English

पर्यटकको रोजाइमा ‘मिनी ग्रेटवाल’



तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर ‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ बन्न थालेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले एक करोड रुपैयाँ खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनी ग्रेटवालमा पर्यटकको आर्कषण बन्दै गएको हो ।

प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्धि कमाएको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माणपछि पर्यटकको आगमनमा वृद्धि हुँदै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । उनले भने, ‘विदा, शुक्रबार र शनिबारको दिन एक हजारदेखि दुई हजारसम्म पर्यटक आउने गरेका छन् ।’

बाह्य पर्यटक खासै देख्न नपाए पनि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएकाले बन्दीपुर पुग्ने जो कोही पर्यटक मिनी ग्रेटवाल पुगेर मात्रै फर्किने गरेको सुवेदी बताउँछन् । ‘मिनी ग्रेटवाल’को थप निर्माणका लागि पर्यटन पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सात करोड विनियोजन भएकाले छिट्टै टेण्डरका लागि प्रक्रिया अघि बढाइने छ ।

केन्द्र सरकारको चार करोड ५५ लाख र बन्दीपुर गाउँपालिकाको दुई करोड ४५ लाख साझेदारी रहेको सो गाउँपालिकाले जनाएको छ । उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटललगायतका संरचना निर्माण गर्ने योजना छ । बहुवर्षीय कार्यक्रमअन्तर्गत विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)मा १९ करोड रहेको छ भने २०७९ फागुन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको रहेको र मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडा र साइकलबाट सवार गर्न सकिने बन्दीपुर गाउँपालिकका अध्यक्ष पूर्ण थापाले जनाए । मुकुन्देश्वरी डाँडामा संग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । पदमार्ग निर्माणपछि स्थानीय युवालाई घोडा चढाउने तालिम प्रदान गरिने अध्यक्ष थापाले बताए ।

पर्यटन व्यवसायी बैश गुरुङका अनुसार बन्दीपुरमा आउने पर्यटकका लागि मिनी ग्रेटवाल थप आकर्षण स्थलको विकसित हुँदै गएको छ ।

पर्यटन व्यवसायी बैश गुरुङका अनुसार बन्दीपुरमा आउने पर्यटकका लागि मिनी ग्रेटवाल थप आकर्षण स्थलको विकसित हुँदै गएको छ ।

तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा हेर्न सकिन्छ । पश्चिमको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङ्टाङ, हिमशृङ्खलाका सयौँ चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ ।

प्रमुख आकर्षण दोहोरो लाइन मिलाइएका ढुङ्गाले छाइएका कलात्मक घर, नेवारी संस्कृति, सफा र राम्रा बाटो, थानीमाई खड्गमाई, बिध्यवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, शहीद पार्कलगायतका बन्दीपुरको दृश्यावलोकन गर्ने मुख्य स्थान हुन् ।

बजार वरपर गुरुङ समुदायको घाटु, मगर समुदायको कौरा, स्थानीय खानाका परिकारले पर्यटकलाई लोभ्याउँछ । नेपालको उत्कृष्ट हिल स्टेशन मानिने बन्दीपुरमा यहाँको स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा, गाईजात्रा, रोपाइँ जात्रा, लाखे नाचका लागि जिल्लामै अग्रस्थानमा छ । बन्दीपुरमा प्याराग्लाइडिङका लागि पनि प्रचुर सम्भावना छ । रासस



सम्बन्धित खबरहरु

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल

बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन हेतु वर्षेनी हुँदै आएको ‘हाइक फर नेपाल’ यसपटक पनि आयोजना गरियो । पोखरेली मञ्च यूकेले सधै

Latest










Popular
Suggested