आफ्नै गाउँ फर्कि आएँ

एक वरिष्ठ इन्जिनियरको ‘कफी गाउँ’ सपना



अवकाशप्राप्त ईन्जिनियर ईश्वरचन्द्र बानियाँ आफ्नै थातथलो गोरखाको ताप्ते गाउँ फर्केका छन् । २०६९ सालदेखि हेल्थ एजुकेसन एग्रिकल्चर डेभलपमेन्ट सोसाइटी (एचइएडीएस) मा सङ्लग्न थिए । इन्जिनियरिङ अध्यापनमा पुरापुर चालिस बर्ष विताएका उनी हाल अवकाशपछि आफ्नै गाउँमा कृषि उत्पादन समूह दर्ता गरी औपचारिक रूपमा कफी खेती सुरु गरेका छन् ।

बानियाँ अध्यापनका लागि २०३५ सालतिर काठमाडौँ छिरे । सोही बर्षदेखि पुल्चोक क्याम्पसबाट अध्यापन सुरु गरे । अध्यापनको क्रममा उनले आइओईको पश्चिमाञ्चल क्याम्पसको क्याम्पस प्रमुख, पूर्वाञ्चल विश्वविद्यालयको उपनियन्त्रक, पोखरा विश्वविद्यालयको डीन र आइओईकै थापाथली क्याम्पसको क्याम्पस प्रमुखसमेत भए । अध्यापनको पेशावाट अवकाश पाएपछि बानियाँ कफी खेतीतर्फ मोडिए ।

विभिन्न क्षेत्रमा इन्जिनियरिङको अध्यापन गराउने क्रममा उनले धेरै इन्जिनियर उत्पादन गरे । यत्रो जनशक्ति उत्पादनमा लाग्दा आफ्नो गाउँका लागि भने केही गर्न नसकेको हुटहुटी भने सधंै रहिरह्यो । उनी भन्छन्, ‘म त देश विकासको बाहिरी सतहमा पो घुमिरहेको रहेछु । आफ्नो गाउँको लागि केही गरेकै पो रहेनछु । गाउँको भित्री भागमा त एक कदम पनि हिँडेको रहेनछु ।’

उनी आफ्नो दिनचर्या सुनाउँछन्, ‘बिहान उठ्ने बित्तिकै कफी खेतीतिर जान्छु । बोट बिरुवामा पानी हाल्छु । करीब ३० हजार बेर्ना तयार भएका छन्, त्यसको निरीक्षण गर्छु ।’

उनी अगाडि भन्छन्, ‘देशको लागि प्राविधिक जनशक्ति उत्पादन गर्नु जति आवश्यक छ, देशको ग्रामीण इलाकालाई पनि उद्यमी र सक्षम बनाउनु त्यति नै महत्वपूर्ण रहेछ ।’ उनले अबको बाँकी जीवन आफ्नो गाउँलाई उद्यमी र सक्षम बनाउनमा समर्पण गर्ने प्रण गरेका छन् ।

गाउँलाई उद्यमी र सक्षम बनाउन अवसरको खोजी गर्ने क्रममा उनी गाउँमै रहेको एक सामाजिक संस्थामा आवद्ध भए । ‘एचइएडीएस संस्थामा २०७६ देखि अध्यक्ष भए । उनका अनुसार सो संस्थाको शाखा र सदस्य देश विदेशमा गरी १५ हजारभन्दा बढी छन् ।

संस्थाको सम्मेलनहरूमा सहभागी हुने क्रममा बानियाँले कफीको सम्भावनाबारे थाहा पाए । ‘सम्मेलनमा सहभागी हुँदा विश्वभर वार्षिक ८ हजार मेट्रिक टन नेपाली कफीको माग हुने थाहा भयो । तर नेपालमा जम्मा ४ सय ५० मेट्रिक टन मात्र कफी उत्पादन हुँदो रहेछ,’ उनले भने, ‘त्यसपछि मैले ढिला नगरी आफ्नै गाँउमा कफी खेतीको लागि समूह दर्ता गराएँ ।’

आफ्नै गाउँमा कफी खेती

गाउँप्रतिको बर्षौ देखिको चिन्ताकै कारण गोरखा नगरपालिका–२ ले नयाँ आयाम पाएको छ । बानियाँले २०७५ सालमा गोरखा नगरपालिका–२ मा ‘धारापानी अर्गानिक कफी तथा कृषि उत्पादन समूह दर्ता गराए यता गोरखा जिल्ला नै कफीमय बनेको छ ।

उनी भन्छन्, ‘गत वर्ष कृषि कार्यालयमा गोरखाको कफी र कृषिको विकासका लागि पहल गरेँ । त्यसपछि उक्त क्षेत्रलाई ‘कृषि पकेट क्षेत्र’ भनेर घोषणा गरियो ।’ कफी खेतीकै कारण गाउँलेहरू केही हदसम्म स्वरोजगार र उद्यमी बनेकोमा, आफ्नो जन्मभूमिका लागि केही गर्न सकेको भनी उनी अहिले दंग छन् ।

बानियाँको परिवार काठमाडौमै बस्छन् । उनी भने खेतीको रेखदेख गर्न गाउँमै बसेका छन् । दिनभर कफीको नर्सरीतिर बिताउँछन् । उनी आफ्नो दिनचर्या सुनाउँछन्, ‘बिहान उठ्ने बित्तिकै कफी खेतीतिर जान्छु । बोट बिरुवामा पानी हाल्छु । करीब ३० हजार बेर्ना तयार भएका छन्, त्यसको निरीक्षण गर्छु ।’

यो वर्ष कफी थप गर्न २ सय जति खाल्टा उनी आफैले खनेर तयार पारेका छन् । अरु ५ सय खाल्टा पनि खन्ने तयारी गर्दैछन् । बेला बेला गाउँलेलाई एचइएडिएस र कृषि उत्पादन समूहमार्फत कृषिमुलक चेतना, तालिम र भेलाहरूको आयोजना गर्दै आएका छन् । भन्छन्, ‘कृषि मार्फत गाउँको उत्थान गर्ने हो भने म एक्लैले गरेर हुदैन । पुरै गाउँ नै यसमा समर्पित हुनुपर्छ ।’

लकडाउनको समयमा गाउँमै बस्ने, गाउँमै गर्ने हो भन्ने किसिमको मानसिकता बढेको थियो । जसै लकडाउन खुल्यो अहिले माहौल पहिलाको जस्तै शहर पस्ने भएको छ । गाउँका युवाहरू शहर र विदेश पलायन हुन थालेपछि बानियाँ भन्छन्, ‘कृषिको लागि कामदार नपाइने समस्या फेरी देखा पर्न थालिसक्यो ।’ उनी युवावर्गलाई गाउँमै उद्यमी वन्न आग्रह गर्छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई राहत वितरण जारी राखेको छ । कोरोना महामारीले दोहोरी

कोरोना भाइरसका कारण गत वर्ष नौ महिनासम्म लकडाउन भयो । सो समयमा शिक्षा, यातायात, व्यापार व्यवसाय, चलचित्र लगायत मानिसको दैनिकीलाई

दोस्रो लहरको कोरोना भाइरस अहिले तीव्र गतिमा फैलिएको छ । यसले आम मानिस त्रसित भएका छन् । यसका साथसाथै कोरोना