English

सन्दर्भ : जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्ती

यस्तो थियो जननेता मदन भण्डारीको लाइफस्टाइल



ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका जननेता मदन भण्डारीको आज ७० औं जन्मदिन । पिता देवीप्रसाद र माता चन्द्रकुमारीको दोस्रो सन्तानको रुपमा जन्मिएका भण्डारी ४१ वर्षको उमेरमै संसारबाट बिदा भए । तर, नेपाली राजनीतिमा उनले फरक पहिचान र छाप छोडेका छन् ।

साहित्यकार मोदनाथ प्रश्रित

बहुदलीय जनवादका व्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा निधन भयो । उनीसँगै नेता जीवराज आश्रितको निधन भएको थियो । उक्त घटनाको सत्यतथ्य छानविन गर्न धेरै आयोग बने, नेकपा एमालेकै नेतृत्वमा कैयौं सरकार बने, आफ्नै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपती छिन् । तैपनि, घटनाको वास्तविकता बाहिर आउन सकेको छैन । २०३९ सालमा विद्यासँग विवाह गरेका भण्डारीका उषाकिरण र निशाकुसुम दुई छोरी छन् ।

जननेता भण्डारीका राजनीतिक गुरु तथा उनलाई नजिकबाट चिनेका साहित्यकार तथा एमालेका नेता मोदनाथ प्रश्रितसँग जननेता भण्डारीको लाइफस्टाइलमा केन्द्रीत रहेर गरिएको कुराकानीमा आधारित :

दाई कांग्रेस, भाई बामपन्थी
जननेता मदन भण्डारी

हाम्रो पहिलो भेट बनारसमा भएको हो । उहाँको जेठो दाजुसँग पनि मेरो चिनजान थियो । अरु कतिजना दाजुभाई हुनुहुन्थ्यो ख्याल गरिन । तर, जेठो आध्यात्मिक क्षेत्रमा लाग्नुभएको थियो । मदनले १३–१४ वर्षको उमेरमा मार्क्सवादका केही कुराहरु पढ्नुभएको रहेछ । तर, दाई नेपाली कांग्रेसको समर्थक हुनुहुन्थ्यो । उहाँ वामपन्थी विचारबाट प्रभावित । त्यसैले दाजुभाईको बीचको सम्बन्ध त्यति राम्रो नभएपछि उहाँले नेपाल छोडेर वृन्दावन जानुभएको रहेछ ।

त्यहाँ नाचगान, भजन कीर्तन धेरै हुन्थ्यो । त्यसले उहाँको सांगीतिक झुकाव बढायो । केही गीत सिर्जना पनि गर्नुभएछ । वृन्दावन बसाई खासै चित्त बुझ्दो नभएपछि उहाँ बनारस जानुभयो । त्यतिबेला म बनारसमा थिएँ । उहाँले मेरा केही सिर्जना पढ्नुभएको रहेछ । जगन्नाथ भन्ने एकजना साथीले मदनलाई पढ्ने, बस्ने, भर्ना, खानपिनको व्यवस्था मिलाइदिनु भएछ ।

त्यो भेट…

बनारस आएपछि उहाँ मलाई भेट्न आउनुभयो । पहिलो भेटमा मैले उहाँलाई बनारससम्म कसरी आइपुग्नुभयो ? सोधेँ । उहाँले सिधै दाई कांग्रेस पक्षको हुनुहुन्थ्यो । मलाई वामपन्थी तिर नलाग भन्न थाल्नुभयो । कुरा मिलेन । त्यसैले घर छोडेर वृन्दावन आएँ । त्यहाँपनि त्यति चित्त बुझेन । तपाईंहरु पनि बनारसमै हुनुहुन्छ । सबैसँग भेटघाट, छलफल हुन्छ भनेर वृन्दावन छोडें ।

उहाँको भाषण कला असाध्यै राम्रो थियो । साच्चिकै जननेता हुनुहुन्थ्यो । दूरदर्शी, युगनायक र सिद्धान्तकार हुनुहुन्थ्यो । ज्येष्ठ पुस्तालाई सम्मान, समकालीन पुस्तालाई आवश्यक स्थान र भूमिकासहित सँगै हिँडाउने, अनि सानालाई वैचारिक, सैद्धान्तिक र सांगठनिक दृष्टिले खार्दै असिमित उर्जा दिने र आफू पनि फराकिलो सोचसहित राष्ट्रलाई उचित दिशामा लिएर जान सक्ने सोच राख्नुहुन्थ्यो ।

परिवारप्रेमी

त्यतिबेला म पुष्पलाल कमरेडको कोठामा बस्थें । पुष्पलालसँग मैले मदनका कुरा गरिदिएँ । एउटा युवा छन्, राम्रो, सक्षम र बुझेका छन्, गीत–कविता लेख्छन्, भनेर सुनाइदिएँ । केहीदिनपछि उहाँसँग पुष्पलालले भेट्नुभयो । त्यहीक्रममा पार्टीमा प्रवेश गर्ने कि नगर्ने भनेर सोध्नुभएको थियो । उहाँले अहिले म सक्दिनँ, मेरो ठूलो परिवार छ । सबै मैले नै हेर्नुपर्छ । पहाडबाट झरेर एउटा सानो (कटेरो) जस्तो घर बनाउँदै छौँ । अहिले तत्काल त म केही फैसला गर्न सक्दिनँ, पछि अनुकुल भयो भने लागौँला अहिले समर्थक मात्र बन्न सक्छु भन्नुभयो । त्यसैले उहाँ परिवारप्रति निकै जिम्मेवार हुनुहुन्थ्यो भन्ने कुरा त्यहाँबाटै प्रष्ट हुन्थ्यो ।

अभावमा जिउन सक्ने…

उहाँले घरको स्थितीबारे बयान गरेपछि म आफैँ उहाँको घर गएँ । नभन्दै घरको अवस्था उहाँले भनेजस्तै रहेछ । उहाँका बुबासँग केही व्यवहारिक कुरा गरेका थियौँ । त्यतिबेला बुबाले हामी भर्खर यहाँ आएका छौँ, (ताप्लेजुङबाट मोरङको इटहरा) हामीले केही गर्न सकेको छैन । घर पनि बनाउन सकिएको छैन । सबै घर हेर्ने जिम्मा माइलाकै काँधमा छ । त्यसैले मदनलाई चाहिँ पार्टीमा नलैजानु है भन्नुभएको थियो । त्यसैले मदनको घरमा निकै दुःख थियो । दुःख, अभाव जे भएपनि त्यसबाट टाढा भाग्ने उहाँको स्वभाव थिएन । त्यसैसँग जुध्दै अघि बढ्नुभयो ।
साहित्यमा रुची तर, केही समयपछि मैले मदनलाई पार्टीमा आउन अनुरोध गरें । त्योबेला म साँस्कृतिक विभागको प्रमुख थिएँ । उहाँले पार्टीमा आउन अझै मान्नुभएन । मैले बुझाउने प्रयास गरेँ गरेँ । साँस्कृतिक विभागमै रहेर तपाईले काम गर्नुस्, धेरै समय दिनुपर्दैन, पार्टीको लेखहरु लेख्ने, भाषण दिने काममा सघाउनु पर्यो भनेपछि उहाँ सहमत हुनुहुभयो । त्यसपछि मैले उहाँलाई ४–५दिन पार्टीको विधानअनुसार केहीदिन प्रशिक्षण दिएँ । उहाँ त्यहाँ बसेर साहित्य लेखन र क्रान्तिकारी गीत लेख्न थाल्नुभयो । त्यसैले साहित्यमा पनि उहाँको त्यत्तिकै रुची थियो । पूmर्सद हुँदा उहाँ विभिन्न साहित्य र बामपन्थी विचारकहरुका पुस्तकहरु पढेर बिताउनुहुन्थ्यो ।

अनि पार्टी राजनीतिमा…

उहाँ साँस्कृतिक विभागमै रहेर काम गरिरहनुभएको थियो । यत्तिकैमा उहाँले पार्टी राजनीतिमा प्रवेश हुने इच्छा गर्नुभयो । मसँग उहाँले अब पार्टीमा लाग्छु, तपाईले बाआमालाई बुझाउनु पर्यो भन्नुभयो । त्यसपछि जीवराज जी र म उहाँको घर गयौं । बुबासँग कुरा गर्यौं । बुबाले पनि गुरु नै आएर मागेपछि लैजानुस् भन्नुभयो । मैले बनारसमा मदनलाई प्रशिक्षण दिएको थिएँ । त्यसैले उहाँले मलाई गुरु भन्नुहुन्थ्यो । म त्यो बेला पार्टीको स्कूल चलाउँथें प्रशिक्षण विभागमा थिएँ । उहाँ पनि मेरो प्रशिक्षण कक्षामा आउनुहुन्थ्यो ।

यहिक्रममा उहाँले चाबहिलबाट राजा वीरेन्द्रलाई नभेट्दै जन–निर्वाचनमा जाऔँ कसले जित्छ भनेर चुनौति दिनुभएको थियो । त्यतिबेलासम्म उहाँले राजा वीरेन्द्रलाई भेट्नुभएको थिएन । पछि वीरेन्द्रलाई भेटेपछि उहाँको शालीनता र नम्रतापूर्वक व्यवहार देखेर उहाँ आफैँ अचम्मित हुनुभयो ।

मधुर बोली

उहाँ विलक्षण प्रतिभाको खानी हुनुहुन्थ्यो । सबै कुरा बुझ्न सक्ने क्षमता थियो । पार्टीमा आएपछि उहाँले आफ्ना प्रस्ताव राख्नुभयो । अरुले दिन नसकेका नयाँ कुराहरु उहाँबाट आउँथ्यो । यसको हामीले सम्मान गर्नुपर्छ । उहाँको भाषण कला असाध्यै राम्रो थियो । साच्चिकै जननेता हुनुहुन्थ्यो । दूरदर्शी, युगनायक र सिद्धान्तकार हुनुहुन्थ्यो । ज्येष्ठ पुस्तालाई सम्मान, समकालीन पुस्तालाई आवश्यक स्थान र भूमिकासहित सँगै हिँडाउने, अनि सानालाई वैचारिक, सैद्धान्तिक र सांगठनिक दृष्टिले खार्दै असिमित उर्जा दिने र आफू पनि फराकिलो सोचसहित राष्ट्रलाई उचित दिशामा लिएर जान सक्ने सोच राख्नुहुन्थ्यो । मीठो बोल्ने, जनतालाई छिट्टै प्रभावित पार्न सक्ने उहाँको खुबी थियो ।

कम खर्चिलो

ठूलो परिवार भएकाले धेरै खर्चिलो हुनुहुन्थेन । बनारसमा छात्रावास थियो । त्यहाँ दालभात तरकारी खान पाइन्थ्यो । बास बस्न पाइन्थ्यो । त्यहाँ त्यति धेरै खर्च पनि हुँदैन थियो । पछि कवि र विचार गोष्टी हुन थाले । उहाँ गीत कविता लेख्नुहुन्थ्यो । गीत एकदमै मीठो गाउनुहुन्थ्यो । साँच्चै उहाँको स्वर तारिफयोग्य थियो ।

सामान्य जीवनशैली

त्यो बेला नै हामी एकदमै घनिष्ट भइसकेका थियौँ । लवाइखुवाइ एकदमै सामान्य थियो । धेरै महत्वाकांक्षा थिएन । सामान्य जीवनशैली मन पराउने । खाना यो मीठो त्यो नमीठो भन्ने उहाँको मुखबाट कहिल्यै सुनिएन । उहाँलाई पेट भर्न पाए हुन्थ्यो । कपडामा पनि उहाँ त्यस्तो चुजी हुनुहुन्न थियो । शरीर ढाक्ने भए पुग्थ्यो । तर, आजका कम्युनिष्ट नेतामा यी गुण पाउन गाह्रो छ ।

उहाँबाट अहिलेका केपी ओली, माधव नेपाल, पुष्प कमल दाहाल (प्रचण्ड), झलनाथ खनाल लगायतका नेताहरुले सिक्नुपर्ने कुरा धेरै छन् ।

छुद्र कुरा नगर्ने स्वभाव

शिष्ट, शालीन र गम्भीर कुरा गर्नुहुन्थ्यो । छुद्र खालका कुरा कहिल्यै गर्नुभएन । कसैलाई गाली गर्नुभएन तर, अन्याय सहने बानी थिएन । तेजिलो दिमाग थियो । स्मरण शक्ति पनि उस्तै । त्यसले पार्टीमा छिट्टै फड्को मार्न सक्षम हुनुभयो । साथै, कसैसँग झुट नबोल्ने, नम्र, कसैको कुभलो नचिताउने, गम्भीर रुपले काम गर्ने, परिपक्व हुनुहुन्थ्यो ।

हँसिलो–रसिलो स्वभाव

उहाँ १५–२० वटासम्म छन्दमा कविता लेख्न सक्नुहुन्थ्यो । मैले पनि केही सिकाइदिन्थें । उहाँका विषयहरु महिलाको हकहित, मायाप्रेम, क्रान्तिकारी र जनचेतना फैलाउने किसिमका हुन्थे । रमाइलो मान्छे, सामान्य ठट्टा गर्ने, भाषण एकदमै बेजोड, असाध्यै मिलनसार, हँसिलो, रसिलो स्वभावको हुनुहुन्थ्यो । उहाँ रिसाएको खासै देखिन । अनावश्यक कुराकानी गर्ने उहाँको बानी थिएन । व्यवहारिक कुरा गर्दा पनि राम्रोसँग समाधान गर्नुहुन्थ्यो । राम्रो सोच, राम्रो लेखाई, साहित्यिक क्षेत्रमा पनि राम्रो समग्रमा भन्दा बहुगुणी हुनुहुन्थ्यो ।

राजा वीरेन्द्रलाई नभेट्दै…

हामी राजाले केही बिगार गर्छन् कि भन्ने सोच राख्ने मान्छे नै थियौँ । हाम्रो क्रान्तीलाई अघि बढ्न नदिने हुन् कि भनेर राजतन्त्र हटाउने भन्ने भाषण त सुरुमै आएका थिए । यहिक्रममा उहाँले चाबहिलबाट राजा वीरेन्द्रलाई नभेट्दै जन–निर्वाचनमा जाऔँ कसले जित्छ भनेर चुनौति दिनुभएको थियो । त्यतिबेलासम्म उहाँले राजा वीरेन्द्रलाई भेट्नुभएको थिएन । पछि वीरेन्द्रलाई भेटेपछि उहाँको शालीनता र नम्रतापूर्वक व्यवहार देखेर उहाँ आफैँ अचम्मित हुनुभयो । अनि उहाँसँग राजतन्त्र फाल्न सकिन्छ कि सकिँदैन भन्ने कुरा गर्दा तत्काल सकिँदैन, अन्तिममा सकिन्छ भन्नुभएको थियो ।

बामपन्थी नेताले उहाँबाट सिक्नुपर्ने कुरा धेरै छन्

पौरस्त्य वांगमयले खारिएको अध्ययन, माक्र्सवादका साथै विश्वराजनीतिको इतिहास र वर्तमान पक्षलाई अत्यन्तै सूक्ष्म किसिमले केलाउन सक्ने र नव सिद्धान्तको प्रवद्र्धन गर्ने क्षमता उहाँमा थियो । अहिलेका नेताहरुले यो पाठ उहाँबाट सिक्न आवश्यक छ । कुशल र प्रखर वक्ता, आफ्ना नव सिद्धान्तहरुलाई ओजस्वितापूर्वक उतार्ने कला, प्रखर वाणी र लेखनशक्तिको अपार क्षमता उहाँका अनुकरण योग्य पक्ष हुन् । उहाँको प्रखरताको बयान गर्न सकिँदैन । उहाँबाट अहिलेका केपी ओली, माधव नेपाल, पुष्प कमल दाहाल (प्रचण्ड), झलनाथ खनाल लगायतका नेताहरुले सिक्नुपर्ने कुरा धेरै छन् ।

यो पनि पढ्नुहोस्
यस्तो थियो राजा वीरेन्द्रको लाइफस्टाइल
यस्तो थियो शिवजीको लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested