सानुभाई बुद्धाचार्य : हाम्रो बा !



हाम्रो बा चलचित्रमा देखाएझैं भयंकरै खतरनाक खलनायक अथवा असाध्यै ज्ञानी सर्वगुण सम्पन्न नायक दुबै होइनन् । हाम्रो बा आजभन्दा ३ दशक अघिको नेपाली समाज अझ भनौं आम नेवार समाजको अत्यन्तै सामान्य एक प्रतिनिधि पात्र हुन् जसका निम्ति आफ्नो परिवार, समाज, गुठी, रितीरिवाजभन्दा अरु केही पनि चाहिएन, वास्ता पनि भएन ।

आजभन्दा करिब २६ वर्षअघि जब हाम्री आमाले स्वर्गयात्रा आरम्भ गर्नुभयो, हामी ६ जना (म, मेरा ४ दिदी र भाइ) माथि संसारभरिको समस्याले हुलका हुल बाँधेर चट्यांङ परेझैं निरन्तर आक्रमण गर्न थाल्यो । जतिबेला म र भाइले आमासम्म पनि भन्न जानेका थिएनौं अझ भनौं आमा भनेर छुट्याउन सक्ने भएकै थिएनौं, हामी आमाविहिन भयौं । अनि केही दिनमै सारा समाज, आफन्त र आफ्ना भनाउँदा ज्ञानीमानी भलादमीहरूले ‘आमाको टाउको खाएर जन्मेकाहरु’ को ट्याग भिराइदियो । त्यतिबेला ठूलो जात मानिने शाक्य कुलमा जन्मेर पनि हामी अछुत भयौं, पानी नचल्ने भयौं कारण हामी गरिब थियौं र अब टुहुरा पनि । हामी असाध्यै एक्लै भयौं ।

आमा नहुनु, गरिब हुनु, नेवार परिवारमा जन्मनुभन्दा ठूलो पिडा छोरी भएर जन्मिनुमा रहेछ ।

सबैमध्ये मेरा बा सबैभन्दा बढी एक्लिएका थिए, अहिले सोच्दा लाग्छ वहाँको सारा संसार क्षणभरमै ध्वस्त भएको हुनुपर्छ त्यतिबेला । केही आफन्तहरुले बालाई आमा बित्नुभएकोमा दोषी करार दिंदै अपराधी घोषणा गर्न भ्याए, केहीले आमाको लाश जलेर खरानी हुनसम्म नि भ्याएको थिएन दोस्रो विवाह गर्नुपर्ने र आफूहरुले केटी खोज्ने उद्घोष गर्न भ्याए, तर पितृसत्ताले झ्याप्पै छोपेको त्यो समाजमा न कसैले बाको चित्कार सुने न त बालाई आँखा भिजाउनेसम्म स्वतन्त्रता दिन सके ।

मुखले चुकचुक गर्दै विचरा भन्नेहरुले दुःखमा परेका हामीलाई साथ दिने त परै जाओस् मुटु छियाछिया हुने गरी कटुवचन प्रहार गर्ने, थप दुःख दिने र शोषण गर्ने बाहेक केही गरेनन् । तन्नेरीमै विधुवा भएका बालाई दोस्रो विवाह गर्न घरभित्रैबाट पनि ठूलो दबाब थियो तर बाले प्रण गरिसकेका थिए कि उनको जीवनमा पहिलो र अन्तिम प्रेम भनेको हाम्री आमा नै हुन् भनेर । आफ्ना लालाबालाहरुले दुःख नपाओस्, भविष्य लथालिंग नहोस् भनेर उनले त्यस्तो प्रण लिएका रे । आमा बितेको दिनदेखि बाले भात खान पनि छाडे, उनको अन्तिम श्वास हुँदासम्म । सायद त्यो कठोर निर्णय उनको जीवनको अघोर तपस्या र हाम्रा निम्ति प्रमुख त्याग हुनुपर्छ ।

हाम्रो बा अत्ति कडा स्वभावको तर वहाँले हामी बचेराहरुलाई आजको मितिसम्म एक थप्पड पनि लगाउनुभएको छैन । मेरा बा चलचित्रमा देखाएझैं संसारकै सुपरस्टार वा सुपरहिरो बा पक्कै होइनन् तर वहाँले जीवनभर आफूले सकेको आफ्नो सुझबुझले भ्याएसम्म सबै गर्नुभयो ।

त्यतिबेला हाम्रो बा फलामको कारखानामा काम गर्नुहुन्थ्यो । नयाँ बानेश्वरस्थित हालको संसद भवन, गुहेश्वरी मन्दिरको प्राचीन आकर्षक छत तथा स्वयम्भू पुनर्निमाणमा हाम्रो बाको पसिनाको गन्ध मिसिएको छ । बानेश्वरस्थित आफ्नो कारखाना डुबेपछि अरुको मुनि काम गर्न बाध्य भएका हाम्रो बाले आफ्नैबाट धोका खाए । अनेक थरीका साहुकारबाट श्रमशोषण खेपे र गरिब तर मेहनती र अरुको मुनि झुक्न, गुलियो कुरा गर्न र छलकपट गर्न नजानेकै कारण सामाजिक अपहेलनाको शिकार पनि भए । अहिले पूराना दिन सम्झँदा लाग्छ बाले आमालाई बिर्सनैसक्नु भएनछ । जब पनि कामबाट थाकेर घर फर्कनुहुन्थ्यो, वहाँले आमाको बारे कुरा गर्नुहुन्थ्यो, आमाले मालिस गरिदिएको सम्झनादेखि वहाँलाई सपनामा देखेको र आमाको भूत आत्मासँग साक्षात्कार भएकोसम्म । मलाई के लाग्छ भने मेरो अवचेतन मनमा आमाप्रतिको जुन मोह र उत्सुकता छ, केही हदसम्म त्यो हाम्रो बाको आमासँगको सम्झनाको असर हो । कम बोल्ने, थोरै लजालु र आफ्ना भावना पटक्कै अभिव्यक्त नगर्ने हाम्रो बा कत्ति एक्लिनुभएको होला अहिले आँकलन गर्न खोज्छु तर म सक्दिन । मेरा आँङ सिरिङ्ग हुन्छन् त्यो मानसिक आतंक सम्झिंदा तर म त्यो पिडा नाप्न सक्दिन ।

करिब ३ वर्ष अघि बा काठमाडौं, वीर अस्पतालको शैयामा बित्नुहुँदा म पाटनस्थित यलमाया केन्द्रमा मञ्चन भइरहेको नाटक ‘द डायरी अफ यङ गर्लः आन्ना फ्राङ्क’ मा आन्ना फ्राङ्कको भूमिकामा अभिनय गरिहेको थिएं । नाटक सुरु हुनु ठ्याक्कै अगाडि हाम्रो बा बित्नुभएको खबर आयो ।

आमा नहुनु, गरिब हुनु, नेवार परिवारमा जन्मनुभन्दा ठूलो पिडा छोरी भएर जन्मिनुमा रहेछ । अगाडिका तीन अवस्थामा हुने सामाजिक प्रताडना छोरी हुनेबित्तिकै सयौं गुणा बढ्ने रहेछ । हाम्रो बा पलेटी कसेर, रातोमाटोले लिपेको भित्तामा कोइलाले कोरेर अक्षर चिन्ने सामान्य हिसाब गर्न जान्ने सम्म हुनुभएको तर छोरी मान्छे भएर बाहिर जागिर गर्न नहुने, केटा मान्छेसँग बोल्न नहुने, खेलकुद,नृत्य,रंगमञ्च र स्टेज शोमा भाग लिन नहुने, साइकल चलाउन नहुने, कुर्ता सुरुवालबाहेक अन्य लुगा लगाउन नहुने, हाँस्न नहुने, आफूलाई लागेका कुरा भन्न नहुने आदि इत्यादि पुरातन सोचले ग्रसित हुनुहुन्थ्यो । बा, अजि र तत्कालिन समाजले निर्धारण गरेको सिमारेखा नाघेर हामीलाई स्कूलको आँगनसम्म पुर्याउन दिदीहरुले घरमै निकै वर्ष मशाल जुलुस निकाल्नु पर्यो ।

हाम्रा बा साह्रै धार्मिक स्वभावका । हरेक चाडवाड, पर्व संस्कृति, गुठी व्यवहारको मौलिक स्वरुपमै संरक्षण गर्नुपर्छ भन्ने मान्यताका । हामी नेवारहरुको चाहे यन्या पुन्ही होस् वा मोहनी नखः प्रत्येक चाडवाडपछि छोरीबेटीहरुलाई नखत्याः भनेर बोलाई भोज खुवाउने चलन छ । बरु हप्तौं एक छाक मात्र खाने तर पैसा जोगाउने नखत्याः बोलाउन, केही उपाय नलागे ऋण काढेर भएनि आफ्ना दिदीबहिनीहरुलाई बोलाएर खुवाउन हर प्रयास गर्ने त्यस्ता थिए हाम्रा बा । तर हाम्रो बाको माया र प्रयास हामीले बाहेक कसैले बुझेनन् । कहिलेकाहीं यही विषयमा घरमा बा र दिदीहरुबीच समय–समयमा महाभारत पनि हुने गथ्र्यो ।

जब म बाङ्गेमुढा चोक, ग्वाननी चोक, असन, बसन्तपुर, रत्नपार्क लगायतका स्थानमा उद्घोषकको भूमिकामा विभिन्न स्टेज कार्यक्रम सञ्चालन गरिरहन्थे, बा दर्शकदिर्घाको सबैभन्दा पछाडि बसेर मेरो कार्यक्रमको सुरुदेखि अन्त्यसम्म हेर्नु हुन्थ्यो ।

घरमा हामी सधैं नेपाल भाषामै कुरा गथ्र्यौं, नेपाली बोल्न निषेध थियो । बालाई आफ्नो पुर्खाको मेहनत जोगाउनुपर्छ भन्ने चेत थियो । आफ्नो कला, भाषा, संस्कृति सम्बन्धि जति पनि ज्ञान हामीमा छ, बा, बाज्या र अजिबाटै हामीले सिकेका हौं । बाले प्रत्येक दिन सन्ध्या टाइम्स, इलोहं, चाकलिपांपा जस्ता पत्रिका ल्याउनुहुन्थ्यो । मलाई एकएक लेख–रचना पढ्न लगाउनुहुन्थ्यो ।

मलाई राम्ररी याद छ, बा नमोबुद्ध दर्शन गरेर फर्कनुभएको थियोः गुँलाको समय । बा असाध्यै खुशी हुनुहुन्थ्यो । कुनै आफन्तले बालाई ‘हामीले त तिम्री छोरीलाई टि.भी.मा देखेको’ भनेर सुनाउनु भएछ । म आठ कक्षामा अध्ययनरत थिए । बंगलादेशको ढाकामा बालअधिकार र शोषण सम्बन्धि अन्तर्राष्ट्रिय बाल सम्मेलन भएको थियो, नेपालबाट छनोटमा परेका एक छात्रा र एक छात्रमध्ये म एक थिए । नेपालको प्रतिनिधित्व गर्दै कार्यपत्र प्रस्तुत गर्दाको दृश्य नेपाल टेलिभिजनमा समाचार तथा बाल कार्यक्रम मार्फत् प्रसारण भएको रहेछ । यस्ता अपत्यारिला घटनाहरुले छोरी मान्छेले पढेर केही गर्न सक्दैन वा पढेर काम छैन भन्ने मानसिकता भएको हाम्रो बालाई विस्तारै परिवर्तन गर्दै लगेको रहेछ ।

मलाई यो पनि राम्ररी थाहा छ कि मेरो सगरमाथा आरोहणदेखि अमेरिकाको स्पेश टेलिस्कोप साइन्स इन्स्टिच्यूट, नासासम्मको यात्रा र सफलताको केही अंश हाम्रो बाको माया र अप्रत्यक्ष साथले सम्भव भएको हो ।

स्कूलमा ८ कक्षा पढ्दादेखि नै मैले घरमै ट्यूसन पढाउन सुरु गरे। महिनाको ५० रूपैयामा ट्यूसन पढाउँदा पढ्ने विद्यार्थी भाइकै तीनजना साथी थिए । विस्तारै काम र पढाइको चाप सँगै बढ्दै गयो, परिवारप्रतिको माया, जिम्मेवार बोध र चेतना । अफिसबाट घर फर्कंदा बा मलाई चिया बिस्कुट खाजा दिनुहुन्थ्यो । हामी देशविदेश, राजनिती, मठमन्दिर, भाषा इत्यादिका विषयमा कुरा गर्थ्यौं । बाले भोको पेट काम नगर्नु भन्नुहुन्थ्यो ।

जब म बाङ्गेमुढा चोक, ग्वाननी चोक, असन, बसन्तपुर, रत्नपार्क लगायतका स्थानमा उद्घोषकको भूमिकामा विभिन्न स्टेज कार्यक्रम सञ्चालन गरिरहन्थे, बा दर्शकदिर्घाको सबैभन्दा पछाडि बसेर मेरो कार्यक्रम सुरुदेखि अन्त्यसम्म हेर्नु हुन्थ्यो । मैत्री एफ्एममा मैले कार्यक्रम सञ्चालन गर्न थालेपछि त बाको जोश नै अर्कै थियो, वहाँले विविध विषयमा मलाई सामाग्री तयार गर्नदेखि पत्रिका जम्मा गर्नेसम्म सघाउनुभयो । रेडियोमा म लाइभ कार्यक्रम चलाउँथे, बा मलाई थाहा नदिई मेरो कार्यक्रम गुडमर्निङ काठमाडौं, न्हयसः लिस कासा, अफिस आवर लगायतका कार्यक्रम सुन्नुहुन्थ्यो । एकदिन छिमेकी दाईले ठट्टा गर्दै भन्नुभयो, ‘सान्दाई त बिहान ठ्याक्क ८ बज्ने बित्तिकै टोलै थर्किने गरी रेडियो बजाउनुहुन्छ । छोरीको प्रोगाम न पर्यो ।’ त्यसपछिका दिनमा कार्यक्रममा अंगे्रजी गीत बजाउँदा ‘के ह्याउ ह्याउ न झ्याउ झ्याउ गीत बजाएको, प्रेमध्वज प्रधान, फत्तेमानको गीत पो बजाउनुपर्छ’ भन्न थाल्नुभयो ।

मेरो जीवनमा मैले बालाई खित्का छोडेर हाँसेको कहिल्यै देखेको छैन तर समय–समयको मिठो मुस्कान : बाको सौन्दर्यको प्रतिक । बाको मुस्कानको अर्थ वहाँको साथ समर्थन, माया, न्यानो अंकमाल, खुशी, इच्छा, उत्साह, गौरव हरेकको संकेत थियो ।

हाम्रो बा अत्ति कडा स्वभावको तर वहाँले हामी बचेराहरुलाई आजको मितिसम्म एक थप्पड पनि लगाउनुभएको छैन । मेरा बा चलचित्रमा देखाएझैं संसारकै सुपरस्टार वा सुपरहिरो बा पक्कै होइनन् तर वहाँले जीवनभर आफूले सकेको आफ्नो सुझबुझले भ्याएसम्म सबै गर्नुभयो । बा देखेर असाध्यै रिस उठेका थुप्रै क्षणहरु पनि छन् तर यदि भगवान् फेरि उनकै छोरी हुने अवसर दिए म सहर्ष स्वीकार्थें । मलाई थाहा छ, त्यो अथाहा संघर्षको यात्रा हुनेछ भनेर तर मैले बालाई वहाँको स्थानमा बसेर बुझन, हेर्न र स्वीकार्न जानिसकें, मैले बाको मौन माया थापिसकें ।

मलाई यो पनि राम्ररी थाहा छ कि मेरो सगरमाथा आरोहणदेखि अमेरिकाको स्पेश टेलिस्कोप साइन्स इन्स्टिच्यूट, नासासम्मको यात्रा र सफलताको केही अंश हाम्रो बाको माया र अप्रत्यक्ष साथले सम्भव भएको हो । जवानीमा बा पैदल भारतको बनारस, काशीसम्म घुमेर आउनुभएको अपत्यारिलो साहस, प्रत्येक दसैंको टिकाको दिन बाको हात समाउँदै असनदेखि पैदल गुहेश्वरीको दर्शन र आज जत्ति दुःख परेपनि भोलिको दिन चाहिं राम्रो हुन्छ भन्ने आशावादी बाको सोचले मलाई जिन्दगीको लामो दौडका लागि तयार गरेको थियो । मैले पढाई, पसिना र परिश्रमको पाठ राम्ररी पढेकी थिए । म बाँच्नका लागि संघर्ष गर्न हर चुनौतीको सामना गर्न शारिरीक, मानसिक, संवेगात्मक रुपमा तयार थिए ।

करिब ३ वर्ष अघि बा काठमाडौं, वीर अस्पतालको शैयामा बित्नुहुँदा म पाटनस्थित यलमाया केन्द्रमा मञ्चन भइरहेको नाटक ‘द डायरी अफ यङ गर्लः आन्ना फ्राङ्क’ मा आन्ना फ्राङ्कको भूमिकामा अभिनय गरिहेको थिए । नाटक सुरु हुनु ठ्याक्कै अगाडि हाम्रो बा बित्नुभएको खबर आयो । मन बिथोलियो, विचलित भयो तर दर्शकप्रतिको जिम्मेवारी बोधले नाटक नसकी विष्णुमतीघाट जान सकिन । त्यो नाटक गरिरहँदा मेरो भ्रम, अवचेतन मन वा अदृश्य शक्ति नै किन नहोस् मैले बालाई मञ्चमै देखेको थिए ।

म बाको मुस्कानलाई असाध्यै सम्झिन्छु । मेरो जीवनमा मैले बालाई खित्का छोडेर हाँसेको कहिल्यै देखेको छैन तर समय–समयको मिठो मुस्कान : बाको सौन्दर्यको प्रतिक । बाको मुस्कानको अर्थ वहाँको साथ समर्थन, माया, न्यानो अंकमाल, खुशी, इच्छा, उत्साह, गौरव हरेकको संकेत थियो । मलाई हाम्रो बाको त्यो हसिंलो अनुहार राम्ररी याद छ ।

बाले आमालाई देख्नुभएझैं अचेल म बाको त्यो मुस्कानलाई सपनामा देख्छु । बा मसँगै हुनुभएझैं लाग्छ र त जिन्दगीसँग थाक्दिन, समस्यामा झुक्दिन र पछ्याउँछु बाको त्यो मुस्कानलाई ।

रोजिता बुद्धाचार्य द्धारा लिखित अन्य सामाग्रीहरु
नेदरल्याण्ड्समा यसरी भएको छ, यौन व्यवस्थापन
मेरो क्यानभासमा झमक घिमिरे
अमेरिकाबाट हिमाल मुनिको यात्रा
यी ५ विषय, जो नेदरल्याण्ड्ससँग सिक्न सकिन्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । शुक्रबारदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै काठमाडौंसहित देशभरका चलचित्र हलहरु बन्द भए । करिव ५ महिना बन्द भएका हलहरु काठमाडौं

सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र दिमागमा भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई स्ट्रोक अर्थात् पक्षघात भनिन्छ । पक्षघात हुँदा

डा.वासुदेव कृष्ण शास्त्री हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक