नेदरल्याण्ड्स जहाँ साइकल नै देशप्रेमको प्रतिक (भिडियोसहित)

नेदरल्याण्ड्सबाट नेपालले के सिक्ने ?


सन् २०२० को एक तथ्यांक अनुसार करिब १६ लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा प्रत्येक दिन झण्डै १२ लाख सवारी साधन सडकमा गुड्छन् । ती सबै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन मात्र हुन् । त्यसमध्ये ७८% अर्थात् ९ लाख ३६ हजार मोटरसाइकल हुन् ।

यदि औसतमा एउटा बाइकले दिनमा एक लिटर पेट्रोल उपभोग गर्ने हो र प्रति लिटर पेट्रोलको मूल्य १२६ रुपैयाँ मात्र मान्ने हो भने यिनले वर्षमा करिब ४३ खर्ब रुपैयाँको पेट्रोल खपत गर्छन् । यो त सामान्य जोडघटाउ मात्र हो । दिनानुदिन कुरुप हुँदै गएको काठमाडौंको वातावरण, पर्यावरण, जनजीवन, अर्थतन्त्रजस्ता विभिन्न पाटोलाई समेट्ने हो भने यो विषय कत्ति गम्भीर र अर्थपूर्ण छ हामी सबैले सजिलै अनुमान लगाउन सक्छौं ।

नेपालमा साइकल कति ?

यति पढिरहँदा तपाईंको मष्तिस्कमा साइकल र हालै ललितपुरमा बनाइएको नेपालकै पहिलो साइकल लेन आयो होला । कुपण्डोल, जावलाखेलदेखि मंगलबजार जोडेको ४.७ कि.मि. उक्त साइकल लेनको प्रयोगपछि काठमाडौं महानगरपालिकाले पनि माइतिघरदेखि तिनकुने जोड्ने ३.१ कि.मि. साइकल लेन निर्माण गर्ने घोषणा गरिसकेको छ । समय–समयमा आयोजना हुने काठमाडौं कोरा साइक्लिङ च्यालेन्ज, यति बाइक रेस, याक अट्याक थोराङला पास रेसजस्ता साइकल सम्बन्धी कार्यक्रमले नेपाली युवाबीच साइकलप्रतिको बढ्दो चासोलाई दर्शाउँछ ।

विश्व सम्पदाले भरिएको, ३३ कोटी देवीदेवताले सुसज्जित काठमाडौं जस्तो ऐतिहासिक सहर प्रदुषित हुनु मुख्य कारणमध्ये अव्यवस्थित सहरीकरण हो । त्यसमा पनि ‘फराकिलो बाटो’ मात्र सहर विकासको परिसूचक हो भनेर सोच्ने मानसिकता मुख्य समस्याको जड हो ।

त्यसोभए, कतिओटा साइकल काठमाडौं उपत्यकामा छन् होला ? यसको कुनै यकिन तथ्यांक छैन । सन् २०१२ को अर्को एक तथ्यांकअनुसार सन् १९९१ मा कुल सवारी माध्यमको ६.६ प्रतिशत साइकल थियो भने सन् २०११ सम्म आइपुग्दा मोटरसाइकलद्वारा साइकल विस्थापित हुँदै १.५ प्रतिशतमा सीमित हुन गयो । आज काठमाडौंका सडक, गल्ली, चोक, कुनाकाप्चा मोटरसाइकल र कारले भरिएका छन् । विश्व सम्पदाले भरिएको, ३३ कोटी देवीदेवताले सुसज्जित काठमाडौं जस्तो ऐतिहासिक सहर प्रदुषित हुनु मुख्य कारणमध्ये अव्यवस्थित सहरीकरण हो । त्यसमा पनि ‘फराकिलो बाटो’ मात्र सहर विकासको परिसूचक हो भनेर सोच्ने मानसिकता मुख्य समस्याको जड हो ।

त्यसैले यहाँ मेरो उद्देश्य सहरको सौन्दर्य, पर्यावरण, मौलिक जनजीवन, दुर्लभ वास्तुकला र ऐतिहासिक महत्व संरक्षण गर्न साइकलको महत्व माथि प्रकाश पार्नु हो । कुनै पेट्रोलियम पदार्थको प्रयोग गर्न नपर्ने भएपछि पेट्रालियम पदार्थका लागि परनिर्भता घट्ने, शून्य कार्बन उत्पादनले गर्दा स्वच्छ पर्यावरणमा टेवा पुग्ने, सडक दुर्घटनामा न्यूनिकरण, स्वस्थ शरीर–फुर्तिलो मस्तिष्कले औसत कार्यक्षमतामा वृद्धि, भित्री सहरको मौलिक स्वरुप जस्ताको त्यस्तै कायम गर्न सकिने हुँदा ऐतिहासिक संरचनाको संरक्षणमा ठोस योगदान, दैनिक पैसाको बचतजस्ता विविध फाइदाहरुले काठमाडौं उपत्यकाजस्तो सुन्दर सहरमा साइकललाई सवारी माध्यमका रुपमा प्रवद्र्धन गर्नु अत्यन्तै जरुरी छ । त्यसका लागि आवश्यक पूर्वाधार, चालक सुरक्षित भौतिक संरचना र सेवामूलक व्यवस्थापन महत्वपूर्ण रहन्छ । यसै विषयमा प्रकाश पार्न यहाँ नेदरल्याण्डको नमूना प्रस्तुत गरिएको छ ।

नेदरल्याण्ड्समा साइकलको लोकप्रियता

नेदरल्याण्ड्सलाई साइकलको देश हो भन्दा फरक नपर्ला । करिव १ करोड ७० लाख जनसंख्या भएको देशमा करिब २ करोड ३० लाख साइकल छन् । कुल १ लाख ३९ हजार कि.मि. सार्वजनिक सडकमध्ये ३७ हजार कि.मि. भन्दा बढी बाटो साइकल चलाउनकै लागि मात्र छुट्याइएको छ । कुनै नेदल्याण्ड्सका नागरिकलाई साइकल वा कार भनेर प्रश्न सोध्नुभयो भने उनीहरुको पहिलो र सहज रोजाई सधैं साइकल रहन्छ । चाहे पानी परोस् वा हावा चलोस् यहाँका मानिस साइकलबाट यात्रा गर्न नै सहज ठान्छन् । ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकका लागि पनि विद्युतीय साइकलबाट यात्रा गर्नु पहिलो रोजाइ हो । आखिर किन ?

भौगोलिक संरचना

भौगोलिक रुपमा नेदरल्याण्ड्स पूरै सम्म जमिन भएको देश हुनाले यहाँ साइकल चलाउन अत्याधिक शारीरिक बल प्रयोग गर्नुपर्दैन । चारैतिर हरियाली, साँघुरो सडक, अनेक विषयका प्राचिन–आधुनिक संग्रहालय र थरी–थरीका पार्क, पानीका नहर र त्यसका सडक किनारमा रेस्टुरेण्टहरुले भरिएको नेदरल्याण्ड्समा साइकल चलाउँदा आनन्दको अनुभूति हुन्छ ।

‘साइकल बाटो हो भने कार अतिथी मात्र’, नेदरल्याण्ड्सको यो प्रचलित कथनले त्यहाँ साइकलको लोकप्रियता र प्राथमिकतालाई झल्काउँछ । अर्को कथन ‘साइकल इज राइट’ ले साइकल सडकको दायाँ पट्टिबाट चलाउनुपर्ने र अन्य सवारी चालकले साइकलयात्रीलाई पहिलो प्राथमिकता दिने तथ्यलाई बुझाउँछ ।

अझै प्राविधिक रुपमा हाइ–टेक साइकलको आवश्यकता पनि छैन् । शिरशिर चलिरहने हावा र अनुकुल तापक्रमले गर्दा घण्टौं साइकल चलाएर अफिस, स्कूल वा कुनै गन्तव्यसम्म पुग्दा, जीउ पसिनाले निथ्रुक्क भिजेको हुँदैन, अझ भनौं पसिनाको दुर्गन्ध बारे सोच्नै पर्दैन ।

साइकल अनुकुल यातायात प्रणाली

नेदरल्याण्ड्सको सबैभन्दा आकर्षक पक्ष भनेकै साइकल अनुकूल यातायात प्रणाली नै हो । चाहे गल्ली होस् वा मूलसडक, साइकल गुड्ने छुट्टै बाटो र लेनको व्यवस्था गरिएको छ । साइकल बाटोको उच्च गुणस्तर, साइकलका निम्ति पृथक ट्राफिक नियम, लाइट र स्पष्ट साइनको व्यवस्था गरिएको छ । साइकल हिड्ने बाटो चलाउन र अन्य चालकलाई ओभरटेक गरी अघि बढ्न पर्याप्त फराकिलो छ ।

‘साइकल बाटो हो भने कार अतिथी मात्र’, नेदरल्याण्ड्सको यो प्रचलित कथनले त्यहाँ साइकलको लोकप्रियता र प्राथमिकतालाई झल्काउँछ । अर्को कथन ‘साइकल इज राइट’ ले साइकल सडकको दायाँ पट्टिबाट चलाउनुपर्ने र अन्य सवारी चालकले साइकलयात्रीलाई पहिलो प्राथमिकता दिने तथ्यलाई बुझाउँछ । यदि अन्य सवारी साधन र साइकल चालकबीच दुर्घटना भएको खण्डमा सवारी चालकले घाइतेको उपचार तथा साइकल मर्मतको खर्च व्यहोर्नुपर्ने कानुनी व्यवस्था छ । साइकल चालकले ट्राफिक नियम उल्लंघन गरेमा सोही अनुसारको कारबाही व्यहोर्नु पर्ने हुन्छ । जस्तो कि राती साइकल चलाउँदा साइकल अगाडि र पछाडिको बत्ती नबालेको खण्डमा ६० यूरो जरिवाना तिर्नुपर्छ ।

साइकल सस्तो मर्मतसम्भार र सामान ओसारपसार गर्न समेत उपयुक्त हुने हुँदा नेदरल्याण्ड्समा जन्मेका हरेकले आमाको पेटमै हुँदा साइकल चलाउन सिक्छन् भन्ने प्रचलित कथन पनि छ ।

अर्को महत्वपूर्ण सुविधा पार्किङ हो । ठाउँअनुसार निःशुल्क÷सःशुल्क साइकल पार्किङको व्यवस्था गरिएको छ । जथाभावी पार्किङ गरेको खण्डमा नगरपालिकाले साइकल जफत गर्ने व्यवस्था पनि छ । त्यति मात्र होइन एउटा सहरबाट अर्कोमा जाँदा ट्रेन, बस वा ट्राममा साइकलसहित यात्रा गर्ने अनुमति छ । भने अर्को देशबाट नेदरल्याण्ड्समा साइकलसहित हवाइयात्रा पनि गर्न सकिन्छ ।

छिटो, सस्तो, सहज र सुरक्षित जीवनशैली

नेदरल्याण्ड्समा सबैभन्दा छिटो, सस्तो, सहज र सुरक्षित सवारी साधन नै साइकल भएकाले साइकल दैनिक जीवनशैलीको एक प्रमुख पाटो हो । देशभरका साइकल बाटोहरु साइकल अनुकुल विस्तार गरिएका हुँदा यहाँ थुप्रै सर्टकट साइकल नेटवर्क छन् । कतिपय अवस्थामा अन्य सवारी साधनको तुलनामा साइकलबाट यात्रा गर्दा छिटो हुन्छ । त्यसैले नेदरल्यान्डस् साइकलको देश हो भन्दा कुनै अत्युक्ति नहोला ।

यहाँ हाइटेकभन्दा सामान्य साइकल बढी प्रयोगमा छन् । साइकल खरिदबिक्री वा भाडामा लिनेदिने स्वाप्फीट्सजस्ता पसलदेखि यससँग सम्बन्धित हरेक सर–सामान उपलब्ध एक्सनजस्ता पसल उपभोक्ताको सरल पहुँचमा छन् । यसैले बालकदेखि वयस्कसम्म, विद्यार्थीदेखि प्रधानमन्त्रीसम्मले पनि साइकल चलाउँछन् । साइकल सस्तो मर्मतसम्भार र सामान ओसारपसार गर्न समेत उपयुक्त हुने हुँदा नेदरल्याण्ड्समा जन्मेका हरेकले आमाको पेटमै हुँदा साइकल चलाउन सिक्छन् भन्ने प्रचलित कथन पनि छ ।

प्रत्येक १२ वर्ष पुगेका नेदरल्याण्ड्सका विद्यार्थीले अनिवार्य रुपमा ट्राफिक तालिम तथा परीक्षामा सहभागी भई उत्तीर्ण हुनुपर्ने हुन्छ । मोटरसाइकलको लाइसेन्स लिने बेला अनिवार्य रुपमा साइकल चालकसँगको अन्तरक्रियासम्बन्धी तालिम लिएको हुनुपर्ने नियमले पनि साइकल कति सुरक्षित जीवनशैलीको हिस्सा छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । साइकलको लोकप्रियताले प्रत्यक्ष रुपमा प्रत्येक वर्ष सवारी दुर्घटनामा परी मृत्यु हुने करिब ६ हजार ५ सयको संख्या न्यून बनाएको छ । भने डचको औसत आयु ६ महिना बढाएको दाबी गरिन्छ । १८ वर्ष नपुगी अन्य सवारी साधन चलाउने लाइसेन्स नपाउने यहाँका टिनेजरहरु साइकललाई आफ्नो स्वतन्त्रताको अभिन्न अंग मान्छन् ।

साइकलमा समानता र साइकल पर्यटन

महिला, पुरुष, बच्चा, जेष्ठ नागरिक वा विशेष शारीरिक अवस्था भएका सबैका निम्ति यहाँ सोही अनुकुलको साइकल डिजाइन गरिएको छ । उदाहरणको लागि ‘ओमाफीट्स’ अर्थात् ‘हजुरआमाको साइकल’, महिलाका लागि डिजाइन गरिएको साइकल हो जुन साइकल स्कर्ट वा हाइहिल बुट लगाएर ढाड सिधा पारेर सजिलै चलाउन सकिन्छ ।

सन् २०५० सम्म शून्य हरितगृह ग्यास उत्पादन गर्ने लक्ष्यका निम्ति पनि यहाँ साइकलको प्रयोगलाई थप प्राथमिकतासाथ सरकारी निकायबाट नै प्रवद्र्धन गरिएको छ । यसका निम्ति विद्युतीय सवारी साधनमा कर छुट गर्नेदेखि अन्य सार्वजनिक सवारी साधनको भाडादर जानीबुझी महंगो बनाइएको छ

नेदरल्याण्ड्स आउने पर्यटकले पनि सजिलै साइकल भाडामा लिएर साइकलबाटै भित्री सहर घुम्न सक्छन् । साथै, आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई मध्यनजर गरी नेदरल्याण्ड्स पूरै साइकलबाटै घुम्न ५ देखि ८ दिनको विशेष साइकल ट्रेलको पनि व्यवस्था गरिएको छ । जसअन्तर्गत दोस्रो विश्वयुद्धमा प्रयुक्त बाटोदेखि हार्लेम, रोटरड्याम, लाइडेनजस्ता मनमोहक सहरहरु यहाँको डेल्टा–पानी व्यवस्थापन प्रणाली, विश्व सम्पदा सूचीमा सूचिकृत वाडेन समुन्द्र र त्यहाँको जनजीवन, यहाँ विभिन्न आकर्षक गाउँहरु भ्रमण गर्न सकिन्छ ।

पृथ्वी हाम्रो दायित्व

साइकल चलाउनु आफैमा पृथ्वीको पर्यावरणीय दृष्टिकोणले हरितगृह प्रभावलाई न्यूनिकरण गर्ने एक उत्कृष्ट प्रयास हो । सन् २०१४ को पाइलट योजनाअनुसार राजधानी एम्स्टडर््याममा ७० कि.मि. लामो सोलार–साइकल बाटो निर्माण गरिएको थियो जसको उर्जा उत्पादन गर्ने क्षमता ९ हजार ८ सय किलोवाट प्रति घण्टा रहेको छ ।

सन् २०१८ को एक अध्ययनअनुसार नेदरल्याण्ड्समा साइकलहरुले प्रतिवर्ष १३ अर्ब ३० करोड कि.मि. यात्रा गर्छन् । अब आफै हिसाब गर्नुस् सोलार–साइकल बाटोको उत्पादनशीलता । सन् २०५० सम्म शून्य हरितगृह ग्यास उत्पादन गर्ने लक्ष्यका निम्ति पनि यहाँ साइकलको प्रयोगलाई थप प्राथमिकतासाथ सरकारी निकायबाट नै प्रवद्र्धन गरिएको छ । यसका निम्ति विद्युतीय सवारी साधनमा कर छुट गर्नेदेखि अन्य सार्वजनिक सवारी साधनको भाडादर जानीबुझी महंगो बनाइएको छ ।

देशप्रेमको प्रमाणः साइकल

यहाँको थप रोचक पक्ष के हो भने, डच नागरिकका लागि साइकल स्वतन्त्रता, आत्मनिर्भरता, स्थायित्व र देशप्रेमको प्रतिक हो । सन् १९२० देखि साइकललाई देशभक्त सवारी साधनको रुपमा घोषणा गरिएको थियो भने साइकल चलाउनु डच संस्कृतिको प्रतिक समेत मानिन्छ । साइकलसम्बन्धि भौतिक संरचना, बाटो, व्यवस्था र वातावरणको गुणस्तर वृद्धिका आधारमा नेदरल्याण्ड्सका नगरपालिकाहरुबीच प्रतिस्पर्धा पनि हुने गर्दछ र उत्कृष्ट नगरपालिकालाई डच साइक्ल्स्टि यूनियनको तर्फबाट बाइसाइकल सिटी अवार्डबाट सम्मानित समेत गरिन्छ ।

दोस्रो विश्वयुद्ध हुँदा हिटलरका सेनाले डचका साइकलहरुलाई हतियार ठहर्याई कब्जा गरेका थिए । जसकारण युद्धका बेला सुरक्षित र सहज यात्रा गर्ने माध्यम नै साइकल थियो चाहे सर्वसाधरणका लागि होस् वा सेनाका लागि । त्यतिबेला ज्यूजहरुलाई साइकल चलाउन बन्देज गरिएको थियो भने साइकल दिन नमान्नेलाई मृत्यु सजाय तोकिएको थियो । यता कतिपय डचहरुले साइकलबाट उत्पादन हुने उर्जा पत्रिका छाप्नेजस्ता क्रान्तिकारी कामका लागि प्रयोग गर्थे ।

दोस्रो युद्ध अन्त्यको घोषणा हुँदा जर्मन सेनाहरुले आफ्नो देश भाग्न वा मित्र राष्ट्रको शरण पर्न डचहरुको १ लाख साइकल चोरेको ऐतिहासिक घटनाले उनीहरु निकै आक्रोशित बनेका थिए । ‘जर्मनहरु हाम्रो साइकल फिर्ता गर’ भन्ने तत्कालिन प्रचलित कथनले आजपनि ठट्टाको स्थान लिनुले डचको साइकलप्रेमलाई बुझाउँछ ।

स्टप द चाइल्ड मर्डर र मिडल इस्ट ओयल क्राइसिस

१९औं शताब्दीमा साइकल तत्कालिन ग्रेट ब्रिटेन, बेल्जियम, जर्मनी र उत्तर अमेरिकामा बढी लोकप्रिय थियो । २० औं शताब्दीसम्म आइपुग्दा डचहरु साइकल पारखी भइसकेका थिए । यो यातायातको प्रमुख माध्यम बनिसकेको थियो । सन् १९२० तिर डचसित २० लाख साइकल थिए । सन् १९३६ मा डच राजकुमारी जुलियाना र जर्मन राजकुमार बर्नहार्डको इन्गेजमेन्टमा ती दुबै हेगस्थित नूरडन्ड राजदरबारको राजबगैंचामा साइकल चढी प्रेससमक्ष आएका थिए । तर, दोस्रो युद्धको अन्त्यपछि मोटर कारलाई सवारी साधनको भविष्य र यातायातको समृद्धिका रुपमा लिइयो ।

धमाधम मोटरकार आयात गरिए, पूराना सहरलाई नष्ट गरी हाइवे निर्माण गर्न थालिए जस्तो कि अहिले काठमाडौं उपत्यकामा भइरहेको छ । तर, पूराना बस्तीलाई नष्ट गरी हाइ वे तथा ठूल्ठूला भवन निर्माण गर्ने योजनाको सर्वसाधारणबाट चर्को विरोध भयो । अझ भनौं त्यतिबेला एम्स्टरड्याम बासीले उक्त सहरको ऐतिहासिकता जोगाउन सहरलाई कुरुप हुनबाट जोगाए ।

सन् १९५०–६० को दशकमा डच साइकलयात्रीको हालत वर्तमानका नेपालका सडकमा नेपाली साइकल यात्रीको जस्तै थियो । जोखिमपूर्ण–मोटर कारले भरिएको । सन् १९७१ मा सडक दुर्घटनामा परि ३,३०० भन्दा बढीको मृत्यु भयो जसमध्ये ४०० भन्दा बढी बालबालिका मात्र थिए । सडक दुर्घटनामै आफ्नो बच्चा गुमाएका एक पत्रकारले ‘बालहत्या बन्द गर’ अर्थात् ‘स्टप द चाइल्ड मर्डर’ भनी जनआन्दोलन सुरु गरे जसले साइकल अनुकूल सहर विकास योजना कार्यान्वयन गर्न सरकारलाई ठूलो दबाब पर्यो ।

नेदरल्याण्ड्स र नेपालको तुलना पक्कै गरेको होइन र यो मेरो उद्देश्य पनि होइन । नेपालले देशको मौलिक आवश्यकता, अवस्था र अनुकुलताका आधारमा विकासयात्रा गर्नु जरुरी छ । नेपाल घरी सिंगापुर, घरी स्विट्जरल्याण्ड त घरी भारत वा भूटानजस्तो होइन नेपाल, नेपालजस्तै सुन्दर, शान्त र समृद्ध हुनुपर्छ ।

त्यति मात्र होइन, सन् १९७३ मा साउदी अरेबिया अध्यक्षताको इन्धन निर्यात गर्ने अरबीयन देशहरुको नेदल्यान्ड्स लगायत मुलुकलाई योम किप्पुर युद्धमा इजरायललाई सहयोग गरेको भन्दै इन्धन निर्यातमा रोक लगाएका थिए । जसलाई मिडल इस्ट ओयल क्राइसिस १९७३ भनिन्छ । यस नाकाबन्दीले डचहरुलाई परनिर्भता घटाउनका लागि भएपछि साइकल अनुकुल सहर विकास परियोजना बनाउन ठूलो अभिप्रेरणा मिल्यो । यसरी सन् १९७३ बाट सुरु भएको साइकल यात्रामा आज नेदरल्याण्ड्स विश्वकै अब्बल मुलुकका रुपमा अघि बढिरहेको छ ।

नेपाली परिवेशमा साइकल

यति लेखिरहँदा मलाई पटक–पटक भारतले नेपालमाथि लगाएको नाकाबन्दी, मौलिकता विनाश गर्ने र नेवार बस्ती विस्थापनविरुद्धको टोखा आन्दोलन, अपारदर्शी–अदूरदर्शी तथा अहितकारी–अल्पज्ञानले भरिपूर्ण काठमाडौं विकाससम्बन्धी विभिन्न परियोजनाहरुको झल्को आइरह्यो । र, नेपालीलाई नेपालजस्तै परिस्थिती पार गरी पाठ सिकी अघि बढेको नेदरल्याण्ड्सले पटक–पटक चेतनाको आँखा उघार्न घच्घच्याइरहेको भान भयो ।

मैले नेदरल्याण्ड्स र नेपालको तुलना पक्कै गरेको होइन र यो मेरो उद्देश्य पनि होइन । नेपालले देशको मौलिक आवश्यकता, अवस्था र अनुकुलताका आधारमा विकासयात्रा गर्नु जरुरी छ । नेपाल घरी सिंगापुर, घरी स्विट्जरल्याण्ड त घरी भारत वा भूटानजस्तो होइन नेपाल, नेपालजस्तै सुन्दर, शान्त र समृद्ध हुनुपर्छ ।

नेपाललाई प्रकृतिले यसरी धनी बनाएको छ कि, तराईदेखि हिमालसम्म साइकलसँग सम्बन्धित इतिहास, दैनिकी, रोमाञ्चक खेलकुद, पर्यटन, रीतीरिवाज–रहनसहनबाट नेपालले विश्व लोभ्याउने क्षमता राख्दछ । त्यसैले आऔं विकास योजनालाई साइकल मैत्रीपूर्ण बनाऔं ।

अन्त्यमा फेरि भनें, विश्वसम्पदाले भरिएको, प्राकृतिक, भौगोलिक, साँस्कृतिक विविधता र विछट्टैको मौलिकताले विश्वकै अत्यन्तै आकर्षक, काठमाडौं जस्तो विश्वकै ऐतिहासिक नगरी प्रदुषित हुनुको मुख्य कारणमध्ये अव्यवस्थित सहरीकरण हो ।त्यसमा पनि ‘फराकिलो बाटो’ मात्र सहर विकासको परिसूचक हो भन्ने अदूरदर्शी मानसिकता हो ।

विकासका अन्य थुप्रै पक्षहरुमध्येको एक यातायात प्रणालीलाई सहरको आवश्यकता, अनुकूलता र उपलब्ध स्रोत तथा साधनलाई समन्वय गरी साइकल मैत्री बनाउन सरकार र नागरिक समाजले पहल गर्नैपर्छ । अझ नेपाललाई प्रकृतिले यसरी धनी बनाएको छ कि, तराईदेखि हिमालसम्म साइकलसँग सम्बन्धित इतिहास, दैनिकी, रोमाञ्चक खेलकुद, पर्यटन, रीतीरिवाज–रहनसहनबाट नेपालले विश्व लोभ्याउने क्षमता राख्दछ । त्यसैले आऔं विकास योजनालाई साइकल मैत्रीपूर्ण बनाऔं ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।


छुटाउनु भयो कि ?
मेरो क्यानभासमा झमक घिमिरे
अमेरिकाबाट हिमाल मुनिको यात्रा
यी ५ विषय, जो नेदरल्याण्ड्ससँग सिक्न सकिन्छ
सात समुन्द्रपारिबाट मैले नियालेको दसैं



...
काम र जीवनबीचको सन्तुलनले ल्याउँछ खुसी « Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल अटोमोबाइल्स डिर्लस एशोसिएसन अफ नेपाल (नाडा) को आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरुको

महिला हिंसा अन्त्य गर्नपर्छ भन्ने नारा हामीले प्राय सुनिरहेका हुन्छौ । यो विषयमा चर्चा हुन थालेको लामो समय भईसक्यो ।

राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिएका छन् ।  काठमाडौंमा बुधबारबाट सुरु भएको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै