‘पोखरा हामी सबैको हो सबै मिलेर बनाऔँ’



हालै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भए । उक्त पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्षसमेत रहेका आचार्यले भौगोलिक रुपमा देशकै ठूलो महानगरको नेतृत्वको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन् । राजनीतिसँगै व्यावसायिक र सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका आचार्यको काँधमा अब पाँच वर्ष गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा नगरपालिकाको नेतृत्व रहनेछ । निर्वाचित भएपछिका उनका कार्ययोजनालगायतमा केन्द्रित रहेर वासुदेव पौडेल र कृष्ण दवाडीले गरेको कुराकानीको सम्पादित अंश :

पोखरा नगरपालिका प्रमुखको रुपमा प्रमुख योजना र प्राथमिकता के के छन् ?

पोखरा महानगरपालिका नेपालको सबैभन्दा ठूलो महानगरपालिका हो । यसको प्रमुखका हिसाबले पाँच वर्षका लागि निर्वाचित भएर आइरहँदा यो स्थानीय निकाय होइन, स्थानीय तह हो । यो एउटा स्वायत्त सरकार हो जसले आफूलाई चाहिने सबै कुरा व्यवस्थापन गर्न सक्छ । महानगरपालिका सरकार हुने बित्तिकै यसले सर्वसाधारणको दैनिकी, सेवाग्राहीलाई महानगरपालिकाले दिने सेवालाई कसरी चुस्तदुरुस्त बनाउन सक्छौँ, झन्झटरहित बनाउन सक्छौँ, यसलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ ।

एक महिनाभित्रमा हामी कार्यालय व्यवस्थापनदेखि लिएर फ्रन्ट डेस्कबाटै सबै कुरा हुने, धेरै झन्झट बेहोर्नु नपर्ने, कार्यालयभित्र फाइल बोकेर हिँड्नु नपर्ने खालको व्यवस्थापन हामी गर्दैछौँ । कुन काम कति समयभित्र हुन्छ भन्ने कुराको हामी स्पष्ट रुपमा सबै सेवाग्राहीलाई जानकारी दिने गरी कार्यालय व्यवस्थापन गर्छौँ ।

पोखरा गण्डकी प्रदेशको सदरमुकाम मात्र नभइ देशकै प्रमुख पर्यटकीय गन्तव्य पनि हो, यहाँको पर्यटकीय विकासका लागि के कदम चाल्ने योजनामा हुनुहुन्छ ?

हामीले पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि जस्ता कुरालाई मुख्य प्राथमिकतामा राखेका छौँ । पहिलो प्राथमिकतामा पर्यटन नै हो । पोखरा आफैंमा पर्यटकीय सहर हो । हामीले यहाँ गर्ने सबै गतिविधि पर्यटनलाई प्रवद्र्धन गर्ने खालको हुनुपर्दछ । त्यसका लागि नेपाल सरकारले पनि पोखरालाई पर्यटनको राजधानी घोषणा गरोस् भन्ने मैले पहिलो निर्णय गरेको छु । त्योसँगै औसत रुपमा दुई दिन÷रात पोखरा बस्ने अहिलेसम्मको अवस्था रहेछ । त्यसलाई हामीले अबको पाँच वर्षभित्रमा कसरी पाँच दिन÷रातसम्म पोखरा बस्ने बनाउन सक्छौँ भन्ने कुरालाई पर्यटन क्षेत्रका साथीसँग बसेर एउटा योजना बनाउँछौँ ।

हामीले पर्यटकीय गन्तव्य थपिनुपर्यो । अहिले भइरहेको चिजले त दुई दिन भन्दा हामीलाई रोक्न सक्दो रहेनछ । त्योभन्दा बढी बस्नका लागि हामीले फेवातालको ड्याम साइडदेखि तालको माथिको भागसम्म छ महिनाभित्र सम्भाव्यता अध्ययन गरेर पारी हर्बल गार्डेनभित्रको ट्रयाक सुरु नै गर्ने गरी सोच बनाएका छौँ । त्यसले एक दिनको बसाइँ थप्छ । हामीले सातवटै तालबीचको कनेक्सनको कुरा गरेका छौँ ।

बेगनासतालाई स्पोर्टस् टुरिजममा लाने किसिमको कुरा गरेका छौँ । तालले दिनसक्ने सम्भावित कुरा जे हुनसक्छ फेवाताल, बेगनास ताल, रुपा ताल अरु पनि ताल तथा पोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा हामी पुर्याउँछौँ । त्यसलाई ब्राण्डिङ गर्छौँ ।

साहसिक पर्यटन पोखराको अर्को कुरा हो । नयाँ विमानस्थल आइसकेपछि सराङकोटबाट उड्ने प्याराग्लाइडिङ त्यसलाई कसरी व्यवस्थापन गर्ने सम्बन्धमा क्यानसँग नजिक बसेर छलफल गरिरहेका छौँ ।

विमानस्थल सञ्चालन भइसकेपछि दिउँसोको अफ आवरमा सञ्चालन गर्ने सम्बन्धमा छलफल गरेका छौँ । त्यसबाहेक खेल पर्यटनका कुरा, पर्यटनसँग जोडिएका अन्य गतिविधिलाई लिएर पोखराको पर्यटनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे सोचेका छौँ ।

हस्पिटालिटीलाई हामीले प्राथमिकतामा राखेका छौँ, हस्पिटालिटी स्कुल पनि बनाउँछौँ । होटेल रेष्टुरेन्टमा काम गरेका मानिस मात्र नभइ पोखरेली सबै हस्पिटालिटीको न्यूनतम कुरा जानेको हुनुपर्छ । कसरी पाहुनाको स्वागत गर्ने यो कुरामा घर–घरसम्म कुरा पुर्याउन टेलिभिजनमा कक्षा चलाउँछौँ । एक ठाउँबाट लाइभ गरेर हरेक ठाउँका दिदीबहिनीले घर–घरमा बसेर दाजुभाइहरूले के हो हस्पिटालिटी, हाम्रो दायित्व के हो भन्ने कुरा हामी कमसेकम भन्न सकौँ भन्ने खालको कुरालाई अलि फरक ढङ्गले जान्छौँ । पर्यटन पोखराको मुख्य कुरा हो । यसलाई कसरी सहयोग गर्न सकिन्छ, हाम्रा पाहुना आउँदा उहाँहरूलाई कुनै किसिमको हेपाइ नहोस् ।

विमानस्थलदेखि नै तानेर लैजाने, लेकसाइमा हिँड्दा मकहाँ आउनु भनेर झिनाझपटी गर्ने जस्ता कुरा नहोस् । पर्यटनसँगै हस्पिटालिटीलाई सँगै जोडेर लैजान्छौँ । यसलाई धेरै खर्च गर्नु पनि पर्दैन । लेकसाइडलाई कसरी सौन्दर्यीकरण गर्ने, त्यसको यातायातको व्यवस्था कसरी गर्ने सम्बन्धमा पनि योजना बनाउँछौँ । विसं २०२३ को जनवरीसम्म पुग्दासम्म पोखराले अलिकति कोल्टो फेरिसकेको हुने गरी योजनाका साथ लाग्छौं । पर्यटनमा हामी मुख्य रुपमा केन्द्रित छौँ ।

निर्माण सम्पन्न भएर पनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा आउन सक्ने अवस्था देखिएको छैन, यसको सञ्चालनका लागि के सोच्नुभएको छ ?

विमानस्थल सञ्चालनमा ल्याउन सबैभन्दा पहिले ल्यान्डफिड साइडको व्यवस्थापन गर्नुपर्छ । फोहोर व्यवस्थापनलाई अहिले जे छ त्यसलाई क्रियाशील रुपमा तीन महिनासम्म गछौँ । तीन महिनापछि फोहरलाई मोहोरमा परिणत गर्ने गरी अघि बढाउँछौँ । ल्याण्डफिड साइडको व्यवस्थापन भएन भने एयरपोर्ट चल्दैन भन्ने कुरामा हामी सचेत छौँ ।

महानगरमा शिक्षा, स्वास्थ्य जस्ता विषयलाई कसरी अघि बढाउने सोचमा हुनुहुन्छ ?

हामीले शिक्षा, स्वास्थ्य जस्ता विषयलाई धेरै प्राथमितामा राखेका छौँ । माध्यमिक तहसम्मको शिक्षा सर्वसुलभ र निःशुल्क हुनुपर्छ भन्ने नेपाल सरकारको योजना छ । पोखराको शिक्षाका सन्दर्भमा यसभन्दा अघिको शिक्षा समितिले पनि एउटा प्रतिवेदन बुझाएको छ । त्यसलाई कार्यान्वयन गर्ने चरणमा हामी छौँ ।

नागरिकको पहिलो रोजाइ सरकारी विद्यालय हुने गरी पाँच वर्षसम्म त्यो ठाउँमा पुर्याउने हाम्रो योजना छ । जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर घरघरमा, टोलटोलमा नै प्राथमिक स्वास्थ्य प्राप्त हुने ढङ्गले हामी व्यवस्थापन गर्दछौँ । सबै वडामा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य केन्द्र बनाउने भनेका छौँ त्यसमा हामीसँग कति दरबन्दी छ, अन्य संस्थासँग पनि हातेमालो गर्दै काम गर्ने कुरामा हामी सचेत छौँ ।

महानगरमा भइरहेका सेवा प्रवाहमा ढिलासुस्ती, लापरबाहीका गुनासा पनि सुन्ने गरिएको छ, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनका लागि के तयारी गर्नुभएको छ ?

हामी फ्रन्ट डेस्कबाटै पहिलो फाइल आइसकेपछि काम सबै सम्पन्न गरेर यति बजे फलानो ढोकाबाट लिनोस् भन्ने खालकोसम्म पुर्याउने गरी कामलाई व्यवस्थापन गर्दैछौं । कर्मचारीको व्यवस्था पनि त्यही रुपमा गर्नेछौँ । जुनजुन महाशाखाबाट काम हुनुपर्ने हो त्यहाँबाट हुने गरी फाइल अघि बढेपछि कोठा कोठा चाहार्नु नपर्ने गरी व्यवस्थापन गछौँ । एक महिनाभित्रमा नै यहाँको सुशासनको प्रत्याभूति हुनेछ ।

महानगरको सौन्दर्यीकरणसँगै यातायात व्यवस्थापनमा कस्तो योजना बनाउनुभएको छ ?

यातायात र ट्राफिक व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन योजना बनाउँछौँ । दीर्घकालीन रुपमा पोखरा टर्मीनल बसपार्क लामेआहालमा बनाउने योजना छ । यो ठूलो बजेटको कुरा हो । हामीले केही विदेशी प्रोजेक्टसँग पनि यसबारेमा कुराकानी गरेका छौं । हिजोमात्रै कोइकासँग मेरो कुराकानी भयो । आज प्रदेश सरकारसँग भौतिक योजना मन्त्रालयसँग मेरो बैठक छ । ठूलो बसपार्क र अटो भिलेजका सम्बन्धमा विदेशी दातृ निकायसँग मिलेर यसलाई अघि बढाउँदैछौँ । पोखराको पुरानो बसपार्कलाई सिटी बसपार्क बनाउँछौं ।

पोखराको स्थानीय यातायातलाई व्यवस्थापन गर्न सक्दाको अवस्थामा यसले ठूलो सन्देश दिन्छ । कहाँबाट कुन बस कतिखेर कहाँ पुग्नेसँगै सबै वडामा बेलुकासम्म बस चल्ने गरी व्यवस्थापन गछौँ ।

यातायात व्यवसायीसँग उचित खालको परामर्श गछौँ । अहिले भइरहेको बसलाई कहाँ चलाउने, सिटीभित्र अलि ठूला बस सञ्चालन गर्ने योजना छ । सिटीमा सुन्दर बस चलाएर त्यसलाई व्यवस्थित गछौँ ।

सार्वजनिक सवारी साधनका सहयोगी हेल्पर, कन्डक्टर, ड्राइभर ड्रेसमा रहने गरी राम्रोसँग हस्पिटालिटीयुक्त बनाउने सोच राखेका छौँ । हस्पिटालिटीमा यातायात क्षेत्रका कर्मचारीलाई पनि सहभागी बनाइने छ । पर्यटकीय सहरमा सार्वजनिक बसमा हिँड्ने पनि पर्यटक हुन् भन्ने प्रशिक्षण गछौँ ।

गठबन्धनबाट पोखराको प्रमुखमा निर्वाचित हुनुभयो ? साझेदार दलहरुलाई कसरी विश्वासमा लिएर अघि बढ्नुहुन्छ ?

हिजोसम्म पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख बनेको हो । अब निर्वाचित भइसकेपछि सम्पूर्ण पोखरेली नागरिक साझा प्रतिनिधि हुन् । कसैप्रति पनि काखापाखा नगरिकन सबैलाई साथमा लिएर हिँड्ने हो । संलग्नताको कुरा जो जहाँबाट निर्वाचित भएको हो त्योसँग पाँच वर्षसम्म नै रहन्छ ।

चुनावी घोषणापत्रमा पोखरामा फेवा बेगनास कनेक्टिभिटीको योजना थियो । त्यसको कार्यान्वयन कसरी गर्नुहुन्छ ?

लेखनाथ र पोखरालाई एउटै महानगरमा मिसाए पनि मन अझै मिलेको छैन । फेवा बेगनास कनेक्टिभिटमार्फत लेखनाथ र पोखराको मनलाई पनि मिलाउन खोजेको हो । हामी मिसिएर गल्ती गर्यौँकी भन्ने अहिले पनि लेखनाथवासीको मनमा छ त्यो कुरालाई पनि हामी दूर गर्न चाहन्छौँ । आगामी दिनमा कसरी सबै महानगरवासी हौँ भन्ने भावनाको विकास गर्ने सोचमा छौँ । दुईटा ठूला ताललाई जोड्न हामी ट्राम चलाउने भनेका छौँ । त्यो थोरै मानिस हुँदा पनि चल्ने कुरा हो । पाँच वर्षभित्र बनाउँछौँ ।

निर्वाचित भएको छोटो समयमै पहिलो बजेट तथा कार्यक्रमको तयारीमा हुनुहुन्छ ?

प्राथमिकता के हुनेछन् ? बजेटमा पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि र यातायात पहिलो प्राथमिकतामा पर्नेछन् । हाम्रो जनजीविकालाई र ‘कष्ट अफ लिभिङ’लाई कसरी सस्तो बनाउन सकिन्छ त्यसमा हाम्रो ध्यान जान्छ । बाँच्नका लागि भान्छालाई कसरी सस्तो बनाउन सकिन्छ, त्यसमा हाम्रो विशेष ध्यान दिएर कार्यक्रम बनाउने छौँ ।

विगतमा कतिपय विषयमा सङ्घ र प्रदेश सरकारसँग राम्रोसँग महानगरको समन्वय नभएको देखिने गरेको थियो, तपाईँको कार्यकालमा कस्तो रहने छ ?

हामी सङ्घ, प्रदेश र नजिकका पालिका सबैसँग राम्रोसँग सहकार्य गछौँ । हिजोको केन्द्रको बजेटमा पोखरालाई के सम्बोधन गरेको छ, त्यसलाई एक एक गरेर हेर्छौ । प्रदेशको अब बजेट आउँछ, प्रदेशमा पनि लबिङ गछौँ । तीनवटै सरकारबीच एकापसमा कोअर्डिनेस र कोअपरेशन गरेर अघि बढ्छौँ । हामीमात्र होइन वरपरका नगरपालिका र गाउँपालिकासँग पनि हामी राम्रो सहकार्य गर्छौ । पोखरा बनाउने सन्दर्भमा सबैलाई सकारात्मक ढङ्गबाट सहयोग गर्न अनुरोध गर्न चाहन्छु ।

पोखरा हामी सबैको हो सबै मिलेर बनाऔँ । सफा, सुन्दर र समृद्ध सहर बनाऔँ । समृद्ध भन्ने बित्तिकै आर्थिक कुरा जोडिन्छ । पोखराका सबै नागरिक कुनै न कुनै आर्थिक उपार्जनमा लागेका हुन्, स्वरोजगारमा रहुन् वा रोजगारी प्राप्त गरुन् भन्ने हो । हामी छिट्टै सार्वजनिक सूचना जारी गरेर बेरोजगारीको तथ्याङ्क सङ्कलन गरेर उनीहरुलाई महानगरमा सूचीकरण गछौँ । उनीहरुको शैक्षिक योग्यता, रुचि, क्षमताअनुसार निवेदन दिनुहोस् भनेर सबैलाई आह्वान गछौँ र रोजगारी दिन्छौँ । बेरोजगारलाई महानगरको आफ्नै काममा र निजी क्षेत्रमा लगाउँछौँ । पोखरामा पनि धेरै रोजगारदाता हुनुहुन्छ । उहाँहरुलाई पनि हामी आह्वान गरेर विस्तारै बेरोजगारलाई रोजगारी दिने योजनामा छौँ ।

पोखराको जीर्ण सडक अवस्थालाई देखाएर महानगरको आलोचना हुने गरेको छ । सडकको अवस्था सुधार्ने के योजना छन् ?

पोखरा महानगरभित्रका सबै सडक महानगरका होइनन् । सडक विभागअन्तर्गतका पनि केही सडक छन् । पहिला कोअर्डिनेशन भएन र गुनासा आए । पोखराको सडक राम्रो बनाउन सबै पक्षसँग हामीले समन्वय गर्नुपर्ने हुन्छ । महानगरका मुख्य सडक मात्र नभइ भित्रका सडकलाई पनि अस्फाल्ट कङ्क्रिट पिच गर्नका लागि केन्द्र र प्रदेश सरकार सबैसँग लविङ गर्छौ । अस्फाल्ट नभएको ठाउँमा पनि खाल्डाखुल्डी तुरुन्त पुरियो भने पनि दुर्घटना कम हुन्छ । त्यसका लागि कहीँ खाल्डा भएको २४ घण्टाभित्र खाल्डा पुर्ने योजना बनाएका छौँ ।

यसैगरी सडकमा छाडा चौपाया छोडन् नपाउने र कुकुर पनि सडकमा छाडन नपाउने गरी व्यवस्था गर्छौ । धेरै दिदीबहिनी कुकुरकै कारण दुर्घटनामा परेको देखेका छौँ । पुरुषहरुले व्यवस्थापन गर्न सके पनि महिलालाई अप्ठ्यारो हुने गरेको देखिन्छ । सडकमा धेरै स्कुटर कुकुरका कारण दुर्घटनामा परेको देखिएको छ । छाडा छौपाया व्यवस्थापनका लागि काञ्जि हाउस बनाउँछौँ । नागरिकले या त चौपाया घरमै पाल्नुपर्यो, छाडा छोड्नुभएन ।

अबका पाँच वर्षपछि पोखरेलीले पोखरालाई कस्तो अवस्थामा पाउनेछन् ?

अबको पोखरा कस्तो बन्नुपर्दछ भनेर थ्रिडी भिडियो सार्वजनिक गर्नेछौँ । त्यसका लागि महानगरको सिङ्गो बोर्ड र कार्यपालिका पूरा भइसकेपछि कार्यपालिकाको सहमतिसहित ४३ जनाको महानगरको टोली र विशेषज्ञ बसेर पोखरा यस्तो बन्छ भन्ने तस्वीर बनाउँछौँ । पोखरा महानगर र वडा कार्यालय सिस्टममा चलिरहेको, आन्तरिक सेवाग्राहीले पाउनुपर्ने सेवा सुविधा सबै तोकिएका समयभित्रबिना झन्झट, बिना भनसुन काम भइरहेको एउटा कार्यालयका रुपमा पाउनु हुनेछ ।

फिल्डमा हेर्दा पनि हाम्रो यायातात र ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त भएको हुनेछ । हेर्दा पनि सौन्दर्यकरण हिसाबले बाटा सफा र सुन्दर हुनेछन् । पर्यटकीय गन्तव्य थपिएका हुनेछन् । हाम्रो अर्थतन्त्र सबल बनाउन हाम्रा पोखरेली दाजुभाइ दिदीबहिनीलाई उत्पादनका विभिन्न चरणमा जोडेर लैजान्छौँ । जसका कारणले अर्थतन्त्र व्यवस्थित हुनेछ । हाम्रो समृद्ध पोखराका लागि सबल अर्थतन्त्रलाई प्राथमिकतामा राखेका छौँ ।

उत्पादनका काममा नागरिकलाई जोड्ने कुराले जे नतिजा दिन्छ, त्यसलाई व्यवस्थित कोसेली घर बनाउने, पोखरामा आयात प्रतिस्थापन गर्ने, महानगरका उत्पादनलाई ब्राण्डिङ र क्वालिटीको सुनिश्चितता गर्छौ । कतै केही समस्या पर्यो भने द्रूत प्रतिकार्य समूह बनाउँछौँ । र्यापिड एक्सन टिम(आरआइटी) बनाउँछौँ, द्रुत सेवा समूह बनाउँछौँ । दुर्घटना, दैविप्रकोप र कहीँ रेस्क्यु गर्नुपर्दा त्यो समूहले काम गर्छ । त्यसका लागि सम्बन्धित व्यक्ति राखेर महानगरमा थप एउटा महाशाखा बनाउँछौँ । अहिलेका नौ वटा महाशाखामा आरआइटी भन्ने महाशाखा थप्छौँ । त्यसले अप्ठ्यारो अवस्थामा काम गर्छ ।

दमकल, एम्बुलेन्स र छिटो उद्धार गर्नुपर्ने खालका सामग्रीसहितको महाशाखा हुनेछ । यसका लागि सशस्त्र प्रहरीसँग मिलेर काम गछौँ । केही दुर्घटना भइहालेमा सामान खोज्न हिँड्ने भन्दा पनि तयारी अवस्थामा रहेको समूह बनाउँछौँ । यदि नागरिकलाई हेलिकप्टर चाहियो भने पनि त्यही समूहले खोज्ने व्यवस्था गछौँ, त्यो महाशाखाले काम गर्नेछ ।

तस्विर : राधिका कँडेल

यो पनि…
यही हो बेला, जनताले विवेक प्रयोग गर्ने
नत्र यो सरकारलाई ‘नालायक’ भनिनेछ



...
रविको राजनीतिक रङ - Mero LifeStyle Mero LifeStyle

[…] पनि…‘पोखरा हामी सबैको हो सबै मिलेर बनाऔँ’‘हरेक मतको मूल्य तिर्नेगरी मेलम्चीको […]

...
‘एक/एक गिलास ठण्डा पानी पिएर निर्वाचनबारे निष्कर्ष पुगौँ’ - Mero LifeStyle Mero LifeStyle

[…] यो पनि…‘पोखरा हामी सबैको हो सबै मिलेर बनाऔँ’ […]

...
‘मलाई प्रचण्ड पुत्री भनेर बढी प्रहार गरियो’ - Mero LifeStyle Mero LifeStyle

[…] यो पनि…‘पोखरा हामी सबैको हो सबै मिलेर बनाऔँ’ […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा

सरकारले लगातार दश वर्षदेखि सार्वजनिक गर्दै आएको तथ्य र तथ्याङ्कले चामलको परनिर्भरता अकासिएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६९/७० मा

अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री

Suggested