English

मौलाकालिकामा केबलकार : नापजाँच सुरु



चितवन । नवलपुरको गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा एक वर्षभित्र केबलकार सञ्चालनमा आउने भएको छ। व्यवसायी चन्द्र ढकाल र स्थानीयको संयुक्त लगानीमा केबलकार निर्माणको काम सुरु भएको छ।

केबलकार सञ्चालनको लागि कागजी प्रकृया सकेर निर्माण काम थालिएको हो। मन्दिर नजिकको हेलिप्याडमा केबलकारको माथिल्लो स्टेशन बनाइने भएको छ। स्टेशनको जग खन्नका लागि कामदारहरूले बुधबारदेखि नापजाँचको काम सुरु गरेका हुन्।

एक वर्षभित्र केबलकार निर्माणको काम सकिने मौलाकालिका केबलकारका सञ्चालक चन्द्र ढकालले बताए। बैंक, चन्द्रागिरी हिल्सलगायत विभिन्न क्षेत्रमा लगानी गरेका ढकालले मौलाकालिकामा २०७९ पुस मसान्तसम्ममा केबलकार निर्माणको काम सकिने बताए।

केबलकार सञ्चालनको लागि अनुमति र स्वीकृति लिनुपर्ने सबै काम सकेर निर्माण कार्य थालिएको उनले बताए। ‘अब हामी तुरुन्तै निर्माणमा जाँदै छौँ। मलाई लाग्छ बढीमा एक वर्षभित्र केबलकार निर्माणसम्पन्न गर्न सक्छौँ’, उनले भने, ‘होटलको लागि चाहिँ अलिकति समय लाग्न सक्छ।’

२०७९ माघे संक्रान्तिमा भक्तजनले केबलकार चढेर मौलाकालिकाको दर्शन गर्न सक्नेगरी काम गरिएको उनले बताए। केबलकार सञ्चालनको लागि मन्दिर नजिक बनाइएको हेलिप्याडमा एउटा स्टेशन र डाँडाको फेदीमा अर्को स्टेशन हुने छ।

हेलिप्याडमा बन्ने स्टेशनमाथि स्तरिय होटल र होटलमाथि हेलिप्याड बनाइने उनले बताए। चार तारे क्षमताको होटल बन्ने उनको भनाइ छ। १.३ किमी लम्बाईको हुने केबलकारमा सुरुवाती चरणमा १२ वटा डब्बा राखिने छ। फेदीबाट करिब ७ मिनेटमा केबलकारको माथिल्लो स्टेशनमा पुग्न सकिन्छ। त्यहाँबाट बढीमा ५ मिनेट उकालो चढेपछि मौलाकालिका मन्दिर पुगिन्छ।

केबलकारमा स्थानीयको ४९ प्रतिशत र आफ्नो ५१ प्रतिशत लगानी रहने उनको भनाइ छ। ‘स्थानीयहरूले लगानी कम्पनी दर्ता गरेर केबलकारमा लगानी गरिरहनुभएको छ। पैसा जम्मा गर्ने काम सुरु भइसक्या छ’, उनले भने। केबलकारमा सुरुमा डेढ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान छ। होटल पनि निर्माण गर्न थप एक वर्ष लाग्न सक्ने उनले बताए।

मौलाकालिका दर्शन गर्न आउने बृद्धबृद्धा, बालबालिकालगायत अशक्तहरूलाई सहज हुने विश्वास लिइएको छ। ‘केबलकार सञ्चालन भएपछि यहाँको धार्मिक पर्यटनसँगै गैंडाकोट र चितवनको पनि आर्थिक गतिविधि वृद्धि हुने विश्वास छ’, उनले भने । केबलकार चलाउन सामुदायिक वनका एक हजार ३८ वटा रुख काटिएको छ। त्यसको सट्टा बुलिङटारमा रुख रोपिएको उनले बताए।

केबलकार सञ्चालन भएपछि गैंडाको पर्यटकिय गतिविधि बढ्ने गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले बताए। त्यसको लाभ स्थानीयले लिन पाउने उनी बताउँछन्। केबलकार निर्माण भएपछि मौलाकालिका मन्दिरमा पुग्न तीन वटा बाटो हुने उनले बताए।

मौलाकालिकाको मन्दिरमा अहिले पैदल र साना सवारी साधन लिएर जान सकिन्छ। पैदलका लागि १८ सय ८२ वटा सिँढी राखिएको छ। मौलाकालिका डाँडाको फेदीमा रहेको मन्दिर प्रवेश द्वारबाट पूर्वतर्फबाट निर्माण गरिएको बाटोहुँदै मोटरसाइकल, कार, जीपलगायतका साना सवारी साधन लिएर पनि मन्दिरमा पुग्न सकिन्छ।

पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा पाल्पादेखि मौलाकालिका मन्दिर भएको स्थान हुँदै देवघाटमा स्नान गर्न आउने बाटो थियो। त्यसबेला काठको मौलो गाडेर पूजा गर्ने गरिन्थ्यो। २०३२ सालमा गैंडाकोट निवासी काशीनाथ पौडेल र कुमानसिंह गुरुङले सानो मन्दिर बनाएर वर्षको दुई पटक पूजा गर्न थाले।

चैते दशैँ र बडा दशैँमा पूजा गर्ने चलन भयो। कृष्णअष्ठमीको दिन मन्दिमा पुजा गर्नका लागि २०३७ सालमा धार्मिक सेवा समिति गठन भयो। त्यसपछि मन्दिरको रेखदेख गर्न पौडेल र गुरुङले समितिलाई जिम्मा दिए।

२०४२ सालदेखि नियमित पूजा हुन थालेको मौलाकालिका मन्दिरका निवर्तमान अध्यक्ष विष्णुहरी रिमालले बताए। मौलाकालिकामा मन्दिरलगायतका पूर्वाधार निर्माणमा स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको ठूलो योगदान रहेको उनले बताए।

मन्दिर जान इच्छा भएका बृद्धबृद्धाका लागि केबलकार ठूलो सहयोगी बन्न सक्छ। नयाँ वर्षको पहिलो महिना वैशाखमा झण्डै दुई लाख जना भक्तजनले मन्दिरको दर्शन गर्ने उनी बताउँछन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

नेपालकै गहिरो तालको परिचय बनाएको शे फोक्सुण्डो ताल मौसम खुलेसँगै निलो देखिएको छ । छिन , छिनमा रंग बदल्ने यो

एघार जना आरोही टोलीले शुक्रबार बिहान माउन्ट चोयुको सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक्सको उक्त टोलीले विश्वको छैठौं

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक