चेतनाको मसाल बाल्दैछिन् यी चेली (भिडियो पनि)



३३ बर्षअघि नेपालमा पञ्चायती शासन सत्ताविरुद्घ जनआन्दोलनको ज्योती बल्यो । ०४६ फागुन–चैतको बेला थियो त्यो । त्यसबेला विशालनगरमा डेरा गरी बस्ने एउटी फुच्ची केटी लैनचौरस्थित कन्या स्कुलमा कक्षा १० मा पढ्दै थिइन् । नजिकै एसएसलीको फलामे ढोका पार गर्नुपर्ने चुनौती थियो ।

स्कुलसँगै थियो, अस्कल र सरस्वती क्याम्पस । यी दुई कलेजका विद्यार्थीहरु आन्दोलनमा होमिइसकेका थिए । एकदिन कलेजका दाई विद्यार्थीहरुले उनलाई जनआन्दोलनका कमाण्डर गणेशमान सिंहले हस्ताक्षर गरेको पर्चा थमाइदिए, धेरैभन्दा धेरै मानिसलाई बाँड्न भन्दै । सुटुक्क के चेत पस्यो, उनले पर्चा लिइन् र स्कुल आउने क्रममा बाटोमा भेटिएकाहरुको हातमा पर्चा थमाइन् । यो क्रम केही दिन चल्यो । तर, स्कुलकी हेडमिसको कानमा कसैले यो कुरा सुनाइदिए । ती हेडमिसले उनी र उनीसँगै पर्चा बाँड्ने उनकी साथीहरुलाई स्कुलको प्रार्थना सभामा उभ्याएर दण्ड दिइन् ।

क्याम्पसका दाई र पद्यकन्या क्याम्पसबाट आएका दिदीहरुले उनी लगायतका विद्यार्थीहरुलाई राजनीतिक प्रशिक्षण दिन थाले । यसले उनमा राजनीतिक चेतको रफ्तार बढ्न थाल्यो ।

अब राजनीति नभएको कुनै हिस्सा छैन बाँकी । साहित्यदेखि समाजका हरेक कुराले राजनीतिको छाँया–छवि पाइरहेकै हुन्छ ।

रातो फ्रक र सेतो सर्ट थियो, स्कुलको औपचारिक ड्रेस । एकदिन भइदियो कस्तो भने उनले अर्को फ्रक जोगाड गरिन्, आफ्नो रातो फ्रक फुकालिन् । त्यो रातो फ्रकलाई लिस्टिमा राखेर त्यसमा चकले नारा कोरिन–पञ्चायती व्यवस्था मुर्दावाद, बहुदलिय व्यवस्था जिन्दावाद । उनी आन्दोलनमा सक्रिय भएको केही दिनपछि अर्थात २०४६ चैत २६ मा त बहुदलिय प्रजातन्त्र स्थापना भयो, पञ्चायती शासन गर्लम्म ढल्यो ।

पञ्चायत ढल्यो तर, त्यसपछि उनी राजनीतिमा यसरी उठिन् कि अहिलेसम्म त्यो यात्रा जारी छ । हो, हामी कुरा गर्दै छौं, अनिता लामाको । खासमा साहित्यिक क्षेत्रमा पनि पढिएको नाम हो, अनिता । धेरैले उनलाई आगो ओकल्ने अनि चेतनाको सुवास छर्ने कविका रुपमा पनि चिन्छन् । अहिले उनको ताजा परिचय हो, बुढानिलकण्ठ नगरपालिकाका लागि एमालेबाट उपमेयरको उम्मेदवार । बूढानिकलण्ठ क्षेत्रमा मतदातासँग मत मागेर केही बेर सुस्ताउने क्रममा कवि अनितालाई मेरोलाइफस्टाइलको पहिलो प्रश्न थियो, ‘तपाईसँग नारा छ कि कविता ? अनिताले जवाफमा राजनीतिक चेतयुत्त कविता सुनाइन् । उनको कविताको शिर्षक थियो–

त्यो दिन

पूर्वमा पखेटा फिजाउँदै गरेको बिहानीमा
न्यानो आभासको बिछ्यौना
खोज्दै गरेकी ए मेरी आमा !
बिहानी अब चाँडै नै दिनमा परिणत हुँदैछ
अनि सधैंभरी ओसिलो झुप्राहरुमा
घामको ओत खोज्ने, ए मेरो बाबा !
तिम्रो तृष्णा अब छिट्टै मेटिँदैछ
ए मेरा सारा साथी सँगीहरु हो
यहाँ त्यो दिन आउँदै छ
जहाँ अनगिन्ती बाबा र आमाहरुले न्यानो ओत पाउने छन्
तेजोमय हुने छन्, सर्वहाराहरु
शक्तिले पूर्ण हुने छन्, अशक्तहरु
उल्लासले उठ्ने छन्, निमुखाहरु
र,
श्रमको पसिना लुट्नेहरुका विरुद्ध,
भ्रमका खेती रच्नेहरुका विरुद्ध
हिमालको ताज लिएर वैशाखी सिद्ध हुनेछ
त्यो दिन
हो आमा
म त्यो दिन भित्र्याउने तयारीमा लागि रहेको छु
हो आमा
सधैं मेरो पौरखलाई छातीको लेपन दिइ रहने
तपाईको स्पर्शी ममत्वमा जुटी रहेकी छु म
त्यो दिन भित्र्याउन
अनि सधैं–सधैं मेरो बहादुरीको व्याख्या गर्ने
ए मेरो बाबा ! प्रतिक्षा सकिँदैछ तपाईको हौसलाको
यहाँ घामहरु बस्ती–बस्ती सम्हालेर
मसाल जगाई सकेका छन् चेतनाको
म हृदयको ढयाङग्रे टाँगी रहेको छु
त्यो दिनको शुभ मुहूर्तमा
म हृदयको ढयाङग्रे टाँगी रहेको छु
त्यो दिनको शुभ मुहुर्तमा

शब्दसँग खेल्ने साहित्यिक चेतयुक्त अनिता किन राजनीतिक जञ्जालमा फसिन् ? यो हाम्रो प्रश्न थियो कि एउटी कविप्रतिको सम्मान ? थाहा छैन । तर, उनले निकै चलाखीका साथ यसको जवाफ कविता जस्तै मिठो भावमा दिइन । उनले यसो भनिन्, ‘अब राजनीति नभएको कुनै हिस्सा छैन बाँकी । साहित्यदेखि समाजका हरेक कुराले राजनीतिको छाँया–छवि पाइरहेकै हुन्छ । ’

राजनीति मेरो विगतदेखिको चेतना हो । त्यो चेतनाले दिएको कविता मेरो आन्दोलन पनि हो । त्यसैले साहित्य र राजनीतिक दुवै आन्दोलनलाई सँगसंगै लैजान सक्छु भन्ने आत्मविश्वास मलाई छ ।

उनको यो जवाफले डर पो दियो । त्यसो भए राजनीतिको दलदलमा परिसकेपछि साहित्य कतै छुमन्तर हुने त होइन ? यो प्रश्नको उत्तर हाजिर थियो । आफूलाई मतदाताले प्रेमपूर्वक लगाइदिएको खादा सुमसुम्याउदै उनले सुनाइन्, ‘राजनीति मेरो विगतदेखिको चेतना हो । त्यो चेतनाले दिएको कविता मेरो आन्दोलन पनि हो । त्यसैले साहित्य र राजनीतिक दुवै आन्दोलनलाई सँगसंगै लैजान सक्छु भन्ने आत्मविश्वास मलाई छ ।’

प्रश्नको घेराबन्दीमा थिइन्, अनिता । फेरि उनलाई सोधियो, ‘साहित्यिक चेत कि राजनीतिक चेत ठूलो ?’ उनले निमेषभरमै जवाफ फर्काइन् । भनिन्,–दुवै चेतलाई बराबरी हिसाबले हेर्नुपर्छ । साहित्यिक चेतमा पनि रुपान्तरणको चेतना आएन भने त्यो कविता पनि कविता हुँदैन । किनकी कविताले जीवनको लय बोक्नै पर्छ । ठ्याक्कै साहित्यले जस्तै राजनीतिले पनि त्यो चेतना बोक्नुपर्छ । नत्र त राजनीति फोस्रो नारामात्र बन्छ ।’

कविताको शक्तिजस्तो राजनीतिक नाराको शक्ति त्यति बलियो हुँदैन । तर, नारामा भिजन हुन्छ भने कवितामा वजन । म यी दुवै कुरालाई सँगसँगै लिएर हिँडन सक्छु ।

अर्को बाउन्सर प्रश्न अनितातिर सोझियो । सोधियो, ‘कविताको शक्ति कि राजनीतिको नारा ठूलो ?’

उनी पनि के कम ! जवाफ प्रहार गरिन्, ‘कविताको शक्तिजस्तो राजनीतिक नाराको शक्ति त्यति बलियो हुँदैन । तर, नारामा भिजन हुन्छ भने कवितामा वजन । म यी दुवै कुरालाई सँगसँगै लिएर हिँडन सक्छु ।’

नेपाली राजनीतिलाई बाग्मतीलाई जस्तै दुर्गन्धित बनाइएको छ । सत्तासँग,हाम्रा नेताहरुसँग भुँइमान्छेको गुनासो छ । राज्यको लयबाट छुटाइएका सिमान्तवर्ग,आदिवासी जनजाती,मधेसी,दलित,महिला लगायतका धेरै तप्कालाई सत्ताले सम्बोधन गरेन । सरकारले सम्बोधन गरेन । रुपान्तरणको कसम खाएका नेताहरुले पनि केही गरेनन् । यस्तो स्थितीमा अनिताले बुढानिलकण्ठ नगरपालिकाका लागि उपमेयर पदमा जितिन् भने त्यो तप्का,त्यो वर्ग,त्यो समुदायलाई कति प्रभाव पार्ला ? यो हाम्रो जिज्ञासामा उनी यसरी बोलिन्, ‘मैले जति पनि काम गर्छु, मैले भुइँ तहमा हराएका मान्छेहरुका लागि काम गर्छु । म निम्न वर्गबाट उठेको व्यक्ति भएकोले म वर्ग विहिन भइसकेका साथीहरुको बीचमा हुन्छु ।’

घरमा बुवा, श्रीमान, छोराको हैकम चल्ने कुरालाई घरमा दिइने शिक्षा र संस्कार बदल्नु पर्छ । छोरा र छोरीलाई हुर्काउने संस्कारमा परिवर्तन गर्नुपर्छ ।

भुइँलाई छाडेर माथि–माथि फूलको थुँङ्गा जस्तो,दुधमा तर परेको जस्तो आफू कहिल्यै नहुने बताउँछिन्, अनिता । ‘भुइँ छाडेको दिन म राजनीति र साहित्यमा असफल हुन्छु भन्ने चेत छ मलाई’,उनी दार्शनिक सुनिइन् ।

वर्गविहिन समाजको नारा दिने कम्युनिष्ट पार्टीहरुमा नयाँ–नयाँ वर्गहरु देखिन थालेकोमा निधार खुम्च्याउने अनिता पितृसत्ताले घेरेको ठान्छिन् नेपाली समाजलाई । यो समस्याको उपाय के त ? ‘घरमा बुवा, श्रीमान, छोराको हैकम चल्ने कुरालाई घरमा दिइने शिक्षा र संस्कार बदल्नु पर्छ । छोरा र छोरीलाई हुर्काउने संस्कारमा परिवर्तन गर्नुपर्छ ।’

१७ बर्षसम्म काम गरेको नेपाल मेडिकल काउन्सिल छाड्नु उनका लागि साधारण कुरा थिएन । तर, उनले राजीनामा दिइन् र राजनीतिको बाटो समाइन् । खासमा उनका लागि सुखको सत्ता थियो, काउन्सिलको जागिर । काउन्सिलको प्रशासन प्रमुख पदबाट राजिनामा दिएर राजनीतिमा आफूलाई समर्पित गरेकी अनिताले आफ्नो बुवा,आमाबाट विशेष हौसला पाइन् । उपमेयरको टिकट स्विकार गरेर चेतनाको मसाल जगाउन सकिन्छ भन्ने सोचिन् उनले । उनका बुवा आमा पनि आफूहरुले छोरीलाई लिएर देखेको सपना साकार हुने दिन आयो भनेर मख्ख परे । बुवा आमाले ‘एकदिन यो देशको राष्ट्र प्रमुख भएर यो समाज उथल पुथल हुने गरि परिवर्तन गर,छोरी’ भनेर आशिष दिएका छन् । अनितालाई सोधियो,त्यो दिन आउँछ ?’ प्रश्न झर्न नपाउँदै उनले कवि शैलीमा बोलिन्, ‘त्यो दिन अवश्य आउँछ ।’

कन्या मावि लैनचौरबाट ०४७ मा एसएलसी उत्तिर्ण गरेकी अनिताले पद्मकन्या क्याम्पसबाट आइकम गरिन । पब्लिक युथ क्याम्पसबाट बिकम पास गरेपछि उनले त्यही क्याम्पसबाट एमबिए गर्दै थिइन् । स्कुल पढ्दादेखि नै चलेको राजनीतिक चेतनाका कारण २०५६ को आमनिर्वाचनमा होमिइन पुगिन् । त्यसपछि उनले रत्नराज्य क्याम्पसबाट समाजशास्त्रबाट स्नातकोत्तर गरिन् ।

राजनीतिमा उनले प्रारम्भदेखि नै एमाले रोजिन् । ईश्वर पोखरेल,रत्न गुरुङ,नारायण सिलवाल लगायतका एमाले नेताहरुले उनलाई राजनीतिमा सक्रिय रहन प्रेरित गरे । एमालेको वडा कमिटिको सदस्यको जिम्मेवारीबाट राजनीतिको औपचारिक राजमार्गमा हिँडेकी अनिता एमालेको इलाका कमिटीको सदस्य हुँदै काठमाडौं,क्षेत्र नम्बर ५ को सचिवमा निर्वाचित भइन् । क्षेत्रीय कमिटीको सचिव हुँदै अहिले उनी एमाले, काठमाडौं जिल्ला कमिटीको सचिवालयको सदस्य छिन् । एमालेको महिला मोर्चा अखिल नेपाल महिला संघको केन्द्रिय सदस्यको जिम्मेवारीमा पनि छिन्, उनी ।

टोल कमिटिबाट संगठित भएर राजनीतिमा लागेकी अनिता त्यही टोलको कविता लेखेर, त्यही टोलकै चेतना उभारेर उनी साहित्यमा समर्पित पनि भइन् । ‘मेरो देश मेरो सर्वश्व,यसबाहेक अरु कुनै बायोडाटा छैन’ भन्न रुचाउने अनिता यसैलाई आफ्नो जीवनदर्शन मान्छिन् ।

०५८ मा ‘अनुराग’,२०७० मा ‘अर्पण’ र ०७३ मा ‘आतुङ’ कविता संग्रह पाठकसमक्ष ल्याएकी अनिता अहिले पनि नयाँ कृति प्रकाशनको तयारीमा छिन् ।

झमक घिमिरे साहित्य कला प्रतिष्ठानको उपाध्यक्ष पनि रहेकी कवि अनिता प्रगतिशील साहित्य लेखनसँगै सामाजिक जागरणका कार्यमा उनी निरन्तर सक्रिय छन् ।

तीन बर्षअघि ‘जेसम अभियान’ सञ्चालनको नेतृत्व गरेकी अनिताले यो अभियानमार्फत नेपालीलाई पहिले नेपाल नै चिनाउने उद्देश्य राखेकी छिन् । तामाङ भाषामा जेसमको अर्थ सौन्दर्य हुन्छ । उनी पहिले देशवासीलाई देशको सौन्दर्यसँग नजिकबाट परिचय गराउन झकझक्याउँछिन् ।

माक्र्सवादी दर्शनबाट अभिप्रेरित कवि लामाले यसपटकको निर्वाचनमा विजय प्राप्त गरिन् भने उनको अर्को परिचय निर्माण हुनेछ, ‘अनिता लामा,उपमेयर,बूढानिलकण्ठ नगरपालिका ।’

भिडियो :

फोटो/भिडियो : किरण स्याङ्बो/मेरो लाइफस्टाइल

यो पनि…
प्लीज पारमिता
खसी



...
कास्कीको चुनाव इतिहास: सँधै फरक नतिजा - Mero LifeStyle Mero LifeStyle

[…] कांग्रेसका तारानाथ रानाभाट एमाले उम्मेदवार खगराज अधिकारीलाई १ हजार ७ सय ३३ […]

...
पाँच दलिय गठबन्धनको चुनावी सभामा जे देखियो (फोटो फिचर) - Mero LifeStyle Mero LifeStyle

[…] […]

...
‘माडीवासीको शिर निहुरिने काम गर्दिनँ’ - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

जति यौन चाहना बढी भयो उति नै बढी योनीबाट तरल पदार्थ प्रवाह हुन्छ । तर, यौन इच्छा भएन भने महिलाको

देशका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली

काठमाडौंमा एउटा निश्चित समुदायले मधेसी सुमदायका ब्यक्तिलाई ‘मनु मखु मर्स्या ख:’ (मान्छे होइन, मधेसी हो) भन्छन् भन्ने जुन भाष्य सिर्जना

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४

Suggested