मेरो क्यानभासमा झमक घिमिरे



डा. झमक घिमिरे नेपाली साहित्यमा मात्र होइन अन्तर्राष्ट्रिय जगतमा नै चिरपरिचित एक प्रेरणादायी साहित्यकार हुन् । ‘संकल्प’, ‘आफ्नै चिता अग्नी शिखातिर’, ‘मान्छेभित्रका योद्धाहरु’, ‘नौलो प्रतिबिम्ब’, ‘प्रेमिल आकाश’जस्ता कवितासंग्रह एवम् ‘अवशान पछिको आगमन’, ‘सम्झनाका बाछिटाहरु’ जस्ता निबन्ध संग्रह र जीवन काँडा कि फूल नामक आत्मकथा गरी दर्जनभन्दा बढी कृति उहाँले नेपाली साहित्यलाई पस्किसक्नु भएको छ ।

सन् २०१९ नोभेम्बर ८ मा रिलिज भएको चलचित्र जीवन काँडा कि फूल उहाँको आत्मकथामा आधारित चलचित्र हो । जसमा मैले किशोरावस्थादेखि वयस्क हुँदासम्म झमक घिमिरेको चरित्र अभिनय गर्ने मौका पाएँ ।

जीवन काँडा कि फूल, नेपाली साहित्य जगतको अस्कर अवार्ड मानिने मदन पुरस्कारद्वारा सम्मानित कृति हो । त्यति मात्र होइन सन् २००५ को नोबेल शान्ति पुरस्कारका लागि नेपालबाट मनोनित ९ जनामध्ये उहाँ पनि एक हुनुहुन्थ्यो ।

उहाँको योगदानको उच्च सम्मानस्वरुप मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मानार्थ विद्यावारीधिबाट सम्मान गर्यो । यसैगरी, स्रष्टासर्जकको सम्मानमा नेपाल सरकारले उहाँका निम्ति आवासगृह पनि निर्माण गरेको छ । साथै, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पनि हुनुहुन्छ ।

सन् २०१९ नोभेम्बर ८ मा रिलिज भएको चलचित्र जीवन काँडा कि फूल उहाँको आत्मकथामा आधारित चलचित्र हो । जसमा मैले किशोरावस्थादेखि वयस्क हुँदासम्म झमक घिमिरेको चरित्र अभिनय गर्ने मौका पाएँ । घिमिरेको ४१ औं जन्मदिनको सु–अवसरमा यहाँ मैले, मेरो जीवनमा झमक शब्दको आगमन, अर्थ र अभिप्रेरणालाई अन्वेषण गर्ने प्रयत्न गरेकी छु ।

झमक र म उस्तै–उस्तै

सन् २०१२ ताकाको कुरा हो । सिंहदरबार, पूर्वीगेटस्थित मण्डला नाटक घरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव चलिरहेको थियो । आयोजक थिए आरोहण गुरुकुल र मण्डला नाटकघर । म मैत्री एफ.एम. ९९.४ मेगाहर्जमा गुडमर्निङ काठमाडौं, अफिस आवर, हार्टबिट, साटर् डे फनजस्ता कार्यक्रम सञ्चालन गर्थें ।

विशेषतः गुडमर्निङ काठमाडौं शोका लागि उक्त अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागि नाटकसँग सम्बन्धित कलाकार तथा निर्देशकको अन्तर्वार्ता लिने तथा रिपोर्ट तयार गर्थें ।

सदाझैं म रिपोर्टिङकै लागि पुतलीसडक हुँदै मण्डला नाटकघरतिर हिँडिरहेको थिएँ । एउटा पुस्तक पसलमा सजिएका पुस्तकहरुमध्ये मेरो आँखा ठ्याक्कै एउटा कभर पेजमा ठोकियो । त्यो हो– जीवन काँडा कि फूल । नामैले जीवन संघर्षको कथा हो जस्तो लाग्यो तर, कभर पेजमा एक व्यक्ति गज्जबले हाँसिरहेका थिए ।

आफ्नै आमाको टाउको खाएर जन्मेको भनी छि छि दूर दूर सहेकी म । त्यसैले पुस्तकभित्रको झमक कुमारी र म उस्तै–उस्तै भान भयो ।

मैले अड्कल काटें संघर्ष काँडा होला अनि त्यो व्यक्तिको निश्चल मुस्कान चाहिँ फूल । अनि केही सोचिनँ, किताब किनेर झोलामा राखिहालें । स्कूल पढ्दा नेपाली शिक्षक गोविन्द आचार्य सर, हाइस्कूल छँदा भौतिकशास्त्रका शिक्षक अम्बिकाराज पाण्डे सर र थिएटरमा छँदा सुनिल पोखरेल सर र दिपेन्द्र बज्राचार्य दाईको प्रभावले साहित्यिक किताब पढ्न भनेपछि म हुरुक्कै हुन्थें ।

घर पुगेर झोलाबाट पुस्तक निकालें । झमक घिमिरेले लेख्नुभएको रहेछ । स्नायु प्रणालीसम्बन्धि विशेष समस्याले पिडित धनकुटाको कचिडे भन्ने विकट गाउँमा जन्मिएकी एक बालिकासँग मेरो परिचय भयो । जो पढ्न, सिक्न, जान्न भनेपछि हुरुक्कै ! मानौं उत्सुकताको सिंगो समुन्द्र लुकेको छ उनीमा । गरिब त्यसमा नि केटी भएकै कारण सामाजिक अपहेलना र उत्पीडनबाट आजित ती बालिका मेरो आफ्नै साथी जस्तो लाग्यो ।

पानीमा रुझेर असिना बाल्टिन भरी टिपेर खेल्ने म अनि शितको थोपा जम्मा गरी अक्षर कोर्ने ती बालिका । आफ्नै आमा, बा, छिमेकी तथा आफन्तले पूर्वजन्मको पापले पिरोलेर शरीर कुँजो भएको भन्दै अपशब्द खेपेकी उनी । आफ्नै आमाको टाउको खाएर जन्मेको भनी छि छि दूर दूर सहेकी म । त्यसैले पुस्तकभित्रको झमक कुमारी र म उस्तै–उस्तै भान भयो ।

पढ्न भनेपछि जस्तोसुकै कठिनाइ पनि सहज रुपमा स्वीकार्ने उनले जब आफ्नो नामसँग कुमारी लेख्न अस्वीकार गरिन् । कुनै एक जात वा धर्ममा मात्र आफूलाई बाँध्न अस्वीकार गरिन् । अनि मैले खोजेको रोलमोडल मेरो आँखा अगाडि नै भएको महशुस गरें ।

। केटी मान्छेका लागि बनाइएका सीमाभित्रका मानसिक यातना, शोषण तथा दासप्रथाविरुद्धको क्रान्तिकारी ज्वाला जलिरहेको देख्दा म यति खुशी भएको थिएँ कि त्यो पुस्तकले मलाई थप मेहनत गरी पढ्न, मनले चाहेका ठीक मानेका हरेक काम गर्न तथा जीवनको भरपूर अन्वेषण गर्न हौसला थप्दै गयो ।

अपरिचित पाहुनाहरुले मलाई एकपटक शिरदेखि पाउँसम्म नियाल्नुभयो अनि प्रश्नहरुको वर्षात भयो, ‘के तिमीले झमक घिमिरेको नाम सुनेकी छौ ? जीवन काँडा कि फूल भन्ने पुस्तक पढेकी छौ ? कस्तो लाग्यो त किताब ? किताबको सबैभन्दा मनपरेको अंश शेयर गर न त ? तिम्रो केश त साह्रै लामो रहेछ नानी, मानौं केही गरेर तिमीले कुनै नाटक वा चलचित्रमा अभिनय गर्ने मौका पायौ र तिम्रो केश काट्नुपर्यो भने के गर्छौ ?’

जब पुस्तकमा झमकले विभिन्न कविता, कथा, निबन्ध हुँदै कान्तिपुरको स्तम्भकारका रुपमा कलम चलाउन थालिन् । कलमका माध्यमबाट आर्थिक स्वतन्त्रताको बाटो अवलम्बन गरिन्, जीन्दगीको हरेक खालको स्वतन्त्रता भोग्ने, बेफिक्री, निर्धक्क, आत्मनिर्भर भएर बाँच्ने उनको सपना र मेरो सपना, मलाई फेरि उस्तै–उस्तै लाग्यो । साँच्चै मलाई झमक घिमिरे आफ्नै साथी जस्तै लाग्न थाल्यो । म आकाशमा स्वतन्त्र उड्न चाहने पंक्षी थिएँ भने उनी सिङ्गो आकाश थिइन्, मेरो क्यानभासमा ।

जीवन काँडा कि फूल

ठीक दुईवर्षपछि अर्थात् सन् २०१४ ताका दसैंको समय थियो । विमल सुवेदी दाईले झट्टै थिएटर आउनु भनी बोलाउनुभयो । त्यतिबेला म लैनचोर उत्तरढोकास्थित थिएटर भिलेजमा रंगकर्मसम्बन्धी अध्ययनरत छात्रा थिएँ । विमल दाई प्रिन्सिपल हुनुहुन्थ्यो । मिटिङ हलमा विमल दाईसँग विनोद विष्ट सर, मुक्ति सर, प्रकाश हमाल दाई तथा प्रकाश महरा दाई हुनुहुँदो रहेछ । मलाई त्यो मिटिङ के कसो कस्तो केही थाहा थिएन म त थपक्क पद्मासनमा बसें ।

ती अपरिचित पाहुनाहरुले मलाई एकपटक शिरदेखि पाउँसम्म नियाल्नुभयो अनि प्रश्नहरुको वर्षात भयो, ‘के तिमीले झमक घिमिरेको नाम सुनेकी छौ ? जीवन काँडा कि फूल भन्ने पुस्तक पढेकी छौ ? कस्तो लाग्यो त किताब ? किताबको सबैभन्दा मनपरेको अंश शेयर गर न त ? तिम्रो केश त साह्रै लामो रहेछ नानी, मानौं केही गरेर तिमीले कुनै नाटक वा चलचित्रमा अभिनय गर्ने मौका पायौ र तिम्रो केश काट्नुपर्यो भने के गर्छौ ?’

मैले सबै प्रश्नको एक एक गरी जवाफ दिएँ । छुट्टिने बेला उहाँहरुको अन्तिम प्रश्न थियो, ‘तिम्रो त अनुहार पनि झमक घिमिरेको जस्तै रहेछ, के तिमी ठूली झमकको भूमिका गर्न सक्छ्यौं ?’ त्यति नै बेला विमलदाईले प्वाक्क भनिहाल्नुभयो, ‘म उनलाई सिकाउँछु, साह्रै मेहेनती छिन्, सक्छिन् ।’ अनि मेरो मुटुको चाल एक्कासी बढ्न थाल्यो ।

झमकको चरित्रका लागि आफूलाई तयार पार्नु चानचुने कुरा थिएन । करिव १ वर्ष ५ महिनाको तपस्यावधिमा सुरुका दिन मेरा लागि निकै कष्टकर थिए ।

पछि एकान्तमा मैले विमल दाईसँग आफू कहाँ भर्खर रंगमञ्चको एक सामान्य विद्यार्थीले झमक घिमिरेजस्तो जीवन्त धरोहरको चरितार्थ गर्न सक्दिनँ कि भन्ने शंका प्रकट गरें । सुइना कर्णालीका, बुद्धवाणी, चारुमती, एन्ना इन द ट्रपिक्स नाटक र नेपालभाषाको चलचित्र व मिसा गरी पाँचवटा कामको मात्र अनुभव थियो मसँग ।

दाईले थुप्रै कलाकार तथा चलचित्रको उदाहरण दिँदै म कच्चा माटो भएकाले झन् चलचित्रको आवश्यकता अनुकूल आकृति दिन सजिलो हुने बताउनुभयो । त्यसपछि म झन् झमक घिमिरेसँग सम्बन्धित एक–एक समाचार, रिपोर्ट, लेख, अन्तर्वार्ता खोजी–खोजी पढ्न र हेर्न थालें । पुस्तकको झमक अब मेरो वास्तविक जीवनमा प्रवेश गर्नुभयो ।

झमकको चरित्रका लागि आफूलाई तयार पार्नु चानचुने कुरा थिएन । करिव १ वर्ष ५ महिनाको तपस्यावधिमा सुरुका दिन मेरा लागि निकै कष्टकर थिए । म स्वभावले अत्ति अन्तरमुखी, कोही अपरिचित व्यक्ति भेटें भने पनि डराएको जस्तो अनौठो रियाक्ट गर्ने । त्यसमा पनि काठमाडौंको पुरातन सोचले ग्रस्त नेवार परिवारमा जन्मे हुर्केको मलाई आफ्नो मनको डर, आशंका, भ्रम अझ भनौँ मभित्रको मानसिक पिँजडा र पर्खालहरु भत्काउन नै निकै समय लाग्यो ।

यो त्यहि समय थियो जतिबेला म थियटरकै सिनियर दाई भनाउँदाबाट शारीरिक, मानसिक, भावनात्मक तथा यौन शोषणमा परेकी थिएँ । मन भित्रका करौडौं द्वन्दहरुसँग जुधिरहेको थिएँ । म थिएटरबाट भागिरहेको थिएँ । एकदिन विमल दाईले सिधै भन्नुभयो, ‘तिम्रो जिउ र सोच दुवै खुम्चिएको छ । जबसम्म तिमीले आफूलाई स्वीकार्न सक्दिनौं, म तिमीलाई केही सिकाउन सक्दिनँ । अभिनय भनेको नक्कल गर्नु होइन । तिमीले सशरीर झमक जीको नक्कल गर्न सक्छौ मलाई थाहा छ तर के उहाँको अन्तरमन र आत्मा बुझ्न उत्सुक छैनौ ?’

जीवन काँडा कि फूलको कभर पेजको निश्चल मुस्कान आँखा अगाडि देख्दा, आङ सिरिङ्ग भयो । उहाँको ऊर्जा यत्ति शक्तिशाली थियो कि त्यो तेजले म आफै पनि चम्किरहेको महशुस भयो ।

बिमल दाईको कुराले कतिबेला आँखाबाट आँसु बर्सिन थाल्यो थाहा पाइन । मैले उहाँलाई पहिलोपटक आफूलाई शोषण गर्ने विकृत मानसिकता र व्यक्तिको कुरा भनें । आफू कुँजिएको कारण शेयर गरें । बल्ल निर्धक्क श्वास फेरेजस्तै भयो । मैले जीवन काँडा कि फूलको झमकलाई बुझ्न र चिन्न आफ्नो जीवनको काँडालाई स्वीकार्न तथा त्यसको चोटबाट थप निखारिन जानें ।

झमक भएर बाँच्दा

साहित्यकार झमक घिमिरेलाई पहिलोपल्ट देख्दाको क्षण सम्झँदा अझै पनि मेरा रौंहरु ठाडा हुन्छन् । नेपाल टुरिजम बोर्डमा उहाँद्वारा रचित कविता वाचन कार्यक्रम थियो । उहाँ मञ्चमा सोफामा बस्नुभएको थियो । फ्रन्ट रोमा बसेर उहाँको एक–एक हाउभाउ, गतिविधि, मानिसहरुसँगको अन्तरक्रिया नियालिरहेको थिएँ ।

मैले जीवन काँडा कि फूलको कभर पेजको निश्चल मुस्कान आँखा अगाडि देख्दा, आङ सिरिङ्ग भयो । उहाँको ऊर्जा यत्ति शक्तिशाली थियो कि त्यो तेजले म आफै पनि चम्किरहेको महशुस भयो । डाक्टर सरोज धितालले ‘मनकामनालाई रजस्वला’ भन्ने कविता वाचन गरिरहँदा आफ्नो प्रिय लेखक प्रतिको सम्मान झनै चुलियो ।

सन् २०१६ को मार्च ताका म कलाकार झमकको रुपमा चलचित्र निर्माण टोलीका व्यवस्थापक प्रकाश महरा दाईसँग धनकुटाको कचिडे पुगें । झमक जीलाई अवलोकन गर्न तथा सँगै उठबस गर्न मैले निर्देशक विनोद विष्ट सरसँग १० दिन अगावै आफूलाई धनकुटा जाने व्यवस्था गरिदिन विशेष आग्रह जो गरेकी थिएँ ।

काठमाडौंको बाङ्गेमुढामा जन्मिँदा आमा गुमाएकी मैले धनकुटाको कचिडे पुग्दा आमाले जस्तै माया गर्ने आमा पाएँ । परिवारको न्यानोपन आत्मासाथ गर्न पाएँ । साथी कमाएँ ।

म उहाँलाई कलाकारको रुपमा भेट्न भने निकै नर्भस थिएँ । किनकी कसैले मलाई झमक त सन्की कवि हो, होश गर्नु भन्नुभएको थियो । जब उहाँसँग आफ्नो दैनिकी साट्न थालें, आफ्नो सम्मान र माया बाँड्न थालें । सायद उहाँले मेरो कामप्रतिको लगाव, इमान्दारिता र मेहनत देख्नुभएछ वा भनौं म भित्रको म नचिनेको मलाई उहाँले चिन्नुभएछ ।

काठमाडौंको बाङ्गेमुढामा जन्मिँदा आमा गुमाएकी मैले धनकुटाको कचिडे पुग्दा आमाले जस्तै माया गर्ने आमा पाएँ । परिवारको न्यानोपन आत्मासाथ गर्न पाएँ । साथी कमाएँ । विशेषतः झमक–दिदी र गुरु दुवै भेटाएँ । हरेक कलाकारले कुनै हस्तीको बायोपिक मुभी गर्न पाओस् भन्ने पक्कै सोचेको हुन्छ ।

तर, चलचित्रमा अभिनय गर्ने रुची पनि नभएको र कल्पनासम्म नगरेकी मैले सेरेबल पल्सीजस्तो स्नायुप्रणालीसम्बन्धी रोगले ग्रसित, पारिवारिक, सामाजिक तथा आर्थिक दर्दनाक चुनौतीहरुको सामना गर्दै आफ्नो बायाँ खुट्टाका दुई औंलाले कलम कापी च्यापेर जीवन काँडा कि फूलजस्तो अमर सिर्जना रच्ने जीवीत हस्तीको चरित्रमा अभिनय गर्न पाउनु चानचुने कुरा थिएन । त्यसमा पनि हरपल उहाँको गाइडेन्समा काम गर्न पाउनु अझ त्यसमा पनि आफ्नो अभिनयका लागि वहाँले मुक्तकण्ठले स्याबासी दिनु सायदै थोरैले यस्तो अवसर पाउँछन् ।

तालिमको समयदेखि नै काम सुरु हुनु ३० मिनेट अगावै ध्यान गर्थें । क्यारेक्टरमै बसेर आफूलाई झमक नै मान्थें । त्यसपलमा एसिस्टेन्ट डाइरेक्टर रामकृष्ण दाई र विनय दाईले सिनको ब्रिफिङ गर्नुहुँदा पनि मैले आफू झमककै रुपमा प्रतिक्रिया दिन्थें । शुभमुहुर्तको दिन थियो । धनकुटाका विभिन्न गाउँका मान्छेहरुले झमक दिदीको घरआँगन अर्थात् छायाँकन स्थल भरिएको थियो । डाँडा वरिपरि पूरै मान्छेहरु….ओपनिङ सिन सुरु भयो, अचानक सबै मौन सबै स्तब्ध !

जब म सिन सकेर जुरुक्क उठें, मान्छेहरु ‘हँ, झमक त जुरुक्क उठिन् त । हँ, अचम्मै भयो त झमक कसरी हिँड्ने भइन् ?’ खैलाबैला भयो । पहिलो सिनमा नै जनसमुदायबाट त्यत्रो ठूलो रेस्पोन्स पाउँदा मैले आँसु थाम्नै सकिनँ । झमक दिदीको आमाले मलाई गर्ल्याम्म अँगाल्नुभयो । त्यतिबेला साँच्चै आमा पाएको अनुभूत गरें । त्यहाँ झमक दिदी प्रमुख अतिथीका रुपमा उपस्थित हुनुहुन्थ्यो, तर मान्छेहरु मलाई साँच्चैको झमक भनि झुक्किएका थिए ।

रिल र रियलको त्यो सगरमाथा

अभिनयको सगरमाथाको आरोहण पछि संयोगले सन् २०१७ मा भौतिक सगरमाथा आरोहण गर्ने तय भयो । प्रथम महिला पत्रकार सगरमाथा आरोहण टोली २०१८ को टोली नेताका रुपमा बालुवाटार, चुनदेवीस्थित निवासमा झमक दिदी आउनुभएको अवसर पारेर आशिर्वाद थाप्न गयौं । ‘जुन सगरमाथा देखिएको छ, त्यो नेपालमै छ, बोधिसत्वको सगरमाथा त्यो पनि नेपालमै छ, जीवनको सगरमाथा पनि नेपालमै छ । त्यो बुझ्नुपर्छ प्रत्येक नेपालीले नेपालले पनि ! यो सगरमाथा आरोहीहरुलाई मेरो हार्दिक शुभकामना !’

जतिबेला बाँकी दुनियाँले ‘तिमीहरु हेर्दा भर्खर प्लस टु पढ्ने जस्तो देख्छौ, त्यो पनि सहरमा हुर्केका केटीहरु, त्यसमाथि शेर्पा जातिका होइनौ, कहाँ सक्नु सगरमाथा चढ्न !’ भनी मुटु छियाँछियाँ पारिरहँदा उहाँको शुभकामनाले कति क्विन्टल हौसला थप्यो भन्ने कुराको आंकलन आफैं गर्नुहोस् ।

झमक दिदी मात्र होइन, उहाँको सिंगो परिवार, झमक साहित्य प्रतिष्ठान तथा उहाँसँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरुले पनि हामीलाई माया, सल्लाहसुझाव, साथ र सहयोग गर्नुभयो र त हामी जीवन काँडा कि फूल पुस्तक र झमक दिदीको तस्विर सगरमाथाको शिखरमा पुर्याएर सम्मान प्रकट गर्न सफल भयौं ।

सगरमाथा आरोहणपछि…

सगरमाथा आरोहण जत्ति गाह्रो र रोमाञ्चक थियो । अवतरण अझ बढी चुनौतीपूर्ण रह्यो । हामी पाइला–पाइलामा मृत्युसँग पौठेजोरी खेल्दै आफूभित्रको ‘तैंले सक्दैनस्’ भन्ने पिँजडालाई क्र्यापोनले कर्याप्प कर्याप्प किल्चिदैं आइस एक्सले फोर्दैे अघि जो बढेका थियौं । चढ्यौं, झर्यौं, मिसन सक्सेस भयो तर, आरोहणको वास्तविक चुनौती र सफलता त काठमाडौं आइसकेपछि पो थाहा हुने रहेछ ।

आरोहणको सफलता भनेको त आरोहण गर्नुअघिका दुःख नभुल्नु, साथ दिने हात नछोड्नु र आरोहणपछि यो यो काम गर्छु भनी गरेका बाचा नतोड्नु पो रहेछ । सबैभन्दा महत्वपूर्ण, आफ्नो धरातल नबिर्सिनु रहेछ । सन् २०१७ मा नै भौतिकशास्त्रमा स्नातकोत्तर सकेकी मैले आरोहण तयारीकै लागि विद्यावारिधिको योजना केही समय पर सारेकी थिएँ । सन् २०१६ मा आयोजित दिक्षान्त समारोहमा मध्यपश्मिाञ्चल विश्वविद्यालयले नेपाली साहित्यका अद्वितीय प्रतिभाशाली तथा प्रेरणादायी साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधिबाट सम्मान गरेको थियो ।

त्यतिबेला नै झमक दिदीले अब तिमीले पनि विद्यावारिधि गर्नुपर्छ है भन्नुभएको थियो । सन् २०१८ को मे २३ मा सगरमाथा आरोहण गरेपश्चातका डेढ दुई वर्ष आरोहणसँग सम्बन्धित हिसाब किताब र विविध कार्यहरु गर्नमा खर्च भयो । त्यो समय जीवनकै संवेदनशील, पेचिलो र बोझिलो थियो तर काम गर्न कहिल्यै थाकिनँ ।

झमक घिमिरे दिदी मेरो क्यानभासमा खुल्ला आकाश हुन् । जसको आयतन नाप्ने मेसिनको अहिलेसम्म आविष्कार भइसकेको छैन । जो आमाको हृदयजस्तै विशाल, समुन्द्र जस्तै गहिरो, सूर्यजस्तै तेजश्वी, हावाजस्तै निश्चल, भर्खरै पलाएको कोपिलाजस्तै सुकोमल र ब्रह्माण्डजस्तै जादुमयी हुनुहुन्छ ।

एकदिन झमक दिदीले मलाई सम्झाउनुभयो, ‘नानी पि.एच.डि कहिले गर्छौ ? हेर नानी यता उता कुदि नराख ! हिमाल चढ्यौ त्यो एउटा अनुभव भयो, फेरि पनि त्यही हिमालको पछि नलाग तिमी त मेरी छोरी समानकी मान्छे हौ ! भोली गएर तिमीले प्राज्ञ हुनुपर्छ, त्यो जिम्मेवारी निभाउन सजिलो छैन ।’

त्यतिबेला घरपरिवार, हाम्रो आरोहण टोली, सहयोगकर्ता र हिमालप्रतिको जिम्मेवारी साथै अन्नपूर्ण हिमाल आरोहण गर्ने जुनुनले मेरो मूल सपनाप्रतिको जिम्मेवारी ओझेलमा परेको रहेछ । दिदीले त्यत्ति सम्झाएपछि खोइ मनभित्र के–के भयो के–के ! कुन–कुन भौतिक रासयनिक प्रतिक्रिया भए, यस्तो जोशजाँगर र ऊर्जा सञ्चार भयो कि मैले उच्च शिक्षा आवेदनको तयारी सुरु गरें र फलतः म आज अध्ययनको सगरमाथा आरोहण गर्न विश्वकै प्रतिष्ठित विश्वविद्यालय लाइदेन युनिभर्सिटीमा अहोरात्र खटिरहेको छु ।

मेरो क्यानभासमा झमक घिमिरे

त्यसैले म भन्छु, झमक घिमिरे दिदी मेरो क्यानभासमा खुल्ला आकाश हुन् । जसको आयतन नाप्ने मेसिनको अहिलेसम्म आविष्कार भइसकेको छैन । जो आमाको हृदयजस्तै विशाल, समुन्द्र जस्तै गहिरो, सूर्यजस्तै तेजश्वी, हावाजस्तै निश्चल, भर्खरै पलाएको कोपिलाजस्तै सुकोमल र ब्रह्माण्डजस्तै जादुमयी हुनुहुन्छ ।



...
नेदरल्याण्ड्स जहाँ साइकल नै देशप्रेमको प्रतिक (भिडियोसहित) « Mero LifeStyle

[…] भयो कि ?मेरो क्यानभासमा झमक घिमिरेअमेरिकाबाट हिमाल मुनिको यात्रायी ५ […]

...
सात समुन्द्रपारिबाट मैले नियालेको दसैं « Mero LifeStyle

[…] यसरी भएको छ, यौन व्यवस्थापनमेरो क्यानभासमा झमक घिमिरेअमेरिकाबाट हिमाल मुनिको यात्रायी ५ […]

...
सानुभाई बुद्धाचार्य : हाम्रो बा ! « Mero LifeStyle

[…] यसरी भएको छ, यौन व्यवस्थापनमेरो क्यानभासमा झमक घिमिरेअमेरिकाबाट हिमाल मुनिको यात्रायी ५ […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंह केही समयको अन्तरालपछि काठमाडौ आएकी छन् । पछिल्लो एक दशकदेखि मुम्बईमा

नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन

उचित काम र जीवनबीच सन्तुलन खोज्नु हामीकहाँ कुनै नौलो विषय होइन । तर, कोभिड-१९ महामारीले यी दुई पक्षबीच तनावको स्थिति

सन् २०२० को एक तथ्यांक अनुसार करिब १६ लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा प्रत्येक दिन झण्डै १२ लाख सवारी साधन