English

यी ५ विषय, जो नेदरल्याण्ड्ससँग सिक्न सकिन्छ



क साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे, नेदरल्याण्ड्स, इण्डोनेशिया, भियतनाम र नेपालका नेदरल्याण्ड्समा अध्ययनरत विद्यार्थीहरू थिए । शून्य डिग्री तापक्रमको थरथर काम्ने जाडोमा पनि समुन्द्रतट वरिपरि भलिबल खेल्ने, दौडिने, परिवारिक पिकनिकमा रमाउने भीड देखेर लकडाउनमा छौँ भन्ने त भुसुक्कै भुलेछौँ ।

हामी नेदरल्याण्ड्सको आर्थिक, सामाजिक र राजनैतिक प्रणालीको कुरा गर्दै थियौँ, आउँदो मार्च १७ को आमनिर्वाचनको सेरोफेरोमा रहेर । म भने युवा जमातको उत्साह, ज्ञान र चेतनाको स्तर, उनीहरूले खोजेको भविष्य र विश्लेषण क्षमताले मन्त्रमुग्ध थिएँ । मैले आफ्नो देशलाई ती सवै विषयमा नजोडी वा नकेलाई बस्नै सकिनँ । मेरा साथीहरूसँग आफ्नो देश नेपाल र नेपालीबाट विश्वले सिक्न सक्ने कुराहरू साटिरहँदा मेरो मन देशको मायाले धपक्क बलिरहेको थियो ।

यस भलाकुसारीकाबीच मैले पनि नेदरल्याण्ड्सबाट नेपालले सिक्न सक्ने केही रोचक गुणहरूको अध्ययन गर्न पाएँ ।

समुन्द्रको व्यवस्थापन

एटलान्टिक महासागरसँगै जोडिएको यस देशका ६० प्रतिशतभन्दा बढी जनसंख्या समुन्द्र सतहभन्दा ५ मिटर मुनि बसोवास गर्छन् । राजधानी एम्टरड्यामस्थित विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय सिपोल विमानस्थल पनि समुन्द्र सतहभन्दा ५ मिटर तल अवस्थित छ । सन् १९५३ मा समुन्द्री आँधी र बाढीले ठूलो धनजनको क्षति भएपछि उच्च इन्जिनियरिङ प्रविधिको प्रयोग गरी ड्याम नेटवर्क निर्माण गरियो । समुन्द्र नजिकका खेत तथा बस्तीलाई खतराजनक क्षेत्रबाट केही पर सारियो । समुन्द्रलाई पूरै रोक्नुभन्दा पनि पानीको बहावलाई सन्तुलन हुने गरी क्यानलहरू निर्माण गरियो । तालतलैया र जलाधार निर्माण गरी वाटर इकोसिस्टमको संरक्षण गरियो । अझ रोटरड्याम शहरमा त समुन्द्र सतहमुनिका पुराना बस्तीलाई पानीको जोखिमबाट बचाई नयाँ बस्तीलाई कृत्रिम रूपमा समुन्द्र सतहभन्दा माथि निर्माण गरियो ।


राष्ट्रिय तथ्याङ्कअनुसार दुई सयभन्दा बढी देशका नागरिकहरू नेदरल्याण्ड्समा बसोवास गर्छन्, कारण सुरक्षा, स्वतन्त्रता र सोचका हिसाबले यो देश सहज छ ।

प्रत्येक घरको कौसी, पार्किङ ग्यारेज, मलजस्ता संरचनालाई भारी वर्षाको बेला पानी संकलन केन्द्रको रूपमा प्रयोग गर्न मिल्ने गरी निर्माण गरियो । यो भन्दा रोचक कुरा त केही बन्दरगाहहरू समुन्द्रतटमा पानीको सतह बढेसँगै स्वचालित रूपमा पानी माथि तैरिने गरी निर्माण गरिएका छन् । आज पनि ऐतिहासिक विन्डमिलहरू जमिनबाट पानीको उचित निष्काशनका लागि प्रयुक्त छन् । पूरै विश्व नै लोभिएको डचहरूको पानी व्यवस्थापन प्रणाली यस्तो नभइदिएको भए, यस देशको २६ प्रतिशत भू-भाग बाढीले ध्वस्त भइसक्ने थियो ।

मैले सिन्धुपाल्चोक झल्झल्ती सम्झेँ । हाम्रो नेपाल पनि जलस्रोतमा असाध्यै धनी तर वर्षेनी बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपले पीडित मुलुक । स्रोतलाई सम्पत्तिमा रूपान्तरण र आपत्तिलाई व्यवस्थापन गर्न विज्ञान प्रविधिको समुयोचित प्रयोग गर्न सिपालु डचहरूको यो गुण नेपालले पनि कपी गर्दा कसो होला ?

साइकल प्रेम

१ करोड ७० लाख जनसंख्या भएको देशमा कुल २ करोड २० लाख साइकलहरू छन् । ३३ हजार ७ सय २० वर्गमिटर क्षेत्रफल भएको देशको करिब २० हजार कि.मि. मार्ग साइकलयात्रीका लागि हो । एकातिर सारा विश्व थरिथरिका कारको उत्पादन र उपभोगमा व्यस्त रहँदा डचहरू भने सार्वजनिक यातायातको भरपूर प्रयोग तथा अधिकांश भ्रमण साइकलमै गर्न माहिर छन् ।

नागरिकलाई प्रोत्साहन गर्न औधी सुन्दर साइकल पदमार्ग निर्माण, पार्किङ सुविधा तथा रोचक गन्तव्यको डिजाइन गरिएको छ । त्यति मात्र होइन, सन् २०३० सम्म सम्पूर्ण डिजेल तथा पेट्रोलमा निर्भर कारलाई पूर्ण बन्देज लगाउने छ । र, राष्ट्रिय योजना अनुरूप ब्याट्रीबाट चल्ने कारमा भारी कर छुट गरिएको छ । यहाँ सन् २०१८ मा ८ हजार ६ सय वटा टेस्ला कार विक्री भएकोमा सन् २०१९ मा १८ हजार ५ सय वटा यी कार बिक्री भएको राष्ट्रिय तथ्यांकले बताउँछ ।

शारीरिक व्यायाम र प्रदूषणमुक्त वातावरण लाइफस्टाइल र संस्कृतिकै अभिन्न हिस्सा भएपछि भएन त वाउ लाइफस्टाइल ?

संग्रहमा उदाहरणीय

प्राकृतिक स्रोत तथा साधन, भौगोलिक विविधता, विश्वमै दुर्लभ कलासंस्कृति, मौलिक परम्परा र गज्जबको इतिहास बोकेको हाम्रो देश नेपालमा ती सबैको अभिलेखीकरण खोइ ? केही थोरै प्रयासहरू भएका छन् । तर, के ती प्रयास प्रर्याप्त छन् ? ती प्रयासले नयाँ पुस्तालाई समेट्न सक्ला ? त्रिपिटक, बाइबल, कुरान, पुराणजस्ता मानव इतिहासको एक प्रमुख दस्तावेजलाई एउटा सानो चिपमा सेभ गरी चन्द्रमामा पठाउने, ताकी पृथ्वीबाट मनुष्य जाती लोप भएपनि अर्काइभ चाँहि रहोस् भनेर काम भइरहेको समाचार पढिरहँदा नेपालमा कतिओटा म्यूजियमहरू छन् ?

नेदरल्याण्ड्समा भने कला, इतिहास, विज्ञान तथा प्रविधि, प्राकृतिक विज्ञान जस्ता विविध विधामा कुल ४ सय ३८ म्यूजियमहरू छन् । सन् २०१९ मा मात्र कुल ३ करोड २० लाखले यी म्यूजियमहरूको भ्रमण गरेका थिए । म्युजियमले अभिलेखीकरण पनि र आम्दानी पनि ।


डचहरू समयनिष्ठ हुन्छन् । निर्धारित समयभन्दा बरु केही मिनेट अगाडि आउलान् तर ढिलो कहिल्यै आउँदैनन् । सरकारी कार्यालयमा जानुहोस्, कामको प्रकृतिअनुसार ५ मिनेटभित्र काम पूरा हुन्छ ।

समानताको सवाल

अहिलेको आधुनिक विज्ञान तथा प्रविधिको युगमा महिलालाई पुरुषभन्दा कमजोर देखाउने कमजोर मानसिकताको एक मुख्य स्वरूप कार्यशालामा हुने विभेद हो । एउटै काम, एउटै पद र उही योग्यता हुँदाहुँदै ठूलो पदमा महिलालाई कम प्राथमिकता दिनु, महिला भएकै आधारमा कम तलब दिनु, विवाहित महिलाले काम सम्हाल्न सक्दैन भनिरहनु, अझ महिलाको प्रजनन स्वास्थ्य र अधिकारलाई उपभोग्य वस्तुका रूपमा प्रत्यक्ष परोक्ष शैलीमा व्याख्या गरिरहनु कति न्यायसंगत छ ?

महिला वा पुरुषबाहेक पनि अर्को लैंगिक पहिचान, आवश्यकता र अधिकारको त कुरै नगरौं । समाजमा यति विघ्न थिचोमिचो, अपहेलना र तिरस्कार व्याप्त छ कि यसबारे खुलेर बोल्न समेत वर्जित मानिन्छ । लाग्छ, एक मानिसले आफू मानिस भएको दम्भ गर्छ तर अर्को मानिस, मानिस हो भनेर भुसुक्कै बिर्सन्छ ।

त्यसमाथि भलै राति लुकेर बत्ती निभाएर पोर्न हेर्ने दैनिकी किन नहोस्, सेक्सका विषयमा कुरा गरे तिनैले यसरी गालीगलौज गरी क्यारेक्टर सर्टिफिकेट जारी गर्छन् कि मानौँ तिनीहरूभन्दा भद्रभलाद्मी त यो ब्रह्माण्डमा कोही छैनन् ।

नेदरल्याण्ड्स यस परिवेशमा निकै फराकिलो साेच भएको मुलुक मानिन्छ, जहाँ कुनै महिलाको लागि पुरुषले ढोका खोल्ने वा फूल उपहार दिने गर्दैनन् । जहाँ बच्चाको स्याहार सुसारदेखि घरेलु हरेक काममा दुवै दम्पत्तीको बराबरी साझेदारी हुन्छ । मुख्यतः यहाँ जात, धर्म, लिंगभन्दा पनि योग्यता, उत्पादनशीलता र पसिनालाई पहिलो प्राथमिकतामा राखिन्छ । सन् २००१ मा समलिंगीबीचको विवाहलाई कानूनी मान्यता प्रदान गरी विश्वको पहिलो नमूना मुलुकसमेत बनेको थियो । राष्ट्रिय तथ्याङ्कअनुसार दुई सयभन्दा बढी देशका नागरिकहरू यहाँ अवस्थित छन्, कारण सुरक्षा, स्वतन्त्रता र सोंचका हिसाबले यो देश सहज छ ।

समयको महत्व

डचहरू समयनिष्ठ हुन्छन् । निर्धारित समयभन्दा बरु केही मिनेट अगाडि आउलान् तर ढिलो कहिल्यै आउँदैनन् । सरकारी कार्यालयमा जानोस्, कामको प्रकृतिअनुसार ५ मिनेटभित्र काम पूरा हुन्छ । हरेक काम, मिटिङ पूर्वनिर्धारित योजनाअनुरूप नै हुन्छ, चाहे हावा चलोस् वा हिउँ परोस् । नेपालमा कहिले आउला, यस्तो दिन ?

फुर्सदको समय पनि उनीहरू आफैसँग व्यतित गर्न रुचाउँछन् । ठिक समयमा मिटिङ वा कुनै काम शुरु गर्नु जत्तिकै ठिक समयमा पूरा गर्नु पनि यहाँ महत्वपूर्ण मानिन्छ । कुनै कार्यक्रम, कक्षा वा सभागोष्ठीमा टाइम किपर वा सभाध्यक्षको मुख्य जिम्मेवारी नै कार्यक्रमलाई एजेण्डाभन्दा बाहिर जान नदिनु र समयमै सम्पन्न गर्नु हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली