English

तराई झुम्यो होली रङमा



‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?
कौन तालपर गोरिया नाचे कौन तालपर हम ?
जोगिरा सर..र…र…!’

मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरूबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने गर्ने गर्छ । होली पर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीत बिनाको होलीको परिकल्पना नै गर्न सकिँदैन ।

तर, पछिल्लो समय होलीको पौराणिकता विस्तारै हराउँदै गएको छ । पहिलेजस्तो होलीमा कथा, व्यथा तथा व्यङ्ग्यात्मक गीत सुन्न विरलै पाइन्छ । ‘मृदङ्ग, ढोलसँगै डम्फुको स्वर पनि हराउन थालिसक्यो’, जनकपुरधामका कैलाशप्रसाद महतोेले भने, ‘होलीको तर्क, दर्शनलाई गम्भीरतापूर्वक नलिइएकाले अबको सहरमुखी होलीले मौलिकता हराउँदै गएको छ ।’

उहिले गीत गाएरै फागु आएको सङ्केत गरिन्थ्यो, अहिले त न ढोल बज्छन्, न त मृदङ्ग नै । फागु गीत नै गुञ्जिदैनन् ।

फागुका बेला यस्ता गीतले सारा गाउँघर गुञ्जाएका हुन्थ्यो, तर अहिले गीत, ढोल, मृदङ्ग र डम्फूको स्वर विरलै सुन्न पाइने गरेको उनको भनाइ छ । ‘वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकामा खल्लो लाग्छ’, उनले भने, ‘उहिले गीत गाएरै फागु आएको सङ्केत गरिन्थ्यो, अहिले त न ढोल बज्छन्, न त मृदङ्ग नै । फागु गीत नै गुञ्जिदैनन् ।’

पहिले पहिले त गाउँको बीचमा रहेको ब्रह्मस्थानमा गाउँका सबै बसेर रातिसम्म जोगिरा गाइने गरेको बताउँदै उनले जोगिरा नसुनेको पनि झन्डै सात वर्ष भइसकेको बताए । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै, माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावका कारण लोप हुँदै गएको हो । होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ ।

होलीपर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीतविनाको होलीको परिकल्पना नै गर्न सकिँदैन । भनिन्छ होलीपर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो ।

मिथिलाञ्चलमा गाइने यसप्रकारको जोगिराले होली पर्व खेल्नेबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने संस्कृतिविद् किशोरी साहले बताए । उनले भने, ‘होलीपर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीतविनाको होलीको परिकल्पना नै गर्न सकिँदैन । भनिन्छ होलीपर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो ।’

क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर ७२ वर्षीय रामसागर ठाकुर सम्झिन्छन्–‘मेरा समूहका धेरै साथीको मृत्यु भइसक्योे, कोही बुढा भएर थलिएका छन्, अझै गाउने त रस छ, तर साथ दिने कोही छैनन् ।’ मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको बताउँदै ठाकुरले आफ्नै शैलीमा जोगिरा सुनाए –

‘किनका के हाथ कनकपिचकारी,
किनका के हाथ अबिर झोरी ?
रामजी के हाथमें कनकपिचकारी,
सियाजी के हाथअबिर झोरी १
जोगिरा…सररर..!’

‘कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमा अबिरको झोला ? रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमा अबिरको झोला’ पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा अब मिथिलाञ्चलमा सुनिन छाडेका छन् ।

होलिया ‘फागु गीत गाउने गायक’ का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आऊँआऊँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलिया बताउँछन् ।

सामाजिक सद्भाव र समानताको सन्देश

सामाजिक छुवाछूत, जातपात र भिन्नभिन्न धर्म संस्कृतिप्रति परहेज गर्ने पनि एक अर्काेलाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ ।

यसको सौन्दर्यको महत्वपूर्ण अङ्ग जोगिरा लोप हुँदै गएर अब ‘डिजे’ बज्न थालेपछि मैथिली मौलिकता हराउँदै गएको नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले चिन्ता व्यक्त गरे ।

ख्यालठट्टा गरिने नाताबीचका नवयौवना मात्र नभई होलियाबीच नै ठट्टा गर्ने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन । मिथिलाञ्चलमा वसन्तपञ्चमीदेखि होलीगीत ‘जोगिरा’ सुरू भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भङ्गाहा नगरपालिका–९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबिर खेलेपछि होलीपर्व मनाउन थालिने परम्परा छ । त्रेतायुगमा भगवान् र सीताले यहाँ होली खेलेको धार्मिक विश्वास रहिआएको छ ।

अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यता पूर्णतामा पुगेको छ । भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखा परेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ ।

अधिकांश युवा कामका लागि खाडी मुलुक गएकाले होली गीत हराउँदै गएको बताउँदै धनुषाधाम नगरपालिका पर्वताका अमरलाल कर्णले भने ‘अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यता पूर्णतामा पुगेको छ । भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखा परेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ ।’

धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भए पनि होलीको रौनकता नै हराएर गएको छ । फागुपर्व सबै जातजातिले प्रेम र सद्भावका साथ मनाउँदै आइरहेका छन् । पहिलेका होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो । अब उच्छृङ्खल गीतका सिडी चक्का बजारमा बढी पाउन थालिएको छ । यस्तो गीतमा अश्लील शब्द बढी भएको सखुवा बजारका रामकृपाल जयसवालकोे भनाइ छ ।

मिथिलाको शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्धरूपमा ग्रामीण होलीको महत्व, त्यस भेगको माटाको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडीको भनाइ छ । पौराणिक होली गीतमा विषयवासना, प्रेमालाप, सीताराम र शिवपार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो । अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलता जस्ता गीतले कब्जा जमाउन थालेकाले यसको माधुर्य समाप्त हुँदै गएको उनले बताए ।

गाउँघरमा आजभोलि होलीका साँस्कृतिक गीतको साटो भोजपुरी र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेको छ । वसन्तऋतुको आगमन सँगसँगै वसन्तोत्सव पर्वकारूपमा मनाइने होली पर्वका अवसरमा गाइने जोगिरा लोप हुन थालेकाले यसको संरक्षणतर्फ मिथिला क्षेत्रमा काम गर्ने सङ्घसंस्था अगाडि आउनुपर्ने अर्का संस्कृतिविद् रमापति चौधरीले बताए । होली यस्तो हुनुपर्छ जसमा महिला तथा पुरूष निर्धक्क भएर बाहिर निस्कन सकून् । होलीलाई एउटा यस्तो आदर्श बनाउनुपर्छ कि देश र दुनियाँले होली खेलोस् त मिथिलावासी जस्तो ।

तराई–मधेस क्षेत्रमा होली पर्वमा गाइने जोगिरा गीतको संरक्षणका लागि पछिल्लो केही वर्षदेखि जनकपुरधामस्थित मिथिला नाट्य कलापरिषद् (मिनाप)ले गाउँ–गाउँबाट होलियालाई झिकाएर जोगिरा प्रतियोगिता गराउने गरेको छ ।

यस्तो छ होलीको पौराणिक कथा

पौराणिक कथाअनुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजा भएकाले आफूलाई देवताभन्दा ठूलो हुँ भन्ने घमण्ड गर्थे । उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए । हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णु भक्तिबाट अलग गराउन होलिकासँगै आगोमा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन ।

सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फागुण शुक्ल पूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढाइँ गर्ने चलन रहिआएको छ ।

होलीमा सुन्न छाडियो मौलिक गीत जोगिरा

भैरहवासहित तराई क्षेत्रको होलीमा अहिले डिजे, भोजपुरी तथा अश्लील गीतहरू गुन्जिरहेका छन् । पुस्तानन्तरण अभाव र युवाहरूले देखासिकीले होलीको मौलिक गीतहरू हराउँदै गएका छन् । होलीको मुख्य गीतको रूपमा रहेको जोगिरा लोप हुने अवस्थामा छ । गाउनेको संख्या न्यून भएको र नयाँले यसमा चासो नदिएकाले लोप हुने अवस्थामा पुगेको हो । मृदङ्ग, मजिरा, करताल, हारमोनियम र डफला (एक प्रकारको डम्फु) का तालमा सुनिने जोगिरा गीत अहिले कतै कतै मात्र सुन्न पाइन्छ ।

रङ र अबिरमा मात्र सीमित रहेको होली मुख्यतः आपसी सद्भाव, भ्रातृत्व र उमंगको प्रतीकको पर्व हो । यो पर्वले सामाजिक छुवाछूत, जातीय भेदभाव, व्यक्तिगत रिसराग बिर्सिएर भातृत्व भाव र समानताको सन्देश दिन पनि मनाइन्छ । होलीमा फगुवा गीत गाउने, सम्मवत जलाउने, गाउँभरिको घरघरमा गएर एक आपसमा रंग दल्ने, मिलन गर्ने, मटका फोड्नेलगायतको गतिविधि होलीको दिन वर्षको एकपटक देखिन्थ्यो । तर यस वर्ष यी दृश्यहरू नदेखिएको स्थानीय शिवप्रसादले बताए ।

जोगिरा भनेको स्थानीय संस्कृतिलाई संरक्षण गर्न र गीतद्वारा आफ्ना दुःखसुख व्यक्त गर्ने एक ठाउँ हो । अहिलेको पुस्ताले यसलाई बिर्सिदै गएको छ । यसको संरक्षणमा हामी आफै लाग्नुपर्छ ।

जोगिरा लोप हुँदै गएको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपलिकाले होली मिलन समारोह गरेर संस्कृतिको संरक्षण गर्ने प्रयास गरेको छ । नगरपालिकाले कर्मचारी, स्थानीय, जनप्रतिनिधि, संघसंस्थाको प्रतिनिधित्व, नगरवासीको उपस्थिति गराएर लोपन्मुख जोगिरासहित होलीको इतिहासलाई सम्झाएको छ । ‘जोगिरा भनेको स्थानीय संस्कृतिलाई संरक्षण गर्न र गीतद्वारा आफ्ना दुःखसुख व्यक्त गर्ने एक ठाउँ हो । अहिलेको पुस्ताले यसलाई बिर्सिदै गएको छ । यसको संरक्षणमा हामी आफै लाग्नुपर्छ,’ स्थानीय वीरेन्द्र मिश्राले भने ।

लुम्बिनी सांस्कृतिक विरहा समूहले लुम्बिनीमा जोगिरा गाए पनि रुपन्देहीको अन्य क्षेत्रमा यसबारे जानकारीसमेत छैन । ‘विशुद्ध रूपमा ग्रामीण होलीको महत्वसहित गाइने गीतको रक्षा गर्नुपर्छ हामीले अन्य समयमा विरहा गाएपनि स्मरणका लागि यस वर्ष जोगिरा गाएको यसलाई संरक्षण गर्न सबै पक्ष लाग्नु पर्छ,’ समूहका गायक राधेश्याम पालले भने । जोगिरा गीतको संरक्षण एवं स्थानीय भाषा र संस्कृतिको रक्षाका लागि लुम्बिनी सांस्कृतिक विरहा समूह पनि लागेको छ ।

यो पनि…
करिश्मा निवासमा होली : रङमा मस्त मगन (भिडियो पनि)

होलीले जोड्छ फरक–फरक समुदायलाई



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली