एनआरएनए हङकङले नोभेम्बर १ मा ‘रोड टु एभरेस्ट’ प्रदर्शन गर्ने
दर्शकको उत्साह र मागपछि हङकङमा ‘रोड टु एभरेस्ट’को पुनः प्रदर्शनको तयारी
हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी नोभेम्बर १, आइतबार साँझ ५ बजे हुङ होम, काउलुनस्थित सनबिम वाम्पो सिनेमा हल हुङ होम, काउलुनमा वृत्तचित्रको विशेष प्रदर्शन गर्न लागिएको हो।
एनआरएनए हङकङले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रदर्शनको घोषणा गर्दै पोस्टरसमेत सार्वजनिक गरेको छ।

यसअघि हङकङमा सम्पन्न ‘रोड टु एभरेस्ट’को पहिलो प्रदर्शनमा दर्शकको उत्साहजनक सहभागिता र दोस्रो प्रदर्शनको माग बढेपछि एनआरएनए हङकङले पुनः प्रदर्शन आयोजना गर्न लागेको जनाएको छ।
एनआरएनए हङकङका महासचिव इन्द्र पुनले नेपालीले आफ्नै लगानी र सीमित स्रोतसाधनका बाबजुद आफ्नै कथा आफैँ भन्न खोजेको प्रयासलाई समर्थन गर्नु आफूहरूको दायित्व भएको बताए।
“हामीले लामो समयसम्म आफ्नो कथा आफैँ भन्न सकिरहेका थिएनौँ। अहिले नेपालीले आफ्नै लगानीमा आफ्नै कथा भन्न खोजिरहेको छ। सीमित स्रोतसाधनका बाबजुद पनि यस्तो प्रयास भइरहेकोमा हामीलाई गर्व छ,” पुनले भने।
नोभेम्बर १ को प्रदर्शनलाई एनआरएन डेसँग समेत जोडिएको बताउँदै पुनले यस अवसरमा रसुवामा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितहरूलाई सहयोग गर्ने उद्देश्यसमेत राखिएको जानकारी दिए। उनले हङकङमा रहेका नेपाली नयाँ पुस्ताका बालबालिका तथा युवालाई सगरमाथा र नेपालको हिमाली सम्पदाबारे जानकारी लिन पनि वृत्तचित्र हेर्न आग्रह गरे।

पहिलो प्रदर्शनको सफलतापछि दोस्रो शो
वृत्तचित्र प्रदर्शनकी संयोजक तथा एनआरएनए हङकङकी उपाध्यक्ष कविता गुरुङले पहिलो प्रदर्शन सफल भएपछि दोस्रो प्रदर्शनको माग बढेकाले एनआरएनए हङकङको तर्फबाट पुनः प्रदर्शन आयोजना गर्न लागिएको बताइन्।
उनका अनुसार पहिलो शोमा धेरै दर्शक सहभागी हुन नसकेकाले यसपटक अझ धेरै नेपाली तथा हङकङवासीलाई सहभागी गराउने उद्देश्य राखिएको छ।
उनले हल बुकिङदेखि अन्य आवश्यक तयारी पूरा भइसकेको जानकारी दिँदै सबैलाई सहभागी भएर प्रदर्शन सफल बनाउन आग्रह गरिन्।

जलवायु परिवर्तन र हिमाली संरक्षणको सन्देश
एनआरएनएकी महिला उपाध्यक्ष टिका गुरुङले ‘रोड टु एभरेस्ट’ले सगरमाथाको कथा मात्र नभई जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई समेत उठाएको बताइन्।
एनआरएनए आईसीसीले वृत्तचित्रलाई विश्वभर पुर्याउने उद्देश्यले वी विल राइज फाउन्डेसन सँग समझदारी गरिसकेको जानकारी दिँदै उनले विश्वभर रहेका एनआरएनए राष्ट्रिय समन्वय परिषद् (NCC) हरूलाई समेत वृत्तचित्र प्रदर्शनका लागि पहल गर्न आग्रह गरिन्।
उनका अनुसार नोभेम्बर १ को प्रदर्शन एनआरएन डेको अवसरसँग जोडिएको छ। फिल्म प्रदर्शनबाट उठेको रकम रसुवाका बाढी–पहिरोबाट विस्थापित परिवारको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्ने उद्देश्य राखिएको छ।
“जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे पनि फिल्मले बोल्छ। हामीले यसलाई विश्वभर लैजाने योजना बनाएका छौँ। विश्वभरका एनसीसीलाई पनि यो फिल्म प्रदर्शन गर्न आग्रह गर्दछु,” टिका गुरुङले भनिन्।

‘सगरमाथा मात्र होइन, नेपाली पहिचानको कथा’
एनआरएनए हङकङका अध्यक्ष अनु राईले ‘रोड टु एभरेस्ट’लाई सगरमाथाको आरोहणको कथामा मात्र सीमित नभएको बताइन्। उनका अनुसार वृत्तचित्रले शेर्पा समुदायको योगदान, साहस, संघर्ष, चुनौती र विश्वाससँगै जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावलाई समेत प्रस्तुत गरेको छ।
“यो फिल्म सगरमाथाको मात्र कथा होइन। यसमा शेर्पा समुदायको योगदान, साहस, संघर्ष, चुनौती र विश्वाससँगै जलवायु परिवर्तनको असरको कथा पनि छ। सगरमाथा हामी सबैको पहिचान र गौरव हो,” राईले भने।
उनले हङकङमा रहेका सबै नेपालीलाई वृत्तचित्र हेर्न आग्रह गरिन्।

पत्रकार सम्मेलनको सञ्चालन एनआरएनए हङकङका सचिव विश्वनाथ घिसिङले गरेका थिए। कार्यक्रममा एनआरएनए हङकङका पूर्वअध्यक्ष गोकर्ण ढकाल, पदाधिकारीहरु मनोज गौतम, अर्जुन गौचन, मनिष लिम्बू, सवित्रा इङनम लगायत नेपाल क्लब हङकङ हङकङकी अध्यक्ष रिता गुरुङ समेतको उपस्थिती थियो ।

नोभेम्बर १ मा प्रदर्शन
‘रोड टु एभरेस्ट’को दोस्रो हङकङ प्रदर्शन नोभेम्बर १, २०२६, आइतबार साँझ ५ बजे हुङ होम, काउलुनस्थित सनबिम वाम्पोआ सिनेमा हलमा हुनेछ।
वृत्तचित्र वी विल राइज फाउन्डेसनद्वारा निर्मित हो। ५० मिनेट लामो फिल्मले समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको यात्रामार्फत पर्वतारोहण, मानवीय साहस, नेपाली हिमाली सम्पदा र जलवायु परिवर्तनका विषयलाई प्रस्तुत गरेको छ।
नेपालमा विशेष प्रदर्शनपछि हङकङमा ग्रान्ड प्रिमियर गरिसकेको ‘रोड टु एभरेस्ट’ अहिले विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल तथा विशेष प्रदर्शनमार्फत विश्वभरका दर्शकमाझ पुर्याउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।
तस्बिर : स्वदेश महर्जन
















kadıköy radyatör temizleme
kadıköy radyatör temizleme Peteklerin üstü sıcak, altı soğuk kalıyordu. Temizlikten sonra bu problem ortadan kalktı. https://lisa-bennett.com/?p=3149