English

किसानलाई मल दिन नसक्ने लाचार सरकार

समयमै मल नदिएर धानको उत्पादन घटाउन सरकार नै अग्रसर


‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला,
लगाइ पानी बनाइ कुलो आएर गोडौला’

यो गीतमा भनेझैँ दाङका किसान छुपुमा छुपु गरेर धान रोप्ने समयमा मलका लागि सरकारी संस्थामा धाउन बाध्य छन् । नेपाली कृषकका लागि असार १५ एउटा मौलिक पर्व नै हो । हिलोलाई छुने, दही चिउरा खाने दिनको छुट्टै महत्व रहेको छ । उन्नाइसौँ धान दिवस मलबिनाको रोपाइँ गरेर दाङका किसानले मनाउँदैछन् ।

कृषि ज्ञान केन्द्र दाङको आयोजनामा लमही–४ मा रहेको हरितक्रान्ति सहकारी संस्थाको सहयोगमा १९औँ धान दिवस मनाउन थालेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए । देउखुरीका किसानको खेतमा गएर धान रोपेर दिवस मनाउने तयारी छ । ‘दिवस त मनाउनुपर्यो, बिनामल दिवस मनाउन बाध्य भयौँ,’ उन भने ।

मलका लागि धेरै ठाउँ धाइयो, तर पाइएन । मल नपाए पनि तयार भएको धानको बीउ खेर जान दिन भएन, यसपालि मलै नछरी धान रोपियो, उब्जनी त के हुने हो।

नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने युरिया मलको अभाव भएपछि किसानले मल नछरेरै धान रोपाइँ गर्न थालेका छन् । यसरी खेती गर्दा धान उत्पादन घट्ने हो कि भन्ने चिन्ता किसानलाई परेको छ । राप्ती गाउँपालिका–३ का प्रविन चौधरीले यसपालि मल नछरी धान रोपेका छन् । सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल युरिया नपाएपछि मलबिनै धान रोप्नुपरेको उनले बताए ।

‘मलका लागि धेरै ठाउँ धाइयो, तर पाइएन । मल नपाए पनि तयार भएको धानको बीउ खेर जान दिन भएन’, उनले भने,‘यसपालि मलै नछरी धान रोपियो, उब्जनी त के हुने हो’, धानखेती सुरु हुँदा दाङका किसानले यस वर्ष अनुदानको रासायनिक मल पाउन सकेका छैनन् ।

मानो रोपेर मुरी फलाउने समय हो, सप्रियो भने त ठिकै छ । सप्रिएन भने वर्षभरि के खाने भन्ने समस्या पर्ने भयो, पानी पर्न थाल्यो । धानको बीउ रोप्नलाई तयार भइसक्यो, मल छैन । मल नछर्दा उब्जनी हुँदैन ।

अधिकांश किसानले मल नपाउँदा रोपाइँ गर्न गाह्रो परेको छ । ‘मानो रोपेर मुरी फलाउने समय हो, सप्रियो भने त ठिकै छ । सप्रिएन भने वर्षभरि के खाने भन्ने समस्या पर्ने भयो’, लमही–३ का कमल चौधरीले भने,‘पानी पर्न थाल्यो । धानको बीउ रोप्नलाई तयार भइसक्यो, मल छैन । मल नछर्दा उब्जनी हुँदैन’, उनले भने ।

दाङका किसानले धानखेतीका लागि चाहिने रासायनिक मलको अभावमा धानखेती गर्दैछन् । किसानलाई सरकारले अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको थियो । यस वर्ष किसानले युरिया मल पाएका छैनन् । डिएपी र पोटास थोरै मात्रामा पाएका छन् ।

जिल्लामा करिब ३९ हजार ५०० हेक्टरमा धान रोपाइँ हुने ज्ञान केन्द्रको भनाइ छ । बुधबारसम्म जिल्लाभर करिब १० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ भने देउखुरी क्षेत्रमा मात्रै रोपाइँ सुरु भएको कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउँछन् ।

नेपालमा २०६१ देखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो ।

नेपालमा २०६१ देखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । जिल्लामा अहिले मल मौज्दात छैन । केही मात्रामा मल ल्याएको र त्यो पनि सहकारीमार्फत वितरण गरिएको साल्टट्रेडिङ कर्पाेरेशनका प्रमुख रामबाबु गुप्ताले जानकारी दिए । सरकारले समयमा मल उपलब्ध नगराउँदा समस्या भएको उनले बताए ।

कृषि सामग्री कम्पनी लिमिटेडसँग रासायनिक मल नभएको कृषि सामग्री कम्पनी लिमिटेड दाङका प्रमुख टोपाराम गौतमले बताए,‘युरिया मल २० वा २५ दिनमा आउँछ कि भन्ने लागेको छ ।’ यो समयमा जिल्लामा एक हजार ५ सय मेट्रिक टन युरिया र एक हजार मेट्रिक टन डिएपी आवश्यक रहेको लिमिटेडले जनाएको छ ।

किसानले भोग्नुपरेको यो समस्या केवल दाङको मात्र होइन । जस्तो कि महोत्तरीका किसानले पनि मल बिना रोपाइँ गर्न बाध्य भएका छन् ।

पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन भने सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् ।

एक सातायता दिनहुँजसो पानी परिरहेको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न किसानलाई छ । ‘बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो’, भङ्गाहा नगरपालिका–४ रामनगरका इद्रिस राइनले भने । जिल्लाका सबै भेगमा पानी परेपछि किसान सक्रिय बनेका छन् । असार मसान्तमै धानको शाहीरोप (पहिलो बीउरोप) सकिने बलवा नगरपालिकाका मन्सुल राइन बताउँछन् ।

‘मौसमले साथ दिए समयमै धान रोपाइँ सकिन्छ,’ उनले भने । मल नपाएकामा भने उनको दुःखेसो छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत जेठ २२ सम्म हिउँदे धानको बीउ राख्ने, असार तेस्रो साताभित्रै बीउरोप सक्ने र साउन तेस्रो साताभित्र खरुवन (पहिले रोपिएको बीउको रोपो गाँजिएपछि उखेलेर रोप्ने) रोपाइँ सक्ने उपयुक्त समय हो ।

यसपालि बीउ धानको अभावले समयमै ब्याड राख्न नपाएको किसान बताउँछन् । उनीहरुले सहकारी संस्था र बीउ नपाएपछि घरकै बीउ राखेर ब्याड बनाएका छन् । ब्याडको बीउ १५ दिनको भएपछि रोप्न थालिएको हो । लगातार पानी परिरहेकाले खेतका गह्रामा पानी लागेको छ । किसान खेत हिल्याउने, गह्रा सम्याउने, बीउ काढ्ने (बीउ उखेल्ने) र रोप्ने काममा ब्यस्त छन् ।

जिल्लामा कूल खेतीयोग्य जग्गा ७० हजार हेक्टर छ । यसमध्ये १० प्रतिशतमा मात्र नहर कुलो लाग्छ । यहाँ अधिकांश खेती आकाशे पानीकै भरमा गर्नुपरेको छ । समयमा बीउ, मल र जनशक्ति नपाउँदा गाह्रो भएको बर्दिवास नगरपालिका–१२ बिजलपुराका विश्वनाथ सिंह बताउँछन् । कूल खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टर क्षेत्रफल धानखेतीका लागि उपयुक्त मानिन्छ ।

धान रोपाइँका बेला मल नपाउने समस्या नेपाली किसानका लागि नयाँ भने होइन । हरेक बर्ष यो नियति किसानले भोग्दै आएका छन् । तर पनि सरकारले ‘धान आयात प्रतिस्थापन सरकारको प्राथमिकतामा’ भनेर गफ दिन भने छाडेको छैन । आज प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताउन चुकेनन् ।

उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिने औपचारिकता पुरा गर्ने क्रममा प्रधानमन्त्री देउवाले सरकारले व्यावसायिक कृषि विकास कार्यक्रमको कार्यान्वयन तथा जलवायु अनुकूलित, पोषणयुक्त धान, उच्च उत्पादन हुने जातको विकास तथा उपयोग बढाउने रणनीतिसमेत लिएको दावी गरे ।

प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै आएको छ । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ मनाइँदै छ ।

परापूर्वकालदेखि नै नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको धान तथा धानखेती नेपाली समाजको अभिन्न जीवन पद्धतिको रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले अधिकांश नेपालीको आधारभूत खाद्य वस्तुको स्रोतको रूपमा रहेको धान बालीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनुका साथै खाद्य सुरक्षाको दृष्टिले समेत सर्वोपरि स्थान ओगटेको बताए ।

नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ समेत जारी गरिसकिएको उनले बताए । ‘भोकमरीको अन्त्य गर्नेलगायतका दिगो विकासका लक्ष्य प्राप्ति गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धतासमेत रहेको छ,’ प्रधानमन्त्री देउवाको शुभकामना सन्देशमा उल्लेख छ ।

मुलुकमा सबैभन्दा बढी उपभोग हुने खाद्य वस्तुको रूपमा रहेको चामलका निम्ति बर्सेनि ठूलो धनराशि खर्चिनुपरेको वर्तमान अवस्थालाई मध्यनजर गरी नेपाल सरकारले प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको उत्पादन वृद्धि गरी देशमा दिगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखी विभिन्न नीति तथा योजना कार्यान्वयनमा ल्याएको दावी गर्दै आएको छ । तर बिडम्बना किसानलाई रोपाइँका लागि जुन बेला मल चाहिन्छ,त्यही बेला भने मल उपलब्ध गराउन सरकार चुक्दै आएको छ ।

सिँचाइ सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था प्रविधि विस्तार, न्यूनतम मूल्यको कार्यान्वयन, बाली बीमा प्रवद्र्धनलगायतका विषयमा सरकारले काम गर्दै आएको प्रधानमन्त्री देउवाले बताए पनि त्यसबाट किसान लाभान्वित भने हुन सकेका छैनन् ।

प्रधानमन्त्री देउवाले तराई, पहाड र हिमालमा पाइने रैथाने प्रकृतिका धानको जातको संरक्षण, सम्वद्र्धधन र प्रवद्र्धनमार्फत नेपालमा धान चामलको उत्पादनमा वृद्धि भई धान चामलमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिएको बताए पनि त्यसतर्फ सरकारको सरोकारवाला संयन्त्रले गम्भिर प्रयास भने गरेको देखिदैन ।

यो पनि…
असार १५ मा दही चिउरा किन खाइन्छ ?
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,