English

माटाका कोठीका अभावमा चैते बाली थन्क्याउन समस्या



चैतेबाली धमाधम काटिन थालेपछि जिल्लाको भङ्गाहा नगरपालिका–४ पलार बस्तीका चौठी बाँतर बाली थन्क्याउने चिन्ताले पिरोलिका छन् ।

गहुँ, रहर, चना, मसुरोसहितका चैते बाली धमाधम काटिन थालिएसँगै यी बाली कसरी सुरक्षित राख्ने भन्ने कुराले उनलाई पिरलेको हो । पछिल्लो समयमा गाउँघरतिर चाँडै घुन लाग्ने चामल, गहुँ, मुसुरो, चना (बदाम) र रहरलगायतका खाद्यान्न भण्डारण गर्न बनाइने माटाका कोठी बन्न लगभग छाडिसकेको छ । यसबाट किसानमा बाली सुरक्षित भण्डारण गर्नेबारे चिन्ता देखिएको हो ।

प्रत्येक घर/घरमा माटाका कोठी (भकारी)मा बाली राखेपछि घुन लाग्दैनथ्यो, अब पुराना कोठी फुटेर गए, नयाँ बन्न छाडेपछि चैतेबाली सुरक्षित कसरी राख्ने भन्ने चिन्ता छ ।

अन्नपात सुरक्षित भण्डारणका लागि विगतमा घरघरै माटाका कोठी बनाइन्थे । यसको अभावमा चाँडै घुन लाग्ने खाद्यान्न सुरक्षित भण्डारणमा समस्या भएको किसानको भनाइ छ । ‘प्रत्येक घर/घरमा माटाका कोठी (भकारी)मा बाली राखेपछि घुन लाग्दैनथ्यो’, ८० वर्षीय बाँतरले भने, ‘अब पुराना कोठी फुटेर गए, नयाँ बन्न छाडेपछि चैतेबाली सुरक्षित कसरी राख्ने भन्ने चिन्ता छ ।’

लिसाइलो माटो मुछेर बनाइने कोठीमा राखिने बालीमा घुन नलाग्ने भएकाले पाका किसानलाई यसको अभाव खट्किएको छ । ‘माटाका कोठीमा बाली राखेपछि ढुक्क भइन्थ्यो, न घुनले खाने डर..न पोखिने चिन्ता !’ भङ्गाहा–४ कै रामनगर बस्तीकी इजोतीया चौधरीले भनिन्, ‘अब त घरमै आफै खान राखिने खाद्यान्न घुनबाट बचाउन पनि जानाजान विषादि मिसाउन पर्ने भयो ।’

माटाका कोठीमा यी खाद्यान्न राखेर माटाकै ढक्कनले घ्याप्प छोपेपछि वर्षौंसम्म जस्ताको त्यस्तै रहन्थ्यो, खै अबका छोरी, बुहारी त के हो कोठी भन्या सोध्न थाल्याछन् !

चामल, चना, रहर, गहुँ र मुसुरोजस्ता चाँडै घुन लाग्ने खाद्यान्न अब माटाका कोठी बन्न छाडेपछि विषादि मिसाएर राख्नु परेको किसानको गुनासो छ । ‘हेर्नोस न जानाजान विष खान तयार छौं,‘ उनले भनिन्, ‘माटाका कोठीमा यी खाद्यान्न राखेर माटाकै ढक्कनले घ्याप्प छोपेपछि वर्षौंसम्म जस्ताको त्यस्तै रहन्थ्यो, खै अबका छोरी, बुहारी त के हो कोठी भन्या सोध्न थाल्याछन् , खै के भनौँ !’

मिथिला क्षेत्रमा खास गरी थारु समुदायमा माटाका कोठी बनाउने कुरा कौशलको रुपमा लिने गरिन्थ्यो । माटाका कोठी खाद्यान्न सुरक्षाका लागि भरपर्दो हुनसँगै यो बनाउने कुरा कौशल र थारु संस्कृतिसँग जोडिदा बुहारी छनौट गर्दा कन्यार्थीले यो सीपबारे सोधपुछ गर्ने गरेका गौशाला नगरपालिकाको बिशरपुरका बासिन्दा अमरेन्द्र चौधरी थारु बताए ।

हाम्रो जातिमा दुईदशक पहिलेसम्म जतिसुकै सम्पन्न भए पनि कन्या खोजिदा तिनले माटाका कोठी बनाउन, काँस (एक प्रकारको वनस्पति)को गुवोबाट ढकी बनाउन जानेका छन् कि छैनन् सोधिन्थ्यो ।

‘हाम्रो जातिमा दुईदशक पहिलेसम्म जतिसुकै सम्पन्न भए पनि कन्या खोजिदा तिनले माटाका कोठी बनाउन, काँस (एक प्रकारको वनस्पति)को गुवोबाट ढकी बनाउन जानेका छन् कि छैनन् सोधिन्थ्यो’, उनले भनिन्, ‘अब त ती सबै कुरा हराइ सके, अनि के कोठी देखिनु ?’ माटाका कोठी बन्न छाडेपछि आफ्नो जातीय संस्कृति र पहिचानको कुरा पनि ओझलिएको उनको थप भनाइ छ ।

कोठी बन्न छाडेपछि सघन थारु बसोबासका जिल्लाका भङ्गाहा, धर्मपुर, भीमगढ, बखरी, मेघरोल, मझौलिया, बनरा, गोरहन्ना, हरखपुर, विशरपुर, पर्सा, निगौल र रजखोरसहितका बस्तीका थारु पनि अब खाद्यान्न थन्क्याउन प्लाष्टिकका डोल, बाल्टिन र ड्रम प्रयोग गर्न थालेका छन् । ‘के गर्नु बाबु, आफ्ना नौ नाडि बसी हाले’ बखरी थारु बस्तीकी पारोवती राय भन्छिन्, ‘अबका छोरी, बुहारीले यसौ सिकौ भन्ने चासो नै देखाउँदैनन्, अब केही वर्षपछि त कोठी भनेर देखाउने कुरा के रहला र ?’ पछिल्लो पुस्ताको अरुचीले अब हस्तसीपको खास नमुना मानिने कोठी बन्न छोडेको कुरामा आम थारु सहमत देखिन्छन् ।

माटाका कोठीकाे कुरा नातिनातिनालाई सुनाउने कथाजस्तै भयो ।

तराईमधेश क्षेत्रमा थारु महिलाकै सामिप्यताले अन्य जातजातिका महिलाले पनि माटाका कोठी बनाउन सिक्ने गरे पनि थारु समुदायमै यो कुरा हराउन थालेपछि अन्त के खोज्नु ? भन्ने बुढापाकाको प्रतिक्रिया हुने गरेको छ । विगतमा कस्का कस्ता कोठी भनेर सामाजिक प्रदर्शन र चर्चा नै हुने गरेको कुरा अब पछिल्लो पुस्तालाई कथा बन्न पुगेको शिक्षण पेसाबाट अवकास लिएका भङ्गाहा–७ मेघरोल बस्तीका ६५ वर्षीय चन्द्रनारायण सिंह थारु बताउँछन् । प्रत्येक दिनको अलिकति फुर्सतको क्षण निकालेर महिनौँ लगाएर तयार गरिने कलात्मक कोठी हेर्न बस्तीमा हल्लीखल्ली नै हुने गरको विगत सम्झँदै चेतन ठाकुरले भने, ‘अब यो कुरा नातिनातिनालाई सुनाउने कथाजस्तै भयो ।’

चार दशक अघिसम्म तराईमा बिघौंबिघा जग्गाका मालिक हुँदा एउटै घरमा निक्कै गहुँ, चना, रहरलगायतका फसल हुने र चामल पनि निक्कै थन्क्याउनुपर्ने भएकाले त्यतिबेला घुनबाट खाद्यान्न बचाउन कोठी बनाउने चलन रहेको बुझिन्छ तर पछिल्ला वर्षहरूमा जग्गाको स्वामित्व घट्दै गएर केही कठ्ठा बिघाको स्वामित्व बाँकी रहेपछि कोठी बनाउने कुरा प्राथमिकतामा पर्न छाडेको बताउने पनि छन् ।

जग्गाको स्वामित्व खुम्चँदै गएर चैतेबाली उत्पादन मात्रा पनि परिवारमा कम हुन थालेपछि यसको आवश्यकता पनि महसुस हुन छाडिएजस्तो छ ।

‘नयाँ पुस्ताको माटोको कोठी बनाउने हस्तसीपबारे चासो नहुन त मुख्य कुरो छँदैछ’, मिथिला कला संस्कृतिबारे निरन्तर अध्ययन, अन्वेषण गरिरहेका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलले भने, ‘अब जग्गाको स्वामित्व खुम्चँदै गएर चैतेबाली उत्पादन मात्रा पनि परिवारमा कम हुन थालेपछि यसको आवश्यकता पनि महसुस हुन छाडिएजस्तो छ ।’

मिथिला कला, संस्कृति र परम्पराका पारखीले भने मिथिलाको यो पुरानो परिचयलाई बचाइ राख्नुपर्नेमा जोड दिएका छन् । स्थानीय परम्परा, संस्कृति, कला र साहित्य आफ्नो विशिष्ट पहिचान हुने भएकाले लोप हुँदै गएको माटोको कोठी बनाउने परम्परालाई जोगाउन नयाँ पुस्ताले चाख देखाउन पर्ने बर्दिबास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका प्रधानाध्यापक हरिदेव महतोको भनाइ छ । यसका लागि आफूले साप्ताहिक एउटा अतिरिक्त कक्षा सीप जानेकाबाट माध्यमिक तहका छात्रालाई अभ्यास गराउन चाहेको उनले जानकारी दिए ।

माटोको कोठीमा विषादी नमिसाई खाद्यान्न सुरक्षित हुने भएकाले स्वच्छ र स्वस्थ खानेकुराको रक्षाका लागि कोठीको प्रचार र प्रवद्र्धन अहिले पनि आवश्यक भएको मत बढ्न सके यहाँका बस्तीमा फेरि यो सिर्जनशील हस्तसीपबारे चासो बढ्ने सामाजिक अभियानकर्मी बताउँछन् । माटोका कोठीमा राखिएका खाद्यान्न वर्षौंवर्षसम्म सुरक्षित रहने, स्वाद नबिग्रने र स्वस्थ्यकर हुने भएकाले यो सीप प्रवद्र्धन गर्न यहाँका स्थानीय तहले पनि चासो बढाउन पर्ने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाको सुझाव छ ।

यो पनि…
कौसी खेतीसँगै पाएको आत्मसन्तुष्टि
मौसमी र बेमौसमी खेतीले थारू महिलामा खुसी भर्दै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested