संरक्षण र शिक्षामा योगदानको कदर: जेभियर एकेडेमीद्वारा पुरस्कार तथा छात्रवृत्ति प्रदान
काठमाडौं : जेभियर एकेडेमीले चौथो बब एण्ड जाङ/जेभियर एकेडेमी संरक्षण पुरस्कार २०२६ तथा संरक्षणसम्बन्धी प्यानल छलफल कार्यक्रम २१ नोभेम्बर २०२६ मा राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC), खुमलटार, ललितपुरमा आयोजना गरेको छ। कार्यक्रममा वन्यजन्तु संरक्षणमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्नुका साथै वातावरण संरक्षण, दिगो विकास र शैक्षिक सशक्तीकरणको महत्त्वमाथि प्रकाश पारिएको थियो।
राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) मा भेटेरिनरी टेक्निसियनका रूपमा कार्यरत श्री किरण राज रिजाललाई चौथो जेभियर एकेडेमी संरक्षण पुरस्कार २०२६ प्रदान गरिएको छ। पुरस्कारसँगै उहाँलाई नगद रु. १ लाख प्रदान गरिएको थियो। वन्यजन्तुको स्वास्थ्य संरक्षण, रोग निगरानी तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा पुर्याएको व्यावसायिक अनुभव र योगदानको कदर गर्दै उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
यस वार्षिक पुरस्कारमार्फत नेपालको जैविक विविधता तथा प्राकृतिक सम्पदाको संरक्षण र दिगो विकासमा अर्थपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिँदै आएको छ।

यसै अवसरमा जेभियर एकेडेमीमा कक्षा ११ विज्ञान संकायमा अध्ययनरत सुश्री निसासा लिनलाई छात्रवृत्ति प्रदान गरिएको छ। कक्षा ११ र १२ को सम्पूर्ण अध्ययन खर्च समेट्ने गरी करिब रु. ५ लाख बराबरको उक्त छात्रवृत्तिले छात्राको उच्च शिक्षाको आकांक्षा पूरा गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रममा विशिष्ट अतिथि, संरक्षणविद्, शिक्षाविद् तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा भुटानका माननीय दाशो पाल्जोर जिग्मे दोर्जीले प्रमुख वक्ताका रूपमा विशेष सम्बोधन गर्नुभएको थियो।
कार्यक्रममा संरक्षणसम्बन्धी प्यानल छलफलसमेत आयोजना गरियाे। श्री रोबर्ट जे. डोबियासले सहजीकरण गर्नुभएको छलफलमा जैविक विविधताको संरक्षण, दिगो विकास तथा संरक्षण क्षेत्रमा देखिएका चुनौतीहरूबारे विभिन्न दृष्टिकोण प्रस्तुत गरियाे। प्यानल छलफलपछि सहभागी दर्शकका जिज्ञासा तथा प्रश्नहरूमा अन्तरक्रिया गरिएको थियो।

समारोहको अर्को महत्त्वपूर्ण आकर्षण जेभियर एकेडेमीको पहिलो जेभियर एकेडेमी संरक्षण विशेषाङ्क (क्रोनिकल) को विमोचन थियो। “सँगसँगैको यात्रा: जेभियर एकेडेमीसँग बब र जाङको प्रेरणादायी सहयात्रा” शीर्षकको उक्त प्रकाशनमा बब र जाङ डोबियासको प्रेरणादायी यात्रा, जेभियर एकेडेमीसँगको सम्बन्ध तथा नेपालमा संरक्षण र वातावरणीय सचेतना अभिवृद्धिमा उहाँहरूले पुर्याउनुभएको योगदान समेटिएको छ।
समारोहमा बब र जाङ डोबियास, माननीय दाशो पाल्जोर जिग्मे दोर्जी, निर्णायक मण्डलका सदस्यहरू तथा पुस्तक सम्पादकहरूलाई पनि प्रशंसास्वरूप मायाको चिनो प्रदान गरिएको थियो।

संरक्षणको विरासतलाई निरन्तरता
सन् २०२३ मा स्थापना गरिएको बब एण्ड जाङ/जेभियर एकेडेमी संरक्षण पुरस्कार ले नेपालमा संरक्षण कार्यप्रति बब र जाङ डोबियासले देखाउनुभएको समर्पण र योगदानको सम्मान गर्दै आएको छ। स्थानीय तथा राष्ट्रिय स्तरमा कार्यको प्रभाव, नेतृत्व क्षमता, दिगोपना र विभिन्न संस्थासँगको सहकार्यलाई आधार मानेर पुरस्कारका लागि योगदानको मूल्याङ्कन गरिन्छ।

यसअघि सन् २०२३ मा चितवनका प्रकृति पथप्रदर्शक श्री विष्णु महतोलाई वन्यजन्तु शिक्षा, चरा संरक्षण तथा समुदायमा आधारित चोरीसिकार नियन्त्रण अभियानमा पुर्याएको योगदानका लागि पहिलो पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, सन् २०२४ मा मनाङका वन्यजन्तु फोटोग्राफर श्री टासी आर. घलेलाई हिउँचितुवा, ब्वाँसो तथा उच्च हिमाली क्षेत्रको जैविक विविधताको अभिलेखीकरणमा पुर्याएको योगदानका लागि सम्मान गरिएको थियो भने सन् २०२५ मा नेपालकी पहिलो महिला प्रकृति पथप्रदर्शक श्रीमती डोमा पौडेललाई चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि समुदायमा आधारित संरक्षण, पर्यापर्यटन तथा महिला र युवाको सशक्तीकरणमा पुर्याएको योगदानका लागि सम्मान गरिएको थियो।


वार्षिक संरक्षण पुरस्कार, प्यानल छलफल, प्रकाशन तथा छात्रवृत्ति कार्यक्रममार्फत जेभियर एकेडेमीले वातावरणीय जिम्मेवारी, जैविक विविधताको संरक्षण, दिगो विकास र शैक्षिक अवसरको प्रवर्द्धनमा निरन्तर योगदान पुर्याउँदै आएको छ। “Preserving Nature | Inspiring Change” (प्रकृतिको संरक्षण, परिवर्तनको प्रेरणा) भन्ने मूल नारासहित सम्पन्न चौथो संस्करणले नेपालको प्राकृतिक सम्पदाको संरक्षण र भावी पुस्तालाई दिगो भविष्य निर्माणमा सहभागी गराउन सामूहिक प्रयासको महत्त्वलाई पुनः उजागर गरेको छ।
प्रा. डा. प्रमोदबहादुर श्रेष्ठको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा प्रा. डा. श्रीराम भगत माथेले समापन मन्तव्य राख्नुभएको थियो । डन बोस्को कलेजकी प्रिन्सिपल श्रीमती रश्मि शर्मा मैनालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।









