युवा पुस्तामा देखिएको परिवर्तनले जेठो पुस्तामा उदासीनता



करिब तीन दशक अघिसम्म ढुङ्गा र खरले छाएका र पाली हालेका गाउँले पाराका घर हुन्थे गाउँघरमा संयुक्त परिवार हुन्थ्यो । दसैं तिहारजस्ता चाडपर्व आउँदा सेतो कमेरो र रातोमाटोले लिपपोत गर्दा घर चिटिक्क देखिन्थे । गाउँ नै उज्यालो हुन्थ्यो । घरनजिकै गाईगोठ र भैँसीगोठ हुन्थ्यो । परालका माच, मकैका कुन्यू र नलको चाङ हुन्थ्यो ।

घरको पछाडी करेसाबारी, लेकबेँसीमा खेतबारी र तिनै खेतबारीमा काम गरिरहेका गाउँका युवायुवती, प्रौढप्रौढा रौनक नै बेग्लै हुन्थ्यो गाउँको । खेतमा धान, मकै, गहुँ, भटमास फल्थ्यो । बारीमा मकै, कोदो, मास, भटमास, बोडी, तोरी, तरुल, आलु, सखरकन्द आदि फल्थे । उखुबारीमा उखु हुन्थ्यो । खरबारीमा खर हुन्थ्यो ।

गाउँका यो प्राकृतिकस्वरुप हराएको पुगनपुग ३० वर्ष भयो । २०४६ सालको राजनीतिक परिवर्तनपछि गाउँमा विकासको लहर चल्यो भने प्रकृतिमा विनाशको डोजरले सम्पदा र मौलिकता दुवैलाई भत्काउन सुरु गर्यो ।

विसं २०४६ देखि भर्खर बामे सर्न थालेको विकासको पाइला २०५२ देखि सुरु भएको तत्कालीन माओवादी विद्रोहका कारण थला पर्यो । २०६३ सम्मको १७ वर्ष गाउँमा विकास र पूर्वाधारको हुनसम्म खति भएपछि २०६२/६३ पछिको राजनीतिक परिवर्तनले गाउँमा पुनः विकासको लहर फैलियो । विकासको त्यो लहर सडक निर्माणमा सबैभन्दा बढी भयो ।

सडक पुग्यो, गाडी पनि चल्यो तर, गाडीमा चढ्न सक्ने र चर्को भाडा तिर्न सक्ने हाम्रो अवस्था बनेन, हाम्रा लागि विकास ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै भयो ।

गाउँका भीरपाखा, उर्वरफाँट र जलाशय भत्काइन थालियो । सडक खन्ने नाउँमा प्रकृतिमाथि भएको डोजर अत्याचार अहिलेसम्म पनि रोकिएको छैन । जव डोजर गाउँमा पस्यो तब गाउँको मौलिकता भत्कियो । आपसी भाइचारा र सामाजिक एकता पनि डोजरे विकासले भत्काउन थाल्यो । गाउँमा सडक पुगेपछि जनतालाई सुविधा त पुग्यो तर त्यो सुविधा पनि पक्षपाती भएको स्थानीयवासीको गुनासो छ ।

‘सडक पुग्यो, गाडी पनि चल्यो तर,गाडीमा चढ्न सक्ने र चर्को भाडा तिर्न सक्ने हाम्रो अवस्था बनेन’ मालिका ५ देवीस्थानका एकजीत बूढाले भने ‘हाम्रा लागि विकास ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै भयो ।’ गाउँमा सडक पुग्नुभन्दा अघि गाउँले आफ्ना श्रमले आफू पालिएका थिए र सहरलाई पनि पालेका थिए । गाउँबाट अन्न, दाल, तेल, घीउ, तरकारी सहर जान्थे । अहिले ती गाउँ–गाउँमा छैनन् ।

गाउँको पसलबाट किनेका चामल खाएर गुजारा चलाउछन् गाउँलेहरु । हिजोका बारी, करेसाबारी, खेत बाँझिएका छन् । गाउँमा चरा उड्दैनन् । मौरी भुनभुनाउँदैनन् ।

हिजो गाउँ भएका ठाउँमा अहिले उराठ र खण्डहर आएको छ । शून्यता छाएको छ । फाट्टफुट्ट घर छन् । घरमा ओज छैन, ऊर्जा छैन, चहलपहल छैन । चुहुने छाना, भत्केका पिँढी । बनमाराले साम्राज्य जमाएको आँगन र करेसा, त्यही भेटिन्छन् फाट्टफट्ट बुढाबुढी । विदेशिएका छोरा नातिले पठाएका पैसाले धानिने छ उनीहरुको जीविका ।

शिक्षक धनवीर थापा भन्छन्, ‘गाउँको पसलबाट किनेका चामल खाएर गुजारा चलाउछन् गाउँलेहरु । हिजोका बारी, करेसाबारी, खेत बाँझिएका छन् । गाउँमा चरा उड्दैनन् । मौरी भुनभुनाउँदैनन् ।’ अहिले धान–चामल चाहीँ विदेशबाट ओसार्न पर्ने बनाएको छ । वैदेशिक रोजगारीका नाउमा मान्छे बेच्ने कम्पनीवाला गाउँगाउँमा पुगेका स्थानीयवासीको भनाइ छ ।

गाउँ न पहिलेका गाउँ जस्ता छन्, नत सहर जस्ता नै हुनसकेका छन्, गाउँ वर्णशङ्कर भए, धर्म, संस्कृति, परम्परा, सरसहयोग, ऐंचोपैंचो, झारा, पर्म सबै हराए, नयाँ नयाँ हामीले बुझनै नसक्ने कुरा आए ।

‘गाउँ न पहिलेका गाउँ जस्ता छन्, नत सहर जस्ता नै हुनसकेका छन्’ बेनी नगरपालिका– २ का ८६ वर्षीय बेदप्रसाद उपाध्याय भन्छन्, ‘गाउँ वर्णशङ्कर भए, धर्म, संस्कृति, परम्परा, सरसहयोग, ऐंचोपैंचो, झारा, पर्म सबै हराए, नयाँ नयाँ हामीले बुझनै नसक्ने कुरा आए ।’

आसन्न स्थानीय तहको माहोल जिल्लामा तातेको छ । ‘नेताहरुले गाउँ बस्तीलाई उन्नति–प्रगतिमा अगाडि लानुपर्ने थियो । त्यस्ता नेता निस्केनन् । असल र इमानदार नेता हामीले चुनावमा उठाउन र जिताएर पठाउन पनि सक्दैनौँ । चुनावमा जालझेल चल्छ । हामीले भोट नदिए पनि उसैले नै जित्छ ।’ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा भन्छन् ।

ग्रामीण संस्कृतिको अपचलनसँगै आपसी सद्भाव, सहयोग र परम्परागत मूल्य, मान्यता हराउँदै जान थालेछि ग्रामीण भेगका ज्येष्ठ नागरिक बढी चिन्तित छन् । वर्णसंकर संस्कृतिले ग्रामीण जीवनशैलीमाथि अतिक्रमण गर्दै जाँदा एक दिन ग्रामीण सभ्यता नै ध्वस्त हुने हो कि भन्ने चिन्ता जेठो पुस्तालाई छ ।

ग्रामीण जीवनको प्राकृतिक स्वाद हराउँदै गएको छ, गाउँमा मानिस गाउँले जस्ता पनि छैनन् र सहरिय जस्ता पनि हुन सक्दैनन् । रेमिट्यान्सले सहरलाई उभों लगायो, गाउँलाई रित्याइदियो ।

उनीहरु आफ्ना सन्तानमा देखिएको अस्वभाविक परिवर्तन र उनीहरुको जीवनशैलीका कारण बढी चिन्तित छन् । धर्म–कर्म, दान–दातव्य सबै देखावटी कार्यमा मात्रै सीमित भएको र त्यसको मर्म हराउँदै गएको उनीहरुको भनाइ छ । ‘ग्रामीण जीवनको प्राकृतिक स्वाद हराउँदै गएको छ, गाउँमा मानिस गाउँले जस्ता पनि छैनन् र सहरिय जस्ता पनि हुन सक्दैनन् ।’ ७६ वर्षीय दण्डपाणी छन् ‘ रेमिट्यान्सले सहरलाई उभों लगायो, गाउँलाई रित्याइदियो ।’

उनी भन्छन्, ‘गाउँको घरबारी बेचेर, धितो राखेर वा ऋण लिएर विदेश जान्छन्, कमाए भने सहरमै घर घडेरी किन्छन्, परिवारलाई बसाइँ सार्छन, सहरमै बस्छन्, कमाउन सकेनन् भने भएको गाउँको टुक्राटाक्री बेच्छन् अनि पलायन हुन्छन्, यस्तै चल्दै त आएको छ गाउँमा ।’

यो पनि…
बन्दीपुर सडक खाना महोत्सवमा ५० हजार पर्यटक
महामारीपछि लयमा फकिँदै पर्यटन व्यवसाय



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

शारीरिक रूपमा हामी स्वस्थ हुन धेरै किसिमका शारीरिक कसरत गर्छौ भने शरीरलाई हुने किसिमले धेरै किसिमका खानेकुराहरू खाने पनि गर्छौ

धेरैजस्तो मानिसहरू आफ्नो घरमा रङको छनोट गर्दा सेतो, सादा तथा हल्का रङ छान्ने गरेका छन् । सोही रङ भित्री कोठाहरूमा

तपाईँले आजसम्म धेरै पानीका स्रोतहरूको बारेमा सुन्नु भएको होला। धेरै पानी स्रोतहरूको आफ्नै कथा छ। कुनै जल कुण्ड आफ्नो श्रापको

शरीरमा स्ट्रेच मार्कहरू हुनु एकदमै स्वाभाविक हो र यसमा लाज मान्नु पर्ने केही छैन। कहिलेकाहीँ केही विशेष अवसरहरूमा हामी तिनीहरूलाई

Suggested