च्यारिटीको भरमा गुरुङ चलचित्र लगानी उठाउनै मुस्किल

च्यारिटीको भरमा गुरुङ चलचित्र


एउटा गुरुङ चलचित्रको लागत ४० लाख रुपैयाँ नाघ्न थालिसक्यो, तर अहिलेसम्म गुरुङ चलचित्र च्यारिटी शोकै भरमै छ । लगानी उठाउन निर्मातालाई फलामको चिउरा चपाउनुसरह हुन्छ । गुरुङ चलचित्रका दर्शक सीमित छन् भने स्रोत र साधन पनि सीमित छन् । मूलधारका नेपाली चलचित्रसँग प्रतिस्पर्धा गरी आफ्नो उपस्थिति दरिलो बनाउनुपर्ने अवस्थामा गुरुङ चलचित्र एक आपसमै भिड्ने गरेका समेत छन् ।


गुरुङ फिल्म एसोसिएसन नेपालको बैठकले दुई गुरुङ चलचित्र प्रदर्शनको मिति कम्तीमा १५ दिन राख्ने निर्णय ग¥यो, तर भीआईपी शोका बारेमा कुनै बन्देज लगाइएन । त्यसैले गत बर्ष १७ दिनमा चारवटा चलचित्र प्रदर्शन भए । जसको असर च्यारिटीको भरमा धानिएका समग्र गुरुङ चलचित्र उद्योगमै प¥यो ।

‘बजार सानो छ । तँछाडमछाड गर्दा कसैलाई फाइदा हुँदैन । एउटा चलचित्र प्रदर्शन गरौं, सबै गएर हेरौं अनि अर्कोमा पनि त्यस्तै गरौं,’ गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का गिरीप्रसाद गुरुङको आग्रह छ ।


गुरुङ चलचित्रले २४ वर्ष लामो इतिहास बनाइसकेको छ । चलचित्र निर्माणको इतिहास लामो भए पनि गुरुङ चलचित्रको बजार भने त्यति सुखद देखिँदैन । चलचित्र निर्माण गरेपछि विभिन्न ठाउँमा च्यारिटी शो गरेर लगानी उठाउने बाध्यता यथावत् नै छ । विदेशमा भएका गुरुङ समुदाय एवं नेपालमा गुरुङ बाहुल्य क्षेत्रमा प्रदर्शन गरेको भरमा गुरुङ चलचित्र धानिदै आएका छन् ।

गुरुङ चलचित्र भाषा, संस्कार, वेशभूषा, भूगोल तथा सरल जनजीवनको वास्तविक परिवेशमा आधारित हुन्छ । आफ्नो भाषा तथा संस्कृतिलाई चलचित्रको माध्यमबाट नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने काममा गुरुङ चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गरी आएका छन् ।

मूलधारका नेपाली चलचित्र नै विदेशमा च्यारिटी शोमा निर्भर हुने क्रम बढेपछि त्यसको असर गुरुङ चलचित्र माथि समेत परेको पाइन्छ । गुरुङ चलचित्र झन्डै २ सय जना कलाकार तथा प्राविधिकको रोजिरोटी रहेको छ । केही स्तरीय चलचित्रले देश तथा विदेशमा गरिने प्रदर्शनमार्फत लगानीसँगै नाफासमेत कमाएका छन् । केही गायक–गायिका गुरुङ गीत–संगीतमार्फत देश–विदेशका कार्यक्रममा व्यस्त छन् । गुरुङ कलाकार र चलचित्र प्रति गुरुङ समुदायको अथाहा माया छ, तर पनि गुरुङ चलचित्र नियमित प्रदर्शन हुन भने सकिरहेका छैनन् । यसको मुख्य कारण झन्झटिलो सेन्सर प्रक्रिया, समयमा हल नपाउनु, गुणस्तरीय चलचित्र कम बन्नु अनि अन्य विभिन्न भाषाका चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती रहेको गुरुङ फिल्म एशोसिएसन नेपालका संस्थापक अध्यक्ष माओत्से गुरुङ बताउँछन् ।
२४ वर्षको अवधिमा गुरुङ फिल्म एशोसिएसनमा दर्ता भएका चलचित्रको संख्या १ सय ५० को हाराहारीमा छ । वर्ष २०७५ मा मात्र १० वटा चलचित्र जिफानमा दर्ता भएका थिए । ‘विगतमा गुरुङ संस्कार, संस्कृतिमा बनेको नेपाली भाषाको चलचित्रलाई पनि गुरुङ चलचित्र मान्ने विधान थियो तर पछि विधान संशोधन भै ७० प्रतिशत गुरुङ भाषा अनिवार्य सर्त भएका कारण संख्या केही घटेको छ’ जिफानका गिरीप्रसाद गुरुङले भने ।
गुरुङ चलचित्रको मुख्य बजार कास्की जिल्ला नै हो भने त्यसका अतिरिक्त काठमाडौँ, लम्जुङ, तनहुँ, स्याङ्जा, गोरखा, पर्वत, चितवन, रुपन्देही नवलपरासीमा समेत त्यसको च्यारिटी शो हुने गरेको छ । पछिल्ला दिनमा हङकङ, जापान, कोरिया, बेलायत, खाडीमुलुकमा रहेका नेपाली बाहुल्य देश–सहर, भारतको सिक्किम, दार्जीलिङ आदि ठाउँमा समेत नियमित रूपमा गुरुङ चलचित्र प्रदर्शन हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वलीको शब्द रहेको दंगाली भाषाको ‘ऐच्यै चत्तेरी’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार

कोरोना भाइरसका कारण गत वर्ष नौ महिनासम्म लकडाउन भयो । सो समयमा शिक्षा, यातायात, व्यापार व्यवसाय, चलचित्र लगायत मानिसको दैनिकीलाई

आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न स्थानमा वृक्षारोपण र सरसफाई अभियान सञ्चालन गरेर मनाइएको छ

पछिल्लो पुस्ताकी चर्चित गायिका हुन– एलिना चौहान । ‘इन्स्टाको फोटो’ को कभर गीत गाएर चर्चामा आएकी चौहानले यो अवधिमा थुप्रै