English

महादेवले किन ओढ्थे बाघको छाला, किन घस्थे खरानी, खान्थे त गाँजा, भाङ, धतुरो ?

यस्तो थियो शिवजीको लाइफस्टाइल



१०८ स्वामी केशवानन्द गिरी

शिवजी निर्वस्त्र हुनुहुन्छ । त्यसैले भगवान शिवजीलाई दिगम्बर भनिन्छ । दिशा नै भगवान शिवजीका वस्त्र हुन् भनेर शास्त्रमा वर्णन गरिएको छ । अर्थात् सहज रूपमा भन्नुपर्दा पूर्व, पश्चिम, उत्तर र दक्षिण यी चार दिशा नै भगवान शिवका आवरण हुन् । यो नै प्रकृति हो र यथार्थ पनि ।

यो थियो शिवजीको पहिरनको शास्त्रीय प्रमाण । अर्को हिसावले हेर्ने हो भने, शिव हिमालयमा बस्ने हिमाली देवता हुन् । त्यहाँ जाडोबाट बच्नको लागि कपासका कपडाले धान्दैन । तर छालाले जाडो र चिसोबाट जोगाउँछ । त्यसैले पनि छालाको प्रयोग भएको हुन सक्छ ।

किन ओढ्थे बाघको छाला ?

शिवजीको कुनै आकार नै छैन, उहाँ निराकार हुनुहुन्छ, न त उहाँको कुनै स्वरूप नै छ । त्यसैले शिवजीले यस्तो लगाउने, ओढ्ने भन्ने कुरा पछि पुराणमा भनिएको मात्रै हो । पछि पुराणहरूमा आएर बाघको छाला, हात्तीको छालाले ढाकिएको अर्थात् आभूषण लगाएको कुरा र कथासँग जोडिएका आख्यानहरू पुराणहरूमा छन् । शिव तत्व कुनै बाहिरी आवरण र रंगले ढाकिएको तत्व होइन । पूर्ण निराकार, पूर्ण चेतन र परमतत्व नै शिव तत्व हो । यसमा कुनै प्रकृतिको आवरण भएमा मात्रै यसका विभिन्न रूप, रंगहरू बन्दछन् । तर शिव तत्व भनेको त्यो भन्दा पनि माथि हो । शिवजी एक ज्योति स्वरूप मात्रै हुन् । त्यसैले शिवजीको कुनै वस्त्र छैन ।

के के थियो शिवको पहिरन ?

भन्न त शिवजीलाई दिगम्बर भनिन्छ । तर पनि शिवपुराणमा बाघम्बर धारण गरेको कुरा बताइएको छ । बाघम्बर भनेको बाघको छाला हो । कतै हात्तीको छालाको पनि व्याख्या गरिएको छ । हातमा त्रिशुल, रुद्राक्ष माला, मानिसको खपटा, काठको चप्पल, नाग, सर्प, डम्मरु यी नै शिवजीका पहिरन हुन् ।

बाघको छाला ओढ्नुका दुइ रहस्य

शिवजीले बाघको छाला ओढ्नुको एउटा रहस्य तन्त्रको दृष्टिले देखिन्छ । साधना गर्नुपर्दा मनभित्र आफन्तको भावना नरहोस् भन्नका लागि र अर्को हो बाघ जस्ता भयंकर जनावरले पनि आक्रमण नगरोस् भनेर यस्तो लगाउनु भएको हो । त्यस्तै साधनाका क्रममा चित्तलाई एकाग्र बनाउनका लागि पनि यसको प्रयोग गरिएको भनिएको हो । तर यी पुराणहरूका कुरा मात्रै हुन् । बाघको छाला नै शिवजीको वस्त्र होइन, यो एउटा स्थान विशेष र एकक्षणका लागि लगाइएको वस्त्र हो । शिवजी भनेको कुनै आवरणले युक्त भएको होइन, त्यसैले पनि शिवजीलाई शिवलिंगको रूपमा अर्थात् निर्वस्त्र रूपमा आराधना गर्दछौँ ।

अर्को, अहिलेको समय सान्दर्भिक हिसावमा हेर्दा महादेव हिमाली देवता हुन् । उनको घर नै कैलाश पर्वत अर्थात् हिमालमा छ ।हिमालमा अन्य कपास आदिका कपडाले जाडो छेक्दैन । सामान्य कपडा लगाउँदा जाडो हुन्छ । अझ भनौँ यस्ता हामीले लगाउने सामान्य कपडाले धान्न सक्दैन । छालाले चिसोबाट जोगाउँछ । हिमालमा जाडो छेक्ने भनेको छाला नै हो । त्यसमाथि पनि बाघको छाला भनेको भुवादार हुन्छ । त्यसैले पनि शिवजीले छाला लगाउनु भएको हो । यो अहिलेको समय सन्दर्भमा सुहाउने एउटा उत्तर हो ।

त्यस्तै शिवजीले चन्द्रमा आफ्नो शिरमा राख्नु भएको छ । यसको अर्थ शिवजी पागल भनेर भन्छन् तर त्यो नभएर मन ठीक ठाउँमा छ भनेको हो, भन्न खोजिएको हो । अर्को कुरा गंगा । गंगा एक पवित्रताको प्रतीक पनि हो । शीतलताको प्रतीक हो, साथै एक गतिशील र निरन्तरताको प्रतीक समेत हो ।

साथै अर्को कुरा नाग हो । जो शिवजीको गलामा रहन्छ । यसले सबै नराम्रा कुराहरूलाई नष्ट गरिदिन्छ, त्यो पनि भगवान शिवसँगै छ । तर पहिलोको, अहिलेको र पुराणमा भने त्रिकोणात्मक रूपमा यसको व्याख्या फरक फरक पाउन सकिन्छ । घर परिवारको कुरा गर्दा पनि शिवजीको परिवारमा बिरोधी तत्वहरू एकापसमा मिलेर बसेका छन् । व्यवस्थापनको पक्षमा हेर्दा भगवान शिवको परिवार एकदमै मिलेको देख्न सकिन्छ । एकैठाउँमा भगवान भूत, प्रेत, राक्षसको वास छ ।

त्यस्तै शिवजीलाई आशुतोष अर्थात् सबैभन्दा शक्तिशाली देवता पनि भनिन्छ । तर शक्तिशाली देवता भएर पनि उनलाई यसमा कुनै आशक्ति नरहेको देवताको रूपमा लिइन्छ । शास्त्रीय पुराणका अनुसार हेर्दा पनि अन्य देवता राजसी किसिमले पूजा गर्ने देवता, तर शिवजीका भने वरपरका आसेपासे पनि सबै उस्तै र अन्यत्र कतै पनि स्थान नपाएका देवतालाई समान भावले आश्रय दिने देवताको रूपमा शिव भगवानलाई लिइन्छ ।

के शिवजीले भाङ, धतुरो र गाँजा खान्थे ?

भाङ, धतुरो, गाँजा एक नसा पनि हो । शिवजीले यो खानुहुन्थ्यो भन्ने कुरा कुनै पुराणमा छैन । यो स्वस्थानी भन्ने ग्रन्थमा लेखिएको कुरा मात्रै हो । स्वस्थानी धेरै पछिको ग्रन्थ हो । त्यसैले यो त्यतिबेलाको जनमानसको मनोवृत्तिको चित्रण मात्रै हो ।

अर्को तरिकाले भन्दा गाँजामा अनन्त गुणहरू पनि छन् । यी कुराहरूमा, ज्वरो, थकान र सन्निपातलाई शान्त पार्न सक्ने क्षमता छ । शरीरका धेरै रोगहरूलाई यसले नष्ट गर्दछ । लेपन, पात, फल वा फूल पिसेर शरीरमा लगाउनाले शीतलता प्राप्त हुन्छ । यस बारेमा एक कथा पनि छ । एकपटक समुन्द्र मन्थनका बेला निस्किएको कालकुट विष पान गर्दा शिवजीलाई छट्पटी भयो । सारा देवताहरू आत्तिए । त्यसपछि देवी प्रकट भइन् र भनिन्, ‘भाङ, धतुरोको लेपन बनाएर शिवजीलाई शरीरमा लगाइदेऊ ।’ त्यसपछि मात्रै शिवजीलाई आराम मिलेकोले गर्दा अहिले पनि शिवजीलाई पूजामा भाङ, धतुरो र गाँजा चढाइएको हो ।

भाङ, धतुरोको लेपनले आफूलाई आराम भएपछि शिवजीले यी कुराहरू मन पराउन थालेको शास्त्रमा वर्णन गरिएको पाइन्छ । तर शिवजीले यी कुरा खाने भन्ने कुरो भने सत्य होइन । उहाँले खानु भएको होइन, मन पराउनु भएको हो, लेपन गर्नु भएको हो । आजका मानिसहरू आरोप लगाउँछन् र खान्छन् अनि शिवजीले खानुहुन्थ्यो भन्छन् । स्वस्थानीको पुस्तकमा लेखिएअनुसार अहिलेका मानिसले आफूलाई खानको लागि सहज मात्रै बनाएका हुन् । शिवजीले गाँजा खाने भन्नेहरूले यो बुझ्न आवश्यक छ कि, शिवजीले विष पनि पिएका थिए । के अब हामीले विष पनि पिउने त ?

किन घस्थे शरीरमा भष्म ?

भष्म एउटा चिसोबाट जोगाउने चिज हो । जस्तै अहिले नागाबाबाहरू यस्तो ठन्डीमा पनि पूर्ण रुपमा आनन्दले लुगा नै नलगाइ बसिरहेका छन् । अर्थात् लुगाले जसरी न्यानो बनाउँछ, त्यसैगरी खरानीले पनि जोगाउँछ । र, अर्को भनेको हाम्रो वैदिक सत्य सनातन हिन्दू धर्मले भनेअनुसार अन्तिममा जल्नु नै हो, अर्थात् मृत्यु । त्यसैले हरेक व्यक्तिलाई अन्तिममा जलाइन्छ नै । त्यसैले भगवान शिवले जल्ने कुरालाई प्रतिकात्मक रूपमा लगाएका हुन् । हाम्रो शास्त्रमा त चिताको भष्मले छोएमात्रै पनि स्नान गर्नुपर्छ भन्ने छ । तर, महादेव भने यस्ता संस्कार, आचरणभन्दा माथिका देवता हुन् । त्यसैले शिवजीलाई केही पनि निषेध छैन । उनी यज्ञभन्दा पनि माथि छन् र मसानको देवता भएकोले भष्म शरीरमा धारण गर्छन् ।

(१०८ स्वामी केशवानन्द गिरीसँग अनुपम भट्टराईले गरेको कुराकानीमा आधारित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली