English

उनले चरा चिनाए उनलाई चराले चिनायो



चितवन, सौराहाका राजु तामाङ । वर्ष ५३ । बढ्यौलीतर्फ ढल्कँदै गरेको उमेर । तर, उनको जोस–जाँगरले त्यसो भन्दैन । राजुले प्रकृति पथप्रदर्शक अर्थात् नेचरगाइडको रुपमा काम गर्न थालेको साढे दुई दशक नाघिसक्यो । तर, ‘जुन १’ अर्थात् जेठ १८ जस्तो खुशीको दिन उनको जीवनमा कहिल्यै आएको थिएन ।

राजु तामाङले ‘चाइनिज पोन्ड हेरोन’ को पहिलोपटक लिएको तस्वीर

अलिकति फूर्सद भयो कि जंगल छिर्ने चराचुरुङ्गी नियाल्ने, फोटो खिच्ने बानी परेका राजु १८ गतेको बिहान सबेरै मोटरसाइकलमा कुमरोज सामुदायिक बनतर्फ हुइँकिदै थिए । उनको लक्ष्य थियो, एसियन प्याराडाइज फ्लाइकेचर अर्थात स्वर्गचरीको फोटो खिच्ने । तर, बिच बाटोमै उनको लक्ष्यले अर्कै रुप लियो ।

कुनै नयाँ चरा देखिनु र त्यसको पछाडि आफ्नो नाम लेखिनु हामी चराप्रेमीका लागि चानचुने कुरा होइन, चाइनिज पोण्ड हेरोन नेपालमा पत्ता लगाएकोमा मेरो नाममा लालमोहर लागिसक्यो ।

समय ठीक बिहान ६ः३५ बजे । कुमरोज सामुदायिक बन नजिकै एउटा सानो जंगल छ । त्यही जंगलको बीचमा धान खेत छ । खेतको आलीमा इण्डियन पोन्ड हेरोनहरु चरिरहेका थिए । त्यही हुलमा रहेको नौलो चरामा राजुको नजर ठोक्कियो । जसलाई अन्य चराहरुले रिस गरेर ठुँगिरहेको उनले देखे ।

यत्तिकैमा त्यो चरा उडेर नजिकैको सिसौको रुखमा बस्यो । राजुले मोटरसाइकल रोके । एकटकले त्यो चरालाई नियाले । फोटो खिचे । तुरुन्तै साथी प्रेम बोम्जनलाई त्यो फोटो पठाए । प्रकृति पथप्रदर्शकसमेत रहेका प्रेमले नेपालमा अभिलेख भएका चराहरुको चित्र समेटिएको ‘बर्डस् अफ नेपाल’ पुस्तक पल्टाए । पुस्तकमा उनले त्यो चरासँग जिउ रंग मिल्ने चरा नभेटेको जानकारी राजुलाई गराए ।

बायाँ प्रेम बोम्जन, दायाँ राजु तामाङ

हामीले नियालेर चरा हेर्ने भनेको यही खुसीका लागि हो जो खुसी अहिले आएर पाएँ, अब त म मरेर गएपनि मेरो नाम कहिँ न कहिँ त देशी विदेशीले पढ्लान् नि !

फेरि, राजुले ‘पोखरा बर्डस् सोसाइटी’का अध्यक्ष मनशान्त घिमिरेलाई उक्त तस्बिर पठाए । घिमिरेले इन्टरनेटमा अध्ययन गरे । उनले त्यो चरा, ‘चाइनिज पोन्ड हेरोन’ रहेको ठम्याए । जो हालसम्म नेपालमा अभिलेख भएको थिएन ।

त्यसपछि राजुमा खुसीको कुनै सिमा रहेन । उनी यति प्रफुल्लित छन् कि मानौं, भर्खरै युद्ध जितेर आएका लडाकू हुन् । ‘कुनै नयाँ चरा देखिनु र त्यसको पछाडि आफ्नो नाम लेखिनु हामी चराप्रेमीका लागि चानचुने कुरा होइन,’ उनी उत्साही सुनिए, ‘चाइनिज पोण्ड हेरोन नेपालमा पत्ता लगाएकोमा मेरो नाममा लालमोहर लागिसक्यो ।’

काठमाडौं, पोखरादेखिका साथीहरु चरा हेर्न आइरहनुभएको छ, जहाँ नयाँ प्रजातिको चरा भेटिन्छ हामी एक–अर्कालाई निम्तो गरेरै बोलाउँछौं साथीहरु पनि उत्साहित हुँदै आउनुहुन्छ ।

नयाँ चरा पत्ता लगाएपछि यसलाई आधिकारिक निकायले प्रमाणित गर्नुपर्छ । जसका लागि रियल बर्ड कमिटिले त्यसको अनुसन्धान गर्छ । त्यसो त अनुसन्धानका लागि चराविद् डा. हेमसागर बरालको नेतृत्वमा एउटा टोली चितवन गयो । डा. बरालको टोलीले थप अध्ययन गरी त्यो चरा चाइनिज पोन्ड हेरोन नै रहेको पुष्टि गरेको राजु बताउँछन् । ‘हामीले नियालेर चरा हेर्ने भनेको यही खुसीका लागि हो जो खुसी अहिले आएर पाएँ,’ उनले भने, ‘अब त म मरेर गएपनि मेरो नाम कहिँ न कहिँ त देशी विदेशीले पढ्लान् नि !’

त्यसैले यतिबेला राजु ठूलो उत्सव मनाइरहेका छन् । नयाँ प्रजातिको चरा हेर्नका लागि आफ्ना वृत्तमा रहेका चराप्रेमी साथीहरुलाई फोन गरेरै निम्तो दिइरहेका छन् । ‘काठमाडौं, पोखरादेखिका साथीहरु चरा हेर्न आइरहनुभएको छ,’ राजु भन्छन्, ‘जहाँ नयाँ प्रजातिको चरा भेटिन्छ हामी एक–अर्कालाई निम्तो गरेरै बोलाउँछौं साथीहरु पनि उत्साहित हुँदै आउनुहुन्छ ।’

हामी अब यसको यथार्थ पत्ता लगाउन अर्को वर्ष यही महिनामा निगरानी गर्छौं, त्यसपछि मात्र यो पहिलादेखि नै नेपालमा थियो कि थिएन भन्ने थाहा हुन्छ ।

बकुल्ला प्रजातिको यो चरा कसरी आयो भन्नेबारे चासो बढेको छ । ‘अहिले हामीले यसलाई डुलुवा चरा भनेका छौं,’ राजु भन्छन्, ‘बिस्तारै यस्तै प्रजातिका अरु चरा भेटियो यसको गुँड फेला पर्यो भने यो पहिलादेखि नै नेपालमा रहेछ भन्ने पत्ता लाग्छ होइन भने यो कुनै बकुलाको हुलमा मिसिएर यहाँ आइपुगेको हुनुपर्छ ।’

यसका लागि अर्को वर्ष यही मौसममा यसको निगरानी गर्ने राजु सुनाउँछन् । ‘हामी अब यसको यथार्थ पत्ता लगाउन अर्को वर्ष यही महिनामा निगरानी गर्छौं,’ उनले भने, ‘त्यसपछि मात्र यो पहिलादेखि नै नेपालमा थियो कि थिएन भन्ने थाहा हुन्छ ।’

सौराहा आएका टुरिष्टहरुलाई नयाँ–नयाँ प्रजातिका चराको नाम र व्यवहार बताउँदै गाइड गर्न थालेँ जसले झनै हौसला बढायो ।

विदेशीले मोडिदिएको बाटो

सौराहामा जन्मे हुर्किएका राजु सानैदेखि चराचुरुङ्गीप्रेमी थिए । जंगलका धेरैजसो चराचुरुङ्गीको हाउभाउ, बानी व्यवहारसँग परिचित थिए तर, उनलाई ती चराहरुको नाम थाहा थिएन । यहीक्रममा राजुले सौराहा घुम्न आएका एकजना फ्रेन्च नागरिक फेला पारे । ती नागरिक पनि चराप्रेमी रहेछन् । तिनलाई पनि हजारौं चराको नाम थाहा थियो तर, चराहरुको हाउभाउ थाहा रहेनछ । त्यसैका अध्ययनका लागि सौराहा आएका रहेछन् ।

तस्वीर/मिलन तामाङ

संयोग पनि कस्तो, राजु चराको नाम जान्न चाहन्थे, ती नागरिक हाउभाउ । राजुले झण्डै २ महिना ती नागरिकलाई गाइड गरे । ‘यो अवधिमा मैले १ सय ६५ वटा चराको नाम जानिसकेको थिएँ,’ उनले भने । त्यहीक्रममा ती फ्रेन्च नागरिकले खुसी हुँदै राजुलाई बर्डस् अफ नेपाल नामक पुस्तक उपहार दिए । ‘त्यसपछि त मलाई चराप्रति झनै मोह बढ्दै गयो,’ उनले भने, ‘सौराहा आएका टुरिष्टहरुलाई नयाँ–नयाँ प्रजातिका चराको नाम र व्यवहार बताउँदै गाइड गर्न थालेँ जसले झनै हौसला बढायो ।’

वर्षअघि जसोतसो आफैं फोटो खिच्न थालेँ, आफ्नो सर्कलका साथीहरुसँग क्यामेरा चलाउने आइडिया लिएँ, केही दिनमै क्यामेरा चलाउन जान्ने भएँ ।

एल्बममा ४ सय ४१ प्रजातिका चरा

प्रकृति पथप्रदर्शकको रुपमा काम गर्न थालेको यो अवधिमा आफूले ६ सय ३५ प्रजातिका चरा भेटेको राजुको दाबी छ । तर, देखेको कुरा अरुलाई सुनाउँदा कतिले पत्यार नगरेपछि उनमा फोटोग्राफी गर्ने सोच आयो । जसका लागि छोरा (रोशन तामाङ)ले उनलाई क्यानोन डी ६०० क्यामेरा उपहार दिए । ‘५ वर्षअघि जसोतसो आफैं फोटो खिच्न थालेँ, आफ्नो सर्कलका साथीहरुसँग क्यामेरा चलाउने आइडिया लिएँ,’ उनले भने, ‘केही दिनमै क्यामेरा चलाउन जान्ने भएँ ।’

तस्वीर/मिलन तामाङ

त्यसैले राजुको एल्बममा अहिले ४ सय ४१ प्रजातिका चराका तस्बिर सुरक्षित छन् । जो उनले नै कैद गरेका हुन् ।

राजुको जीवन निर्वाहको मूख्य आधार नै नेचरगाइड हो । यसमार्फत मासिक २५ देखि ३० हजार रुपियाँसम्म आम्दानी हुने गरेको उनी सुनाउँछन् । ‘यही कमाईमार्फत घर चलेको छ,’ उनले सुनाए, ‘परिवार खुसी छन्, साथै सहयोग पनि छ ।’

राजुको जीवनमा चरा आयो । चराको पहिचान राख्न राजु आए । यसैले त राजुले चरा चिनाए,चराले राजु चिनायो । यसैले भनियो,राजुको चरा जिन्दगी !

यो पनि…
नारायणी नदीको स्वास्थ्य परीक्षण
सिमसारले फेर्छ जीवनकै काँचुली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,