English

दरका विशेष परिकार



हिन्दू धर्मावलम्बी महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । भोलिपल्ट निराहार व्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो दिन आडिलो खानेकुरा खाने चलन छ । आफ्ना चेलीबेटीलाई बोलाएर मीठा–मीठा परिकार बनाएर खुवाउने गरिन्छ । त्यसैले आजको दिन दरको रुपमा खान सकिने परिकारका बारेमा सेफ कैलाश गुरुङले दिएको मेनु यस्तो छ :

खीर

खीर चामल र दूधबाट बनाइने शुद्ध परिकार । व्रत बस्दा होस् या कुनै पूजा गर्न यसकोे प्रयोग हुन्छ । ५–६ जनाका लागि ३ लिटर दूध, १ पाउ टाइचिन चामल (२०० ग्राम), घ्यु, ड्राइ फुड (किसमिश, काजु आदी), चिनी, ल्वाङ, सुकमेल, मरिच र दालचिनीको धुलो आवश्यकता अनुसार र काटेर टुक्रा–टुक्रा पारेको नरिवल प्रयोग गरेर पकाइन्छ ।

दूधलाई राम्ररी उम्लिने गरी तताउने, उम्लिरहेको दूधमा चामल हालेर चलाउँदै पकाउने । चामल पाकेपछि त्यसमा स्वाद अनुसार घ्यू र चिनी राख्ने । त्यसमा नरिवलको टुक्रा, काजु, किसमिस मिसाएर केही मिनेट पकाउने र ल्वाङ, सुकमेल, मरिच, दालचिनीको धुलो हालेर दुई मिनेटजति पकाएरपछि खीर तयार हुन्छ ।

पुरी

गहुँको पिठोबाट बनाइने रोटीको परिकार हो–पुरी । यसलाई तेलमा तारेर बनाइन्छ । गहुँको पिठो आवश्यकता अनुसार, पानी र तेल वा घिउ प्रयोग हुन्छ । मुछेको पिठो रोटी जस्तै स–साना आकारमा बेल्ने । तेल तताएर तार्ने । यसरी पुरी तयार हुन्छ ।

आलुको अचार

आलुको अचार प्रायः सबैलाई मन पर्न सक्छ । उसिनेको आलुमा तील, कागतीको रस, केराउ, काँक्रो लगायतका विभिन्न वस्तु मिलाएर बनाउन सकिन्छ । यसलाई खीर र पुरीसँग दर खाना सकिन्छ ।

चिकेन साँधेको

कुखुराको मासुलाई उसिनेर हड्डी निकाली एउटै आकारमा लाम्चो आकारमा काट्ने । त्यसमा अदुवा–लसुनको पेस्ट, टिम्मुर, चिकेन मसला एवं खुर्सानी हालेर मोल्ने । कागतीको रस, हरियो खुर्सानी एवं धनियाँ छर्किएपछि साँधेको चिकेन तयार हुन्छ । यो चिकेनलाई पुलाउमा हाल्ने । टमाटर उसिनेर पेस्ट बनाई गेडागुडी पकाएर त्यही पुलाउमा मिसाउने अनि खाने बेला दही मिसाउँदा अझ मीठो हुन्छ ।

खसीको मासु

खसीको मासु दरमा नखाने कमै होलान । आवश्यकता अनुसार मासु, गोलभेंडा, तेज पात, अलैंची, सुकमेल, काटेको प्याज, अदुवाको लेदो, धनियाँको धुलो, जिराको धुलो, बेसार, तेल, नुन लगायत मसलाको प्रयोग गरेर पकाइन्छ ।

टुक्रा पारिएको मासुमा दही र नुन मोलेर एक घण्टा राखिदिने । त्यसपछि मोटो पिंध भएको गहिरो भाँडा अथवा प्रेसर कुकरमा तेल तताएर सुनौलो हुँदासम्म प्याज भुट्ने । त्यसपछि लसुन र अदुवाको लेदो हाली फेरि भुट्ने । त्यसपछि दही मोलेर राखिएको मासु खन्याएर चलाउने । एकपटक उम्लिएपछि बाँकी रहेका सबै मसला हालेर मासुबाट तेल छुट्दासम्म पकाउने । पाकिसकेपछि हरियो धनियाँ राख्ने ।

हलुवा

सुजीको पिठो प्रयोग गरी पकाइने एक मिठाईको परिकार हो । या परिकार सुजी, चिनी, दूध, घिउ, पानी, किसमिस र काजु प्रयोग गरेर पकाइन्छ । भाँडो सुख्खा भएपछि घ्यु राख्ने । सुजीको पिठो राख्ने र गाढा पहेलो नहुन्जेल चलाउने । स्वाद अनुसार चिनी र दुध या पानी राख्ने । किसमिस, काजु नरिवल ड्राई फ्रुड हाल्ने दूध र पानी नसकुकन्जेल पकाउने ।

साँधेको माछा

साँधेको माछालाई पनि दरको परिकारमा समावेश गराउन सकिन्छ । त्यसका लागि काँडा कम हुने कार्प वा रहु माछा २ किलो, तार्नका लागि तेल १ लिटर, गोलभेंडा २ सय ग्राम, मैदा २ सय ग्राम, जिराको धुलो ५० ग्राम, बेसार आवश्यकता अनुसार, खुर्सानीको धुलो ५० ग्राम, लसुनको पेस्ट ५० ग्राम, अदुवाको पेस्ट ५० ग्राम, कागतीको रस ३ टेबुल चम्चा, भुटेको तोरीको तेल ५० ग्राम, मेथी १ चिम्टी, मरिचको धुलो तथा नुन स्वादअनुसार लगायतका सामग्री चाहिन्छ ।

सामग्री तयार भइसकेपछि सबैभन्दा पहिले माछा सफा गरेर टाउको छुट्याउने । त्यसपछि माछालाई २ इन्च लम्बाइ–चौडाइ हुने गरी टुक्रा पार्ने । यसरी टुक्रा पारिएको माछालाई बेसार र कागतीको रस राखेर मोल्ने । यसरी मोलिएको माछालाई एक घण्टा त्यत्तिकै छाडिदिने । त्यसपछि माछाबाट निस्किएको पानीलाई निथारेर त्यसमा मैदा हालेर मोल्ने । एउटा कराहीमा तेल तताएर हल्का रातो हुनेगरी सावधानीका साथ तार्ने । अब तारिएको माछामा मरिच, जिरा र खुर्सानीको धुलो, लसुन र अदुवाको पेस्ट हालेर हल्का हातले मोल्ने । त्यसपछि गोलभेंडा पिसेर मोल्ने । साँधेको यो माछा स्न्याक्सका रुपमा वा खानासँग खान सकिन्छ ।

फ्राइड चिकेन

फ्राइड चिकेनलाई पनि दरको रुपमा खान सकिन्छ । यसका लागि कुखुराको छातीको मासु १ किलो, मैदा २ सय ग्राम, पाउरोटीको धूलो (बजारमा ब्रेड क्रम्बलका नाममा पाइन्छ) २ सय ग्राम, मरिचको धूलो ५० ग्राम, नुन स्वादअनुसार, तार्नका लागि तेल ५ सय मिलिलिटरको आवश्यकता पर्छ ।

त्यसपछि सबैभन्दा पहिले कुखुराको छातीको मासुलाई छाला फालेर २ देखि ३ इन्चको फ्रेन्च फ्राइको जस्तो टुक्रा बनाउने । त्यसपछि उक्त टुक्रालाई भकभकी उम्लिएको पानीमा खन्याउने र १० मिनेटसम्म राख्ने । पानी निथारेर मरिचको धुलो र नुन मोल्ने । अर्को चरणमा कराहीमा तेल तताउने । त्यसपछि कुखुराको मासुलाई पहिले मैदामा त्यसपछि पाउरोटीको धुलोमा लपेटेर तेलमा पकौडी सरह तार्ने । हल्का खैरो रंग आएपछि झिकेर हरियो धनियाँ वा पुदिनाको चटनीसँग सर्भ गर्ने । यो परिकार खाना खानुअघि स्न्याक्सका रुपमा खान सकिन्छ ।

मिक्स सलाद

विभिन्न फलफूलहरु टुक्रा पारेर बनाइने परिकारलाई मिक्स सालद भनिन्छ । सालद बनाउन सिजन अनुसारको फलफूल प्रयोग गर्नुपर्छ । जस्तैः भुइँकटहर, स्याउ, केरा, गोलभेडा, भेंडे खुर्सानी, अनारको दाना, मायोनेज सस, स्वादअनुसार मरिचको धूलो र नुन राखेर बनाउन सकिन्छ । एउटा भाँडामा टुक्रा परिएको फलफूलहरू नलत्पतिने गरी हल्कासँग चलाउने । मायोनेज सस चारैतिर लागिसकेपछि नुन र मरिच छर्कने । यसरी तयार भएको सलादलाई एक घण्टा फ्रिजमा राख्ने । यो परिकार खाना सँगसँगै वा खाना खाइसकेपछि डिजर्टका रूपमा खान सकिन्छ ।

यो पनि पढ्नुहोस्
तीजको दरमा के खाने के नखाने ?
सिन्धुबासीका साथमा कलाकारः पहिलो दिनै उठ्यो ३२ लाख, कसले कति गरे ? (भिडियोसहित)
यी ८ नायिका जसको करिअर सञ्चार क्षेत्रबाट सुरु भयो
कलाकारबाट निर्माता बनेका बलिउड सेलिब्रेट
छाउन थाले तीजका भाका– कतै ताली कतै गाली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो