English

के घिउ स्वास्थ्यवर्द्धक छ ? विज्ञानले के भन्छ ?



मुख्यगरी भारत र खाडी मुलुकमा घिउ लोकप्रिय मानिन्छ । परम्परागत रूपमा गाईको दूधको नौनीबाट घिउ बनाइन्छ । नौनीलाई तताएर पानीको मात्रा वाफको रूपमा उडेर सकिएपछि बाँकी रहेको तरल फ्याट नै घिउ हो ।

साउथ डाकोटा स्टेट युनिभर्सिटीका फर्माकोलोजीका प्राध्यापक चन्द्रधर द्विवेदी भन्छन्, ‘शुद्ध नौनी घिउसँग धेरै कुरामा मिल्दोजुल्दो हुन्छ । तर, नौनी उच्च तापको प्रयोग गरेर बनाइन्छ भने घिउ बनाउन सय डिग्री वा कममा उमाल्नुपर्छ ।’

घिउ बनाउन कम तापक्रमको प्रयोग गरिन्छ, जसका कारण अन्य प्रकारका शुद्ध नौनी बनाउन भन्दा बढी समय लाग्ने गर्छ । तर, कम तापक्रममा उमाल्दा घिउमा अधिक मात्रामा भिटामिन र पोषकहरू बाँकी रहेको हुन्छ ।

भिटामिन ई, भिटामिन ए, एन्टिअक्सिडेन्ट्स र अन्य जैविक तत्वहरूको स्रोत हो घिउ । तर उच्च तापक्रममा उमाल्ने हो भने यी तत्वहरू बिग्रिन वा हराउन सक्ने द्विवेदी बताउँछन् ।

आयुर्वेदको तत्व घिउ करिब ६ हजार वर्ष पुरानो पूरक औषधिको रूप हो, जुन भारतलगायत थुप्रै राष्ट्रहरूमा अझै पनि प्रयोग गरिन्छ । ‘घिउ जडिबुटि औषधि हो’, द्विवेदी भन्छन्, ‘घिउ भन्ने वित्तिकै यो एक पवित्र तत्व हो भन्ने मान्यता छ । जब यसलाई औषधिको रूपमा प्रयोग गरिन्छ, तब प्रयोगकर्ताले औषधिय र आध्यात्मिक दुबै फाइदा पाउँछन् ।’

आध्यात्मिक पक्षहरूलाई एकछिन परै राखौँ । द्विवेदीका अनुसार अत्याधिक फ्याटयुक्त खाद्यपदार्थ अर्थात् घिउको सेवन गर्नाले शरीरको जैव उपलब्धताको विकास हुने र शरीरको स्वस्थकर भिटामिन र पोषक तत्वहरू सोस्ने क्षमतामा बृद्धि हुने विज्ञानले पुष्टि गरेको छ ।

घिउको प्रयोग गरेर खाना पकाउँदा वा खाँदा शरीरमा अत्याधिक पोषक तत्वहरू पहुँच पुग्ने द्विवेदीको भनाई छ । उनका अनुसार घिउ स्वादिष्ट पनि हुन्छ, जसका प्रयोगले कुनै स्वास्थ्यकर तर नमीठा खानालाई मीठो बनाएर खान पनि सकिन्छ ।

तर, के घिउ आफैमा स्वस्थ छ त ?

भन्नै पर्दा घिउ एक किसिमको चिल्लो पदार्थ हो । हाल सम्मको कुरा गर्नुपर्दा चिल्लोयुक्त आहारले विश्वव्यापी रूपमा खराब प्रतिष्ठा कमाएको छ । फ्याट अर्थात् चिल्लो पदार्थ एक अत्याधिक क्यालोरी भएको सुक्ष्मपोषक तत्व हो, त्यसैले फ्याटयुक्त खाद्ध पदार्थ सेवनले तौल बढ्ने र मोटोपनाजस्ता समस्या बढाउँछ । घिउ र अन्य प्रकारका नौनीहरूमा पनि उच्च स्याचुरेटेड फ्याट हुन्छन्, जुन लामो समयदेखि नै हृदय रोगसँग सम्बन्धित छ ।

तर अध्ययनले उल्टो देखाएको छ । ओलिभ आयल र एभोकाडो प्रयोग गरिएका चिल्लो आहारले माटोपनलाई बढावा दिनेभन्दा पनि भोक सन्तोष पार्ने स्वस्थ आहारको रूपमा देखिएको छ । स्याचुरेटेड फ्याटलाई रोगसँग सम्बन्धित तत्वको रूपमा लिइरहँदा केही विज्ञहरू भने यसलाई स्पष्ट रूपमा जोखिमयुक्त तत्व भन्न नमिल्ने बताउँछन् ।

‘मैले जति धेरै अनुसन्धान गरेको छु, स्याचुरेटेड फ्याट तुलनात्मक रूपमा त्यति नै धेरै न्युट्रल अर्थात् तटस्थ रहेको पाएको छु, अर्थात्, मुटुको लागि न त राम्रो न त नराम्रो’, टफ्स युनिभर्सिटिका हृदयरोग विशेषज्ञ तथा पोषणविद् डारुइस मोजफ्फारियन भन्छन्, ‘उदाहरणका लागि दुग्ध चिल्लो हृदयरोग अथवा मधुमेहसँग जोडिएको जस्तो देखिदैन, बरु यसले मधुमेहविरुद्ध सुरक्षा दिने देखिन्छ ।’

भर्खरै भएका केही खाद्यपदार्थसँग सम्बन्धित अध्ययनहरूले स्याचुरेटेड फ्याटयुक्त आहारलाई स्वास्थ्य लाभसँग जोडेका छन् । २०१६ मा नौनीको विषयमा भएको एक समीक्षाले हृदयरोग वा मधुमेह र नौनीको सेवनमा तटस्थ सम्बन्ध देखाएको थियो ।

‘स्याचुरेटेड फ्याट्टी एसिडको सेवन उचित होइन र यसको सेवनले हृदयको कोरोनरी धमनीको रोगको जोखिम बढाउँछ भन्ने जनचासो थियो’, द्विवेदी भन्छन्, ‘जसका कारण केही मानिसहरूले घिउलगायत स्याचुरेटेड फ्याट सेवन गर्न बन्द समेत गरेका छन् ।’

घिउको सेवनले हृदय र स्वास्थ्यको जोखिम बुझ्ने प्रयासमा द्विवेदीले मुसामाथि एक अध्ययन गरेका थिए । (जनावर माथिको अनुसन्धान मानिसमा पनि लागु हुन्छ भन्ने जरुरी त छैन । तर, विशिष्ट घिउमा आधारित एकदमै कम मात्र अध्ययन भएका छन् । द्विवेदीको यो कार्य तीमध्ये एक हो ।)

पहिलो चरणमा एकदमै स्वस्थ्य मुसाहरूमा अध्ययन गरिएको थियो । सो अध्ययनमा मुसाहरूको खानामा १० प्रतिशत घिउ राखिएको थियो । जसबाट हृदयरोगसँग सम्बन्धित कोलेस्ट्रोल र अन्य कुनै संकेत देखिएन । दोस्रो चरणमा भने रोगी मुसाहरूमा अध्ययन गरिएको थियो । यस अध्ययनले भने घिउयुक्त भारी खानाले मुसाहरूको कोलेस्ट्रोल र ट्राइग्लाइसिराइड बढेको थियो ।

‘पोषणजन्य अनुसन्धानमा मानिसका लागि मुसाहरू राम्रा प्रयोगात्मक मोडल ठहरिन्छन्’,द्विवेदी भन्छन्, हाम्रो खोजअनुसार खानामा १० प्रतिशत घिउको उपभोगले हृदयरोगको जोखिम बढ्दैन, तर हृदयरोगी परिवारको आनुवंशिक र वंशाणुगत गुण बोकेकाहरूलाई भने १० प्रतिशत घिउ पनि जोखिमपूर्ण हुन्छ ।

अन्य प्रकारका नौनीभन्दा घिउ स्वस्थ्यबर्धक छ भन्न त्यति धरै ठोस प्रमाण त छैनन् । युनिभर्सिटी अफ नर्थ क्यारोलाइनाका पोषणविद् प्राडा रोजलिन्ड कोलम्यान भन्छन्, ‘घिउका विशेष स्वास्थ्य दिने गुणहरूका दावी प्रमाणित भएका छैनन् ।’

‘ल्याक्टोज पचाउन नसक्ने वयस्कहरूले दूधका ठोस पदार्थ बाँकी नरहेको घिउ पचाउन सक्छन् । सादा नौनीमा भन्दा घिउमा खाना पकाउँदा कम धुँवा आउँछ र खाना स्वस्थ्यबद्र्धक पनि हुन्छ’, कोलम्यान भन्छन्, ‘नौनी र घिउमा उस्तै किसिमको फ्याट हुन्छन्, त्यसैले दुबैको मध्यम प्रयोग गर्न सिफारिश गरिन्छ । ’

यी सबै कुराले यो सिफारिश गर्छ कि स्वस्थ्य मानिसले खानामा चिल्लोको प्रयोग गर्ने हो भने घिउ नै उत्तम विकल्प हो । तर घिउ नै सर्वश्रेष्ठ खाद्यपदार्थ हो र यसलाई अन्य चिल्लोको विकल्पमा प्रयोग गर्नुपर्छ भन्ने किसिमको सुझाव दिन कुनै कडा प्रमाण छैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested