English

‘पृथ्वीबाहेक अन्यत्र जीवन छ कि छैन भन्ने प्रश्नको जवाफ जेम्स वेबले खोज्नेछ’ (भिडियो पनि)



डा. नोरा लुट्जन्डर्फ युरोपियन स्पेस एजेन्सी (इसा) का खगोलविद् हुन् । उनी सन् २०१५ देखि अमेरिकाको बाल्टिमोरस्थित स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा जेम्स वेब स्पेस टेलिस्कोपका निम्ति एक उपकरण वैज्ञानिकका रूपमा कार्यरत छिन् ।

जेम्स वेब स्पेस टेलिस्कोप मानव इतिहासकै सबैभन्दा ठूलो स्पेस टेलिस्कोप हो जुन गत डिसेम्बर २५ क्रिसमसका दिन, साउथ अमेरिकाको फ्रेन्च गिनियाबाट एरियान–५ रकेटमार्फत् अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो ।

१० अर्ब अमेरिकी डलर खर्च गरेर अमेरिकाको नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले इसा र क्यानेडियन स्पेस एजेन्सीसँगको सहकार्यमा यो अन्तरिक्ष वेधशाला निर्माण गरेको हो ।

यतिबेलासम्म जेम्स वेबका सनशिल्ड, १८ ओटा प्राइमरी ऐनाहरू, एउटा सेकन्डरी ऐनालगायत सम्पूर्ण प्रमुख अंगप्रत्यंगहरू निर्धारित स्थानमा स्थापित भइसकेका छन् ।

झट्ट हेर्दा नै मन लोभ्याउने जेम्स वेब स्पेस टेलिस्कोप विज्ञान प्रविधिका हिसाबले जटिल, बहुआयामिक र अत्यन्तै शक्तिशाली टेलिस्कोप हो भनिन्छ । ३६ किलोमिटर टाढा रहेको एउटा ५ पैसाको सिक्कालाई पनि मज्जाले स्पष्ट देख्ने क्षमता छ भनिन्छ । विश्वका १४ ओटा देशका ३०६ भन्दा बढी विज्ञान संस्थानहरू तथा हजारौं वैज्ञानिक, इन्जिनियर, प्राविधिकहरूको सहकार्यमा बनेको यस टेलिस्कोपको सफल प्रक्षेपण भइसक्यो ।

विज्ञान, कला र व्यवस्थापनको अनुपम सिर्जना जेम्स वेब स्पेस टेलिस्कोप यतिखेर पृथ्वीबाट लगभग १३ लाख किलोमिटर टाढा यात्रारत छ र अब केही दिनमै आफ्नो गन्तव्यस्थल लगभग १५ लाख किलोमिटर टाढा एल–२ मा पुग्नेछ । यहीँबाट यस टेलिस्कोपले अन्तरिक्ष अवलोकन, अन्वेषण र अध्ययन गर्नेछ । सारा विश्व विज्ञानप्रेमी र वैज्ञानिक जगतले एक महान् उत्सवका रूपमा यस क्षणलाई मनाइरहँदा मेरोलाइफस्टाइलकी युरोप संयोजक रोजिता बुद्धाचार्यले डा. नोरा लुट्जन्डर्फसँग गरेको कुराकानीको अंश ।

जेम्स वेब स्पेस टेलिस्कोप निर्माणमा कहिलेदेखि आबद्ध रहनुभयो ? किन यही टेलिस्कोपलाई आफ्नो कार्यक्षेत्र बनाउनुभयो ?

म यहाँ (अमेरिका) आएदेखि सन् २०१५ देखि यस टेलिस्कोप निर्माणमा संलग्न छु । शुरुवाती दिनदेखि नै काम गर्न एकदमै रमाइलो भइरहेको छ । यो टेलिस्कोपले थुप्रै प्रकारका ब्ल्याकहोलहरूको अवलोकन गर्नेछ । म आफैँ ब्ल्याकहोलको ठूलो फ्यान हुँ, मेरो अध्ययनको विषय पनि यही हो । यही कारणले यस टेलिस्कोपसँग आबद्ध भएँ ।

यस टेलिस्कोपमा मुख्यतः चारओटा उपकरणहरू रहेका छन् । तपाईंचाहिंँ तीमध्येको नियर इन्फ्रारेड स्पेक्ट्रोग्राफ (निरस्पेक) उपकरण वैज्ञानिक हुनुहुन्छ । यो ‘निरस्पेक’ कस्तो खाले उपकरण हो ? यसले के काम गर्छ ? अनि यो उपकरण निर्माणमा तपाईंको जिम्मेवारी के हो ?

यो, हाम्रो आँखाले देख्न नसक्ने ०.६ देखि ५ माइक्रोनका प्रकाशतरङ्गको अवलोकन गर्ने उपकरण हो । आजभन्दा १३ अर्ब ८० करोड वर्ष पहिले यस विश्व ब्रह्माण्डको उत्पत्ति र विस्तार भएको वैज्ञानिकहरू मान्छन् । यस टेलिस्कोपको एउटा प्रमुख उद्देश्य प्राचीन ब्रह्माण्डमा बनेका पहिलो तारा र पहिलो ग्यालेक्सीको अवलोकन गर्नु हो । निरस्पेकले यही उद्देश्य परिपूर्ति गर्न मद्दत गर्नेछ ।

म आफैं एक खगोलविद् र यस उपकरणलाई सबैभन्दा नजिकबाट चिनेको विशेषज्ञ भएकाले छोटकरीमा भन्दा निरस्पेक उपकरण र खगोलविद्हरूलाई जोड्ने काम मेरो हो ।

एक उपकरण वैज्ञानिकका हैसियतले मेरो जिम्मेवारी भनेको वैज्ञानिक खोज अनुसन्धानका लागि उक्त उपकरणको भरपुर उपयोग गर्न मिल्ने वातावरण तयार पार्नु हो । टेलिस्कोपलाई अन्तरिक्षमा प्रक्षेपण गर्नुपूर्व पृथ्वीस्थित परीक्षण केन्द्रमा थुप्रैपटक विभिन्न चरणमा विभिन्न परीक्षणहरू गरिन्छ । पहिले उपकरण मात्रै र पछि पूरै टेलिस्कोपलाई एउटा विशाल फ्रिज, क्रायो–भ्याकुम चेम्बरमा राखिन्छ र हामीले अन्तरिक्षमा जस्तै दुरुस्त वातावरण सिमुलेट गर्छौं । जब टेलिस्कोप अन्तरिक्षमा पुग्छ र अवलोकन तथा प्रकाश संकलनका लागि तयार हुन्छ, हाम्रो काम भनेको उपकरणलाई आवश्यकताअनुसार क्यालिब्रेट गर्नु र यसको अवस्था ठिक छ भनी निक्र्याेल गर्नु हो ।

यति भएपछि अब मेरो जिम्मेवारी यस उपकरणको युजर सपोर्टका रूपमा काम गर्ने हुन्छ अर्थात् सम्बन्धित वैज्ञानिकहरूलाई यस उपकरणको प्रयोग र प्रभावकारिताका बारे जानकारी दिनु, आवश्यक सल्लाह सुझाव दिनु र वैज्ञानिक अन्वेषणार्थ यसको अधिकतम लाभ लिन मद्दत गर्नु हो । जस्तो कि निर्धारित ताराहरूको अवलोकन गर्न उपयुक्त फिल्टरसम्बन्धी जानकारी दिनु । म आफैं एक खगोलविद् र यस उपकरणलाई सबैभन्दा नजिकबाट चिनेको विशेषज्ञ भएकाले छोटकरीमा भन्दा निरस्पेक उपकरण र खगोलविद्हरूलाई जोड्ने काम मेरो हो ।

अब, वैज्ञानिकहरू कस्तो खाले नवीन अध्ययनको अपेक्षा गरिरहेका छन् ? आमनागरिकलाई उत्साहित बनाउने के–कस्ता अध्ययन होलान् ?

यस टेलिस्कोपको प्रयोग गरी वैज्ञानिक समुदाय विशेषतः चार ओटा क्षेत्रमा अध्ययन गर्न चाहन्छन् । हामी प्राचीन ब्रह्माण्डको अवलोकन गर्न चाहन्छौं, यो पहिलो अध्ययन क्षेत्र हो । किनकि, यस टेलिस्कोपले नियर इन्फ्रारेड प्रकाशतरङ्गमा अवलोकन गर्ने हुँदा हबल स्पेस टेलिस्कोपको तुलनामा हामीले धेरै अघिका ब्रह्माण्डको अवस्था अवलोकन गर्न सक्छौं । सबैभन्दा पहिले बनेका तारा र ग्यालेक्सीहरूको अवलोकन गर्न सक्छौं । जुन एकदमै रोचक र उत्साहजनक छ ।

दोस्रो क्षेत्र, ग्यालेक्सी तथा ब्ल्याकहोलको उत्पत्ति र विकास । हामीलाई थाहा छ, पहिले–पहिले ग्यालेक्सीहरू अस्पष्ट आकृतिका ताराहरूको झुप्पाजस्ता मात्र थिए तर, अहिले ती चक्राकार भुजायुक्त तथा अण्डाकार आकृतिका छन् । हामी, पहिले अस्पष्ट आकृतिका कसरी अहिले निश्चित आकृतिका भए र यस प्रक्रियामा ब्ल्याकहोलको भूमिका कस्तो रह्यो भन्ने बुझ्न चाहन्छौँ ।

यस टेलिस्कोपले ती ग्यास र धुलिकणको बादलभित्र ताराहरूको जन्म भइरहेको दृश्य अवलोकन गर्न सक्छ ।

तेस्रो क्षेत्र तारा र ग्रहसम्बन्धी हो । ग्यास र धुलिकणको बादलभित्र ताराहरूको जन्म कसरी भयो अनि ताराहरूको जन्मसँगै ग्रह तथा ग्रहीय प्रणालीको विकास कसरी भयो भन्ने हामीले अध्ययन गर्नेछौं । किनभने यस टेलिस्कोपले ती ग्यास र धुलिकणको बादलभित्र ताराहरूको जन्म भइरहेको दृश्य अवलोकन गर्न सक्छ ।

चौथो र हामी सबैको उत्सुकताको विषय एक्जोप्लानेट्स हो । पृथ्वीजस्ता अन्यत्र ग्रहहरू कस्ता खाले छन् ? तिनको वायुमण्डलीय संरचना कस्तो छ र त्यहाँ जीवन सम्भव छ कि छैन भनी जेम्स वेबले अध्ययन गर्नेछ ।

र यही विषय नै आमनागरिकको चासोको विषय पनि हो । पृथ्वीबाहेक अन्यत्र पनि जीवन छ भन्ने प्रश्न सबैको मनमस्तिष्क छ । हो, सायद वेबले यसको उत्तर भेट्टाउने छ ।

अद्भूत खोजको आशा गरिरहेको छु जेम्स वेबबाट । सायद यसले अन्यत्र पनि जीवन भेट्ला, सायद बिल्कुलै फरक खोज हामी सामु ल्याउला ।

तपाईं आफैँलाई चाहिँ यस टेलिस्कोपको के कुराले सबैभन्दा बढी उत्साहित बनाउँछ ?

यस टेलिस्कोपले मलाई सबैभन्दा बढी उत्साहित पार्ने विषयचाहिँ अज्ञात कुरा नै हो, जुन अहिलेसम्म यस टेलिस्कोपले पत्ता लगाउन सक्ला भनेर हामीले कल्पना सम्म पनि गरेका छैनौँ । हबलमा जस्तै । हबल स्पेस टेलिस्कोप अन्तरिक्षमा पठाउँदा केही निश्चित कार्य मात्र अपेक्षा गरिएको थियो, तर यसले कसैले नसोचेका विषय माथि प्रकाश गर्यो । म यस्तै अज्ञात अद्भूत खोजको आशा गरिरहेको छु जेम्स वेबबाट । सायद यसले अन्यत्र पनि जीवन भेट्ला, सायद बिल्कुलै फरक खोज हामी सामु ल्याउला ।

विगत लामो समयदेखि यस टेलिस्कोपमा कार्यरत रहनुभयो । के सिक्नुभयो ?

स्पेस मिसनहरू साह्रै गाह्रा हुन्छन् । म पृथ्वीस्थित वेधशालाहरूमा काम गर्ने गर्थें, जस्तो कि चिलेस्थित ‘द भेरी लार्ज टेलिस्कोप’ । प्राविधिक हिसाबले ती चमत्कार हुन् र निकै विशालकाय हुन्छन् । तर, जब यस्तै चमत्कारिक र भीमकाय टेलिस्कोप अन्तरिक्षमा पठाउनका लागि बनाउने भन्नेबित्तिकै पूरै कहानी नै भिन्न भइसक्यो । तपाईंले अझै थुप्रै विषयमा दिमाग लगाउनुपर्ने हुन्छ, अन्तरिक्ष, पिण्ड र तौल, निर्माण सामग्री, तापक्रम थुप्रै थुप्रै । स्पेस टेलिस्कोपको हकमा जटिलताका थुप्रै तहहरू हुन्छन् । अनि पहिलो प्रयासमा नै सबै ठीक सही हुनुपर्ने हुन्छ । अब यो मिलेन, अन्तरिक्षमा जान्छु र ठीक पारिहाल्छु भन्ने हुँदैन । यही कारणले पनि वेबको प्रक्षेपण हुन धेरै समय लागेको हो । किनभने हामीलाई शतप्रतिशत निश्चित हुनु थियो कि यसले शतप्रतिशत काम गर्छ भनेर, देयर इज नो गोइङ ब्याक ।

सिंगो टेलिस्कोपलाई अत्यन्तै ठूलो फ्रिजमा हालेर अन्तरिक्षमा जस्तै वातावरण सिमुलेट गर्नुपथ्र्याे । अनि हामी २४ घण्टै आफ्नो उपकरण माथि निगरानी राख्थ्यौं ।

फरक भाषा, फरक रहनसहन तथा फरक पृष्ठभूमिका विश्वभरका ठूलो वैज्ञानिक समूहमा रहेर काम गर्नुभयो । केही अविष्मरणीय पल छन् कि ?

यस टेलिस्कोपको समूहमा काम गर्न मलाई सधैँ नै रमाइलो लाग्यो अनि हामीसँग थुप्रै सम्झनाहरू छन् । हामीले क्रायो–भ्याकुम टेस्ट गर्नुपथ्र्यो । सिंगो टेलिस्कोपलाई अत्यन्तै ठूलो फ्रिजमा हालेर अन्तरिक्षमा जस्तै वातावरण सिमुलेट गर्नुपथ्र्याे । अनि हामी २४ घण्टै आफ्नो उपकरण माथि निगरानी राख्थ्यौं । यो नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टर र जन्सन स्पेस सेन्टरमा भएको थियो । टेस्टका बेला जहिले केही न केही रोचक घटना भइरहन्थे जस्तो कि गोडार्ड हुँदा ठूलो हिमपात भएको थियो भने जन्सनमा त खतरनाक सामुद्रिक आँधिकै सामना गर्नुपरेको थियो । र अरु थुप्रै पलहरू छन् आफ्नो समूहसँग । हाम्रो समूह एकदमै राम्रो छ र हामी एक–अर्कासँग काम गर्न मनपराउँछौँ ।

म जस्तै वैज्ञानिक बन्ने हो भने सबैभन्दा उत्तम उपाय तपाईं आफ्नो सपनाको पछि लाग्नुस् । जुन काममा आफू राम्रो हुनुहुन्छ, त्यो गर्नुस् अनि आफैँ सफल हुनुहुनेछ ।

मजस्ता थुप्रै युवा जमात छन् जो विज्ञान भनेपछि भुतुक्कै हुन्छन्, तपाईंबाट उत्प्रेरित छन् र तपाईंजस्तै वैज्ञानिक बन्न चाहन्छन् । केही सफलताको मन्त्र वा फर्मुला साट्न चाहनुहुन्छ ?

म जस्तै वैज्ञानिक बन्ने हो भने सबैभन्दा उत्तम उपाय तपाईं आफ्नो सपनाको पछि लाग्नुस् । जुन काममा आफू राम्रो हुनुहुन्छ, त्यो गर्नुस् अनि आफैँ सफल हुनुहुनेछ । तर, यदि तपाईंलाई जे मनपर्छ त्यो गर्न चाहनुहुन्छ भने तपाईंलाई साथ दिने राम्रो सहयोगीहरू जम्मा गर्नुहोस् । यो एकदमै महत्वपूर्ण कुरा हो । तपाईंलाई राम्रो बाटो देखाउने व्यक्ति खोज्नुहोस्, सोध्न नडराउनुहोस् । यस दौरान केही नराम्रा अनुभव रहे भने नआत्तिनुस्, तपाईंलाई मात्र होइन, सबैलाई हुने कुरा हो यो । जे मनपर्छ, त्यही काम गर्नुहोस् ।

नोट : यति पढिरहँदा तपाईंलाई जेम्स के हो, कत्रो छ, कहाँ छ आदि इत्यादि कुरा अझै खोतल्न अवश्य मन भयो होला । यसका निम्ति तपाईं नासाको वेबसाइटमा गएर ह्वेयर इज जेम्स वेब भनेर खोज्न सक्नुहुन्छ ।
https://webb.nasa.gov/content/webbLaunch/whereIsWebb.html

भिडियो :

यो पनि…
च्छो रोल्पासम्मको त्यो रोमाञ्चक यात्रा (भिडियो कथा)

सानुभाई बुद्धाचार्य : हाम्रो बा !



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested