रारा र शे–फोक्सुण्डो ‘कर्णालीको हिरा’



उत्कृष्ट पर्यटकीयस्थलका रूपमा मुगु र डोल्पामा पर्यटकको रोजाइ अधिक मात्रामा हुँदै आएको छ।

यहाँ निकुञ्ज क्षेत्रका साथै हिमालको फेदीमा ताल भएकै कारण सबैको रोजाइ बन्दै आएको हो । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र रहेको फोक्सुण्डो ताल, बाला त्रिपुरासुन्दरी मन्दिर, धो भ्याली र छार्का गाउँ सबैभन्दा बढी पर्यटकीय गन्तव्यका रूपमा रहेका छन् ।

त्यस्तै उपल्लो डोल्पामा रहेका सबैभन्दा पुराना गुम्बाहरू पनि यहाँको मुख्य आकर्षण रूपमा रहेको छन् । विश्वमै दुर्लभ मानिएको हिमचितुवा समेत शे–फोक्सुण्डोमै रहेको छ । सबैभन्दा बढी भञ्ज्याङ, हिम शृंखलाहरू तथा छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको डोल्पा अधिकांशको रोजाइ हुँदै गएको छ । सडक सञ्जालसँग भर्खरै मात्र जोडिएको डोल्पामा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने क्रम जारी छ ।

यो आर्थिक वर्षमा भारी संख्यामा पर्यटकहरूले डोल्पामा घुमेको तथ्यांक रहेको छ। सबैभन्दा देशका नीति निर्माण तहमा पुग्ने व्यक्तित्वहरू पुग्ने ठाउँमध्येको डोल्पाको फोक्सुण्डो, बाला त्रिपुरासुन्दरी पर्छन् । हप्ता दिनअघि मात्र कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बाला त्रिपुरासुन्दरी माताको दर्शन गरेका थिए ।

त्यस्तै उत्कृष्ट पर्यटकीय गन्तव्य रारालाई पनि लिइएको छ। यहाँ पनि भारी मात्रामा पर्यटकहरू घुम्न आउने गर्छन् । समुद्री सतहदेखि दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा तालको बयानमा धेरैले धेरै कुरा भनिसकेका छन् । २०२० सालमा राराको भ्रमण गरेपछि स्वर्गीय राजा महेन्द्रले २०२२ सालतिरै राराप्रति सम्मोहित बनेर राराको सौन्दर्य महिमा गाउँदै कविता नै लेखे— ‘रारा कि अप्सरा !’ यस कविताबाट पनि राराको सौन्दर्य महिमा नाप्न सकिन्छ ।

पर्यटनको अथाह सम्भावना छ रारासँग । वैशाख जेठमा रारा गुराँसमय बन्छ । हिउँदमा हिउँले ढाकिएको हुन्छ । रारावरपरका सैपाल, छायानाथ, चंखेली, काञ्जीरोवा, पञ्चमुखी आदि हिमाल तथा हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । यी चुचुराबाट कर्णाली प्रदेशका पाँच वटा जिल्ला (मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालिकोट) र अन्य बाजुरा, अछाम, बझाङ र दैलेख गरी करिब नौवटा जिल्लाको भूभाग दृश्यावलोकन गर्न सकिन्छ, जसले गर्दा पर्यटकीय गन्तव्य र पर्यटन व्यवसायका लागि यी चुचुराले थप आकर्षण बढाएको छ ।

हिमालले तालको सौन्दर्यमा थप शोभा बढाइदिएको हुन्छ । दिन खुलेको बेला हिमालहरू ऐनामा जस्तै सीधै तालमा प्रतिबिम्बित हुन्छन् । रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करिब ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्तस्थल हो । यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूरपश्चिमका ६ वटा जिल्लासमेत देख्न सकिन्छ । रारा तालको किनारै किनार पुरै एक फन्को मार्न ५ घण्टा लाग्छ ।

रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारीसाधन प्रवेश निषेध छ । मिलीचौरमा सवारीसाधन रोकेर रारा तालतर्फ पैदल यात्रा गर्नुपर्छ तर पैदल यात्रा गर्न नसक्नेहरूका लागि घोडाको व्यवस्था छ ।

सवारीसाधन छोडेपछि करिब ३० मिनेटको यात्रापछि तालको छेउ पुग्न सकिन्छ । तालको छेउ पुगेपछि हिँडाइको थकान सबै मेटिने गर्छ । कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतदेखि दुई दिनको सवारीसाधनमा यात्रापश्चात् पुग्न सकिन्छ । अथवा नेपालगञ्जदेखि ४० मिनेटको हवाई यात्रापछि मुगुको ताल्चा विमानस्थल अनि २ घण्टा पैदल यात्रापश्चात् रारा पुग्न सकिन्छ ।

यो आर्थिक वर्षको आखिरी समय आइपुग्दा अहिलेसम्म १० हजार पर्यटकले यहाँको घुमफिर गरेका छन् । गत वर्ष असारदेखि जेठ मसान्तसम्म नेपाली पर्यटक १० हजार र विदेशी ८२ जनाले रारा अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए । कोरोना महामारीले शिथिल बनेको रारा महामारी घटेपछि एक वर्षमा रारा घुम्ने आन्तरिक पर्यटकको संख्या १० हजार नाघेको हो ।

पोखरा, काठमाडौं, विराटनगर, चितवन, पाल्पा, भक्तपुर, भैरहवालगायत जिल्लाका आन्तरिक पर्यटकले रारा भ्रमण गरेका छन् भने बेलायत र अमेरिका लगायतका मुलुकका बाह्य पर्यटक रारा अवलोकन गर्न आएका छन् । अमेरिका, अस्ट्रेलिया र बेलायतका राजदूतसहित प्रदेश तथा संघीय मन्त्रालयका सचिव, उपसचिव, विदेशी कूटनीतिक नियोगका कर्मचारी, गैरसरकारी संस्थाका कर्मचारी पनि यो वर्षमा रारा भ्रमण गरेका छन् ।

अधिकांश आन्तरिक पर्यटक स्थलमार्ग र केही हवाईमार्गबाट रारा घुम्न आएको निकुञ्ज अधिकृत दाहालले बताए । विदेशी पर्यटक भने जहाजबाटै रारा आएको उनले बताए । यहाँ घुम्न आउने पर्यटकबाट रु २६ लाख राजस्व उठेको छ । आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति १ सय प्रवेश शुल्क र बाह्य पर्यटकबाट प्रतिव्यक्ति ३ हजार प्रवेश शुल्क उठाउँदा २६ लाख जम्मा भएको निकुञ्ज अधिकृत दाहालले जनाए । निकुञ्जले प्रवेश शुल्क उठाउने र सुविधाको लागि संरचना निर्माणमा ध्यान नदिने गरेको पर्यटकको गुनासो छ ।

आशातीत विकास नभएको रारा

पर्यटकलाई अझ आकर्षण गर्न रारा तालको वरपर घुम्न साइकल लेन बनाउने प्रयास सुरु भएको छ । यस प्रयोजनका लागि प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमै बजेट विनियोजन गरे पनि आशातीत विकास भइसकेको छैन । यसले ताल क्षेत्रको संरक्षणमा कतिको असर पार्छ भन्नेतर्फ पनि ध्यान दिनु जरुरी छ ।

रारा पुग्ने जोसुकै हुन्, यहाँको सौन्दर्यले मोहित हुन्छन् । उनीहरूले सामाजिक सञ्जालमा होस् वा आमसञ्चारका माध्यमबाट व्यक्त विचार निकै मननीय छन् । रारालाई प्रकृतिको अनुपम उपहार, स्वर्गको टुक्रा, पुग्नैपर्ने ठाउँ, कर्णालीकी रानी, देशकै वैभव, कर्णालीको वरदानजस्ता शब्दले राराको सौन्दर्यलाई शब्दमार्फत परख गरेको पाइन्छ ।

रारा पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएकाले यस क्षेत्रमा पर्या–पर्यटकीय सम्भावनाको उजागर हुँदै गएको छ । सुन्दर दृश्य, मुगाली संस्कृति, चराहरूको वासस्थान आदिले यो क्षेत्रको आकर्षण झन् बढाएको छ । जसले गर्दा स्थानीयको जीवनशैलीमा शीघ्र परिवर्तन ल्याउन सकिने सम्भावना पनि प्रशस्त छ । उता फोक्सुण्डो जानका लागि दुनैबाट पैदल हिँड्न पर्छ । एक दिनभरी हिँडेर भोलिपल्ट बिहान तालको छेउमा पुग्न सकिन्छ । व्यवस्थापनको मामिलामा यहाँ निकै समस्या हुँदै आएको छ ।

यो पनि…
प्रचुर सम्भावना बोकेको गुमनाम ‘इन्द्रेणी झरना’
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि संघीय संसद निर्वाचनमा उम्मेदवारी दिएकाहरूको शनिवार विशेष भेला जारी छ । ललितपुरको हेरिटेज

बर्खाको समय । अनकन्टार भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि

नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा

सरकारले लगातार दश वर्षदेखि सार्वजनिक गर्दै आएको तथ्य र तथ्याङ्कले चामलको परनिर्भरता अकासिएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६९/७० मा

Suggested