English

किबी खेतीले बनाउँछ समृद्ध



आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुन थालेपछि भोजपुर जिल्लाका कृषक व्यावसायिक किबी खेतीतर्फ आकर्षित भएका छन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरिसकेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै आफूहरू व्यावसायिक किबी खेतीमा लागेको कृषक बताउँछन् ।

एकपटक रोपिएपछि बर्षौसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किबी खेतीमा लागेका छन् । विशेष गरेर भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, वडा नं ४ नागीको लुङ्गिन र वडा नं ५ को मझौले तथा पौवादुङ्मा, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले यसको व्यावसायिक खेती गरिरहेका छन् ।

दिमागको तेज र रक्तशुद्धिका साथै युरिक एसिड, अल्सर रोगीका लागि उपयोगी किबी एक हजार ५०० मिटरदेखि दुई हजार ४०० मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । एक बगानबाट वर्षमा चार सय–पाँच सय केजी किबी उत्पादन हुने भए पनि जिल्लाको कुल उत्पादनको अभिलेख भने राखिने गरेको छैन ।

केही कृषकले रहरले खेती गरे पनि टेम्केमैयुङ–४ नागीमा भने व्यावसायिकरूपमा नै यसको खेती भइरहेको छ । व्यावसायिक रूपमा १५० भन्दा बढी बिरुवा लगाएर यसको खेती गरिरहेको नागीका नवीन राईले बताए । मकै फल्ने बारी मासेर पाँच वर्ष अघिदेखि किबीको व्यावसायिक खेती भइरहेको उनको भनाइ छ ।

रोपिएको दुई वर्षदेखि केही उत्पादन दिन थालेकामा यस वर्षदेखि भने उत्पादनबाट दोब्बर आम्दानी लिने लक्ष्य नवीनको छ । उनले भने, ‘किबीले राम्रो उत्पादन दिन थालेको छ । मकै, आलुबाट खास आम्दानी थिएन । अहिले त्यही बारीबाट राम्रो आम्दानी लिँदै आएको छु । यस क्षेत्रलाई किबी पकेट क्षेत्र बनाउने मेरो लक्ष्य छ ।’

नवीनले सुरुमा इलामबाट बिरुवा ल्याएर खेती सुरु गरेका हुन् । किबीका साथमा पाखे अलैँची र खोर्सानीसमेत खेती गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने उनले बताए । राईका बारीमा रु दुई लाखदेखि तीन लाखसम्मको किबी फल्ने गरेको छ । उनले किबीखेतीबाट वार्षिक रु छ लाखसम्म आम्दानी लिने अपेक्षा रहेको बताए ।

आफ्ना बारीमा उत्पादित किबीमध्ये केही गाउँमा खपत हुने र बाँकी बाहिरी जिल्लामा बिक्री गर्दै आएको नवीनले जानकारी दिए । किबी प्रतिकेजी रु २५० देखि रु ३०० मा बजारमा बिक्री हुने गरेको छ । नजिकै मध्यपहाडी राजमार्गसमेत बनिरहेको हुँदा उत्पादित किबीले राम्रो बजार पाउनेमा उनी आशावादी छन् ।

‘मैले खेती गर्न थालेपछि अन्य साथीहरूको पनि यसतर्फ आकर्षण बढेको छ । सडकको पहुँच वृद्धि भइरहेको छ । आगामी दिनमा बजारीकरणमा समेत थप सहजता हुने आशा बढेको छ’, नवीनले भने ।

व्यावसायिक रूपमा किबीखेती लगाउने हो भने वर्षमा चार पाँच लाख कमाउनका लागि युवाहरू अर्काको देशमा दुःख गर्न जानु पर्दैन । पछिल्लो समय किबीखेती धेरै मानिसको रोजाइमा पर्ने बालीका रूपमा स्थापित भएको छ । गाउँमा परम्परागत बाली छाडेर मानिसहरूले यसको व्यावसायिक खेती थालेका छन् ।

त्यस्तै टेम्केमैयुङ गाउँपालिका ५ मझौलेका एकराज विष्टले पनि किबीको व्यावसायिक खेती गरिरहेका छन् । विष्टले करिब सात रोपनी क्षेत्रमा गत वर्षदेखि किबीखेती थालिएको बताए ।

उनले भने, ‘राम्रो आम्दानी हुने भएपछि मैले व्यावसायिक खेती थालेको छु । फल लिनका लागि तीनदेखि चार वर्षसम्म लाग्छ तर अन्यबालीका तुलनामा किबी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । म धेरै वर्ष विदेशमा बसेर अहिले नेपालमै किबीको खेतीमा लागेको हुँ ।’

किबीबाट सोचे जस्तो आम्दानी लिन सुरुमा जमिन तयार गर्दा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । पहिलो पटक खेती गर्ने कृषकले कृषि प्राविधिक अथवा अनुभवी कृषकको सल्लाह लिनुपर्ने उनले बताए ।

कृषक विष्टले भने, ‘खास गरेर किबीको बिरुवा हिउँद महिनाअर्थात पुसदेखि माघ अन्तिमसम्म लगाउन उपयुक्त हुन्छ । बिरुवा लगाउनुपूर्व तीनदेखि चार फिट गहिराइ र सोही बराबरको चौडाइमा प्राङ्गारिक मल कुहाएर लगाएमा राम्ररी फस्टाउँछ तर धेरै साथीहरूले यसरी खेती गरेको पाइँदैन । त्यसो भयो भने राम्रो आम्दानी लिन सकिँदैन ।’

किसानले व्यवसायिक रुपमा खेती गरिरहे पनि स्थानीय तह तथा सरोकार पक्षले यसको विस्तारमा ध्यान दिनुपर्ने किसानको माग छ । साथै उत्पादित किबीलाई बजारीकरणमा समेत ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।

‘किबी किसानको आर्थिक अवस्था सुधारमा टेवा पुर्‍याउने बाली हो । एक पटक राम्रो परिश्रम गरेर विस्तार गर्न सकियो भने यसबाट धेरै वर्ष सहजरूपमा आम्दानी लिन सकिन्छ । त्यसैले यसको थप विस्तारमा राज्यले सहयोग गर्न आवश्यक छ । धेरै मात्रामा उत्पादन गर्न सकियो भने बिक्रीवितरण गर्न खासै समस्या छैन,’ किसान विष्टले भन्नुभयो ।

टेम्केमैयुङ गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत यसको खेती विस्तारमा सहयोग गरिरहेको छ । सम्पूर्ण किसानलाई व्यावसायिक तथा आधुनिक खेतीमा लगाई गाउँपालिकालाई कृषिमा नमूना बनाइने गाउँपालिकाले जनाएको छ ।

विभिन्न समयमा किसानलाई अनुदान दिनेलगायत अन्य आर्थिक तथा प्राविधिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए ।

उनले भने, ‘यहाँको खेतीको सम्भावना हेरेर सबै बालीलाई प्रोत्साहन गरिरहेका छौँ । हाम्रो गाउँपालिकाको माथिल्लो क्षेत्र अलि बढी चिस्यान खालको भूगोल छ । त्यसैले यहाँ विशेष गरेर किबीको राम्रो सम्भावना छ । त्यही भएर यसको खेतीमा लागेका कृषकलाई सहयोग गर्ने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको छ ।’

व्यावसायिक खेतीमा लागेको कृषकलाई सरकारले विशेष कार्यक्रम बनाएर प्रोत्साहन गर्न सके देशको आर्थिक विकासमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । यहाँको भौगोलिक विविधतालाई ध्यानमा राखी माटोअनुसारको खेती विस्तारमा ध्यान दिन आवश्यक रहेको किसान बताउँछन् ।

स्थानीय कृषक रत्नबहादुर विष्टले भने, ‘किबीको राम्रो जातको पहिचान गरेर लगाउन सकियो भने एक बोटबाट एक सयदेखि १५० केजीसम्म फलाउन सकिन्छ । व्यावसायिक रूपमा लगाउने हो भने वर्षमा रु चार पाँच लाख कमाउनका लागि युवाहरू अर्काको देशमा दुःख गर्न जानु पर्दैन । त्यसैले पछिल्लो समय किबीखेती धेरै मानिसको रोजाइमा पर्ने बालीका रूपमा स्थापित भएको छ । अहिले हाम्रो गाउँमा परम्परागत बाली छाडेर मानिसहरूले यसको व्यावसायिक खेती थालेका छन् ।’

यो पनि…
मुलुकको अर्थतन्त्र खराब नभएको अर्थमन्त्रीको दाबी
कोरोना महामारीले डिलुलाई बनायो तरकारी व्यवसायी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो