पुनःनिर्माणको आशमा हुलाक प्रशिक्षण केन्द्र



सरकारी भवन बनाउने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको हुलाक प्रशिक्षण केन्द्रको भूकम्पले क्षतिग्रस्त भवन वर्षौंदेखि पुनःनिर्माण हुन सकेको छैन ।

भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघिदेखि नै जीर्ण बनिसकेको थियो । भूकम्पपछि त भवनका धेरै संरचना क्षत्विक्षत भएका छन् । भूकम्पले पूर्णरुपमा क्षति पुगेको भवन कोरोना महामारी अघि नै बनाउने तयारी भएको थियो । तर महामारीका कारण केन्द्रको भवन निर्माण सरकारको प्राथमिकतामा पर्न सकेन । भवन भूकम्पले क्षतिग्रस्त भएपछि हाल कार्यालय परिसरमा प्रि–फ्याबको संरचना निर्माण गरेर काम चलाइएको केन्द्रका मुख्य प्रशिक्षक सविता कार्की बताउछिन् ।

भूकम्पले भत्किएका संरचनाको पुनः निर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ वर्षे कार्यकालमासमेत केन्द्रको भवन प्राथमिकतामा पर्न सकेन । प्राधिकरणले गत पुसमै छवर्षे कार्यकाल पूरा गरी विघटन भइसकेको छ । प्राधिकरण विघटन भएपछि यस्ता भवनको निर्माण गर्ने जिम्मेवारी पाएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) पनि सँगै जोडिएको विभाग परिसरमै रहेको छ । तर पनि अझै केन्द्रको क्षतिग्रस्त भवन बन्ने/नबन्ने निश्चित छैन ।

केन्द्रको जग्गालाई नेपाल प्रहरीलगायत विभिन्न निकायले माग गरेका कारण पनि भवन पुनःनिर्माणमा ढिलाइ भएको बताइएको छ । सिंहदरबारअघि बबरमहलको मुख्य सडकमा चार रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा अन्य सरकारी निकायले पनि माग गरेका कारण पनि सरकारले बजेट विनियोजनमा ढिलाइ गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतकै नेपाल दूरसञ्चार प्राधिकरणले पनि यो जग्गा माग गरेको केन्द्रका प्रशिक्षक प्रदीपमणि शर्मा चौँलागाईंले बताए ।

भवन निर्माणका लागि राष्ट्रिय योजना आयोगको आयोजना बैंकसँग ६९ करोड रुपैयाँ माग गरिएको छ । आयोगको प्रक्रिया पूरा गरी बजेट मागको कागजात अर्थ मन्त्रालय जाने क्रममा रहेको जनाइएको छ । भूमिगत पार्किङसहित सात तले भवनका लागि माटो परीक्षण र ड्रइङ, डिजाइनको काम पनि सकिएको छ । आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा यो भवन निर्माणले प्राथमिकता पाउने आशमा यहाँ कार्यरत कर्मचारी रहेका छन् ।

केन्द्रले हुलाक सेवामा रहेका स्थायी कर्मचारीलाई सेवाकालीन तालीम दिन्छ । केन्द्रका लागि विसं २०२२ मा बबरशम्शेर राणासँग बबरमहलको चार रोपनी १२ आना जग्गा किनिएको हो । जग्गासँगै रहेको राणाकालीन भवनमा केन्द्र सञ्चालन हुँदै आएको छ । १०० वर्षभन्दा पुरानो भवन भएकाले यस विषयमा पुरातत्व विभागले पनि अध्ययन गरेर पुनःनिर्माणको अनुमति दिएको केन्द्रले जनाएको छ ।

राणाकालीन यो दरबार ‘एनइओ क्लासिकल’ प्रकारको हो । अब बन्दा भने यस्तै भवन नबन्ने सहरी विकास तथा भवन निर्माण विभागकी इञ्जिनीयर निशा केसीले बताइन् । अब भने यो भवन आधुनिक र ‘न्यू क्लासिकल’ स्वरुपमा बन्ने गरी डिजाइन गरिएको उनले सुनाइन् ।

प्रशिक्षण केन्द्र भवनको ऐतिहासिकता

पुरानो भवन कहिले बनेको भन्ने स्पष्ट नभए पनि भत्किएका इँटामा विसं १९८० लेखिएको भेटिएको केन्द्रकी पूर्वमुख्य प्रशिक्षक सीता रेग्मीले जानकारी दिइन् । विसं २०१९ मङ्सिर १ गते स्थापना भएको केन्द्र सुरुमा कमलपोखरीमा भाडाको घरमा बसेको थियो ।

राणाकालमा चन्द्रशम्शेरले घोडा तबेलाका रुपमा प्रयोग गरेको यो भवनमा विसं २०२२ फागुन ९ गतेदेखि प्रशिक्षण केन्द्र सञ्चालन भएको हो । २०७२ साल वैशाख १२ गतेको भूकम्प अघि नै भवन जीर्ण भई बनाउने प्रस्ताव केन्द्रले गरेको थियो । २०७० सालमा नयाँ भवन बनाउन माटो परीक्षणसमेत भएको थियो ।

भूकम्पले पूर्णरुपमा क्षति भएको सात वर्ष बित्दा पनि भवन बनाउन कसैको ध्यान जान सकेन । प्रशिक्षार्थीका लागि कम्प्युटर प्रयोगशालासहित पुस्तकालयसमेत रहेको तीनतले १५ कोठे भवन जीर्ण भएपछि हाल केन्द्र प्रि–फ्याब भवनमा सञ्चालन भइरहेको छ । भूकम्पले भवन पूर्णरुपमा क्षति भएपछि अस्थायी भवनमा कार्यालय सञ्चालन गर्न बाध्य हुनुपरेको मुख्य प्रशिक्षक कार्कीले बताइन् ।

भवनमा स्थान अभावका कारण हुलाक र समसामयिक विषयका महत्वपूर्ण पुस्तक रहेको पुस्तकालय बन्द छ । सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको भए पनि जीर्ण भएको दशकौँसम्म यो भवन बन्न सकेको छैन । सेवाग्राही नजाने, हुलाकमा कार्यरत कर्मचारी तालिम लिने प्रयोजनका लागि मात्र छिर्ने भएकाले यसप्रति कसैको चासो नगएको हो ।

केन्द्रको भवन बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने प्राथमिकताका साथ काम अघि बढाएको छ । भवन निर्माण भएपछि यसलाई बहु सेवा केन्द्रका रुपमा सञ्चालन गर्ने सोच मन्त्रालयले बनाएको छ । हुलाक सेवा विभाग, सूचना प्रविधि विभागलगायत कार्यालय नयाँ बन्ने भवनमा रहनेबारेमा हाल छलफल चलिरहेको जनाइएको छ ।

यो पनि…
कछुवा शैलीमा हुलाकी राजमार्ग
देशको सपना हुँदैछ साकार



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

जति यौन चाहना बढी भयो उति नै बढी योनीबाट तरल पदार्थ प्रवाह हुन्छ । तर, यौन इच्छा भएन भने महिलाको

काठमाडौंमा एउटा निश्चित समुदायले मधेसी सुमदायका ब्यक्तिलाई ‘मनु मखु मर्स्या ख:’ (मान्छे होइन, मधेसी हो) भन्छन् भन्ने जुन भाष्य सिर्जना

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४

१८ वटा स्थानीय तह रहेको रौतहटमा १६ स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा कांग्रेसले ६, नेकपा(एस)ले चार, एमालेले

Suggested