् । ‘त्यसपछिका कुमारीलाई भने भत्ता दिने व्यवस्था गरिएको छ,’ उनले भने, ‘तर काठमाडौंको तुलनामा एकदमै कम ।’

भक्तपुर कुमारीलाई एकान्त कुमारी पनि भनिन्छ । काठमाडौंको तुलनामा भक्तपुरकी कुमारीलाई बाहिर निस्कने र विद्यालय जाने स्वतन्त्रता छ । कुमारीको खानपानमा विशेष ध्यान दिइन्छ । कुखुराको मासु वा अण्डा खान निषेध हुन्छ ।

जिवित देवी कुमारीको पुजा मल्लकालीन राजाको पालादेखि नै प्रारम्भ भएको थियो, जसले अहिले पनि निरन्तरता पाइरहेको छ ।

भत्तामा भेदभाव
काठमाडौंको कुमारीलाई काठमाडौँ महानगरपालीकाले मासिक ५० हजार भत्ता उपलब्ध गराउँछ । नेपाल सरकारले बहालवाला कुमारीलाई ५ हजार दिने व्यवस्था गरेको छ, दुवै गरेर काठमाडौंकी कुमारीले मासिक ५५ हजार भत्ता पाउँछिन् । काठमाडौंका भूतपूर्व कुमारीलाई पनि महानगरले १५ हजार र नेपाल सरकारले ६ हजार गरेर मासिक २१ हजारको दिने व्यवस्था गरिएको काठमाडौँका कुमारी सुसारे गौतम शाक्य बताउँछन् ।

काठमाडौँ महानगरपालीकाले कुमारीलाई भत्ता उपलब्ध गराईरहेको छ, तर भक्तपुर नगरपालिकाले भने कुमारीको लागि कुनै सेवा सुविधाको व्यवस्था नगरेकोमा सुसारेहरुको गुनासो छ । नेपाल सरकारले भक्तपुरको कुमारीलाई मासिक ३ हजार ५ सय रुपैयाँ उपलब्ध गराउँछ भने भुपु कुमारीलाई ५ हजार ६ सय २५ रुपैयाँ दिने गरेको शाक्य बताउँछन् । ‘गुठी संस्थानबाट बहालवाला कुमारीलाई ९ सय र भूपूलाई १ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ,’ उनले भने ।

त्यस्तै, ललितपुर महानगरपालिकाले पनि पाटनको कुमारीको लागि केहि सेवा सुविधाको व्यवस्था गरेको छैन । तर, कुमारीले विभिन्न निकायले सहयोग स्वरुप उपलब्ध गराएको करिव ८ हजार रुपैयाँ भत्ता पाउँछिन् । ललितपुरको भुपु कुमारीहरुले भने नेपाल सरकार अन्तर्गतको ५ हजार ६ सय २५ रुपैयाँ पाइरहेका छन् ।

भिडियो

छुटाउनु भयो की
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
कोरोनासँगै यसरी बदलियो लाइफस्टाइल
यस्तो थियो जननेता मदन भण्डारीको लाइफस्टाइल
यस्तो थियो राजा वीरेन्द्रको लाइफस्टाइल
यस्तो थियो शिवजीको लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,