English

जेम्स वेब स्पेश टेलिस्कोपको जादु : आँखाले देख्न नसक्ने दृश्य देखाउँदै



गत वर्ष क्रिसमशको दिन अर्थात् २५ डिसेम्बर सन् २०२१ मा इतिहासकै सबैभन्दा ठूलो, प्राविधिक रुपमा सबैभन्दा शक्तिशाली र सबैभन्दा अद्भूत डिजाइन भएको स्पेश टेलिस्कोपको सफल प्रक्षेपण भएको थियो । तीनतले घरजत्रो उचाइ र टेनिसकोर्ट जत्रो आकार भएको जेम्स वेब स्पेश टेलिस्कोप अमेरिकास्थित नेशनल एरोनटिक्स् स्पेश एड्मिनिस्ट्रेशन (नासा), युरोपियन स्पेश एजेन्सी (इसा) र क्यानेडियन स्पेश एजेन्सी (सी एस् ए) को संयुक्त लगानी र सहकार्यमा निर्माण गरिएको टेलिस्कोप हो ।

जेम्स वेब टेलिस्कोप
हबल स्पेस टेलिस्कोपद्वारा खिचिएको तस्वीर

करिब १० अरब अमेरिकी डलर खर्च गरी लगभग ३० वर्षको निरन्तर अध्ययन, अनुसन्धान र निर्माण प्रक्रियापछि अन्तरिक्ष पुग्न सफल यो टेलिस्कोप अब भने पुर्ण रुपमा ब्रह्माण्डको वैज्ञानिक अवलोकनका लागि तयार छ । जुलाई १२ मंगलबारका दिन अमेरिकाको मेरिल्याण्डस्थित नासाको गोडार्ड स्पेश फ्लाइट सेन्टरबाट यस टेलिस्कोपले खिचेका प्रथम पाँच खगोलपिण्डहरुको तस्बिर सार्वजनिक भएपछि विश्व नै यस टेलिस्कोपको कार्यक्षमता देखेर दंग परेको छ ।

यसअघिका टेलिस्कोपहरुले अवलोकन गर्न नसकेका ब्रह्माण्डीय रहस्यहरु जेम्स वेबले खोल्ने वैज्ञानिकहरु बताउँछन् । इन्फ्रारेड प्रकाशतरंग संकलन गरी ब्रह्माण्डको अवलोकन गर्ने हुँदा यस टेलिस्कोपले ब्रह्माण्डको उद्गम बिन्दु बिगब्यांगको ४० करोड वर्षपछिको ब्रह्माण्ड कस्तो थियो जस्ताको तस्तै फोटो खिची प्रस्तुत गर्न सक्नेछ ।

साथै, सूर्यजस्ता ताराहरुको जन्म, विकास र मृत्यु, मिल्की वे जस्ता ग्यालेक्सीहरुको क्रमबद्ध विकास प्रक्रिया तथा पृथ्वीजस्ता सौर्यमण्डलभित्र र बाहिरका ग्रहहरुको पनि यस टेलिस्कापले अवलोकन तथा अध्ययन गर्नेछ । मंगलबार सार्वजनिक गरिएका तस्बिरहरु यिनै अध्ययन क्षेत्रका केही उदाहरण हुन् ।

स्माक्स् ०७२३ ग्यालेक्सी क्ल्स्चर

साधारण भाषामा ग्यालेक्सी अर्थात् आकाशगंगा भनेको ताराहरुको समूह वा घर हो भने ग्यालेक्सी क्ल्स्चर भनेको ग्यालेक्सीहरुको समूह हो । कुनै व्यक्तिले आप्mनो बाहु पूरै तन्काएर एउटा बालुवाको कण अवलोकन गर्दा जस्तो देखिन्छ, जेम्स वेब स्पेश टेलिस्कोपले अन्तरिक्षमा बालुवाको कणजत्रो क्षेत्र अवलोकन गर्दा कैद भएको दृश्य नै यो तस्बिर हो । नियर इन्फ्रारेड क्यामेराले करिब साढे १२ घण्टा अवलोकन गरी खिचेको यस तस्बिरमा स्माक्स् ०७२३ ग्यालेक्सी क्ल्स्चरका हजारौं ग्यालेक्सीहरु देख्न सकिन्छ ।

ग्यालेक्सी क्ल्स्चरका सदस्य ग्यालेक्सीहरुको एककृत पिण्डले ग्राभिटेशनल लेन्सको काम गर्ने हुँदा तस्बिरमा उक्त क्ल्स्चरले म्याग्निफाई गरेका सुदुर ग्यालेक्सीहरु पनि देख्न सकिन्छ । तीमध्ये केही ग्यालेक्सीहरु लगभग १३ अरब वर्ष पूराना हुन् जबकी वैज्ञानिकहरुका अनुसार हाम्रो ब्रह्माण्डको उत्पत्ति नै लगभग १३ अरब ८० करोड वर्ष पहिले भएको थियो भने स्माक्स् ०७२३ ग्यालेक्सी क्ल्स्चर लगभग ४ अरब ६० करोड वर्ष पूरानो हो । तस्बिरमा टलक्क टल्किएका ताराहरु भने हाम्रो मिल्की वे आकाशगंगाकै ताराहरु हुन् ।

वास्प ९६ बी

हालसम्मको वैज्ञानिक अनुसन्धानले पृथ्वी मात्र एकलो जीवित प्राणीले भरिपूर्ण ग्रह हो भन्ने पुष्टि गर्छ तर वैज्ञानिकहरु अन्य तारामण्डलमा पृथ्जीजस्ता जीवनका लागि अनुकुल सम्भावित ग्रहहरुको निरन्तर खोजीमा छन् ताकी पृथ्वीको पृथक स्वभाव, स्थिती र विकासको गाँठो फुकाउन सकियोस् । यस तस्बिरमा वास्प ९६ बी ग्रहको ट्रान्समिशन स्पेक्ट्रम हो । पृथ्वीदेखि लगभग ११५० प्रकाशवर्ष टाढा अवस्थित वास्प ९६ बी, शनि ग्रह जत्रो ग्यासीय ग्रह हो जसले प्रत्येक साढे तीन दिनमा मातृताराको परिभ्रमण पूरा गर्छ । स्मरण योग्य, हाम्रो पृथ्वीलाई मातृतारा सूर्यको वरिपरि परिक्रमा गर्न पूरै ३६५ दिन लाग्छ ।

मानौं तपाईं टेलिभिजनमा कुनै चलचित्र हेर्दै हुनुहुन्छ । टेलिभिजनमा उत्पादिन प्रकाश हाम्रो आँखामा ठोक्किएपछि बल्ल हामीले चलचित्र देख्ने हो । तर मानौं तपाईंको साथी ठ्याक्कै टेलिभिजनको अगाडि उभियो भने टेलिभिजनको पर्दाबाट आउने प्रकाश छेकिन्छ । ठीक त्यसरी नै जेम्स वेब स्पेश टेलिस्कोपले वास्प ९६ तारामण्डलको अवलोकन गर्दा जब वास्प ९६ ताराको वरिपरि परिक्रमारत ग्रह वास्प ९६ बी मातृताराको ठ्याक्कै अगाडि भएर जान्छ, ताराबाट टेलिस्कोपसम्म आइपुग्ने प्रकाश छेकिन्छ ।

ग्रहको आकार, अवस्था, संरचना र वायुमण्डलले कत्ति मात्रामा प्रकाश छेक्ने भन्ने कुरा निक्र्योल गर्छ । ग्रहले तारालाई छेक्दा र नछेक्दा संकलित प्रकाशको तुलना गरी तस्बिरमा देखिएको ट्रान्समिशन स्पेक्ट्रम तयारी पारिएको हो । जेम्स वेबमा जडित नियर इन्फ्रारेड इमेजर एण्ड स्लीटलेस इन्स्ट्रमेन्टले गरेको साढे ६ घण्टा लामो अवलोकनको नतिजा यो तस्बिर हो । यस तस्बिरले वास्प ९६ बी ग्रहमा पानी भएको, बादल तथा तुँवालो भएको पुष्टि गर्छ जुन विल्कुलै नौलो खोज हो ।

साउदर्न रिङ नेबुला

हामी मानवको जस्तै ताराहरुको पनि जन्म, विकास र मृत्यु हुन्छ । जब ताराहरु मृत्यु निकट निकट हुन्छन्, ताराले आयोनाइज्ड ग्यास तहगत रुपमा बाहिर फाल्छ र यही तहगत आयोनाइज्ड ग्यासीय संरचनालाई प्लानेटरी नेबुला भनिन्छ । यो प्रक्रिया हजारौं वर्षसम्म चलिरहन्छ । यस तस्बिरमा पृथ्वीदेखि २५०० प्रकाशवर्ष टाढा अवस्थित साउदर्न रिङ नेबुला देख्न सकिन्छ । बायाँपट्टिको तस्बिर नियर इन्फ्रारेड क्यामेराले कैद गरेको हो जसमा नेबुलाको केन्द्रमा एउटा मात्र तारा देखिन्छ ।

दायाँपट्टिको तस्बिर मिड इन्फ्रारेड इन्स्ट्रुमेन्टले खिचेको हो जहाँ नेबुलाको केन्द्रमा दुईओटा ताराहरु देखिन्छन् । यसको अर्थ धमिलो तारालाई धुलिकणले घेरेको छ र यही कारणले बायाँपट्टिको तस्बिरमा यो तारा लुकेको छ । दुईमध्येको चम्किलो तारा अझै पनि युवावस्थामै रहेको बुझ्न सकिन्छ र जब यो तारा पनि मृत्यु नजिक पुग्छ, यसले पनि आफ्नो छुट्टै नेबुला रच्नेछ ।

स्टेफन’स् क्वीन्टेट

यस तस्बिरले पाँचवटा ग्यालेक्सीहरुको सम्बन्धलाई देखाउँछ । नियर इन्फ्रारेड क्यामेरा र मिड इन्फ्रारेड इन्स्ट्रुमेन्टबाट खिचिएका एक हजारओटा तस्बिरहरुलाई जोडेर यो सिंगो तस्बिर तयार पारिएको हो । सबैभन्दा मध्य बाँया छुट्टै देखिएको ग्यालेक्सी एन् जी सी ७३२० पृथ्वीदेखि ४ करोड प्रकाशवर्ष टाढा अवस्थित छ भने बाँकी ४ ओटा ग्यालेक्सीहरु ९ करोड प्रकाशवर्ष टाढा अवस्थित छन् । तस्बिरमा बीचका दुईओटा ग्यालेक्सीहरु एन् जी सी ७३१८ ए र बी पूरै एकआपसमा ठोक्किंदै समायोजित हुँदै छन् भने सबैभन्दा माथिल्लो ग्यालेक्सी एन् जी सी ७३१९ पनि यस प्रक्रियामा सहभागी हुँदै छ ।

हबल स्पेस टेलिस्कोपद्वारा खिचिएको तस्वीर
जेम्स वेबद्वारा खिचिएको तस्वीर

तस्बिरमा देखिएको पुच्छर जस्तो संरचना, रातो संरचनाले ग्यालेक्सीहरु बीचको गुरुत्वाकर्षकीय सम्बन्धले ग्यालेक्सीमा रहेको ग्यासमा पार्ने असर तथा नवीन ताराहरुको जन्ममा टेवा पुर्याउने प्रक्रियालाई दर्शाउँछ । जेम्स वेबकै अर्को उपकरण नियर इन्फ्रारेड स्पेक्ट्रोग्राफको प्रयोग गरी वैज्ञानिकहरुले माथिल्लो ग्यालेक्सीको केन्द्रमा २ करोड ४० लाख सौर्यपिण्ड बराबरको महाकाय ब्ल्याक होल रहेको तथ्य सार्वजनिक गरेका छन् । तलतिरको ग्यालेक्सी एन् जी सी ७३१७ पनि भविष्यमा बाँकी तीन ग्यालेक्सीकै गुरुत्वाकर्षकीय सम्बन्धमा बाँधिनेछ । ग्यालेक्सीको विकास र मृत्यु बुझ्न स्टेफन’स् क्वीन्टेट एक उत्कृष्ट प्रयोगशाला हो ।

क्यारिना नेबुला

ताराको विकास र मृत्युको त कुरा गर्यौं तर जन्म चाहिं कहाँ कसरी किन हुन्छ होला ? ब्रह्माण्डको कुन स्थानमा कतिओटा ताराहरु छन् ? कत्रा छन् ? के के कुराले ताराको जन्म निर्धारण गर्छ ? यी सबै प्रश्नको उत्तर खोज्न जेम्स वेब स्पेश टेलिस्कोपले मद्दत गर्नेछ ।

झट्ट हेर्दा कुनै पर्वत ऋंखला वा हिमालजस्तै देखिने यो ब्रह्माण्डीय संरचना ग्यास र धुलिकणको पुञ्ज हो जहाँ ताराहरुको जन्म हुन्छ । एन् जी सी ३३२४ भनेर चिनिने यो क्षेत्र क्यारिना नेबुलाको एक अंश हो जुन पृथ्वीदेखि ७६०० प्रकाशवर्ष टाढा अवस्थित छ । तस्बिरमा सबैभन्दा अग्लो देखिएको पहाडको उचाइ करिब ७ प्रकाशवर्ष रहेको छ भने तस्बिरमा भर्खरै जन्मेका नवीन ताराहरुदेखि नवीन ताराहरुले वरिपरिको ग्यासीय क्षेत्र, धुलिकणमा पार्ने असर तथा कुनै तारा जन्मिनुअघिको प्रोटोस्टार चरणसम्म देख्न सकिन्छ । यो तस्बिर नियर इन्फ्रारेड क्यामेराले कैद गरेको हो ।

आजभन्दा करिब ७०० वर्षअघि मानव जाति पृथ्वीले सूर्यलाई घुम्छ कि सूर्यले पृथ्वीलाई भन्ने कुरा निक्र्यौल गर्न व्यस्त थिए । करिब ६०० वर्षअघि मानव इतिहासमा पहिलोपटक टेलिस्कोप रात्री आकाशमा तेस्र्याएर चन्द्रमाको अवलोकन गरियो भने करिब १०० वर्ष अघि गुरुत्वको परिभाषा, बुझाई र वास्तविकता प्रस्ट्याइयो र अब भने वैज्ञानिक कार्यसम्पादनका लागि पूर्ण तयार जेम्स वेब स्पेश टेलिस्कोपले मानव आँखाले देख्न नसक्ने ब्रह्माण्डीय धूलिकण र ग्यासमा लुकेका संरचनादेखि प्राचिन ब्रह्माण्ड र एलिनसम्मको खोजी गर्नेछ ।

तस्बिर स्रोत : नासा, इसा, सी एस् ए र स्पेश टेलिस्कोप साइन्स इन्स्टिच्यूट

यो पनि…
‘मेरो बुवाले मलाई प्रश्न सोध्न सिकाउनुभयो त्यसले मलाई खगोलविद् बनायो’ (भिडियो पनि)
‘पृथ्वीबाहेक अन्यत्र जीवन छ कि छैन भन्ने प्रश्नको जवाफ जेम्स वेबले खोज्नेछ’ (भिडियो पनि)

साजिटारियस ए* ब्ल्याक होलको पहिलो तस्बिर सार्वजनिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली