बहिनी बस चलाउने, दिदी भाडा उठाउने

छोराछोरी गाडी नचलाउन भन्छन्, दिदी बहिनी मान्दैनन्


त्यति ठूलो गाडी कसरी चलाउँदा हुन् ? कसरी रोक्न सकिन्छ होला ? सानो छँदा यस्तै कौतूहल राख्थिन् कपिलवस्तुकी निमा सारु । उनको सपना थियो–साँच्चै ठूलो भएपछि गाडी कुदाउने ।

सीप भए जुनसुकै पेसाबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन् । अनि उनलाई सहचालक बनेर सघाइरहेकी छन् सहोदर दिदी शान्ता मल्लले । बुटवल–कृष्णनगर रुटमा सार्वजनिक बस चलाउने निमा आफू सबैका लागि उदाहरण बनेको बताउँछिन् ।

हरेक दिन बुटवलको अस्पताल लाइन र पुरानो बसपार्कमा लु१ज २८१२ नम्बरको सारू ट्राभल्स गाडी रोकेर निमा र शान्ता यात्रु खोजिरहेका भेटिन्छन् । निमा गाडीको चालक सिटबाट यात्रुतर्फ आँखा डुलाउँछिन् भने शान्ताले यात्रुहरूलाई आग्रह र अनुरोध गर्दै आफ्नो बसतिर तान्ने प्रयास गरिरहेकी हुन्छिन् । वरिपरि हेर्ने मान्छेहरू भने अचम्म मानिरहेका हुन्छन् ।

गाडीका ‘स्टाफ’ हुन् भन्ने थाहा नपाएर होला कहाँ जाने हो भनेर सोध्दा यात्रुले किन भनेर समेत भन्छन्, सुरुसुरुमा कोही त महिला चालक र सहचालक देखेपछि सिटमा बसिसकेका यात्रु पनि झर्ने गरे तर अहिले चिनेका मानिस खोजिखोजी हाम्रै गाडीमा आउँछन् ।

निमा र शान्ता सहोदर दिदीबहिनी हुन् । कपिलवस्तु वाणंगगा नगरपालिका–८ का यी दिदीबहिनीले यात्रुलाई सेवा दिन थालेको आठ वर्ष बित्यो । ‘गाडीका ‘स्टाफ’ हुन् भन्ने थाहा नपाएर होला कहाँ जाने हो भनेर सोध्दा यात्रुले किन भनेर समेत भन्छन्,’निमा भन्छिन्, ‘सुरुसुरुमा कोही त महिला चालक र सहचालक देखेपछि सिटमा बसिसकेका यात्रु पनि झर्ने गरे तर अहिले चिनेका मानिस खोजिखोजी हाम्रै गाडीमा आउँछन् ।’

प्रायः पुरुषले गर्ने काम चालक र सहचालकमा महिलालाई देख्दा मानिसहरू छक्क पर्नु स्वाभाविक नै मान्छिन् निमा । निमाले बसको ‘स्टेरिङ’ घुमाएको यात्रु हेरिरहन्छन् ।

२०५३ मा तत्कालीन प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण भएपछि घर परिवारले वाणगंगाका धनबहादुर सारूसँग निमाको विवाह गरिदिए । १६ वर्षको उमेरमै बिहेपछि केही वर्ष बालबच्चा हुर्काउँदैमा उनको समय बित्यो । त्यसपछि उनले गाउँको एउटा सहकारीमा ‘क्यासियर’ का रूपमा काम गर्न थालिन् । त्यसका लागि उनले स्कुटर चढेर जानुपर्ने भयो ।

स्कुटर लाइसेन्स अनिवार्य भयो उनलाई । २०७० मा लाइसेन्स निकालिन् । गाडी चलाउने सपना त मनमा छँदै थियो । २०७१ मा बुटवलको एक इन्स्टिच्युटबाट गाडीको लाइसेन्सका लागि आवेदन फारम खुलेको थाहा पाइन् । सवारीचालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिएपछि गाडी चलाउन सिक्न थालिन् । लाइसेन्स ट्रायल परीक्षा पास गरेपछि पहिलो पटकमै गाडीको लाइसेन्स निस्कियो । त्यसपछि गाडी हाँक्ने उनको हौसला बढ्दै गयो ।

मेरो श्रीमानले प्रोत्साहन र समय दुवै दिनुभयो । गाडी किनिदिनुभयो । त्यसैले म आज सार्वजनिक गाडीको चालक हुन सफल भएँ ।

उनले पति धनबहादुरलाई भनिन्, ‘अब मैले गाडी चलाउन गाडी किन्नुपर्यो ।’ पतिले सहजै स्वीकार गरे । २०७२ वैशाखमा गाडी (विङ्गर) किनियो । सुरुमा घरबाट राजमार्गसम्म गाडी लगिन् उनले । तर राजमार्गमा चलाउन डराइन् । चालक जागृत श्रेष्ठलाई राखेर आफू सहचालक भइन् । चालकको पूर्ण विश्वास नहुने, घर गए आउने ठेगान नहुने हुँदा उनलाई हैरानी पनि भयो । चालकलाई तलब दिनुभन्दा आफूले गाडी चलाउने र दिदीलाई सहचालक बनाएर अगाडि बढ्न थालिन् । त्यसपछि सुरु भएको हो दिदीबहिनीको गाडी यात्रा ।

पतिको साथ र समर्थनले नै आफू बस चालक बन्न सफल भएको निमा बताउँछिन् । ‘मेरो श्रीमानले प्रोत्साहन र समय दुवै दिनुभयो । गाडी किनिदिनुभयो । त्यसैले म आज सार्वजनिक गाडीको चालक हुन सफल भएँ,’ निमाले भनिन् । निमाका पति धनबहादुर बिजुलीका काम गर्छन् ।

के थाहा लेखेको के रहेछ, आखिर हामी दिदीबहिनी गाडी लाइनमा आउँछौं भन्ने ।

दिदीबहिनी बिहानदेखि रातिसम्म सडकमै हुन्छन् । साँझ ८–९ बजेसम्म उनीहरू सडकमै हुन्छन् । दैनिक निश्चित रुटमा कम्तीमा तीन ट्रिप चलाउनुपर्छ तर रुट कहिले कहाँ, कहिले कहाँ ?

अर्घाखाँचीबाट शान्ताको परिवार पनि निमाको नजिकै बसाइसराइ गरी आएको हो । उनीहरूको मूल घर (जन्म) अर्घाखाँचीको छत्रदेव केरुङ्गामा हो । शान्ताका पति रोजगारीको सिलसिलामा भारतमा छन् । बहिनीको प्रस्तावमा दिदी शान्ताले पनि साथ दिइन् । अहिले बहिनी गाडीमा लोकदोहोरी गीत घन्काउँदै गाडी कुदाउँछिन्, दिदी भाडा उठाउँछिन् । ‘के थाहा लेखेको के रहेछ, आखिर हामी दिदीबहिनी गाडी लाइनमा आउँछौं भन्ने,’ शान्ता भन्छिन् ।

काममा लाग्नुपर्छ, अघि बढ्नुपर्छ भन्ने कुरा सधैँ भित्री मनमा बहिनीको थियो, अहिले आएर मलाई पनि यसैमा जोड्न सफल भइन् ।

बहिनी निमाको इच्छाशक्ति, कामप्रति रुचि र प्रतिबद्धताले नै पुरुष दबदबा रहेको यातायात क्षेत्रमा चुनौतीको सामना गर्दै सफल भएको शान्ताको भनाइ छ । ‘काममा लाग्नुपर्छ, अघि बढ्नुपर्छ भन्ने कुरा सधैँ भित्री मनमा बहिनीको थियो,’ शान्ता भन्छिन्,‘अहिले आएर मलाई पनि यसैमा जोड्न सफल भइन् ।’

आफ्नो मेहनत, परिश्रमले दिदीबहिनीले फड्को मारेका छन् । निमा उमेरले ४१ वर्ष र शान्ता ४२ वर्षकी भइन् । आफ्नो पेसाप्रति दिदीबहिनी पूर्ण सन्तुष्ट छन् । ‘महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् भनेर देखाउन पाउँदा आफूलाई गर्व लाग्छ,’ निमा भन्छिन् ।

तेल महंगो भएको छ । खर्च धेरै छ, मर्मत सम्भारमा पनि खर्च धेरै लाग्न थाल्यो, सबै खर्च कटाएर दैनिक ४५ सयदेखि पाँच हजार रूपैयाँसम्म बचत हुन्छ ।

अहिले गाडीबाट सबै खर्च कटाएर निमाको मासिक एक लाख रुपियाँभन्दा बढी कमाइ हुन्छ । ‘तेल महंगो भएको छ । खर्च धेरै छ, मर्मत सम्भारमा पनि खर्च धेरै लाग्न थाल्यो, सबै खर्च कटाएर दैनिक ४५ सयदेखि पाँच हजार रूपैयाँसम्म बचत हुन्छ,’ उनले भनिन् ।

पहिलो कोरोना महामारी आउनुभन्दा अगाडि नै निमाले गाडीको किस्ता तिरिसकेकी थिइन् । ‘धन्न कोरोना अगाडि गाडीको किस्ता तिरेर सकिएको थियो । एक वर्ष गाडी थन्किँदा के हुन्थ्यो होला हालत ?,’ निमाले विगतमा यातायात क्षेत्रले भोगेको समस्या सम्झिइन् ।

निमाका दुई छोरी र एक छोरा छन् । ठूलो छोरी २४ वर्षकी भइन् । छोरा १७ वर्षका भए । निमालाई छोराछोरीले गाडी नचलाउन सुझाव दिन्छन् तर निमा आफूले सक्ने उमेरसम्म गाडी लाइनमै काम गर्ने सोचमा छिन् ।

रिजर्भमा जाने हो भनेर फोन गर्छन् । कहिले सुपादेउराली, कहिले सौराहा त कहिले दाङ–घोराही हुँदै बर्दियासम्म पनि पुगेकी छु ।

‘मैले गाडी चलाउँदा छोराछोरीलाई लाज भयो रे त्यहीँ भन्छन् तर मैले सक्ने उमेरसम्म गाडी चलाउने हो,’ उनले हौसलाका साथ भनिन् । महिला चालकको रूपमा बुटवल यातायात प्रालिले निमालाई सम्मान समेत गरेको छ ।

निमाले राम्रो गाडी चलाउँछिन् भन्ने सुनेपछि आजभोलि गाडीको ‘क्यू’ बाहिरको समयमा पनि उनी रिजर्भमा टाढा–टाढासम्म पुग्छिन् । ‘रिजर्भमा जाने हो भनेर फोन गर्छन् । कहिले सुपादेउराली, कहिले सौराहा त कहिले दाङ–घोराही हुँदै बर्दियासम्म पनि पुगेकी छु,’ उनले भनिन् ।

यो पनि…
साझा बसकी हर्मिता भन्छिन्– ‘नेपालमा महिला चालकको सम्मान छैन’ (भिडियोसहित)
काठमाडौँमा साझाका विद्युतीय बस सरर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

भदौ २६ गतेका लागि तय भएको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार भएको छ । ११०औँ बीपी जयन्तीका अवसरमा यही