प्रेमकथा : लभ, समान–अन्तर



दुनियाँ के बुज्छ थाहा छैन । तर, मैले बुझेको ‘प्रेम’ तीन अक्षरले बनेको छ । त्यसैले त सबैसँग प्रेम गर्छु । समान अन्तरमा प्रेम गर्छु । म टुट्दिनँ हैन तिमीहरू जस्तै टुट्छु तर के छ भने मसँग भएको प्रेम कहिल्यै रित्तिनेवाला छैन । अथाहा भण्डार छ मरे पनि रित्तो हुने छैन किन थाहा छ ? किनकि, आउँदो पुस्ताले यही उदाहरण जो दिनेछन् । ‘प्’ ‘र्’ ‘ए’ ‘म’ अर्थात् प्रेम । यो त केवल परको र मको सम्बन्ध जोड्ने एउटा अश्त्र हो ।
‘युद्धपछि अश्त्रमा धार लगाउने काम हुन्छ अनि तेरो अश्त्रमा नि ?’ मस्तिष्कले मुटुलाई प्रश्न गर्यो । सुन्दा सजिलो भए पनि उत्तर दिन निकै गाह्रो कुरा हो यो । त्यसैले, यसलाई रहस्यता नआउन्जेलका लागि निरुत्तर राख्ने निर्णय गरेँ । सोच्दै सोचिनँ ।

जिन्दगीको गति लाइट र साउन्डको जति छैन । तर, तपाईंको हातबाट छुटेको जिन्दगी कति चाँडो विलय हुन्छ पत्तै हुन्न । जसरी सल्काएको चुरोट तान्नु वा नतान्नुले फरक पर्दैन सकिन्छ नै, त्यसैगरी जिन्दगी पनि एउटा बिन्दुमा फुलस्टप लाग्छ । आत्मा ‘अजर–अमर छ’ भनिन्छ, तर शरीरपछिको आत्मा देखिँदैन । ब्ल्याकहोलमा जसरी उज्यालो हराउँछ बिल्कुल त्यसैगरी जिन्दगी हराउँछ ।


मगजमा शब्दहरू कित्लीको ढक्कन छेड्न तछाडमछाड गरिरहेका बाफजस्तै नाचिरहेका छन् । बेतालको नृत्य देख्दा कहिलेकाहीँ आफैंलाई पनि दिक्क लाग्छ तर मेरो अरू के नै पो छ र ? कहिलेकाहीँ कागजमा मसीको आकार समाएर पोतिएका पनि छन् तर एतिबेला खै किन हो अल्पविराम लागेको छ मेरो लेखनयात्रामा । शब्दहरू सरदको चिस्यानले जमेर बरफ बनेका छन् । बेतुकका कुरा पाक्ने हाँडी अर्थात् मगज सेलाएको छ । छन् त मगजमा थुप्रै छन् लामबद्ध लकअप कथाहरू । र सँगै लकडाउनका कथाहरू खात लाग्दैछन् । छैनन् त केवल ‘लभ जर्नी ।’ ‘द जर्नी होल वल्र्ड फिल्स इट फ्रम द बटम अफ देयर हार्ट । बट इन माई केस इट्स लाइक टक्ला । नो केस इन माइ हेड । चिन्डु केटो म ।’
त्यसोभए तँ आज लेख ।’

सदाझैं सरकारी मास्टरकोझैं गरेर हाजिर लगाइहाली जिन्दगीको सबैभन्दा ठूलो रहस्यले । पहिलो कुरा मलाई लेख्नबाहेक केही आउँदैन । ‘अनि लेख्न आउँछ ?’ मस्तिष्कले मनसँग प्रश्न गर्छु । त्यो पनि त कहाँ आउँछ र मनले उत्तर दिन्छ दक्षिण फर्किएर ।

लेख्न आउँथ्यो भने त मेरो फिभर पनि नगरकोटी बराबर हुनेथियो । ‘अ फिभर अफ ननसेन्स स्टोरी अफ टक्ला गाई हु ह्याब लट्स अफ हेयर इन हिज हेड ।’ ह्याङओभरको केश न डढ्छ न झर्छ नै । तर म आफैं सोही फिभरले ग्रस्त छु त्यसैले होला मेरा शब्दहरूले आजसम्म पारासिटामोलको काम नगरेको ।कोही पनि आजसम्म मलाई पढेर निका हुन सकेका छैनन् । खैर केही गुनासो छैन किनकि म जडिबुटी जस्तै हुँ बिस्तारै असर देखाउँछु तर जब असर देखिन थाल्छ दिगो हुनेछ । मलाई विश्वास छ । मलाई विश्वास म भन्दा बढी तपाईंमा छ ।

तपाईंको पठन जबसम्म छ म कलम भाँचिरहन्छु । म आफूलाई भन्दा धेर मलाई माया गर्नेहरूलाई यो कुरामा विश्वास छ । मप्रतिको विश्वासले नै एउटा फिभर जन्माएको छ । त्यही फिभर हो रहस्यता । मेरी जन्मिन नसकेकी प्यारी बहिनी ।

‘तेरो विश्वासको अचार लगाउने हो र ? धेरै भयो तैंले आराम गरेको आज त तैंले केही लेख्नै पर्छ । मेरो लागि । तेरो लागि । तँलाई पर्खिरहने सबैका लागि ।’

ठीक छ म लेख्छु तर के लेख्ने होला ?’
‘लभ स्टोरी लेख्न ।’

‘लभ लेखौँला । तँ सिकाउँदै गर म लेख्दै गर्छु । बरु भन तँ यतिका दिन कहाँ हराइस् ? ’

‘तेरो नगरमा लकडाउन छ अनि मेरो लक पनि डाउन छ ।’

‘मतलब ?’

उ मेरो प्रश्नको जवाफै नदिई रहस्य बनी, अलप भई । आफ्नो नामजस्तै ।

रै भएको थियो मैले रहस्यतासँग रहस्यमय कुरा नगरेको वा यसलाई यसरी भनौं धेरै भएको थियो म रोगले आजित नभएको । हो मेरो नगरमा लकडाउन छ तर उसलाई आउन कसले रोकेको छ ? लकडाउनमा बाटो रोक्न बसेका प्रहरिले उसलाई देख्न सक्दैन । देख्न सक्दैनन् भन्नुको मतलब खेदो खन्छन् , हात खुट्टा धोएरै पछि लाग्छन् , भाटा हिर्काउँछन् भनेको हैन । ‘एक्चुअल्ली दे क्यान नट सि माई सिस्टर । नो वान क्यान सी हर ।’

उसको लक नै डाउन छ भन्ने कुरा म कसरी मानौं ? गायब फिलिमको तुसार कपुरजस्तै छे उ । उ भएर पनि छैन । यस्तो सौभाग्यसाली मान्छेको लक कसरी डाउन हुनसक्छ ? रहस्यता के भन्न चाहँदैछे ? के भगवान् पनि उसको र मेरो भेटलाई लिएर कुनै कारबाहीमा उत्रिएको छ ? कतै उ किस्मतको कुरा त गरिरहेकी छैन ? किस्मत भरियाको नाम्लोजस्तै छ । थोरै खुसीको लागि पनि भरियाको जस्तै टन्नै बोक्न सक्ने उसको किस्मत छ । त्यही किस्मत पनि मेरो पोल्टामा भरेर संसारले बोल्ने भाग्यको कुरा त गरिरहेकी छैन ?

‘तैंले ठीक सोचिस् म भाग्यको कुरा गर्दैछु ।’

उसको जादुमय उपस्थितिले हरेक चोटि मलाई केही न केही खुराक दिन्छ तर आज पहिलोपटक केही नदिने पक्का छ । जुन भाग्यको उ कुरा गर्दैछे त्यो मेरो भागमा कहिल्यै परेन । कसरी परोस् मिडिल क्लास फ्यामिली जो छ । र मेरो भागमा त्यो भाग्य हुन्थ्यो भने उसले यसरी आइरहन पर्दैनथ्यो । उ यहीँ हुन्थी । उसको कन्यादान मैले गर्नेथिएँ ।

मेरो भाग्य लेख्ने दिनमा उसको भ्रूण तयार भइसकेको थिएन तर जब उसको भाग्य लेखिने समय भयो म उसलाई भुलेर ‘ताते ताते’ गर्दै हिँड्दै थिएँ । बाबाको हात समाएर । हैन हैन खाटको खुट्टा समाएर । म हिँडडुल गर्न नमिल्ने गरी बाँधिनेबेला भएको थियो । त्यसैले, सायद भाग्य कैद भयो त्यही पलबाट । ऊ जन्मिएकी भए सायद मेरो भाग्य पनि जन्मन्थ्यो होला । भनिन्छ नि छोरी घरको भाग्य हो । बहिनी दाइको भाग्य कसो हुने थिइन र ? उसले आफू नजन्मिएर मेरो भाग्य पनि लिएर गई उतै जहाँ उ बस्छे अरूहरूसँग । देवताहरूसँग ।

‘उपर दुनियाँमा सबको भाग्य डाउन छ । बरु स्वर्ग त त्यो हो जहाँ तिमीहरू छौ । यहाँ त तिमिहरूको घर छ । हामीले त त्यहाँ मौज्दात चुकाउनुपर्छ ’

