बाघको बासस्थानसँगै बढ्यो हिंस्रक घटना



चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको सङ्ख्या बढेसँगै बाघले मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ । बाघको बासस्थान वरपर मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना बढ्न थालेका हुन् ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा १४ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । गत आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । आक्रमणका घटना अधिकांश मध्यवर्ती सामुदायिक वनमा भएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार तीनवटा घटना मात्रै निकुञ्जभित्र भएका हुन् । वर्षभरमा भएका सबै घटना निकुञ्ज र मध्यवर्ती वन क्षेत्रभित्र मात्रै भएका हुन् ।

वनमा न्युरो, घाँस, दाउरा गर्न जानेहरु आक्रमणको सिकार बनेका छन् । निकुञ्जमा हालै गएको फागुनमा बाघ गणना गरिएको थियो । बाघको तथ्याङ्क सार्वजनिक भइसकेको छैन । आउँदो बाघ दिवस जुलाई २९ मा सङ्ख्या सार्वजनिक गरिँदै छ । सन् २०१८ को गणनाअनुसार निकुञ्जमा बाघको सङ्ख्या ९३ रहेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य सङ्ख्या बढेका कारण मध्यवर्ती क्षेत्रमा बाघले बासस्थान बनाएकाले घटना बढेको अनुमान गर्छन । मानिसहरुले अपनाउनुपर्ने सावधानी कम अपनाउँदा घटना बढ्दै गएको आचार्यको भनाइ छ ।

बाघ निश्चित क्षेत्रलाई आफ्नो बासस्थान बनाएर बस्ने प्राणी हो । सङ्ख्या बढ्दै गएर निकुञ्जभित्र बासस्थान नपुगेपछि बाघले मध्यवर्ती सामुदायिक वनहरुमा आफ्नो बासस्थान बनाउँदै गएको उनी बताउँछन् । बाघका सम्बन्धमा विद्यावारिधि गर्नुभएका राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने बाघले बुढो भएर, घाइते भएर, हेपिएर आहारा नपाउँदा, मानिसलाई आक्रमण गर्ने बताउँछन् । बच्चा हुर्काउँदै गरेको बाघले पनि आक्रमण गर्ने सम्भावना बढी हुन्छ ।

यो हाम्रै ठाउँ त हो नि भनेर ढुक्क भएर सावधानी कम अपनाउँदा घटना बढेका हुन् ।

लामिछानेको भनाइमा बाघको सङ्ख्या बढेपछि निकुञ्जको भित्री भागसँगै मध्यवर्ती र वरपरका जङ्गल क्षेत्रमा पनि बाघले बासस्थान बनाउन थालेको छ । ती क्षेत्रहरुमा पूर्ववत् अवस्थामा स्थानीयहरु घाँस दाउरा गर्न जाँदा घटना हुने गरेको उनको भनाइ छ ।

उनले भने, ‘यो हाम्रै ठाउँ त हो नि भनेर ढुक्क भएर सावधानी कम अपनाउँदा घटना बढेका हुन् ।’ उर्वर ठाउँहरुमा घाँस निहुरो जस्ता वस्तु प्रशस्त पाइने र तिनै ठाउँमा बाघको आहारा प्रजाति बढी पाइने हुँदा जम्काभेट भएर घटना हुने गरेको लामिछानेको भनाइ छ । कतिपय अवस्थामा मान्छेले निहुरिएर काम गर्दा आहारा प्रजाति सम्झेर झुक्किएर पनि बाघले आक्रमण गर्ने गरेको उनी बताउँछन् ।

पहिले खुल्ला ठाउँ हुँदा जुन ढङ्गले मध्यवर्ती वनको उपभोग स्थानीयवासीले गरेका थिए, अहिले झाडी हुँदा पनि त्यही ढङ्गबाट काम गर्दा जोखिम बढेका छन् । मानिसमाथि आक्रमण अधिकांश वनभित्र भएका छन् । बस्तीमा बाघ आउँनासाथ नियन्त्रणमा लिने गरिएको छ । चालु आर्थिक वर्षमा चारवटा बाघलाई नियन्त्रणमा लिइएको थियो । तीमध्ये दुईवटा मरेका छन् भने दुईवटा कसरामा राखिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत बाघ विज्ञ डा चिरञ्जीवीप्रसाद पोखरेल बाघको सङ्ख्या बढेका कारण घटनाहरु थपिएको बताउँछन् । पूर्ववत् अवस्थामा भन्दा फरक ढङ्गले सावधानी अपनाएर काम गरेमा बाघबाट बच्न सकिने उनको भनाइ छ । सङ्ख्या बढेसँगै बाघका बासस्थान फैलिँदै गएका छन् । जङ्गलभित्र जानुअघि वन्यजन्तुबाट बच्नका लागि अपनाउनुपर्ने विधिका बारेमा ज्ञान राख्नुपर्ने उनी बताउँछन् ।

सङ्ख्या बढेकाले मानिसहरुसँग जम्का भेट हुने र घटना बढेको छ । वन क्षेत्रमा आहारा प्रजाति पुगेकै कारण बाघ बस्तीमा पसेका घटना कम भएको पोखरेलको अनुमान छ । बाटोहरु निर्माण गर्दा वन्यजन्तुमैत्री बनाउन सकेमा यस्ता घटना कम हुने उनी बताउँछन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेल बाघको सङ्ख्या बढेकै कारण आक्रमणका घटना थपिएको बताउँछन् । बाघ छ भन्ने थाहा पाएर पनि सावधानी विना मानिस जङ्गल जाँदा अकालमै ज्यान गुमाउनु परेको उनको भनाइ छ ।

सामुदायिक वनहरुमा समूहमा प्रवेश गर्ने, हात्ती वा हेरालुको आवश्यकताअनुसार सहयोग लिने गर्न सकेमा घटना कम हुने उनले बताए । चोरीको नियत साथ सुटुक्क वन पस्नेहरु बढी जोखिममा रहेको कँडेलको भनाइ छ ।

यो पनि…
बाघ संरक्षणमा उत्साहजनक उपलब्धि, मानव–बाघ बीचको द्वन्द्व भने भयावह
गैंडा मरेको मर्‍यै, सरकारको छैन ध्यान [तथ्यांकसहित]



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

शारीरिक रूपमा हामी स्वस्थ हुन धेरै किसिमका शारीरिक कसरत गर्छौ भने शरीरलाई हुने किसिमले धेरै किसिमका खानेकुराहरू खाने पनि गर्छौ

धेरैजस्तो मानिसहरू आफ्नो घरमा रङको छनोट गर्दा सेतो, सादा तथा हल्का रङ छान्ने गरेका छन् । सोही रङ भित्री कोठाहरूमा

तपाईँले आजसम्म धेरै पानीका स्रोतहरूको बारेमा सुन्नु भएको होला। धेरै पानी स्रोतहरूको आफ्नै कथा छ। कुनै जल कुण्ड आफ्नो श्रापको

शरीरमा स्ट्रेच मार्कहरू हुनु एकदमै स्वाभाविक हो र यसमा लाज मान्नु पर्ने केही छैन। कहिलेकाहीँ केही विशेष अवसरहरूमा हामी तिनीहरूलाई

Suggested