चलचित्र प्राविधिकहरुको एउटै स्वर : ‘दैनिकी चलाउनै गाह्रो भो’



यतिबेला नेपालका ७४ जिल्लामा निषेधाज्ञा जारी छ । व्यापार व्यवसाय, दैनिक कामकाज सबै ठप्प छन् । नेपाली चलचित्र क्षेत्र पनि यसबाट अछुतो छैन । अझै यसमा संलग्न प्राविधिकहरु आर्थिक संकटको चपेटामा परेका छन् ।

बिहान काम गरेर बेलुकाको छाक टार्ने र न्युन पारिश्रमिकमा काम गर्दै आएका प्राविधिकहरु निषेधाज्ञाले गर्दा जीवन धान्नै गाह्रो परिरहेको बताउँछन् । यहाँ केही प्राविधिकहरुको हालको अवस्था जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

घरबेटीले बिहानै ढोका ढक्ढक्याउँछन् : यमुना पाण्डे, मेकअप आर्टिस्ट

अहिले सबै काम ठप्प छन् । यसको मार हामीमा पनि परेको छ । घरमा चामल सकि सक्यो, न्यून पारिश्रमिकमा काम गर्ने हामीलाई गाँस र बासको समस्या पर्न थालेको छ । मैले यो क्षेत्रमा रहेर मेकअपको काम गर्न थालेको ७ वर्ष भयो । तर, कतिपयले काम गरेको पारिश्रमिक नै दिँदैनन् । चैत र वैशाखमा काम गरेको पैसाले अलिअलि ऋण तिरेँ, त्यतै सकियो ।

अहिले कमाई भन्दा पनि ज्यानको डर छ, घरबाट बाहिर निस्किएको छैन । मेरो काम कलाकार सिंगार्ने मात्रै होइन, निर्देशकले भनेअनुसार हतियारबाट लागेका चोट, गोली र दागको आकृति पनि बनाउनुपर्छ । गतवर्षको लकडाउनले धेरै दुःख दियो र यसपालीको निषेधाज्ञा कहिलेसम्म हो थाहा छैन । काठमाडौंका घरबेटीहरु महिना मर्ने बित्तिकै ढोका ढकढक्याउन आउँछन् । यसले थप तनाव सिर्जना गर्छ । त्यसैले कहिलेबाट समान्य अवस्था होला भन्ने प्रतिक्षामा छु ।

कलाकारलाई सिँगारियो, आफू सिँगारिन सकेनौँ : कमल मिश्र, ड्रेस म्यान

बुढो भएपछि काममा पनि बोलाउन छोडे । ४ वर्षमा एउटा काम पाएको थिएँ, आँधि तुफान २ मा । त्यो पनि ६ दिन मात्रै सुटिङ भयो । काम पाउनै मुस्किल छ अहिले त, न काम पाइन्छ, न अन्य आयश्रोत छ । पोहोर एक वर्ष पनि त्यस्तै भयो, बीचमा फेरि अब चाहीँ खुट्टा टेकिएला कि भनेको फेरि यस्तै भयो । मलाई २०७४ मा घाँटीमा क्यान्सर भएको थियो । त्यो ऋण नै तिर्न सकिएको छैन । धेरै कलाकारलाई कलाकारलाई सिंगारियो तर आफूलाई कहिल्यै सिँगार्न सकेनौँ । यो क्षेत्रमा काम गरेको ३२ वर्ष बढी भयो । यस क्षेत्रमा ५० प्रतिशत राम्रा मान्छे छन् भने ५० प्रतिशत नराम्रा छन् । ४ वर्षमा कमाई शुन्य छ । यसपाली त झन् पोहोरको भन्दा बढी समय निषेधाज्ञा हुन्छ होला भन्ने डर छ, परिवार पाल्नै गाह्रो छ ।

जीवन धान्ने उपाय नभएपछि चिया बेच्दैछु: घनश्याम पुरी, सहायक छायाँकर

मैले २०४० सालदेखि चलचित्र क्षेत्रमा सहायक छायाँकार भएर काम गरेँ । कति काम गरें भन्ने त .गिन्ती नै छैन । पछिल्लो पटक उमंग चलचित्रमा काम गरेको थिएँ । त्यसपछि काम नपाएको तीन वर्ष भयो । त्यसैले जीवन धान्ने केही उपाय नपाएपछि अहिले नगरकोटमा घर नजिकै सानो चिया पसल राखेको छु । निषेधाज्ञाका कारण त्यो पनि बन्द छ । त्यसैले तनाव हुन थालेको छ । गाह्रो भयो भनेर संघलाई गुहारेको छु । तर, बुढोे भएपछि कसैले हेर्दा रहेनछन् ।

निषेधाज्ञाले बर्बाद बनायो: नारायण चालिसे, निर्माण नियन्त्रक

तीनवर्ष यता काम गरेको थिइनँ । आँधी तुफान चलचित्रमा काम गर्ने कुरा भइरहेको थियो, निषेधाज्ञाले त्यो पनि हुन सकेन । ४ जना परिवारको साथमा रातोपुलमा बस्छु । पैसा छैन त्यसैले खानेकुरा किन्न सकेको छैन । मैले २०५० सालदेखि यो क्षेत्रमा काम गरिरहेको छु । अहिलेको जस्तो अभाव कहिल्यै बेहोर्नुपरेको थिएन । छोरोछोरीलाई पढाउन, खान बस्न ठूलो समस्या परिरहेको छ । अब काम सुरु नहुन्जेल कसरी टिक्ने भन्ने चिन्तामा छु ।

खानै नसकिने भइसक्यो: शंकर सुमन, मेकअप आर्टिस्ट

मैले २०५० सालबाट यो क्षेत्रमा काम गरिहरेको छु । भाडामा बसिएको छ, निषेधाज्ञाले काम ठप्प छन्, आम्दानीको स्रोत केही छैन । मैले अहिलेसम्म फिल्म म्युजिक भिडियो ३, ४ हजार वटा जतिमा काम गरिसकेको छु । अब अहिले काम गर्न पाइएको छैन, निषेधाज्ञा कहिलेसम्म जाने हो त्यो पनि ठेगान छैन । महामारीमै अर्को पेसा सुरु गर्न पनि सकिँदैन । त्यो बेलासम्म कसरी बाँच्ने होला । हिजोआज आर्थिक तनावमै दिन कटिराछ ।

कोठाभाडा तिर्न नसकेको १४ महिना भइसक्यो : जीवन पोखरेल, ड्रेस म्यान

कोठाभाडा तिर्न नसकेको १४ महिना भइसक्यो । हामी जस्ता न्यून पारिश्रमिकमा काम गर्नेहरुलाई निषेधाज्ञाले झनै बोझ थपेको छ । गत वर्षको लकडाउनमा पनि केही काम भएन र अहिले पनि त्यस्तै छ । यतिबेला बुबालाई कोरोना लागेर अस्पतालमा छु । आफूले कमाएको पैसा खान र बस्नलाई त पुग्दैन, उपचारको खर्च कसरी गर्नु । निकै तनाव भइरहेको छ । त्यसैले दैनिकी चलाउनै गाह्रो भएको छ । मैले काम गरेको दुई दशक बढी भयो । अहिलेसम्म डेढ सय बढी चलचित्रमा काम गरिसकेको छु । तर, जीवन धान्न गाह्रो भएको छ । हाम्रो भविष्य नै अन्योल भएको देख्छु । अर्को व्यवसाय गर्न पनि सीप छैन । फेरि पैसा नै नभएपछि अर्को व्यवसाय गर्छु भनेर कसरी सोच्नु ।

माथिका यी प्राविधिकहरु त प्रतिनिधिमात्र हुन् । नेपाली चलचित्र क्षेत्रमा काम गर्ने थुप्रै प्राविधिकहरुको अवस्था यस्तै छ ।
नेपाल चलचित्र प्राविधिक संघका अनुसार नेपालमा करिव १ हजार ५ सय चलचित्र प्राविधिकहरु सक्रिय छन् । यद्यपि संघमा भने १ हजार प्राविधिक आवद्ध रहेको संघका अध्यक्ष पुष्कर लामा बताउँछन् । उनकाअनुसार चलचित्र निर्माणमा सहयोग पुर्याउने ड्रेस म्यान, हेयर डिजाइनर र भान्साको लागि काम गर्नेहरु अहिले निषेधाज्ञाका कारण अत्याधिक मारमा परेका छन् । ‘कम पारिश्रमिकका कारण उनीहरुलाई दैनिकी चलाउन धेरै समस्या परिरहेको छ । काम गरेको ठाउँमा कतिले बाँकी पैसा पाएका छैनन्,’ अध्यक्ष लामा भन्छन्, ‘निषेधाज्ञाका कारण काम ठप्प भएको छ, त्यसैले केही प्राविधिकहरुलाई दैनिकी चलाउन समस्या भएको छ, तैपनि हामी कसैलाई भोकै मर्न दिँदैनौँ ।’

सरकार नै कोरोना महामारी नियन्त्रण गर्न असफल भइरहेको यो बेलामा कसरी समस्या समाधान गर्ने भन्ने चिन्ता सबैलाई छ । तर चलचित्र प्राविधिक संघ भने यो अभाव यही हप्ता समाधान गर्ने पक्षमा छ । संघले गतवर्षको लकडाउनमा पनि करिव १० पटकमा एक हजार भन्दा धेरै समस्यामा परेका चलचित्र प्राविधिकलाई सहयोग गरेको लामा बताउँछन् ।

‘केही फिल्म निर्माताहरुले प्राविधिकको कामको पैसा नदिएकोले नै यस्तो समस्या झेल्नुपरेको कतिपय प्राविधिकको गुनासो छ, त्यसैले बाँकी पैसा तत्काल दिन आग्रह गर्दछु,’ अध्यक्ष लामाले भने, ‘संस्था जहिले वहाँहरुको लागि अभिभावक हो र अभिभावकले कहिल्यै अभाव हुन दिँदैन ।’

यो पनि पढ्नुहोस्
डा. भोला रिजालको नजरमा पढ्नै पर्ने ५ पुस्तक
‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’
संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदयपुरकी सिता (नाम परिर्वतन) लाई चिनेजानेकाले सामुहिक बलात्कार गरे । ४ छोराछोरीकी आमा समेत रहेकी सिता असार १५ को राति

इटालीका एक चिकित्सक महिला बिरामीलाई यौन सम्पर्क गर्न कर गर्ने क्रममा अर्धनग्न अवस्थामा पक्राउ परेका छन् । ६० वर्षीय डा.

पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ । स्थानीय वायुको प्रभावका

एमालेको १०औं महाधिवेशन उद्घाटनका लागि चितवनको नारायणी नदी किनारमा मञ्च तयार छ । देशभरबाट नेता कार्यकर्ता चितवनमा उर्लिएका छन् । स्वास्थ्य