English

अमर न्यौपानेका पुस्तक फ्यान : गाडीमा ह्वाँ–ह्वाँ रुनेदेखि पाइलट भएकोमा पछुतो मान्नेसम्म



नेपालका प्रख्यात साहित्यकार हुन् अमर न्यौपाने । उनका पुस्तकहरू ‘सेतो धरती’, ‘करोडौँ कस्तुरी’ र ‘गुलाबी उमेर’ धेरैले रुचाएका छन् । उनको लेखनशैली सबै उमेर समूहलाई मनपर्ने गरेको छ । ‘सेतो धरती’ले विसं २०६८ सालको मदन पुरस्कार प्राप्त गरेपछि उनको चर्चा एकाएक चुलियो । उनलाई माया गर्ने पाठकको सङ्ख्या पनि एकदमै धेरै छ । धेरै पाठकहरूमध्ये आफ्ना केही अनौठा पाठकलाई उनी यसरी सम्झन्छन् :

‘सेतो धरती’ पढेर पढाइ सुधार्ने फ्यान

पोखराको मदरल्यान्ड स्कुलको कक्षा ९ पढ्ने छात्रा सुलोचना अधिकारी । उनी पढाइमा एकदमै कमजोर रहिछिन् । बा आमाले ट्युसन राख्दिँदा पनि उनको पढाइ सुध्रिएनछ । पाठ्यक्रम बाहेकको पुस्तक पढ्नुहुन्न, भन्ने मान्यता उनको अभिभावकको थियो भने स्कुलमा पनि स्कुलको पाठ्यक्रममा मात्र ध्यान दिनुपर्छ भनेर दबाब दिने गर्थे । एक दिन सुलोचनाले घरमा ‘सेतो धरती’ देखिछिन् र त्यो पुस्तक आमा बुबासँग लुकेर दुई–तीन पेज पढिछिन् । दुई तीन पेज पढेपछि उनलाई त्यो पुस्तक पढिरहने इच्छा भएछ स्कुल र घरमा अभिभावक तथा शिक्षकसँग लुकेर उनले ४ सय पेजको सेतो धरती पढेर सकिछिन् । स्कुलमा चार घण्टा लगाएर तीन पेज पढाउँदा याद नहुने मान्छेले त्यो ४ सय पेजको पुस्तक सबै पढेर याद गरिछिन् ।

उनले पुस्तकबारे समीक्षा नै लेखिछिन् जुन ‘नयाँ पत्रिका’मा छापिएको थियो । पत्रिकामा छापिएको त्यो पुस्तक समीक्षालाई कटिङ गरेर स्कुलको नोटिस बोर्डमा नै टाँसियो । उनको नाम नै ‘सेतो धरती’ राखिएछ, त्यसपछि अचानक उनको पढाइमा पनि सुधार भएछ । उनी कक्षामा पहिलो दोस्रो हुन थालिछिन् । एउटा कार्यक्रमको सिलसिलामा पोखरा जाँदा उनको आमासँग मेरो भेट भयो र उहाँले मलाई यो सब कुरा सुनाउनुभयो । उहाँले मलाई ती नानीको स्कुल पनि लिएर जानुभयो ।

त्यहाँ विद्यालयको प्रधानाध्यापकसँग पनि मेरो भेट भयो । उहाँले सुनाउनुभयो ‘हामीले पाठ्यक्रमभन्दा बाहिरको किताब पढ्न दिँदैन थियौँ तर, तपाईंको पुस्तक पढेर सुलोचनामा जुन परिवर्तन आयो । त्यसलाई देखेर हामीले महसुस ग¥यौँ पाठ्यक्रम सँगसँगै बाहिरी पुस्तक पनि पढ्नुपर्छ ।’ पढाइमा रुचि नराख्ने एक जना नानी मेरो पुस्तक पढेर पढाइतिर ध्यान दिन थालेको भन्ने कुरा थापा पाउँदा धेरै खुसी लाग्यो ।

‘करोडौँ कस्तुरी’ ले मुड चेन्ज गराएको म्यासेज पठाउने फ्यान

मेरो करोडौँ कस्तुरी उपन्यास आएको केही समयपछि एकजना भाइले मलाई म्यासेज गर्नुभएको रहेछ । म्यासेजमा लेखिएको थियो ‘मलाई घरबाट बुबाले मेडिकल साइन्स पढ्नुपर्छ भनेर एकदमै दबाब दिइरहनुभएको थियो । तर, मलाई मेडिकल साइन्स पढ्न मन थिएन । घरबाट धेरै दबाब आएको भएर एउटा इन्स्टयुटमा तयारी कक्षा लिइरहेको थिएँ । धेरै प्रयास गर्दा पनि पहिलो वर्ष मेरो नाम निस्किएन, दोस्रो वर्ष पनि पनि निस्किएन ।

एक दिन अचानक बुबा आएर छोरा तँलाई जे पढ्न मन लाग्छ त्यै पढ् भन्नुभयो । यत्रो दुई वर्ष मेहनत गरेपछि बुबाले किन अचानक यसो भन्नुभयो भनेर म छक्क परेर बुबालाई सोधेँ उहाँले मेरो अगाडि करोडौँ कस्तुरी उपन्यास राखिदिनुभयो र ल यो पढ्नु भन्नुभयो । सर । धेरै धन्यवाद तपाईंको किताबले मलाई चेन्ज गरिदियो । म चेन्ज हुनुभन्दा मेरो बुबा चेन्ज हुँदा मेरो जीवनमा धेरै परिवर्तन भयो । म मेडिकल साइन्स पढ्न चाहन्न थिएँ पत्रकारिता पढ्न चाहन्थेँ त्यो म आफ्नो लक्ष्य प्राप्तिमा सफल भएपछि तपाईंलाई भेट्न आउँछु ।’

‘करोडौँ कस्तुरी’ पढेपछि, आफू पाइलट भएकोमा पछुतो मान्ने फ्यान

एक जना महिला पाइलट हुनुहुँदो रहेछ । उहाँले मलाई फेसबुकमा एक दिन म्यासेज गर्नुभएको थियो । नमस्कार सर, म तारा एयरको पाइलट तपाईंको किताब करोडौँ कस्तुरी पढेँ अहिले मेरो दिमागले काम गरिरहेको छैन । म जहाज चलाउन जन्मेको हैन रहेछु । मेरो रुचि अर्कै थियो । मेरो शिक्षा जहाज चलाउने हो तर मेरो इच्छा जहाज चलाउने हैन । तपाईंको किताब पढेपछि मेरो दिमाग खुल्यो अब के गरौँ भनेर उहाँले म्यासेजमा लेख्नुभएको थियो । तपाईंको बेचैनीको लागि क्षमा चाहन्छु भनेर मैले उहाँको म्यासेजको जवाफ दिएँ । यो कुरा पहिल्यै महसुस गरेको भए सायद म पाइलट बन्ने थिइनँ । अब त विकल्प छैन फेरि उहाँको म्यासेज आयो ।

‘फाइन प्रिन्ट फिभर’ भन्ने एउटा कार्यक्रममा सहभागी हुन नेपालगञ्ज गएको थिएँ । एयरपोर्टमा प्लेन ल्यान्ड भएपछि विमानस्थलमा ओर्लिंदै गर्दा पछाडि बाट कुममा एक जना महिलाले थपथपाउनुभयो । को रहेछ भनेर फर्के मलाई म्यासेज गर्ने पाइलट हुनुहुँदो रहेछ । मैले तपाईंलाई म्यासेज गरेको थिएँ नि भन्दै सम्झाउनुभयो ।

नातिनीले पढेको उपन्यास सुन्ने फ्यान

२०७१ सालमा म एउटा कार्यक्रमको लागि गोर्खा गएको थिएँ । त्यहाँ एक जना बुढी आमा लौरो टेक्दै आउनुभयो । उहाँ एकदमै कुप्रो हुनुहुन्थ्यो । मेरो नजिक आएर टाउको उठाएर मलाई हेर्नुभयो र मलाई गालामा छुनुभयो । बाबु मैले तिम्रो किताब सुनेको छु नि भन्नुभयो । एफएममा सुन्नुभयो आमा भनेर सोधे ? हैन मेरी नातिनी काठमाडौंमा बसेर पढ्छे दशैँमा घर आउँदा सेतो धरती ल्याएकी रहिछ । उसलाई पढेर सुना न भने तर उसले मानिनँ । तर, १० कक्षामा पढ्ने अर्को नातिनीले पढेर सुनाई ।

स्वस्थानीजस्तै एक दुई अध्याय गरेर पढेर सुनाई । हाम्रो पालाको कथा कसरी लेख्नुभयो बाबु यति सानै उमेरमा भनेर मेरो गाला सुमसुमाउनुभयो ।

गाडीमा ह्वाँ–ह्वाँ रुने फ्यान

एकजना व्यक्ति काठमाडौंबाट पोखरा जाँदै हुनुहँदोरहेछ । उहाँले गाडीमा मेरो पुस्तक ‘सेतो धरती’ पनि पढ्दै हुनुन्थ्यो रे । किताब पढ्दापढ्दै उहाँ ह्वाँ–ह्वाँ रुनु भएछ । उहाँले म गाडीमा छु भनेर नै बिर्सनुभएछ । मेरो वरिपरि अरू मान्छे पनि छन् भनेर पनि बिर्सनुभएछ । सबै प्यासेन्जर आएर के भयो भनेर उहाँलाई सोधेछन् । म त किताब पढेर रोएँ भन्नुभएछ । सबै जिल्ल परे, उहाँ मेरो नाता पर्ने व्यक्ति हुनुहुँदोरहेछ । त्यो कुरा उहाँले मसँग भेट हुँदा सुनाउनुभएको थियो ।

यो पनि…
‘कलेजमा पहिलो ब्वाई हुनु दबाब थियो’
‘मार्कसिट सच्याउन काठमाडौं आउँदा कलेज भर्ना भएँ’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested