English

महादेवले किन ओढ्थे बाघको छाला, किन घस्थे खरानी, खान्थे त गाँजा, भाङ, धतुरो ?

यस्तो थियो शिवजीको लाइफस्टाइल



१०८ स्वामी केशवानन्द गिरी

शिवजी निर्वस्त्र हुनुहुन्छ । त्यसैले भगवान शिवजीलाई दिगम्बर भनिन्छ । दिशा नै भगवान शिवजीका वस्त्र हुन् भनेर शास्त्रमा वर्णन गरिएको छ । अर्थात् सहज रूपमा भन्नुपर्दा पूर्व, पश्चिम, उत्तर र दक्षिण यी चार दिशा नै भगवान शिवका आवरण हुन् । यो नै प्रकृति हो र यथार्थ पनि ।

यो थियो शिवजीको पहिरनको शास्त्रीय प्रमाण । अर्को हिसावले हेर्ने हो भने, शिव हिमालयमा बस्ने हिमाली देवता हुन् । त्यहाँ जाडोबाट बच्नको लागि कपासका कपडाले धान्दैन । तर छालाले जाडो र चिसोबाट जोगाउँछ । त्यसैले पनि छालाको प्रयोग भएको हुन सक्छ ।

किन ओढ्थे बाघको छाला ?

शिवजीको कुनै आकार नै छैन, उहाँ निराकार हुनुहुन्छ, न त उहाँको कुनै स्वरूप नै छ । त्यसैले शिवजीले यस्तो लगाउने, ओढ्ने भन्ने कुरा पछि पुराणमा भनिएको मात्रै हो । पछि पुराणहरूमा आएर बाघको छाला, हात्तीको छालाले ढाकिएको अर्थात् आभूषण लगाएको कुरा र कथासँग जोडिएका आख्यानहरू पुराणहरूमा छन् । शिव तत्व कुनै बाहिरी आवरण र रंगले ढाकिएको तत्व होइन । पूर्ण निराकार, पूर्ण चेतन र परमतत्व नै शिव तत्व हो । यसमा कुनै प्रकृतिको आवरण भएमा मात्रै यसका विभिन्न रूप, रंगहरू बन्दछन् । तर शिव तत्व भनेको त्यो भन्दा पनि माथि हो । शिवजी एक ज्योति स्वरूप मात्रै हुन् । त्यसैले शिवजीको कुनै वस्त्र छैन ।

के के थियो शिवको पहिरन ?

भन्न त शिवजीलाई दिगम्बर भनिन्छ । तर पनि शिवपुराणमा बाघम्बर धारण गरेको कुरा बताइएको छ । बाघम्बर भनेको बाघको छाला हो । कतै हात्तीको छालाको पनि व्याख्या गरिएको छ । हातमा त्रिशुल, रुद्राक्ष माला, मानिसको खपटा, काठको चप्पल, नाग, सर्प, डम्मरु यी नै शिवजीका पहिरन हुन् ।

बाघको छाला ओढ्नुका दुइ रहस्य

शिवजीले बाघको छाला ओढ्नुको एउटा रहस्य तन्त्रको दृष्टिले देखिन्छ । साधना गर्नुपर्दा मनभित्र आफन्तको भावना नरहोस् भन्नका लागि र अर्को हो बाघ जस्ता भयंकर जनावरले पनि आक्रमण नगरोस् भनेर यस्तो लगाउनु भएको हो । त्यस्तै साधनाका क्रममा चित्तलाई एकाग्र बनाउनका लागि पनि यसको प्रयोग गरिएको भनिएको हो । तर यी पुराणहरूका कुरा मात्रै हुन् । बाघको छाला नै शिवजीको वस्त्र होइन, यो एउटा स्थान विशेष र एकक्षणका लागि लगाइएको वस्त्र हो । शिवजी भनेको कुनै आवरणले युक्त भएको होइन, त्यसैले पनि शिवजीलाई शिवलिंगको रूपमा अर्थात् निर्वस्त्र रूपमा आराधना गर्दछौँ ।

अर्को, अहिलेको समय सान्दर्भिक हिसावमा हेर्दा महादेव हिमाली देवता हुन् । उनको घर नै कैलाश पर्वत अर्थात् हिमालमा छ ।हिमालमा अन्य कपास आदिका कपडाले जाडो छेक्दैन । सामान्य कपडा लगाउँदा जाडो हुन्छ । अझ भनौँ यस्ता हामीले लगाउने सामान्य कपडाले धान्न सक्दैन । छालाले चिसोबाट जोगाउँछ । हिमालमा जाडो छेक्ने भनेको छाला नै हो । त्यसमाथि पनि बाघको छाला भनेको भुवादार हुन्छ । त्यसैले पनि शिवजीले छाला लगाउनु भएको हो । यो अहिलेको समय सन्दर्भमा सुहाउने एउटा उत्तर हो ।

त्यस्तै शिवजीले चन्द्रमा आफ्नो शिरमा राख्नु भएको छ । यसको अर्थ शिवजी पागल भनेर भन्छन् तर त्यो नभएर मन ठीक ठाउँमा छ भनेको हो, भन्न खोजिएको हो । अर्को कुरा गंगा । गंगा एक पवित्रताको प्रतीक पनि हो । शीतलताको प्रतीक हो, साथै एक गतिशील र निरन्तरताको प्रतीक समेत हो ।

साथै अर्को कुरा नाग हो । जो शिवजीको गलामा रहन्छ । यसले सबै नराम्रा कुराहरूलाई नष्ट गरिदिन्छ, त्यो पनि भगवान शिवसँगै छ । तर पहिलोको, अहिलेको र पुराणमा भने त्रिकोणात्मक रूपमा यसको व्याख्या फरक फरक पाउन सकिन्छ । घर परिवारको कुरा गर्दा पनि शिवजीको परिवारमा बिरोधी तत्वहरू एकापसमा मिलेर बसेका छन् । व्यवस्थापनको पक्षमा हेर्दा भगवान शिवको परिवार एकदमै मिलेको देख्न सकिन्छ । एकैठाउँमा भगवान भूत, प्रेत, राक्षसको वास छ ।

त्यस्तै शिवजीलाई आशुतोष अर्थात् सबैभन्दा शक्तिशाली देवता पनि भनिन्छ । तर शक्तिशाली देवता भएर पनि उनलाई यसमा कुनै आशक्ति नरहेको देवताको रूपमा लिइन्छ । शास्त्रीय पुराणका अनुसार हेर्दा पनि अन्य देवता राजसी किसिमले पूजा गर्ने देवता, तर शिवजीका भने वरपरका आसेपासे पनि सबै उस्तै र अन्यत्र कतै पनि स्थान नपाएका देवतालाई समान भावले आश्रय दिने देवताको रूपमा शिव भगवानलाई लिइन्छ ।

के शिवजीले भाङ, धतुरो र गाँजा खान्थे ?

भाङ, धतुरो, गाँजा एक नसा पनि हो । शिवजीले यो खानुहुन्थ्यो भन्ने कुरा कुनै पुराणमा छैन । यो स्वस्थानी भन्ने ग्रन्थमा लेखिएको कुरा मात्रै हो । स्वस्थानी धेरै पछिको ग्रन्थ हो । त्यसैले यो त्यतिबेलाको जनमानसको मनोवृत्तिको चित्रण मात्रै हो ।

अर्को तरिकाले भन्दा गाँजामा अनन्त गुणहरू पनि छन् । यी कुराहरूमा, ज्वरो, थकान र सन्निपातलाई शान्त पार्न सक्ने क्षमता छ । शरीरका धेरै रोगहरूलाई यसले नष्ट गर्दछ । लेपन, पात, फल वा फूल पिसेर शरीरमा लगाउनाले शीतलता प्राप्त हुन्छ । यस बारेमा एक कथा पनि छ । एकपटक समुन्द्र मन्थनका बेला निस्किएको कालकुट विष पान गर्दा शिवजीलाई छट्पटी भयो । सारा देवताहरू आत्तिए । त्यसपछि देवी प्रकट भइन् र भनिन्, ‘भाङ, धतुरोको लेपन बनाएर शिवजीलाई शरीरमा लगाइदेऊ ।’ त्यसपछि मात्रै शिवजीलाई आराम मिलेकोले गर्दा अहिले पनि शिवजीलाई पूजामा भाङ, धतुरो र गाँजा चढाइएको हो ।

भाङ, धतुरोको लेपनले आफूलाई आराम भएपछि शिवजीले यी कुराहरू मन पराउन थालेको शास्त्रमा वर्णन गरिएको पाइन्छ । तर शिवजीले यी कुरा खाने भन्ने कुरो भने सत्य होइन । उहाँले खानु भएको होइन, मन पराउनु भएको हो, लेपन गर्नु भएको हो । आजका मानिसहरू आरोप लगाउँछन् र खान्छन् अनि शिवजीले खानुहुन्थ्यो भन्छन् । स्वस्थानीको पुस्तकमा लेखिएअनुसार अहिलेका मानिसले आफूलाई खानको लागि सहज मात्रै बनाएका हुन् । शिवजीले गाँजा खाने भन्नेहरूले यो बुझ्न आवश्यक छ कि, शिवजीले विष पनि पिएका थिए । के अब हामीले विष पनि पिउने त ?

किन घस्थे शरीरमा भष्म ?

भष्म एउटा चिसोबाट जोगाउने चिज हो । जस्तै अहिले नागाबाबाहरू यस्तो ठन्डीमा पनि पूर्ण रुपमा आनन्दले लुगा नै नलगाइ बसिरहेका छन् । अर्थात् लुगाले जसरी न्यानो बनाउँछ, त्यसैगरी खरानीले पनि जोगाउँछ । र, अर्को भनेको हाम्रो वैदिक सत्य सनातन हिन्दू धर्मले भनेअनुसार अन्तिममा जल्नु नै हो, अर्थात् मृत्यु । त्यसैले हरेक व्यक्तिलाई अन्तिममा जलाइन्छ नै । त्यसैले भगवान शिवले जल्ने कुरालाई प्रतिकात्मक रूपमा लगाएका हुन् । हाम्रो शास्त्रमा त चिताको भष्मले छोएमात्रै पनि स्नान गर्नुपर्छ भन्ने छ । तर, महादेव भने यस्ता संस्कार, आचरणभन्दा माथिका देवता हुन् । त्यसैले शिवजीलाई केही पनि निषेध छैन । उनी यज्ञभन्दा पनि माथि छन् र मसानको देवता भएकोले भष्म शरीरमा धारण गर्छन् ।

(१०८ स्वामी केशवानन्द गिरीसँग अनुपम भट्टराईले गरेको कुराकानीमा आधारित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested