हामीलाई माया चाहिन्छ, मिसाइल होइन
वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले कुनै बेला भने,‘दुईवटा विषय अनन्त छन्ः ब्रह्माण्ड र मानव मूर्खता र म, ब्रह्माण्डको बारे निश्चित छैन ।’ आइन्स्टाइनको यही भनाइलाई सापटी लिने हो भने रसिया र युक्रेनबीच जारी युद्ध यही अनन्त मानव मूर्खताको एउटा उदाहरणझैँ लाग्छ ।
हालसम्मको तथ्याङ्कअनुसार दुई हजारभन्दा बढी युक्रेनी आमनागरिक (विशेषगरी बालबालिका र महिला)ले अनाहकमा ज्यान गुमाइसकेका छन् भने एक लाखभन्दा बढी युक्रेनी नागरिक आफ्नो देशबाट बाहिरिएका छन् । आणविक आक्रमणको चेतावनीसँगै कतिपयले यसलाई तेस्रो विश्व युद्धको आरम्भ हुनसक्ने संकेत भएको समेत दाबी गरेका छन् ।

हुन त यस युद्धको फाइदा–बेफाइदा कसलाई कति के छ भन्ने तर्क–वितर्क र बहस गर्न म कुनै राजनीतिज्ञ होइन तर फेरि आइन्स्टाइनकै भनाइलाई सापटी लिँदै, ‘यदि तपाईं ६ वर्षको बच्चालाई यो विषय किन जायज छ बुझाउन सक्नुहुन्न भने तपाईं आफैँले पनि यो बुझ्नुभएको छैन ।’
म हाल लाइडेन विश्वविद्यालय, नेदरल्यान्डस्मा अध्ययनरत खगोलशास्त्री हुँ । लाइडेन अब्जरभेटरीमा प्रत्येक शुक्रबार अब्जरभेटरी सेमिनार हुने गर्छ जहाँ हामी खगोल विज्ञानका कुरा गर्छौं ।
तर, आज हामीले मानव विज्ञानको कुरा गर्यौं । प्राध्यापक हबका युक्रेनस्थित राष्ट्रिय रेडियो एस्ट्रोनोमी विभागका सहपाठीको इमेलबाट कार्यक्रम आरम्भ भयो ।

‘धेरैभन्दा धेरै हाम्रा साथीहरू आफ्नो परिवारका साथ खार्किभबाट पश्चिमतिर ज्यान जोगाउन लम्किरहेका छन् । मार्सल कानुनअनुसार १८ देखि ६० वर्षका पुरुषहरूलाई देश छोड्न रोक लगाइएको छ र धेरै हाम्रा समकक्षी महिला खगोलविद्हरू आफ्ना श्रीमान्लाई यहाँ छाडेर बोर्डर क्रस गर्न तयार छैनन् । म अझै खार्किभमै छु । आज हल्का शान्त छ (हिजोको दिन अत्यन्तै भयानक थियो) । खै के गरेर हो आज मेरो घरमा बत्ती आयो (कति बेर रहने हो थाहा छैन), त्यही भएर इमेल पठाउन सकेँ । अहिलेसम्म ओडिसा शान्त नै छ जहाँ डेकामिटर रेडियो एस्ट्रोनोमी विभागका १७ जना कर्मचारीहरू कार्यरत छन् जसमध्ये १० जना वैज्ञानिक हुन् ।
पोट्लाभा र लाभोभस्थित हाम्रा साथी संस्थाहरूले हाम्रा कर्मचारीलाई अस्थायी आवासको जोहो गरेका छन् । हामी पनि प्रयासरत छौँ । हामीलाई सहयोग गर्ने प्रयास जारी राख्नुभएकोमा धन्यवाद । अहिले नैतिक साथ पनि त्यत्तिकै आवश्यक छ । मेरो आफ्नै अनुभवमा पनि दुई दिनसम्म बिना कुनै सूचना बस्नु पनि निरन्तर वर्षिरहेका बारुदबीच बस्नुजत्तिकै गाह्रो हुने रहेछ ।’

मास्टर्स, पी.एच.डी, पोस्टडक, स्टाफ साइन्टिस्ट गरी १ सय ३० भन्दा बढी मानव मनहरूको बीचमा जब खगोलविद् काटरिन फ्रान्टसेभाले युक्रेनमा रहेका आफ्ना आमा–बुवा बंकरभित्र रहेको तस्बिर, आफ्नो बाल्यकालदेखिकै मिल्ने साथीको फोटो देखेँ, ध्वस्त स्कूलभवन, अनाथालय, क्यान्सर अस्पतालको तस्बिर, सुरक्षित ठाउँ खोज्दाखोज्दै बाटोमै जन्मेका एक बालकलगायतका तस्बिर र ‘मलाई लागेको थियो आज त हामी पक्कै मर्छाैं’ भन्ने मेसेज देखाइन् । त्यतिबेला न उनका आँसु रोकिए न हाम्रो नै ।
सन् १९९१ मा सोभियत युनियनको विघटन भएदेखिको तथ्यमा आधारित युक्रेनको यथार्थचित्र वर्णन गर्दै ‘पहिले मेरो देश यस्तो थियो, अहिले यस्तो भयो’ भनेर देखाउँदा मेरो मस्तिष्कमा आइन्स्टाइनको भनाइ टिनिनिनी घण्टी बजेजसरी बजिरह्यो ।
अझ मेरो दिमाग त तब शून्य भयो, जब एक खगोलविद्एले ‘युक्रेनमाथिको आक्रमण हामी आम रसियन नागरिकका लागि पनि आश्चर्यजनक थियो । यो एउटा अपराध हो । जीवनमै पहिलोपटक मलाई मेरो जीवन र देश देखेर लाज लागिरहेछ’ भन्दै गर्दा उनको स्वर काँपिरहेको थियो र आँखाबाट बररर आँसु झरिरहेका थिए ।

उनी भन्दै थिए, ‘रसियाका सबै वैज्ञानिक जगत् यस युद्धको विरोधमा छन् । महत्वपूर्ण कुरा रसियामा रहेकाहरूलाई वास्तविक स्थिति जान्ने, थाहा पाउने अवसरबाट वञ्चित गरिएको छ । सूचनाको स्रोत बन्द गरिएको छ ।’
लाइडेन अब्जरभेटरीमा अध्ययनरत रसियाका एक विद्यार्थीले बाल्यकालको सबैभन्दा अविस्मरणीय क्षण युक्रेनमा बिताएका थिए । उनका मिल्ने साथीहरू युक्रेनमा बस्छन् । ‘यो असाध्यै भयानक छ । जे भइरहेछ, गलत भइरहेछ । त्यसैले, अब मैले मेरो मौनता तोड्नै पर्छ । जबदेखि यो युद्ध शुरू भयो म बिहान उठ्नेबेला ज्यादै चिन्तित, दुःखी र तनावग्रस्त हुन्छु । मैले कुनै गल्ती गरेको छैन तर आफूलाई म दोषी पाउँछु ।’ उनको अनुहार रातो थियो, उनका आँखा झुकेका थिए र स्वर एकदम मलिन ।

केही दिनअघि नेपालका प्रख्यात कम्प्युटर वैज्ञानिक मुनि शाक्य सरले मलाई ‘रोजिता त्यहाँ कस्तो असर परेको छ ? यो युद्ध नचर्कियोस् । आफ्नो विशेष ख्याल राख्नु’ भनेर मेसेज गर्नुहुँदा मैले ‘मलाई केही थाहा छैन’ यत्ति मात्र रिप्लाई गरेकी थिएँ । शारीरिक, भौतिक यातनाहरू सँगै यस्तो मानसिक यातना पनि हुने रहेछ, आफूलाई अध्यापन गराउनुभएका प्राध्यापक, सिनियर साथीहरूको अनुभव सुन्दा पटक–पटक फेरि पनि मैले आइन्स्टाइनको भनाइ सम्झिरहेँ । आखिर यो सबको अर्थ के ? यसको औचित्य के ? यो केका लागि ?
भावुक माहोलमा मलाई पार्टिकल फिजिक्स एन्ड अर्लि युनिभर्स विषय अध्यापन गराउनुभएका प्राध्यापक एलेक्से बोयास्र्कीले भने, ‘यो युद्ध हो । हामी भावविह्वल अवश्य छौँ, तर अहिलेको प्रमुख आवश्यकता व्यावहारिक बन्नु हो । म एक भौतिकशास्त्री हुँ, तर विगत एक हप्तादेखि मेरो पेसा फरक भयो र यस्तै कतिञ्जेल रहने हो मलाई थाहा छैन, म दिनरात कसरी हुन्छ सहयोग जुटाइरहेको छ । युक्रेनमा अहिलेको चरम अभाव भनेको खाना र औषधि हुन् । ८० प्रतिशत मृत्यु रगतको तीव्र बहावले भएका छन् । हाम्रा लागि हरपल महत्वपूर्ण छ, कसरी ज्यान बचाउन सकिन्छ भन्ने नै पहिलो प्राथमिकता हो ।’

उनले आफूहरूले कसरी विभिन्न संस्थासँग समन्वय गरी अत्यावश्यक औषधि उपकरण, सेनिटरी प्याड, डाइपरलगायत अत्यावश्यक सामग्री ट्रकमार्फत् ढुवानी गरिरहेको बताए । ‘यो युद्ध रोक्न सक्ने क्षमता रसियाका नागरिकहरूसँग मात्र छ । उनीहरूले नै राष्ट्रपति पुटिनलाई रोक्न सक्छन् । त्यसैले, सकेसम्म धेरैभन्दा धेरै साँचो सही सूचना रसियामा रहेका साथीहरूसम्म पुर्याउनु एकदम जरुरी छ ।’
लाखौँ विस्थापित युक्रेनीहरूमध्ये खगोलविद्हरू पक्कै छन् र उनीहरू छिट्टै शरणार्र्थी बन्नेछन् । छिमेकी राष्ट्र पोल्यान्ड, रोमानिया, मोल्डोभा, स्लोभाकियाको शरण परेका उनीहरूलाई आवास, अध्ययन र अवसर जुटाउन दूरदर्र्शी निकास खोज्नुपर्ने औंल्याउँदै ‘यदि, नेदरल्यान्डमा रहेका प्रत्येक अनुसन्धान केन्द्रले कम्तिमा एक व्यक्तिलाई अवसर दिने हो भने यो समस्या हल गर्न थप टेवा मिल्नेछ’, खगोलविद् पेड्रो रुसोले बताऐ भने अर्का खगोलविद् माटस राइबक लाइडेन विश्वविद्यालयमा अध्ययनरत युक्रेन निवासी विद्यार्थीहरूको अध्ययन शुल्कमा भारी छुट वा मिनाहा गर्ने तथा नैतिक साथ एवं मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउनुपर्ने कुरामा जोड दिँदै थिए ।

‘युद्ध कहिले बन्द हुने थाहा छैन तर यस दौरान ब्रह्माण्डको अध्ययन अनुसन्धानमा प्रयुक्त साह्रै महत्पूर्ण रेडियो टेलिस्कोपहरू ध्वस्त हुँदैछन् । भावी वैज्ञानिक संरचना कसरी पुनर्निर्माण गर्ने हो, अब यसका लागि पनि हामी तयार हुनुपर्छ ।’ कार्यक्रमको अन्त्यमा खगोलविद् हब स्तब्ध देखिए ।
यस युद्धको विरोधमा नेदरल्यान्ड्सका एम्स्टरड्याम, हेगलगायतका प्रमुख शहरहरूमा विभिन्न विरोध र्याली तथा प्रदर्शनीहरू पनि भइरहेका छन् भने सहयोग संकलन अभियानहरू पनि जारी छन् ।
हुन तः मैले पहिलो विश्वयुद्ध वा दोस्रो, प्रत्यक्ष अनुभव गरेकी छैन र म कुनै पनि युद्ध अनुभव गर्न चाहन्न चाहे आफ्नो देशभित्र वा बाहिर । तर, मसित नेपालमा १० वर्ष लामो जनयुद्ध हुँदा स्कूलभित्रै प्रत्येक पुस्तकका राजारानी भएका पानाहरू च्यात्न लगाई माओवादी कार्यकर्ता बन्न माओवादी कमान्डरहरूको दबाब खेपेकी ८ कक्षाकी एक छात्राको मस्तिष्कमा बसेको मानसिक घाउ चाहिँ अझै छ । आँखै अगाडि कसैको हत्या र बम विस्फोटजस्ता सपनामा नि नसोचिने घटनाको प्रत्यक्षदर्शी पनि भएकी छु ।

पत्रकारिता अध्ययन गर्दै गर्दा २०६३ सालको जनआन्दोलनमा प्रत्यक्ष परोक्ष भाग लिएकी छु भने सन् २०१७ मा वन वल्र्ड थिएटरको प्रस्तुति ‘डायरी अफ अ यङ गर्लः आन्ना फ्राङ्क’ नाटकमा आन्ना फ्राङ्ककै भूमिकामा अभिनय गर्ने मौका पाएकी थिएँ ।
त्यतिबेला दोस्रो विश्वयुद्धसम्बन्धी विस्तृत अध्ययनका साथै त्यस युद्धका प्रत्यक्ष भुक्तभोगी व्यक्तित्वको कारूणिक अनुभव पनि सुन्ने मौका पाएकी थिएँ । अझ ती विश्वयुद्धमै केन्द्रित ‘द पियानिस्ट’, ‘बेर फुट जेन’जस्ता चलचित्रको एक एक अंश दिमागमा यसरी छापेको छ कि म त्यो पीडा, यातना र मानव इतिहासको क्रुरताको कल्पनासम्म गर्न सक्दिनँ । त्यसैले, आज म निःशब्द छु ।
कहिलेकाहीँ मलाई अचम्म लाग्छ किन हामी मानिसहरूमा यस्तो अहंकार हुन्छ ! किन ?
यस अवलोन गर्न सकिने ब्रह्माण्डमा करिब १ खर्बभन्दा बढी आकाशगंगाहरू रहेको वैज्ञानिकहरू विश्वास गर्छन् । तिनीहरूमध्ये, मिल्की–वे आकाशगंगा हाम्रो घर हो जहाँ १ देखि ४ खर्ब ताराहरू छन् र हाम्रो सूर्य यीमध्येको एउटा मझौला आकारको तारा हो । सौर्यमण्डलमा अवस्थित हाम्रो पृथ्वी यस आकाशगंगामा रहेका अन्य १ खर्ब ग्रहहरूमध्येको एक हो । तर, अहिले सम्मको वैज्ञानिक खोजअनुसन्धानका आधारमा हामी सबैलाई थाहा छ कि यस ब्रह्माण्डकै एक मात्र जीवित ग्रह पृथ्वी हो ।

हुन तः क्यासिनी मिसन होस् वा केप्लर टेलिस्कोप होस् वा जेम्स वेब स्पेस टेलिस्कोप, हामी पृथ्वीबाहेक अन्यत्र जीवन खोजिरहेका छौँ । तर, सफलता निकै पर छ र यसले पनि हाम्रो पृथ्वी कत्ति बहुमूल्य छ भन्ने प्रस्टै पार्छ । ‘म आज आणविक बम प्रहार गरी पृथ्वी ध्वस्त पार्छु र भोलि शनि ग्रहको उपग्रह युरोपामा बसाई सर्छु’ भन्नु जत्ति रोमाञ्चक सुनिन्छ त्यत्ति नै फेरि आइन्स्टाइनले भनेझैं अनन्त मानव मूर्खताको पुष्टि पनि ।
हामी, मानव, सबैभन्दा विकसित प्रजाति अझ ज्ञान, बुद्धि र विवेकले ब्रह्माण्डकै सर्वश्रेष्ठ प्राणी हौँ । हामीसँग आज जे छ, त्यसको संरक्षण, संवद्र्धन र मनन गर्ने हाम्रो जिम्मेवारी हो ।

यदि, हामीले यसको संरक्षणका निम्ति केही गर्न सक्दैनौँ भने कम्तिमा हामीले पृथ्वी आमाको विनासमा टेवा पुर्याउने सबै मूर्ख कार्यहरू तत्काल बन्द गर्नुपर्छ । कुनै भगवान् वा अरू कसैका लागि होइन आफ्नै लागि ताकि जसरी ६ करोड ५० लाख वर्ष अघि डाइनासोर लोप भए त्यसरी नै भोलि मानव मूखर्ताकै कारण हामी मानवजातिको पनि सखाप नहोस् ।
बुद्धले भनेका छन्– ‘सबैभन्दा खतरनाक, जटिल र चूनौतीपूर्ण युद्ध आफूभित्र नै हुन्छ, आफ्नो अहंकार, क्रोध र आफूमाथि विजय पाउन जत्तिको कठिन युद्ध अरू कुनै हुँदैन ।’ यसका लागि हामीलाई करूणा, सद्भाव, भाइचारा र सह–अस्तित्वलाई अंगिकार गर्ने साहस चाहिन्छ । हामीलाई सहानुभूति र प्रेम चाहिन्छ न कि अर्काे कनै बन्दुक वा मिसाइल ।
यो पनि…
युक्रेन हमला : कस्तो छ पछिल्लो अपडेट ?
रूसविरोधी देशहरूलाई पुटिनले किन दिए चेतावनी ?
חשפניות
Wow, that's what I was searching for, what a information! present here at this website, thanks admin of this website. חשפניות