पेले जब ‘स्कर्ट लगाएर’ खेल्दछन् !

६ पटक ‘फिफा वर्ष खेलाडी पुरस्कार’ जितेकी ब्राजिलकी मार्टा भियराको संघर्ष र सफलता


जब विश्व महिला फुटबलको चर्चा हुन्छ, तब ‘मार्टा’ नाम स्वतः त्यससँग जोडिएर आउने गर्दछ । यो उनको खेल–कौशल हेरेक देश–विदेश सबै ठाउँका फुटबल पण्डितहरूले एकमतले दिएको निष्कर्ष हो । त्यसो त उनको पूरा नाम हो– मार्टा भियरा डा सिल्भा

विश्व फुटबल महासंघ (फिफा) ले बर्सेनी प्रदान गर्ने ‘फिफा वर्ष खेलाडी पुरस्कार’ त उनी एक्लैले ६ पटक जितिसकेकी छन् !

तर, आम रूपमा उनलाई सबैले केवल ‘मार्टा’ भनेर नै चिन्दछन् । यही छोटो मिठो नामले नै पुकार्दछन् । ब्राजिलमा जन्मे–हुर्केर त्यही देशका लागि दश नम्बर जर्सी लगाएर खेलेकी उनी विश्व महिला फुटबलले जन्माएका सम्पूर्ण खेलाडीमध्ये सर्वकालीन सर्वश्रेष्ठ खेलाडी मानिएकी छन् ।

उनीसँग जोडिएका कीर्तिमान र फुटबल खेल्नकै लागि स्थापित परम्पराविरुद्ध उनले गरेका रोमाञ्चक संघर्षका किस्साहरूले पनि यही तथ्य प्रमाणित गर्दछन् । उनको खेल–कौशलका धेरै विशेषता र अनेक पाटा छन्, कीर्तिमानका अनेक आयाम छन् तापनि उनका सम्पूर्ण विशिष्टतालाई अभिव्यक्त गर्न एउटा यो तथ्य नै पर्याप्त छ– विश्व फुटबल महासंघ (फिफा) ले बर्सेनी प्रदान गर्ने ‘फिफा वर्ष खेलाडी पुरस्कार’ त उनी एक्लैले ६ पटक जितिसकेकी छन् ! यसमा पनि सन् २००६ देखि २०१० सम्म त लगातार पाँचपटक र पछिल्लोपटक सन् २०१८ मा छैटौँपटक उनलाई यो विश्व पुरस्कार प्राप्त भएको थियो !

फिफा विश्व कप फुटबल प्रतियोगितामा सबैभन्दा धेरै गोल (सत्र गोल) पनि उनले नै गरेकी छन् । र, यो गोल संख्या पनि फिफा विश्व कपमा पुरुष वा महिला कुनै पनि राष्ट्रिय टोलीबाट कुनै एक खेलाडीले गरेको सर्वाधिक एकल गोल संख्या हो ।

शारीरिक रूपमा केवल पाँच फिट चार इन्च अग्लाइ र सन्ताउन्न किलो वजन पाएकी यी ब्राजिलियन पेसेवर खेलाडी मार्टाको नाममा अरू पनि रहरलाग्दा कीर्तिमान छन् । उनी ब्राजिलको तर्फबाट (महिला वा पुरुष कुनै पनि टोलीबाट) सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । उनले अहिले (सन् २०२२ जून) सम्ममा ब्राजिलको राष्ट्रिय टोलीका लागि एक सय पन्ध्र गोल (एक सय बहत्तर म्याचमा) गरिसकेकी छन् ।

(स्मरणीय छ, चारजना खेलाडीले विश्व महिला फुटबलमा तीन सयभन्दा धेरै अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । तीमध्ये सबैभन्दा धेरै अमेरिकाकी क्रिस्टिन लिलीले ३५४ म्याच, अमेरिकाकै कार्ली लोयडले ३१६ र क्रिस्टी पियर्सले ३११ अनि क्यानाडाकी क्रिस्टिन सिन्क्लेयरले ३१० म्याच खेलेका छन् । विश्व महिला फुटबलमा सबैभन्दा धेरै म्याच खेलेर कीर्तिमान कायम गरेकी क्रिस्टिन लिलीले फरवार्ड-मिडफिल्डरका रूपमा लगातार तेइस वर्ष अमेरिकी राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेकी थिइन्) ।

मार्टाको सन्दर्भमा यति मात्र होइन, फिफा विश्व कप फुटबल प्रतियोगितामा सबैभन्दा धेरै गोल (सत्र गोल) पनि उनले नै गरेकी छन् । र, यो गोल संख्या पनि फिफा विश्व कपमा पुरुष वा महिला कुनै पनि राष्ट्रिय टोलीबाट कुनै एक खेलाडीले गरेको सर्वाधिक एकल गोल संख्या हो ।

मार्टाले हासिल गरेको अर्को एउटा आकर्षक कीर्तिमान पनि थियो । तर, त्यस कीर्तिमानलाई भने पछि अर्की एकजना खेलाडीले बराबरी गरेकी छन् । मार्टा महिला वा पुरुष कुनै पनि टोलीकी त्यस्ती नितान्त प्रथम सदस्य खेलाडी हुन् । जसले लगातार पाँचवटा फिफा विश्व कप प्रतियोगितामा गोल गर्न सफलता पाएकी छन् ।

पछि क्यानाडाकी क्रिस्टिन सिन्क्लेयर (एकपटक ओलम्प्कि स्वर्ण र दुईपटक काँस्य पदक जित्न सफल) ले सन् २०१९ को महिला फिफा विश्वकपमा मार्टाको यस कीर्तिमानसित बराबरी गर्दै आफ्नो पनि नाम मार्टासितै जोडेकी छन् । स्मरणीय छ, पुरुष विश्वकप फुटबलमा सबैभन्दा धेरै एकल गोल गर्ने कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोसको नाममा छ जसले सन् २००२–२०१४ सम्मका चार विश्वकप खेल्दै कुल सोह्र गोल गरेका छन् ।

उनका दाइहरू त मार्टा घरबाहिर निस्किएपछि पछ्याउँदै परसम्म पुग्थे र फुटबल खेल्न थालेको देखेमा गाली गर्दै कुट्न–पिट्न पनि थाल्दथे । उनीहरूलाई मार्टाले फुटबल खेल्दै गरेको देखेमा छिमेकी र अरूहरूले के भन्लान् वा गर्लान् भन्ने ठूलो भय अनि त्रास हुने गर्थ्याे ।

यसो भए तापनि मार्टाको अर्को कीर्तिमान भने अझै, र निकट भविष्यसम्म नै पनि, अक्षुण्ण छ । लगातार पाँचवटा ओलम्पिक फुटबल प्रतियोगितामा गोल गर्न सक्षम एकमात्र खेलाडी यिनै मार्टा हुन् ।

परम्परा तोड्दै फुटबल खेल्दै

ब्राजिलको आलागोआस राज्यस्थित सानो भित्री सहर ‘दोयस रायकोस’मा सन् १९८६ फेब्रुअरी १९ मा जन्मेकी मार्टाका दुईजना दाइ होजे र भाल्डीर अनि एकजना दिदी एन्जेला छन् । मार्टा सानै छँदा उनका पिता एल्डारियो उनीहरू तीन सन्तान र उनीहरूकी आमा टेरेजालाई छाडेर अन्यत्र लागेका थिए । पिताले परित्याग गर्दा मार्टा केवल एक वर्षकी थिइन् । त्यसपछि उनी गरिबी, भोक र अभावलाई साथी बनाएर हुर्किँदै गएकी हुन् ।

परिवारमा टाढा–टाढासम्म कोही पनि फुटबल खेलमा सक्रिय नरहेको भए पनि मार्टाको नसा–नसामा मानौँ फुटबल बगिरहेको थियो । यही कारण हुनुपर्छ, आम बालिकाहरू गुडिया–खेलौनासित खेल्न रुचाउने उमेरमै उनी फुटबल खेल्ने गर्थिन् । उनको यस्तो फुटबल–प्रेमलाई उनका दाइ–दिदीहरू पूर्वाग्रही ढंगले पटक्कै रुचाउँदैन थिए ।

अझ उनका दाइहरू त मार्टा घरबाहिर निस्किएपछि पछ्याउँदै परसम्म पुग्थे र फुटबल खेल्न थालेको देखेमा गाली गर्दै कुट्न–पिट्न पनि थाल्दथे । उनीहरूलाई मार्टाले फुटबल खेल्दै गरेको देखेमा छिमेकी र अरूहरूले के भन्लान् वा गर्लान् भन्ने ठूलो भय अनि त्रास हुने गर्थ्याे ।

सानै छँदादेखि मार्टामा फुटबल खेल्नेप्रति अचम्मलाग्दो जुनून थियो, हेर्ने–देख्नेहरूलाई अवाक् तुल्याउने धुन थियो र अनौठो मान्न सकिने क्रेज थियो । धेरै दशक पहिले जसरी सर्वकालीन महानतम फुटबलर पेलेमा देखिने गथ्र्यो, ठिक त्यसरी नै ६–७ वर्षकी बालिका मार्टामा पनि फुटबल–जुनून देखिन्थ्यो । पेले जसरी नै उनी पनि पाएसम्म पुराना फुटबल अनि त्यो नपाउँदा झुम्राको बल बनाएर सडक र गल्लीहरूमा एक्लै–एक्लै खेल्ने गर्थिन् ।

दुनियाँभरमा फुटबल खेलको पर्याय जस्तै मानिने ब्राजिलमा सन् १९८१ सम्म महिला फुटबल खेल प्रतिबन्धित थियो र महिलाले फुटबल खेल्नु अवैध मानिन्थ्यो !

कपडाको बल पनि भएन भने धेरै कागज बटुलेर त्यसकै बल बनाएर समेत उनी आप्mनो खेल्ने धोको पूरा गरिरहेकी हुन्थिन् । तर, जे जसरी भए पनि फुटबल नै खेल्ने मार्टाको धुन र इच्छा–शक्ति बलियो थियो, त्यसलाई कसैले डगमगाउन सक्दैन थियो । कहिल्यै सकेन पनि ।

खेलप्रेमी सबैलाई अचम्म लाग्न सक्छ, दुनियाँभरमा फुटबल खेलको पर्याय जस्तै मानिने ब्राजिलमा सन् १९८१ सम्म महिला फुटबल खेल प्रतिबन्धित थियो र महिलाले फुटबल खेल्नु अवैध मानिन्थ्यो ! ब्राजिलको पितृसत्तात्मक समाजको प्रतिनिधि सरकारले सन् १९४१ मा कानुन जारी गर्दै महिलाले फुटबल खेल्न नपाउने प्रतिबन्धात्मक व्यवस्था गरेको थियो । पछि सन् १९७५ मा संयुक्त राष्ट्र संघले ‘अन्तर्राष्ट्रिय नारी वर्ष’ र ‘अन्तर्राष्ट्रिय नारी दशक’ घोषणा गरेपश्चात् अनि अमेरिका, स्वीडेन, नर्वे, जर्मनी आदि देशमा महिला फुटबलको लहर सुरु भएदेखि मात्र ब्राजिलमा पनि महिला फुटबलमाथिको प्रतिबन्ध क्रमशः खुकुलो हुँदै गएको थियो ।

पुरुष फुटबल खेलाडीहरूलाई देउताको श्रेणीमा राख्न रुचाउने ब्राजिलमा केही वर्ष अघिसम्म पनि महिला फुटबल पूर्ण रूपमा उपेक्षित र अपहेलित थियो । यद्यपि, ब्राजिल सन् २००७ को महिला विश्व कपमा उपविजेता बनेको थियो तापनि केही वर्ष अगाडि (सन् २०१५ सम्म) पनि त्यहाँ छात्राहरूलाई फुटबल खेल्नबाट निरुत्साहित गरिन्थ्यो र त्यहाँ महिला फुटबल विकासका लागि न कुनै ठोस विकास कार्यक्रम थिए न उपयुक्त व्यवसायिक अवसर नै । अझ, महिला फुटबल खेलाडीलाई दिइने पारिश्रमिक र अन्य सेवा–सुविधा त झनै दयनीय थिए । (यद्यपि अहिले क्रमशः यो अवस्था परिवर्तन हुँदै गएको छ) ।

गोल गरिसकेपछि हरेकपटक उनी दुई हात फैलाएर ‘टी’ आकार बनाउने गर्थिन्, जसको अर्थ उनकी आमाको नाम ‘टेरेजा’ को पहिलो अक्षरको संकेत हुने गर्थ्याे ।

धेरै पछि एउटा अन्तर्वार्तामा मार्टाले भनेकी थिइन्, “मेरो खेल–जीवनमा धेरै बाधाहरू थिए । मेरी आमा एकल अभिभावक हुनुहुन्थ्यो । उहाँले नै हामीलाई हुर्काउनुभयो । हाम्रो जीवनमा अभावबाहेक केही थिएन । आमासित मेरा लागि फुटबल–जुत्ता किन्ने हैसियत थिएन । फुटबल खेल्ने अरू केटीहरू पनि कोही थिएनन् । यसो भए तापनि मैले सपना देख्न छाडिनँ र ती सपनाहरू हासिल गर्न लागिरहनु पर्ने आफ्नो लक्ष्य पनि कहिल्यै त्यागिनँ ।”

अन्य धेरैले सहयोग र समर्थन गरे नगरे पनि आमा र हजुरआमाले भने ‘फुटबल खेल्ने मार्टाको सपना’ लाई मर्न दिएनन् । ती दुईजनाबाट उनले सक्दो सहयोग पाइरहिन् । धेरैपछि, फुटबलको दुनियाँमा स्थापित भइसकेपछि, गोल गरिसकेपछि हरेकपटक उनी दुई हात फैलाएर ‘टी’ आकार बनाउने गर्थिन्, जसको अर्थ उनकी आमाको नाम ‘टेरेजा’ को पहिलो अक्षरको संकेत हुने गर्थ्याे ।

यसै क्रममा उनी केटाहरूको एउटा स्थानीय क्लबबाट खेल्न थालिन् । कतिले उनलाई जिस्क्याउँथे, कतिले उल्याउँथे । तर, उनी कसैलाई ‘बाल नदिई’ आप्mनो धुनमा खेलिरहन्थिन् । उनी ‘सिएसए युथ टिम’ का लागि खेल्ने गर्थिन् । अन्ततः एक दिन उनलाई ‘निरन्तर लागिपर्ने मानिसलाई ईश्वरले पनि साथ दिन्छ’ भने झैँ भयो ।

केटाहरूको टोलीबाट खेलिरहेको बेला एक दिन उनलाई ब्राजिलियन महिला फुटबल प्रशिक्षक हेलेना पाचेकोले देखिन् र उनमा रहेको प्रतिभा पनि पहिचान गरिन् । त्यसपछि उनले मार्टालाई सन् २००० मा ‘भास्को डी गामा’ क्लबबाट व्यवसायिक महिला फुटबल खेल्ने गरी राजधानी रियो डी जेनेरियो लिएर गइन् । त्यो बेला मार्टा भर्खर चौध वर्ष लागेकी थिइन् ।

दुई वर्ष भास्कोका लागि खेलेपछि मार्टा अर्को छिमेकी क्लब शान्ता क्रुजमा खेल्ने गरी स्थानान्तरण भइन् । नयाँ क्लबमा दुई वर्ष खेलिसकेपछि भने सन् २००४ देखि उनी विदेशी क्लब स्वीडेनको ‘युमिया आइके’ मा आबद्ध भइन् । अनि त्यहाँबाट भने उनका सपनाहरूले यथार्थको रहरलाग्दा उडान भर्न थाले ।

युमिया क्लबका लागि पहिलो वर्ष खेल्दा उनको क्लब युएफा वुमन्स कप फाइनलमा पुगेर ड्युगार्डेन क्लबसित एकका विरुद्ध दुई गोलले पराजित हुन पुगेको थियो । मार्टाले राष्ट्रिय लीगमा बाइस गोल गरेकी थिइन् । अर्को वर्ष भने मार्टाको एक्काइस गोलसहित अपराजित रहँदै उनको क्लब राष्ट्रिय लीग विजेता बन्यो तर युएफा वुमन्स कप भने फेरि एकपटक युमियालाई ३–१ ले पराजित गर्दै ड्युगार्डेन क्लबले नै जित्यो । अर्को वर्ष २००६ मा पनि स्वीडिश महिला लीग युमियाले नै जित्यो जसमा फेरि एकपटक एक्काइस गोलसहित मार्टा नै शीर्ष स्कोरर थिइन् ।

तर, लगातार तेस्रोपटक पनि उनको क्लब युएफा वुमन्स कपको फाइनलमा पुगेर फेरि ३–२ ले पराजित हुन पुगेको थियो । सन् २००७ को वर्ष भने अपेक्षाकृत सफल रह्यो जसमा उनको क्लब युमियाले राष्ट्रिय लीगका साथै स्वीडिश कप उपाधि पनि जित्यो तर लगातार चौथोपटक युएफा वुमन्स कप फाइनल पुगेर पनि यसपटक आर्सनलसित १–० गोलले पराजित भयो । यो वर्ष मार्टाले लीगमा पच्चीस गोल गरिन्, उनीभन्दा एक गोल बढी गर्ने शार्लोट शेलिन हाइयेस्ट स्कोरर बनेकी थिइन् । अर्को वर्ष २००८ मा पनि मार्टाको क्लब युमियाले लीग र स्वीडिश कप दुबै उपाधि जितेको थियो ।

अमेरिकामा व्यावसायिक फुटबल खेल्दै

जनवरी २००९ मा ‘फिफा वल्र्ड प्लेयर अफ द इअर’ घोषित भए लगत्तै मार्टाले तीन वर्ष लामो सम्झौता भएकाले आफू अब अमेरिका गएर त्यहाँको ‘वुमन्स प्रोफसनल सकर’ (डब्लुपिएस) लीग खेल्नका लागि ‘लस एन्जेलस सोल’ टोलीमा आबद्ध हुने घोषणा गरेकी थिइन् । अमेरिकन फुटबल लीग विश्वकै उत्कृष्ट लीगहरूमध्ये पनि अब्बल मानिन्छ ।

डब्लुपिएसको पहिलो सिजन २००९ मा तीन ‘एसिस्ट’सहित दश गोल गर्दै मार्टा लीगकी हाइयेस्ट स्कोरर बनिन् । उनको क्लब लीग च्याम्पियन पनि बन्यो तर डब्लुपिएस च्याम्पियनसिप फाइनलमा भने शून्यका विरुद्ध एक गोलले पराजित भयो । त्यही बीच लस एन्जेलस सोलको ‘अफ सिजन’ भएको बेला उनी ऋण–सम्झौता (लोन कन्ट्रयाक्ट) मा तीन महिनाका लागि ब्राजिलको सान्तोस क्लबमा आबद्ध भइन् । त्यहाँ उनले ‘कोपा लिबेरटाडोरेस’ र ‘कोपा डो ब्रासिल’ प्रतियोगिताहरू खेलिन् । ती दुबै प्रतियोगितामा उनले आफ्नो क्लबलाई उपाधि दिलाउन कोपा लिबेरटाडोरेस फाइनलमा एक र कोपा डो ब्रासिल फाइनलमा दुई गोल गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।

२०१९ को विश्वकपमा उनले आफ्नो सत्रौं विश्वकप गोल गरेर महिला वा पुरुष कुनै पनि टोलीबाट सबैभन्दा धेरै एकल विश्वकप गोलको विश्व कीर्तिमान कायम गरेकी हुन् । यद्यपि उनको टोली ब्राजिल भने ती कुनै अवसरमा पनि बढीमा क्वार्टर फाइनलभन्दा अगाडि बढ्न सकेन ।

तर, जनवरी २०१० मा लस एन्जेलस सोल क्लब बन्द भयो । त्यसपछि मार्टा नयाँ क्लब ‘एफसी गोल्ड प्राइड’ मा आबद्ध भइन् । यस टोलीका लागि सबै चौबीस म्याच खेल्दै उनले उन्नाइस गोल गरिन् र लगातार दोस्रो वर्ष ‘डब्लुपिएस मोस्ट भ्यालुएबल प्लेअर’ र ‘डब्लुपिएस गोल्डेन बुट’ पुरस्कार हासिल गर्न सफल भइन् । उनको क्लबले लीग उपाधिका साथै डब्लुपिएस च्याम्पियनसिप पनि जितेको थियो ।

तर, आर्थिक संकटले गर्दा नोभेम्बर २०१० मा एफसी गोल्ड प्राइड क्लब पनि बन्द भयो । त्यसपछि उनी फेरि केही समय ब्राजिलको सान्तोस क्लबका लागि खेल्न पुगेकी थिइन्, जुन अवधि लामो समयका लागि थिएन । जनवरी २०११ मा मार्टा तेस्रो वर्षमा आफ्नो तेस्रो डब्लुपिएस लीग टोली ‘वेस्टर्न न्युयोर्क फ्ल्यास’ मा आबद्ध भइन् । यस वर्ष पनि दश गोलसहित लगातार तेस्रोपटक पुमा गोल्डेन बुट अवार्ड हासिल गर्दै मार्टाले आफ्नो नयाँ टोलीलाई लीग च्याम्पियनसिप जिताउन निर्णायक भूमिका निर्वाह गरेकी थिइन् ।

अर्को वर्ष सन् २०१२ मा डब्लुपिएसका लीग खेल नहुने घोषणा भयो । त्यसपछि मार्टाले स्वीडेन फर्किने निर्णय गरिन् र फेब्रुअरी २०१२ मा ‘टाइरेसो एफएफ’ क्लबमा दुई वर्षका लागि आबद्ध भइन् । उनको अगुवाइमा क्लबले पहिलोपटक लीग उपाधि जित्यो र मार्टाले पाँचौँपटक लीग विजेताको मेडल पहिरिइन् । तर युएफा वुमन्स च्याम्पियन्स लीग फाइनलमा भने उनले गोल गरेको भए पनि टाइरेसो एफएफ प्रतिद्वन्द्वी वुल्फबर्ग क्लबसित ४–३ गोलले पराजित भएको थियो । यही बीचमा आर्थिक संकटले गर्दा यो टाइरेसो क्लब पनि बन्द भयो ।

त्यसपछि उनी स्वीडेनको डिफेन्डिङ च्याम्पियन क्लब एफसी रोजेनगार्डमा आबद्ध भइन् जहाँ उनले सन् २०१४ र २०१५ मा आफ्नो क्लबलाई लीग उपाधि जिताउनुका साथै २०१६ मा ‘स्वेन्स्का कुपेन कप’ अनि २०१५ र २०१६ मा ‘स्वेन्स्का सुपरकुपेन कप’ पनि जिताउन उल्लेखनीय भूमिका निर्वाह गरिन् । पछि, रोजेनगार्ड क्लब युएफा वुमन्स च्याम्पियन्स लीगको क्वार्टरफाइनलमा पराजित भएपश्चात् मार्टा फेरि अमेरिकातिर लागिन् र सन् २०१७ मा त्यहाँको ‘ओर्लान्डो प्राइड’ टोलीमा दुई वर्षका लागि आबद्ध भइन्, जुन पछि फेरि नवीकरण भयो ।

सन् २०२२ को सिजन अगाडि नै उनी ओर्लान्डो प्राइड टोलीकी कप्तान नियुक्त भएकी थिइन् । तर, नेसनल वुमन्स सकर लीग च्यालेन्ज कप अन्तर्गतको दोस्रो म्याच खेल्दा यही वर्ष मार्च २६ मा उनको देब्रे घुँडामा गम्भीर चोट लाग्यो र उनी सर्जरीपछि हाल विश्राममा छिन् ।

राष्ट्रिय टोलीमा

एकल रूपमा खेल्दै क्लबस्तरबाट अगाडि बढे पनि आफ्नो समयकै अब्बल खेलाडीका रूपमा स्थापित हुने अवसर मार्टाले ब्राजिलियन राष्ट्रिय महिला फुटबल टोलीको सदस्य बनेर हासिल गरेकी हुन् । उनी सोह्र वर्षकी हुँदा उनको डेब्यू ब्राजिलको अन्डर ट्वान्टी महिला विश्वकप टोली सदस्यका रूपमा सन् २००२ मा भएको थियो । एक वर्षपछि, सत्र वर्षको उमेरमा, उनले राष्ट्रिय सिनियर टोलीमा खेल्ने अवसर पाइन् र सन् २००३ को फिफा महिला विश्व कपमा खेलिन् । ब्राजिल क्वार्टर फाइनलबाट बाहिरिए पनि त्यस विश्व कपमा मार्टाले तीन गोल गरेकी थिइन् ।

कोभिड–१९ ले गर्दा सन् २०२१ मा भएको सन् २०२० को टोकियो ओलम्पिकमा खेल्दै उनी लगातार पाँच ओलम्पिक खेलकुदमा गोल गर्ने पहिलो फुटबल खेलाडी बन्न पुगेकी हुन्, यद्यपि उनको टोली ब्राजिल फेरि यसपटक पनि क्वार्टर फाइनलमा पराजित हुँदै बाहिरिएको थियो ।

अर्कोपटक सन् २००७ को महिला विश्व कपमा ब्राजिललाई फाइनलसम्म पु¥याउने क्रममा मार्टाले सात गोल गर्दै हाइयेस्ट स्कोररको गोल्डेन बुट प्राप्त गरेकी थिइन् । त्यसपछि सन् २०११, २०१५ र २०१९ का विश्व कपहरूमा पनि उनले प्रभावशाली प्रदर्शन गरेकी थिइन् । खासगरी २०१९ को विश्वकपमा उनले आफ्नो सत्रौं विश्वकप गोल गरेर महिला वा पुरुष कुनै पनि टोलीबाट सबैभन्दा धेरै एकल विश्वकप गोलको विश्व कीर्तिमान कायम गरेकी हुन् । यद्यपि उनको टोली ब्राजिल भने ती कुनै अवसरमा पनि बढीमा क्वार्टर फाइनलभन्दा अगाडि बढ्न सकेन ।

मार्टा सम्मिलित ब्राजिलको टोलीले सन् २००४ एथेन्स र २००८ को बेइजिङ गरी दुई ओलम्पिक प्रतियोगितामा रजत पदक जितेको थियो । सन् २००४ को एथेन्स ओलम्पिकमा दश टोली सहभागी भएकोमा फाइनलमा ब्राजिल अमेरिकासित २–१ गोल अन्तरले र सन् २००८ को बेइजिङमा बाह्र टोली सहभागी ओलम्पिक फाइनलमा पनि ब्राजिल पुनः अमेरिकाबाटै १–० ले पराजित भएको थियो ।

अमेरिकी महिला टोलीको यो तेस्रो ओलम्पिक स्वर्ण पदक थियो । कोभिड–१९ ले गर्दा सन् २०२१ मा भएको सन् २०२० को टोकियो ओलम्पिकमा खेल्दै उनी लगातार पाँच ओलम्पिक खेलकुदमा गोल गर्ने पहिलो फुटबल खेलाडी बन्न पुगेकी हुन्, यद्यपि उनको टोली ब्राजिल फेरि यसपटक पनि क्वार्टर फाइनलमा पराजित हुँदै बाहिरिएको थियो ।

त्यो अविस्मरणीय गोल

फुटबल खेल्ने मार्टाको कला, क्षमता, सटिक पेनाल्टी प्रहार, गतिशील प्रतिभा र कौशलको झलक त अन्य धेरै अवसरमा देखा परिसकेको थियो । तर, उनलाई स्थायी अन्तर्राष्ट्रिय लोकप्रियता दिलाउने काम उनले सन् २००७ को महिला विश्वकप सेमिफाइनलमा अमेरिकाविरुद्ध गरेको अद्भुत गोललाई महत्वपूर्ण मानिन्छ । त्यो म्याच खेल्दा उनी भर्खर एक्काइस वर्षकी थिइन् ।

त्यो म्याच खेल्दा जितका लागि अमेरिका ‘फेभरिट’ थियो किनभने उसले खेलेका लगातार एकाउन्न वटा म्याच जितेर आएको थियो । तर, प्रतियोगितामा ब्राजिलको खेल पनि उच्चस्तरीय थियो र त्यसमा मार्टाका दुई गोलसमेतको दर्शनीय प्रदर्शनपछि ब्राजिल शून्यका विरुद्ध चार गोलले विजयी भएको थियो ।

मार्टाले गरेको दोस्रो गोल विशेष उल्लेखनीय थियो । म्याचको उनान्असीयौँ मिनेटमा उनले डी–बक्सबाहिर बल पाइन् । उनका ठिक पछाडि अमेरिकी रक्षक टीना एलर्टसन थिइन् । मार्टाले हल्का प्रहार गर्दै बललाई माथि हावामा उठाइन् । त्यसपछि उनले बललाई रक्षक एलर्टसनको बायाँ काँधभन्दा माथिबाट जाने गरी हल्का प्रहार गरिन् र लगत्तै आफू चाहिँ एलर्टसनको दायाँतर्फ पुगिन् ।

एलर्टसनले मार्टाको सर्ट तानेर भए पनि उनलाई रोक्ने प्रयास गरिन् तर मार्टा उनको पहुँचभन्दा टाढा पुगिसकेकी थिइन् । अगाडि अर्की एकजना अमेरिकी रक्षक आइपुगिन् जसले उनको खुट्टामा हल्का प्रहार गरिन् । मार्टा एकछिन नियन्त्रण हराउला जस्तो भइन् तर तत्काल आफूलाई सम्हालिन् र बलमाथि नियन्त्रण कायम गरी गोलकिपरलाई छलाउँदै दर्शनीय ढंगले गोल गरिन् ।

तीव्र गति, अब्बल ड्रिबल क्षमता र उत्तम खेल–कौशलले गर्दा उनी विपक्षी रक्षा–पंक्तिलाई कुनै पनि बेला मात दिन सक्षम देखिन्छिन् । उनी आफ्नो लयमा हुँदा यस्तो लाग्छ, मानौँ उनी फुटबल लिएर नृत्य गरिरहेकी छिन् !

सन् २००७ को त्यो महिला विश्वकपमा सात गोल गर्दै सर्वाधिक गोल स्कोरर बनेर उनले गोल्डेन बुट र सर्वश्रेष्ठ खेलाडीका रूपमा गोल्डेन बल गरी दुई अवार्ड पनि जितेकी थिइन् ।

त्यो एकपटक मात्र होइन, यस किसिमका सुन्दर एवं दर्शनीय गोल त मार्टाले धेरैपटक गरेकी छन् । तीव्र गति, अब्बल ड्रिबल क्षमता र उत्तम खेल–कौशलले गर्दा उनी विपक्षी रक्षा–पंक्तिलाई कुनै पनि बेला मात दिन सक्षम देखिन्छिन् । उनी आफ्नो लयमा हुँदा यस्तो लाग्छ, मानौँ उनी फुटबल लिएर नृत्य गरिरहेकी छिन् !

‘पेले विथ स्कर्ट्स’

सन् २००५ मा मार्टाको जीवन र उनको फुटबल कौशल एवं क्षमतालाई उजागर गर्ने गरी एउटा स्वीडिस टेलिभिजन डक्युमेन्ट्री बनेको थियो, ‘मार्टा–पेलेकी भतिजी ।’ तर यहाँ सन्दर्भ त्यसको दुई वर्षपछि र त्यस उप्रान्तको पनि हो ।

त्यो दिन २६ जुलाई २००७ थियो । मार्टाको अगुवाइमा ब्राजिलको महिला फुटबल टोलीले रियो डी जेनेरियोस्थित एस्टाडियो डो माराकाना रंगशालामा अठसठ्ठी हजार दर्शकको भव्य उपस्थितिमा अमेरिकाको बीस वर्षमुनिको राष्ट्रिय टोलीलाई पराजित गर्दै ‘प्यान अमेरिकन गेम्स’ को उपाधि उचालेको थियो । त्यसपछि दर्शकहरूले उनको तुलना महान ब्राजिलियन फुटबलर पेलेसित तुलना गर्दै स्कर्ट लगाएर खेलिरहेका पेले ‘पेले विथ स्कर्ट्स’ भन्न थालेका थिए ।

ठिक हो । मार्टा खेलिरहेको हेर्दा यस्तो लाग्छ मानौँ म नै स्कर्ट लगाएर खेलिरहेको छु !” यसरी पेलेले पनि उनलाई हजारौँ दर्शकले दिएको नयाँ र अद्भुत उपनाम “पेले इन स्कर्ट्स” अर्थात् “स्कर्ट लगाएर खेल्ने पेलेलाई अमर बनाइदिए ।

पटक–पटक उनको खेल प्रत्यक्ष हेरिसकेका ‘फुटबलका जादुगर’ भनिने पेले त्यो तुलनासित सहमत भएका थिए र आफैँले मार्टाको बारेमा भनेका थिए, “ठिक हो । मार्टा खेलिरहेको हेर्दा यस्तो लाग्छ मानौँ म नै स्कर्ट लगाएर खेलिरहेको छु !” यसरी पेलेले पनि उनलाई हजारौँ दर्शकले दिएको नयाँ र अद्भुत उपनाम “पेले इन स्कर्ट्स” अर्थात् “स्कर्ट लगाएर खेल्ने पेले” लाई अमर बनाइदिए ।

योभन्दा ठूलो सम्मान अरू के नै पो हुन सक्थ्यो होला ! कल्पना मात्र गर्दा पनि आङ जिरिङ्ग हुन्छ– सर्वकालीन महानतम फुटबल खेलाडी पेले ‘स्कर्ट लगाएर’ मार्टाको रूपमा आफ्नो अद्वितीय खेल–कौशल प्रदर्शन गरिरहेका छन् !

लिपिस्टिक लगाएर विश्वकप खेल्दै

त्यसो त मार्टाको ब्राजिल सन् २०१९ को फिफा महिला विश्व कपमा ‘राउण्ड अफ सिक्सटिन’ चरणमा आयोजक फ्रान्सद्वारा पराजित भएर बाहिरिएको थियो । त्यसै पनि ब्राजिलसित विशेष अपेक्षा पनि थिएन किनभने यो टोली लगातार नौ हार ब्यहोर्दै विश्वकप खेल्न पुगेको थियो, मार्टा आफैँ पनि ‘थाई इन्जरी’ ले पीडित थिइन् र पनि खेल्न तयार थिइन् । ब्राजिलकी यिनै ‘लेफ्ट फुटर’ कप्तान मार्टाको खास उपस्थितिले गर्दा यो विश्वकप स्मरणीय बनेको छ ।

विश्वकपको बेला इटालीविरुद्ध समूह चरणको म्याचमा मार्टा गाढा रातो लिपिस्टिक लगाएर मैदानमा ओर्लिइन् ! ब्राजिलको पहिलो म्याच जमैकाविरुद्ध थियो र त्यसमा उनी खेल्न सकेकी थिइनन् । पछि फेरि उनी अरू बाँकी म्याचमा पनि त्यसै गरी गाढा रातो लिपिस्टिक लगाएरै खेलिन् । महिला फुटबलका लागि यस्तो अवसर दुर्लभ थियो ।

फ्रान्सविरुद्धको हारपछि टिभीलाई भावुक एवं प्रेरक अन्तर्वार्ता दिँदै ब्राजिली किशोरी अनि नयाँ महिला खेलाडीलाई सम्बोधन गर्दै उनले पोर्चुगिज भाषामा भनेकी थिइन्, “म अघिपछि यस्तो गाढा रातो लिपिस्टिक लगाउँदिन तर यहाँ मैदानमा हामीले रगत बगाउनु पर्छ भन्ने देखाउन यहाँ म यो लगाएर खेलेकी हूँ । यो खेलले र यो मैदानले अझ धेरै माग गर्दछ । धेरै तालिमको माग गर्दछ । यसले तपाईंबाट अझ धेरै आत्म–संरक्षण र स्व–हेरचाहको माग गर्दछ ।

उनी समलैङ्गिक अर्थात् लेस्बियन हुन् । ओर्लान्डो प्राइड टोलीकै सह–खेलाडी अमेरिकी डिफेन्डर टोनी प्रेस्लीसित उनको सम्बन्ध विगत सन् २०१७ देखि रहँदै आएको हो ।

यसले पहिले नब्बे मिनेट र आवश्यक भएमा थप तीस मिनेट खेल्न सक्नुपर्ने माग गर्दछ । यो खेललाई बढी महत्व दिनुस् । सुरुमा कठिन हुन्छ तर पछि राम्रो हुँदै जान्छ । म हाम्रा नयाँ किशोरीहरूसित यही चाहन्छु । तपाईंसित सधैँभरि फोर्मिगा रहने छैनन् । सधैँभरि मार्टा रहने छैनन्, क्रिस्टाइन रहने छैनन् । महिला फुटबल अगाडि बढ्नका लागि अब तपाईंहरूमा निर्भर छ ।”

मार्टाले खेलेर लाखौँ डलर कमाइन् । खेलबाट धेरै कमाउने खेलाडी पनि बनेकी छन् । खेलेरभन्दा अझ धेरै आम्दानी उनले विज्ञापनबाट कमाएकी छन् । वेजइन्डिकेटर डट सिओ डट युकेका अनुसार, वार्षिक करिब चार लाख डलर आम्दानी हुने गरेकी उनको पछिल्लो वर्ष सन् २०२१ डिसेम्बरसम्म कुल कमाइ एक करोड तीस लाख डलर थियो ।

उनले आफ्नो यौनिकता पनि प्रस्ट पारेकी छन् । उनी समलैङ्गिक अर्थात् लेस्बियन हुन् । ओर्लान्डो प्राइड टोलीकै सह–खेलाडी अमेरिकी डिफेन्डर टोनी प्रेस्लीसित उनको सम्बन्ध विगत सन् २०१७ देखि रहँदै आएको हो । आपसमा ‘इन्गेजमेन्ट’ भइसकेर उनीहरू सँगै बस्ने गर्दछन् । इन्गेजमेन्टपछि मार्टाले आप्mनो सामाजिक सञ्जालमा लेखेकी थिइन्, “यो हामीले सँगै लेखिरहेको कथाको अर्को अध्याय हो ।”

सन् २०१९ मा प्रेस्लीलाई स्तन क्यान्सर भएको खुलासा भएको थियो र त्यसको उपचार निम्ति उनले ‘डबल म्यासेक्टोमी’ गर्नु परेको थियो । र, त्यसै वर्षको अन्त्यदेखि उनी लीग फुटबल मैदानमा फर्किएकी थिइन् । मार्टा र टोनी प्रेस्लीको जोडीले विवाह गरेपछि ओर्लान्डो टोलीमा आबद्ध खेलाडीमध्ये यो दोस्रो समलैङ्गिक विवाह हुनेछ । यसअघि ओर्लान्डो प्राइड टोलीका एश्लिन ह्यारिस र अली क्रीगरले डिसेम्बर २०१९ मा समलैङ्गिक विवाह गरिसकेका छन् ।

सधैँ पछ्याइरहने एउटा व्यङ्ग्य

सन् २०१४ मा ब्राजिलमा फिफा विश्व कप प्रतियोगिता हुँदा एक वर्ष पहिले त्यसका लागि ६ जना राजदूत तोकिएका थिए जसमा अमारिल्डो, बेबेटो, कार्लोस अल्बर्टो टोरेज, रोनाल्डो र मारियो जगालोसहित मार्टा पनि थिइन् । दुई वर्षपछि रियो डी जेनेरियोमा ओलम्पिक खेलकुद प्रतियोगिता हुँदा ओलम्पिक झण्डा बोक्ने आठजना विशिष्ट खेलाडीमा एकजना मार्टा पनि थिइन् ।

मार्टासित व्यक्तिगत सफलता, यश, सम्मान, सम्पत्ति सबै छन् । आदर र अनेक उपनाम छन् । विश्व फुटबलमा उनले जति सम्मान र पुरस्कार सायद अन्य कसैले पाएको छैन । उनी धेरैका लागि प्रेरणाकी स्थायी स्रोत हुन् । यी सबै उपलब्धि हासिल भए पनि उनको एउटा धोको सधैँ अधुरो रहँदै आएको छ– फिफा महिला विश्व कप ट्रफी उचाल्ने ।

संसारकै लोकप्रिय र सम्मानित ब्राजिली रंगशाला ‘माराकाना’ को ‘हल अफ फेम’ मा मार्टाको नाम पनि दर्ज छ र त्यस अन्तर्गत उनका खुट्टाको छाप सिमेन्टमा अंकित गरिएको छ । यो सम्मान पाउने उनी एकजना मात्र महिला खेलाडी हुन् । संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडिपी) ले उनलाई सन् २०१० देखि २०१८ सम्मका लागि ‘महिला सशक्तीकरणमा केन्द्रिकृत रहँदै’ सहस्राब्दी विकास लक्ष्य (एमडिजिज) हासिल गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई प्रवद्र्धन गर्न संयुक्त राष्ट्र संघीय सद्भावना दूत घोषणा गरेको थियो । उनी ब्राजिल र स्वीडेन दुबै देशकी नागरिक हुन् । अमेरिकाले पनि उनलाई स्थायी बसोबास गर्न मिल्ने ‘ग्रीन कार्ड’ प्रदान गरेको छ ।

यसरी मार्टासित व्यक्तिगत सफलता, यश, सम्मान, सम्पत्ति सबै छन् । आदर र अनेक उपनाम छन् । विश्व फुटबलमा उनले जति सम्मान र पुरस्कार सायद अन्य कसैले पाएको छैन । उनी धेरैका लागि प्रेरणाकी स्थायी स्रोत हुन् । यी सबै उपलब्धि हासिल भए पनि उनको एउटा धोको सधैँ अधुरो रहँदै आएको छ– फिफा महिला विश्व कप ट्रफी उचाल्ने ।

वर्तमान समयमा पुरुष फुटबलमा अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चगालका क्रिस्टियानो रोनाल्डो जतिसुकै लोकप्रिय एवं सफल भए पनि देशका लागि फिफा विश्व कप ट्रफी उचाल्न नपाई सक्रिय खेल–जीवनबाट सन्यास लिनुपर्ने मोडमा पुगिसकेका छन् ।

उसो भए के मार्टा पनि मेसी वा रोनाल्डोहरूकै भिडमा उभिन पुग्ने छन् ? अनि के तमाम सफलता र सम्मान आर्जन गरेको भए पनि फिफा विश्वकप ट्रफी उचाल्न नसकेको व्यङ्ग्यले उनलाई समेत सधैँ पछ्याइरहने छ ?

मेसी र रोनाल्डो मात्र होइन, उनीहरूभन्दा पहिले पहिले पनि बेलायतका पल ग्यासकोइन (गाजा), केभिन कीगन, डेभिड बेकम र स्टीभन गेरार्ड, बल्गेरियाका ह्रिस्टो स्टोइचकोभ, स्पेनका अल्फ्रेडो डाई स्टेफानो, राउल, फ्रान्सका जस्ट फोन्टेन, एरिक क्यानटोना र माइकल प्लाटिनी, सोभियत संघका लेभ यासिन, आयरल्याण्डका जर्ज बेस्ट, नेदरल्याण्ड्सका योहान क्रायफ, मार्को भान बास्टेन र रूड गुलिट, इटालीका पाउलो माल्दिनी, रोबेर्तो बाजियो, हंगेरीका फेरेन्स पुस्कास, अर्जेन्टिनाका सर्जियो अग्वेरो, पोर्चुगालका युसेबियो र लुई फिगो, ब्राजिलका सोक्रेटस, जिको, जर्मनीका ओलिभर कान आदि अनेक ‘स्टालवार्ट’ नामहरू छन् जसले अघिपछि विश्व फुटबलमा आप्mनो नामको झण्डा दह्रो गरी गाडे पनि फुटबलको सर्वोच्च सम्मान विश्वकप ट्रफी भने कहिल्यै जित्न सकेनन् ।

महिला विश्वकप सन् २०२३ मा अथवा त्यसको चार वर्षपछि अर्को संस्करण हुँदासम्म सक्रिय खेलाडी जीवनबाट सन्यास लिइसकेर मार्टा सायद इतिहासको एक स्वर्णिम अध्याय बनिसकेकी हुनेछिन् ।

यही विडम्बना, यही व्यङ्ग्य र यही ‘आइरोनी’ सर्वकालीन महानतम महिला फुटबलर मार्टा भियरा डा सिल्भासित पनि जोडिने भएको छ । यो वर्ष उनी छत्तीस वर्ष पुगिसकेकी छन् । खेल्दा घाइते भएर सर्जरीपछि विश्राम पनि गर्दै छिन् । अब उनमा पहिले जस्तो तीव्रता र स्फूर्ति पनि छैन । त्यसकारण सम्भावना यही छ, अर्को महिला विश्वकप सन् २०२३ मा अथवा त्यसको चार वर्षपछि अर्को संस्करण हुँदासम्म सक्रिय खेलाडी जीवनबाट सन्यास लिइसकेर मार्टा सायद इतिहासको एक स्वर्णिम अध्याय बनिसकेकी हुनेछिन् ।

र, सायद टिप्पणीकार, व्यवस्थापक वा महिला–उत्थान कार्यक्रमको विश्व–अभियन्ता बनेर सक्रिय भइरहेकी हुनेछिन् । किनभने संयुक्त राष्ट्र संघीय महिला नियोग ‘युएन वीमेन’ ले उनलाई जुलाई २०१८ देखि ‘खेलकुदमा बालिका तथा महिलाहरूका लागि राष्ट्र संघीय सद्भावना दूत’ घोषणा गरेको छ ।

यो पनि…
फुटबलमा ‘ट्रस्ट द प्रोसेस’
त्यो सापटी दुई सय रुपैयाँ



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

क्यानाडासँगको एकदिवसीय शृंखला लागि भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ । शुक्रबार राति

बर्खाको समय । अनकन्टार भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि

नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा

दक्षिण एसियाली मुलुक पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धबाट हटाएको छ । फिफाले बिहीबार एक

Suggested