जहाँ रोग र भोकले एकसाथ दुःखदायी किला ठोक्छ । खोलाको बगरमा दुखियाले मजदुरीको आसमा बडेमानको ढुङ्गा फुटाउन हतौडा हिर्काए जस्तैगरि । जहाँ घाँस काट्दा हात काट्छ । जहाँ हलो चलाउँदा फाली गाडिन्छ अनि पैताला छिया–छिया हुन्छ । जहाँ मृत्यु पनि किन्नुपर्छ, जिन्दगी पनि किन्नुपर्छ र चिता पनि किन्नुपर्छ । त्यहाँ स्वर्ग कसरी हुनसक्छ ? आज उबाट केही कुराको आस नगरी प्रश्न गर्न मन लागिरहेको छ । यो लकडाउन भन्ने कुरा तैंले भोगेर हेर अनि थाहा हुनेछ तँलाई । असली स्वर्ग तँ जहाँ छेस् त्यहीँ छ भन्ने कुरा । यहाँ तरकारीमा नुन हैन आँसु मिसिन्छ । कमसेकम तेरो लोकमा आँसु त छैन । म यो भन्न चाहन्छु तर सुन्नका लागि उसका कान छैनन् । म कसलाई भनौं ?

‘कसैलाई भन्ने हैन । कोही एकलाई हैन यो सिंगो दुनियाँलाई सुनाउनुपर्छ । अब तैंले आफ्नो अनुभवको पोल्टो फुकाएर लेख्नुपर्छ ।’

‘के लेखौं ?’

‘जिन्दगी ।’

‘जिन्दगी ? ‘तँ पनि कस्तो कुरा गर्छेस् यार कहिले जिन्दगी लेख्छु भन्दा प्रश्न तेस्र्याउँछेस् । कहिले आफैं त्यो जिन्दगी लेख्न अह्राउँछेस् ।’
‘उसोभए लभ लेख ।’

‘लभ’, ‘यु मिन लभलेटर’

‘नो आइ मिन लभ । पियोर इमोसन ओफ बिइङ ह्युमन ।’

प्रेम पनि लेख्छन् र ? प्रेम लेख्ने कुनै शुत्र हुँदो हो त म लेख्ने थिएँ । एकादेशमा प्रेम पनि हुन्थ्यो । मैले पढ्ने कथाहरूमा प्रेम घट्छन् र प्रेमीहरू बढ्छन् । मलाई अचम्म लाग्छ मान्छेहरू प्रेम कसरी गर्छन् ? खैर मैले जान्दथें प्रेम भने म स्वयं पनि आश्चर्य लेख्नेथिएँ । म प्रेम लेख्नेथिएँ । पढ्नेहरूले मेरो बारेमा कति प्रेमिल स्वभाव यसको भनेर फलाक्ने थिए होला । म झन् झन् हौसिएर लभ प्यारालाल लेख्ने थिएँ । लभर प्यारेलाल । ‘प्यार–ए–लाल’ अर्थात् रातो प्रेम । रातो गुलाफ । रातो रगत । अनि रगत पम्प गर्ने मुटु । त्यही मुटुले नै गर्छ प्रेम ।

‘त्यसोभए कसरी लेख्छस् त अब ?’

‘जसरी तँ सिकाउँछेस् त्यसैगरी लेख्छु नि ।’

‘मैले त कहिल्यै प्रेम पाएकी नै छैन । गरेकी पनि छैन । देखेकी पनि छैन । भोगेकी पनि छैन । अब तँलाई के र कसरी सिकाउँ ?’

हो त नि उसले केही महसुस गरेकी छैन । उसले आजसम्म सास पनि फेरेकी छैन । उसको मुटु हाम्रोजस्तो एक मिनेटमा ७२ पटक धड्केको पनि छैन । एकचोटि पनि छैन । सायद आमासयमा एकत्तर पटक धड्कियो होला । पेटमा हुँदा के जिन्दगी ? धर्तीमा पाउ परेपो जिन्दगी ।
उसको त पाउ मात्र नभई पूरै शरीर धर्तिमा समाहित छ । त्यसैले, उसको मुटु धड्केको छैन । मिनेटमा बहत्तर त के आजसम्म एकपटक पनि धड्किएको छैन । जिरो । र त्यही नधड्किएको मुटु झिकेर मेरो हातमा थमाउँदै प्रेम महसुस गर भन्छे । के मुटुले प्रेम गर्छ र ? गर्छ भने कहाँ गर्छ ? म त देख्दिन त तिम्रो प्रेम । कमसेकम जसरी यो धर्तिमा नभएकी बहिनी देख्छु त्यसैगरी भएपनि देख्नुपर्ने होनि ।

‘तर खै ? ‘खै कहाँ छ यो प्रेम ?’ यो प्रेम भन्ने कुरा ठ्याक्कै मेरी बहिनीजस्तै छ । जहाँ जतिबेला मन भयो आउँछ । घचघचाउँछ अनि जान्छ । तर, मलाई महसुस हुँदैन किन ? हावा चल्छ , थाहा पाउँछु । मायाको फोहोरा छुट्दा किन पत्तो पाउँदिन ? आखिर कहाँ छ यो माया भन्ने चिज ?’

जब जिन्दगीको लक स्थिर हुँदैन नि तब लभ नपर्दो रहेछ । जहाँ दुनियाँमा प्रेम नै सब हो भनिएको छ त्यहाँ म प्रेमको आकार खोजिरहेछु । वास्तवमा लभ प्यारालाल नहुँदो रहेछ । बिग ब्याङ थ्योरीमा जस्तै प्रेमको वृतचित्र कोरिँदो रहेछ । प्रेमिहरूको समान धर्सा भए पनि प्रेमको समानान्तर रेखाको कुरा भने कथामा मात्र कोरिँदो रहेछ । सुबिन दाइले लेख्नेजस्तो कथामा । चलचित्रमा मात्र देखाइँदो रहेछ । त्योपनि कलिउड, बलिउड र टलिउडतिर मात्र । हलिउडमा त बियोन्ड इम्याजिनेसन लेखिन्छन् । रियालिस्टिक लेखिन्छन् ।

वास्तविक जिवनमा आजसम्म प्रेम भन्ने जन्तु न उडेको देख्छु न गुडेको नै । यसको पखेटा र खुट्टा केही नहुँदो रहेछ । यसले सिमलको भुवासँग किन सिकेन ? सिमलको भुवा यात्रा गर्छ बिना पंख । प्रेम किन उडेन । सायद मुटुमा हुने भएर होला ।

प्रेम त ऐना रहेछ , हामी जस्तो भएर हेर्छौं त्यस्तै देखिने । मैले प्रेम छैन भन्ने मान्यतालाई आत्मसात् गरेको छु । त्यसैले, कोही कतैबाट मलाई प्रेम गरिरहेको म देख्दिनँ । आमा उपर समस्या आउँदा सन्तानभन्दा बढी चिन्तामा बा हुन्छन् । त्यहाँ प्रेम छ । हो यो प्रेमले नै हो । भाग्यमा भए चितामा प्रेमले लढाउँछ र नभए प्रेमको आसले । रहस्यताको जस्तो यहाँ मेरो भाग्य थिर छैन । बदलिँदो छ, र बदलिँदो छ आजभोलिको प्रेम पनि ।

लभ भन्ने सत्य आजका भुरा स्कुल हिँडेको जस्तै घुमाउरो बाटो भएर हिँड्दैन । त्यसैले, प्रेमलाई समानान्तर धर्सामा खोज्नुपर्छ । रहस्यताको कुरामा मैले यही पाएँ । उसले के पाई मलाई अर्को भेटमा पक्कै भन्नेछे । ऐले आमाको ख्याल राख्न अराएर गएकी छ । माया त हो छाती टोक्न नपाएपनि आमासयमा बसेको ऋण बोकेकी छ । मैले जस्तै समान अन्तरमा माया गर्छे उसले । तर, थाहा छैन आमा बुवा उसको यो माया देख्छन् वा यहाँ मोहमा अन्धा छन् । यहाँ जहाँ लभमा कुनै अन्तर छैन । लभ समान अन्तर छ । कमसेकम छोरा र छोरीमा अन्तर छ ।

गौरादह –१ , झापा

यो पनि
लोक सर्जक खेम सेन्चुरीको नजरमा पढ्नैपर्ने ३ पुस्तक

यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भारतीय टेलिभिजनको ऐतिहासिक टेलिफिल्म ‘महाभारत’का अभिनेता नीतीश भारद्वाज पत्नी स्मितासँगको विवाहको १२ वर्षपछि औपचारिक रुपमा अलग्गिएका छन् । स्मिता पेशाले

साउथ सुपरस्टार एवं रजनीकान्तका ज्वाइँ धनुष र ऐश्वर्या रजनीकान्त साउथ फिल्म शक्तिशाली जोडीका रुपमा चिनिन्छन् । तर, अब यो जोडीले

बलिउड अभिनेत्री दीपिका पादुकोण स्टन्ट दिन रुचाउने कलाकारमा पर्छिन् । उनी आफ्नो स्टन्ट आफैं गर्न रुचाउँछिन् । एथलेट परिवारको पृष्ठभूमिबाट

चर्चित कमेडियन कपिल शर्माको सेन्स अफ ह्युमर अचम्मको छ र यसै कारणले पनि उनले छोटो समयमै करोडौंको मनमा विशेष स्थान

Suggested