‘संक्रमित घटे तर अस्पताल भर्ना हुने घटेनन्’



देशभरमा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसियु चाहिएर भर्ना भएका सङ्क्रमितको सङ्ख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै सङ्क्रमण पाइएको भए पनि समस्या भएर अस्पताल भर्ना हुनेको सङ्ख्या कम नभएको हो ।

एक सातायताको तथ्याङ्क हेर्दा पनि भर्ना हुने दर नघटेको अस्पतालले जनाएको छ । मङ्गलवार अस्पतालमा कोभिडका लागि छुट्याइएका शैय्यामा २२५ र अरू शैय्यामा २१० बिरामी थिए । अस्पताल भर्ना हुने र अक्सिजन चाहिने बिरामी कम नभएकालाई वार्डमा राख्ने कम नभएको अस्पतालका निर्देशक डा रवि शाक्यले बताए । दैनिक झण्डै २५ नयाँ बिरामी आइरहेका छन् । उनले भने, ‘बच्चाको एनआइसयुबाहेक अरू आइसियु सधैँ भरिभराउ रहेका छन् ।’

अस्पतालमा पनि पिसिआर परीक्षणका लागि आउनेको सङ्ख्या केही कम भए पनि भर्ना हुनेको सङ्ख्या घट्न नसकेको अस्पतालले जनाएको छ । अस्पतालको हाताभित्र छिर्नासाथ ज्वरोलगायत परीक्षण गरेर शङ्कास्पद सङ्क्रमित र अरू बिरामीलाई छुट्याइने गरिएको छ । ‘फिबर क्लिनिक’मा आउनेका सङ्ख्या केही कम भइरहेको अस्पतालका निर्देशक डा शाक्यले बताए । उनले भने, ‘एक सातायता पिसिआर परीक्षणका लागि अस्पताल आउनेको सङ्ख्या पनि घटिरहेको छ ।’

अस्पतालले गत वर्षदेखि कोभिड र अरू बिरामीलाई छुट्याएर उपचार गर्दै आएको छ । आवश्यकताअनुसार कोभिडका लागि शैय्या बढाउँदै लगिएको निर्देशक डा शाक्यले बताए । अहिले नयाँ भेरियन्टसहित सङ्क्रमण देखिन थालेसँगै अरू शैय्यालाई खुम्च्याउँदै र कोभिडका लागि बढाउँदै लगिएको छ । अस्पतालमा अहिले कोभिडका लागि तीन सय शैय्या र अरूका लागि ३५० शैय्या छ । उनले भने, ‘सबै शैय्यामा नै बिरामी झण्डै भरिएका छन् ।’

केही समयपहिले सबैतिर अक्सिजनको अभाव हुँदा सेवा सीमित गर्नुपर्ने बाध्यता थियो । त्यो समयमा तीन सय शैय्यामध्ये १५० बिरामी मात्रै भर्ना गर्न सकिने अवस्था थियो ।

अस्पतालले सरकारले निषेधाज्ञा जारी गरे पनि बहिरङ्ग सेवा अवरुद्ध गरेको छैन । कोभिडका शङ्कास्पद व्यक्तिलाई शुरुमा नै छुटाएर अरू बिरामीको सबै किसिमको उपचार भइरहेको हो । यातायातको असुविधा र अहिलेको समयमा बिरामी आफैँ आउन नचाहेका कारण पनि सामान्य अवस्थाभन्दा धेरै कम मात्रै बिरामी बहिरङ्ग सेवाका लागि आइरहेका छन् । उनले भने, ‘अस्पताल आएका कुनै पनि बिरामी उपचार नभएर फर्कनुपर्ने अवस्था छैन ।’

अस्पतालले कोभिडका लागि ३० आइसियु र १८ भेन्टिलेटर छुट्याएको छ । कोभिडबाहेक सजिर्कल, मेडिकल आइसियु र बालबालिका लागि एआइसियु गरी २० आइसियु रहेका छन् । सङ्क्रमण बढिरहँदा आवश्यकताअनुसार नै शैय्या बढाउँदै लगिएको निर्देशक शाक्यले बताए । उनले भने, ‘सङ्क्रमण शुरु हुँदा २१ थियो, आवश्यकतानुसार बढाइएको छ ।’

अस्पतालमा हिजोआज क्षमताभन्दा बढी बिरामी नभएको निर्देशक शाक्यले बताए । केही समयपहिले सबैतिर अक्सिजनको अभाव हुँदा सेवा सीमित गर्नुपर्ने बाध्यता थियो । त्यो समयमा तीन सय शैय्यामध्ये १५० बिरामी मात्रै भर्ना गर्न सकिने अवस्था थियो । अहिले अक्सिजनको अस्थायी समाधान भएको उनले बताए । अस्पतालमा आइसियुमा क्षताभन्दा बढी बिरामी भएमा अरू अस्पतालमा समन्वय गरेर पठाइने उनले जानकारी दिए ।

अहिलेसम्म झण्डै आधा शैय्या छुट्याइएकामा आवश्यक पर्दा पूरै अस्पतालका ६५० शैय्या नै कोभिडका लागि छुट्याएर ‘कोभिड अस्पताल’ बनाउन सकिनेछ ।

सङ्क्रमण अझै बढ्न सक्ने भन्दै अस्पतालले यस वर्ष सजग भएर पहिले नै आवश्यक सङ्ख्यामा पिपिई, पञ्जा र औषधि राखेको थियो । तीन महिनालाई पुग्ने गरी पहिले नै राखिएकाले समस्या नभएको उनले बताए । अस्पताल आफैँले अक्सिजनको व्यवस्थापन गर्न खोजेको छ । अबको दुई सातामा ठूलो अक्सिजन प्लान्ट बनाइने र त्यसका लागि आवश्यक सामान बाटोमा नै रहेको उनले बताए । उनले भने, ‘दुई सातापछि अक्सिजनमा आत्ममनिर्भर बन्न सकिनेछ ।’

अस्पतालमा आएका बिरामीका आधारमा गत वर्षभन्दा यस वर्ष सङ्क्रमितमध्ये गम्भीर समस्या हुनेको अनुपात बढी छ । पहिले बढी उमेर समूह, दीर्घ रोग भएका व्यक्तिमा मात्रै गम्भीर समस्या भएको थियो । अहिले सबै उमेर समूहमा अक्सिजन वा आइसियु चाहिने देखिन्छ । गत आवमा थोरै सङ्ख्यामा मात्रै सङ्क्रमित भएकाले सरकारले समस्या नभएका सङ्क्रमितलाई समेत भर्ना गरेको थियो । उनले भने, ‘अहिले गम्भीर भएका मात्रै आइरहेका छन् ।’

अस्पतालले गत वर्ष बनाएको योजनाअनुसार नै कोभिडका लागि लक्षित शैय्या छुट्याइरहेको छ । अहिलेसम्म झण्डै आधा शैय्या छुट्याइएकामा आवश्यक पर्दा पूरै अस्पतालका ६५० शैय्या नै कोभिडका लागि छुट्याएर ‘कोभिड अस्पताल’ बनाउन सकिनेछ । अस्पतालले आवश्यक पर्दा परिसरमा टेन्ट राखेर उपचार गर्न सकिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बर्खा सीजन सुरु भएको छ । यस सीजनमा झाडापखाला, फूड पोइजन जस्ता रोग खानापानको असन्तुलनलेका कारणले देखापर्छ । बर्खामा हुने

दोस्रो लहरको कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर सेवा दिइरहेकाहरु उच्च जोखिममा छन् । विषम परिस्थितिमा सेवामा खटिरहेका पेट्रोलियम व्यवसायी पनि त्यसैमध्येमा

आज विश्व रक्तदाता दिवस, नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्ष सेवाले रक्तदान गरौँ र

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । नेपालमा पनि दोश्रो लहरको कोरोनाका कारण गत वैशाख १६ गतेदेखि