English

करिश्मा भन्छिन्– ‘तीज गीतको आत्मा सबैले कायम गर्नुपर्छ’ (भिडियोसहित)



हिन्दु धर्मावलम्बी महिलाहरुको महान चाड तीज नजिकिँदै गर्दा दैनिकजसो तीजका गीत सार्वजनिक भइरहेका छन् । यहीबेलामा अभिनेत्री करिश्मा मानन्धरले निर्माण गरेको ‘आउन सङ्गी हो गाउँन मिलेर’ बोलको तीज गीत बजारमा आएको छ । त्यसो त पछिल्लो समय तीज गीतमा गायकदेखि नायकसम्म र गायिकादेखि नायिकासम्म व्यस्त हुन थालेका छन् । यसले तीज गीतको बजार उकास्न ठूलो भूमिका खेलको छ । तर, पछिल्लो समय बजारमा आएका केही तीज गीत र भिडियोका कारण भने यसको मौलिकता धरापमा पर्दै गएको भन्ने आवाज पनि उठ्न थालेका छन् । तर, अभिनेत्री मानन्धरको तीज गीत र भिडियो दुवैमा मौलिकता झल्कन्छ । यसैसन्दर्भमा केन्द्रीत रहेर मानन्धरसँग मेरोलाइफस्टाइलले गरेको कुराकानी :

तपाईं त चलचित्रमा केन्द्रित हुने र अभिनय गर्ने अभिनेत्री कसरी तीज गीतमा होमिनु भयो ?

यो पनि चलचित्र क्षेत्रको एउटा भाग नै हो । जो पर्दामै आउँछ । बजारमा आएका विभिन्न गीतका भिडियोमा चित्त नबुझे पनि अभिनय गरेको हुन्छु । तर, कलाकार भएको नाताले तीज गीत बनाउनु पर्छ र यसको आत्मा कायम गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले तीज गीत निर्माण गरेकी हुँ ।

तपाईले करिव ७/८ वर्ष अगाडि ‘तीजको रहर आयो बरिलै…’ बोलको गीतमा अभिनय गर्नुभएको थियो ? तपाईंलाई तीजका कस्ता गीत मनपर्छन् ?

बालबालिकादेखि वृद्धाका समस्यालगायत समाजका विभिन्न मुद्धालाई तीज गीतमा समेट्न सकिन्छ । मैले ल्याउने गीतमा चेलीको माइतीप्रतिको लगाब र सद्भावलाई राखेर वर्ष दिनको तीजमा एकदिन रमाइलो गरौँ र नाचौँ भन्ने भाव दिन्छ । र, मलाई पनि यस्तै, मौलिक झल्को दिने गीत नै मनपर्छन् ।

तपाईले केही वर्ष अगाडी तीज गीतमा राम्रो शब्द र संगीत भए मात्र अभिनय गर्छु भन्नु भएको थियो । धेरै वर्षपछि तीज गीतमा अभिनय गर्नु भयो । तीज गीतका शब्द र संगीतले तपाईलाई नभेटेको हो कि, तपाईले राम्रो शब्द र संगित नभेट्नु भएको हो ?

दुबै हो । तीज गीत भन्छन् तर, मनैबाट अभिनय गरौं जस्तो लाग्दैन । अहिले तीज भन्ने बित्तिकै एउटा पार्टी जस्तो भएर गयो । भोज भत्तेरमा नाँच्ने गीतहरुमात्र तीजमा चल्न थाले । मैले यो गीतको संगीतकार साज जी राम्रो मान्छे भेट्टाएँ । त्यसैले यसमा ओरिजिनल संगीत सुन्न पाइन्छ ।

तपाईले ल्याएको तीज गीतलाई सरसर्ती समिक्षा गर्दिनुस् न ?

मैले ल्याएको तीज गीत साधारण गीत हो । जुन पहिला–पहिलाको गीतमा हेर्न पाइन्थ्यो । त्यसैले मौलिक गीत हेर्न पाइन्छ । तीज भन्ने बित्तिकै त्यो सँग मन्दिर जोडिन्छ । त्यसैले मैले मन्दिरमै छायाँकन गरेको छु । दियो बालेको छु, शिवजीको आराधना, पुजा गरेकी छु । पछिल्लो समय धेरै गीतहरु पार्टी प्यालेसमा सुटिङ हुन थालेका छन् । मैले त्यो भन्दा बाह्य दृश्यहरु दिन खोजेकी हुँ । त्यसैले पार्टी प्यालेसमा छायाँकन भएका गीत भन्दा विल्कुल फरक छ ।

रंगको पर्व होली होस् या महिलाको महान पर्व तीज होस् । यसमा तपाईको नाम पक्कै जोडिन्छ । यसपालीको तीजको योजना के छ ?

पहिला जस्तो राती दर खाने योजना छैन । साँझपख सामान्य तरिकाले दिदिबाहिनीहरुसँग दर खाने योजना छ । बिहान वर्ता लिन्छु । तर, स्वास्थ्यलाई हानी पुग्ने गरी पानी पनि नखाई कडा किसिमको व्रर्त बस्दिनँ । पानी र फलफूल खाएर शिवजीको आराधना गरेर समान्य तरिकाले वार्ता बस्ने रमाइलो गर्ने योजना छ ।

कोरोना भाइरसका कारणले यो वर्ष तिजको चहल–पहल कम छ, तर विगतका वर्षमा तिज आउनु महिना दिन अगावै दरका नाममा भड्किला गतिविधि देखिन्थे । त्यसमा तपाईको प्रतिक्रिया के छ ?

सुरु–सुरुमा दर खाने निम्तो आएपछि जान्थेँ । तर, महिनैभर दरको निम्तो आउन थालेपछि जानै छोडें । कोरोना आए पछि जाने कुरै भएन । मेरो विचारमा महिना दिन अगाडिबाटै दर खाने नाममा पार्टी गर्नुपर्छ जस्तो लाग्दैन । खुसी हुनका लागि घरमै दर खाने दिदीबाहिनीलाई बोलाएर घरमै एकदिन रमाइलो गर्दा हुन्छ । अझै हाम्रो परम्परा दिदीबहिनीदाइए चुरा, पोते बाँढ्ने अर्थात सुहाग बाँढेर पनि तीज मनाउन सकिन्छ

यसवर्ष तीजको व्रत बस्ने योजना बनाउनु भएको छ कि छैन ?

सानो उमेरबाटै तीजमा व्रत बस्न थालेकी हुँ । थाहा पाएदेखि बस्दै आएको छु तर बचपनमा आधा दिनमा खाना खाइदिन्थें । जब १६–१७ वर्षको भएँ राम्रै गरी व्रत बस्न थालें । पशुपतिमा राती २ बजेदेखि लाइनमा बस्थेँ । बिहान ८ बजे दर्शन हुथ्यौँ । त्यो समयको रमाइलो नै मन्दिरमा लाइन बस्नुमा हुन्थ्यो ।

तपाई कक्षा १२ को विद्यार्थी पनि हो त्यसैले अघिल्लो पुस्ता र पछिल्लो पुस्तासँग जोडिन पाउनुभएको छ । त्यसैले अहिलेका पुस्ताका चेलीहरुमा तीजप्रतिको धारणा के पाउनुभयो ?

अहिलेको नयाँ पुस्तालाई तीजप्रति खासै रुचि नभएको पाएँ । सायद विवाहपछि मनाउँला भन्ने सोच भएर पनि हुन सक्छ । अहिले कोरोना संक्रमण कारणले पनि नमनाएको हुन सक्छ । म अहिले कक्षा १२ मा पढ्दै छु । त्यसैले प्लस टु मा तीज नमनाए पनि स्कुलमा भने राम्ररी तीज मनाएको थिएँ । म पढ्ने विद्यालयमा प्रायः सबै प्रकारका चाडपर्वहरु मनाइन्थ्यो । त्यसैमध्ये तीज पनि पर्थ्यो । विद्यालयमा पुराना मौलिक गीतहरु बजाएर नाच्थ्यौं ।

तपाईलाई तीजको मनपर्ने पक्ष के हो ?

महिलाहरुले माइतीलाई विशेष रुपले याद गर्छन् तीजमा मलाई यो पक्ष एकदमै मन पर्छ । छोरीहरु जब विवाह गरेर जान्छन् उनीहरुलाई माइत जानको लागि समय थोरै नै मिल्छ । त्यसैले तीज पनि एउटा त्यस्तो अवसर हो जसमा महिलाहरु माइत जान पाउँछन् ।

अहिले तपाईले निर्माण गर्नु भएको जुन गीत छ त्यसमा पुरानो मोडलहरुलाई नचाउनु भएको छ, यसको तारतम्य कसरी मिल्यो ?

यो गीतको बोल नै ‘आउन सङ्गी गाउँन मिलेर’ भन्ने छ । त्यसैले मेरो जति पनि सङ्गीहरु छन् उनीहरुलाई समेटेको छु । यसमा हामीले बाबाआमा, दाजू, भाउजूको कुरा गरेका छौं । ‘आउन संगी छमछमी नाचौँन मरेर लौजानु के छ र ?’ मरेर लैजानु त केही पनि छैन त्यसैले भेटेको बेला रमाइलो गर्नुपर्छ ।

नृत्य निर्देशनमा गोविन्द राईलाई नै किन रोज्नु भयो ?

गोविन्द राई नेपाली पन थाहा भएको मानिस भएको भएर उहाँलाई रोजेको हुँ । अन्य कोरियोग्राफरहरु पनि धेरै राम्रो–राम्रो हुनुहुन्छ । तर, तीजको गीतहरुमा भने उहाँको कोरियोग्राफी राम्रो हुन्छ । उहाँसँग मेरो लामो सहकार्य पनि छ त्यसैले पनि उहाँलाई रोजें ।

तीज गीत निर्माण गर्ने सोच चाहिँ कसरी आयो ?

मलाई एउटा तीज गितको अफर आएको थियो । त्यो गितमा प्रयोग भएका शब्दहरुले गर्दा मैले त्यो गीतमा अभिनय गरिनँ । केही मौलिक गरौन भन्ने सोचका साथ मैले यो गीत निर्माण गरेँ ।

कोरोना माहामारीले फिल्म क्षेत्र सुस्ताएको छ, यो बेला तपाईको लाइफस्टाइल कसरी बितिरहेको छ ?

यो पनि पढ्नुहोस्
जसले नृत्यमै करिअर बनाए

कोरोनाले हाम्रो रियालीटी देखाइदिएको छ । बाँच्नु नै ठुलो कुरा हो भन्ने पाठ सिकाएको छ । यो तीज गित बनाउनुको उद्धेश्य दर्शकहरुसँग जोडिन पाइयोस भनेर नै हो । सक्दो स्वस्थ हुने, मनस्थितिलाई सामान्य राख्ने प्रयासमा छु । पछिल्लो समय सचेत भएर केही म्युजिक भिडियोहरुमा अभिनय गरिरहेको छु ।

चलचित्र क्षेत्र त केही समय सुचारु हुने अवस्था छैन, त्यसैले अबको योजना के छ ?

अहिले युट्युबमा इडिटिङ सिकिरहेको छु । युट्युबको लागि कन्टेनहरु बनाइरहेको छु । सँगसँगै पढाईलाई पनि निरन्तरता दिइरहेको छु ।

अन्तिममा दर्शकहरुलाई के भन्न चाहनु हुन्छ ?

अहिले संयमता अपनाउनु एकदमै जरुरी छ । धेरै मानिसहरुले कोरोनाको कारण सास्ती भोगिरहेका छन् । यो समय छिट्टै बितोस् । सबै जनाले खोप पाउन् र जनजीवन सामान्य तरिकाले बिताउन पाइयोस् भन्ने कामना गर्छु ।

भिडियो :


यो पनि पढ्नुहोस्
सिन्धुबासीका साथमा कलाकारः पहिलो दिनै उठ्यो ३२ लाख, कसले कति गरे ? (भिडियोसहित)
यी ८ नायिका जसको करिअर सञ्चार क्षेत्रबाट सुरु भयो
कलाकारबाट निर्माता बनेका बलिउड सेलिब्रेटी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली