English

यसरी बन्न सक्छौँ फूलमा आत्मनिर्भर



फूललाई विषय बनाएर यसको सौन्दर्यतामाथि धेरै कुराहरू लेखिएका छन् । चाहे त्यो गीतमा होस् वा साहित्यमा । यस मानेमा फूलको आयतन निकै फराकिलो देखिन्छ । आमनेपालीको जीवनशैलीमा फूलको साइनो जन्मदेखि मृत्युसम्म जोडिएको छ । प्रेमदेखि वियोगसम्म फूल हाम्रो दैनिक जीवनको फूलको उपस्थिति अहिले मात्र होइन उहिलेदेखि नै छ । घरदेखि शहरसम्मलाई सुन्दर बनाउन फूलको प्रयोग हुँदै आएको छ । कतिपय फूलमा त औषधीय गुण पनि रहेका हुन्छन् । शहरको कौसीदेखि गाउँघरको आँगनसम्म फूलले स्थान पाएकै छ ।

तर, नेपाली माटोमा पर्याप्त फूल उत्पादनको सम्भावना भएर पनि हामी चुक्दै आएका छौँ । हाम्रै माटोमा फूल खेतीको अपार अवसर हुँदा हुँदै पनि फूल निर्यात गर्नुपर्नेमा हामी आयातको नियति भोग्न हामी बाध्य छौँ ।

कुनै भोजभतेर वा सभा समारोहका लागि आयातित फूलको प्रयोग गर्नुपर्ने परिस्थिति छ । वर्षेनी करोडौँ रुपैयाँ बराबरको फूल आयात हुँदै आएको छ । २०७७–०७८ मा ३८ करोड ५३ लाख रुपैयाँको फूल आयात भएको व्यापार तथा निकासी प्रावधान केन्द्रको तथ्यांकमा रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । भारत, चीन, युरोप लगायत राष्ट्रबाट फूल आयात भएको एसोसिएसनका महासचिव विश्वमणि पोखरेलले जनाए । ‘फूलका बिउ, सजावट, कटफ्लावर र उत्पादन नहुने जातका फूलहरू आयात गरिन्छ,’ पोखरेलले सुनाए, ‘तिहार, भ्यालेन्टाइन डे लगायत पर्वमा फूलको माग बढी हुन्छ, जसकारणले आयातको खाँचो हुन्छ ।’

अनिल कुमार आचार्य
बागवानी विज्ञ

कृषि क्षेत्रमा आत्मनिर्भर हुनका लागि नेपालमा उच्चस्तरको ल्याब आवश्यक छ, जसको प्रयोगले कृषिमा नयाँ–नयाँ अध्ययन गर्न सकिन्छ ।

पोखरेलका अनुसार दैनिक प्रयोग हुने फूल २५ प्रतिशत अपुग छ । ‘सरकारी तथ्यांकअनुसार ९० प्रतिशत फूल प्रयोगका लागि पुगेको छ, १० प्रतिशत अपुग देखिन्छ, सोही मात्रामा आयात भएको छ,’ उनी अनुमान गर्दै थिए, ‘तर खुल्ला सिमाना भएकाले योभन्दा बढी पनि आयात भएको हुन सक्छ ।’

वर्षेनि १० देखि १५ प्रतिशत फूलको माग बढ्दै गएको हुनाले २५ प्रतिशत फूल अपुग रहेको उनले प्रष्ट पारे । वर्षभरि प्रयोग हुने सयपत्री फूलमा ५५ प्रतिशत भारतको र ४५ प्रतिशत नेपालको प्रयोग भएको पोखरेलले बताउँदै थिए ।

पाँच वर्षमा एक अर्बभन्दा बढी फूल आयात

गत पाँच वर्षमा एक अर्बभन्दा बढी फूल आयात गरिएको एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार पाँच वर्षमा एक अर्ब ९ करोड ६ लाख रुपैयाँको फूल आयात भएको । ०७३–७४ मा ११ करोड ३६ लाख रुपैयाँ, ०७४–७५ मा ११ करोड ५४ लाख रुपैयाँ, ०७५–७६ मा २० करोड ९२ लाख रुपैयाँ, ०७६–७७ मा २६ करोड ८९ लाख रुपैयाँ र ०७७–७८ मा ३८ करोड ५३ लाख रुपैयाँको फूल आयात भएको छ ।

नेपालमा एक सय ५९ हेक्टर क्षेत्रफलमा नियमित फूलखेती गरिँदै आएको पोखरेलले जनाए । ‘यतिको क्षेत्रफलमा वर्ष दिन नियमित खेती हुन्छ । तर, सिजनअनुसार पनि फूलखेती गर्ने क्षेत्रफललाई यसमा समावेश गरिएको छैन, पोखरेल बताउँदै थिए ।

यो बाहेक केही प्लास्टिकका फूलहरू पनि आयात गरिएको छ । जुन विभिन्न चाडपर्व रीतिरिवाज तथा धार्मिक कार्यमा सजाउनका लागि प्रयोग गरिन्छ ।

आत्मनिर्भरको बाटो

नेपालमा फूल उत्पादनको सम्भावना राम्रो रहेको विज्ञहरू बताउँछन् । तर, यसका बाबजुद पनि प्राविधिक पक्ष सबल नभएकाले आशा गरेबमोजिम फूलको उत्पादन नभएको बागवानी विज्ञ गोपाल प्रसाद श्रेष्ठको अनुभव छ । ‘फूलको बिउ आयात गरिएको मात्रै प्रयोग भएको छ । पुष्पसम्बन्धी रेखदेख गर्ने नेपालभरिमा एउटै केन्द्र छ तर फूलसँग सम्बन्धित विज्ञ कम छन्,’ उनले सुनाए, ‘फूलको बिउ उत्पादनमा जोड दिनुपर्छ, जसका लागि प्रविधिको विकास तथा अन्य देशका फूल कम्पनीहरूसँग सहकार्य गर्नुपर्छ ।’

गोपाल प्रसाद श्रेष्ठ
बागवानी विज्ञ

फूलको बिउ आयात गरिएको मात्रै प्रयोग भएको छ । पुष्पसम्बन्धी रेखदेख गर्ने नेपालभरिमा एउटै केन्द्र छ तर फूलसँग सम्बन्धित विज्ञ कम छन्

यहाँँ उत्पादित फूललाई व्यवस्थापनका लागि उत्पादित श्रेत्रमा सरकारी स्तरबाटै फूल कोल्ड स्टोरहरू निमार्ण गर्नुपर्ने श्रेष्ठले सुझाए । फूलमा आत्मनिर्भर हुनका लागि उत्पादनमा जोड दिनुपर्ने पोखरेलको ठम्याइ छ । ‘वर्षैभरि आवश्यक पर्ने फूलमा आत्मनिर्भर हुन सकिन्छ । तर, तिहार, भ्यालेन्टाइन डे जस्ता पर्वमा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ । किनकि, यहाँको उत्पादनले पुग्दै पुग्दैन,’ पोखरेलको सल्लाह छ, ‘जसका लागि किसानलाई अनुदानको व्यवस्था, बजारीकरणमा जोड, बिउ, प्राविधि, फूल स्टोरेजमा ध्यान दिनुपर्छ ।’

वर्षैभरि आवश्यक पर्ने फूलमा आत्मनिर्भर हुन सकिन्छ । तर, तिहार, भ्यालेन्टाइन डे जस्ता पर्वमा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ । किनकि, यहाँको उत्पादनले पुग्दै पुग्दैन

विश्वमणि पोखरेल , महासचिव
फ्लोरिकल्चर एसोसिएसन नेपाल

फूलको बिउ, बिरुवा आयात गर्ने कम्पनीसँग सहकार्य गरी नेपालमै उत्पादन गर्नुपर्ने जोड दिनुपर्ने बागवानी विज्ञ अनिल कुमार आचार्य बताउँछन् । आचार्य भन्दै थिए, ‘नेपाली रैथाने फूललाई प्राथमिकतामा राखी उत्पादनमा जोड दिन आवश्यक देखिन्छ ।’

सरकारी स्तरबाटै कृषिजन्य वस्तुको चेकजाँचका लागि कृषि ल्याब नरहेको बताउँदै उनले भने, ‘कृषि क्षेत्रमा आत्मनिर्भर हुनका लागि नेपालमा उच्चस्तरको ल्याब आवश्यक छ, जसको प्रयोगले कृषिमा नयाँ–नयाँ अध्ययन गर्न सकिन्छ ।’

फूलमा आत्मनिर्भर बन्न असम्भव छैन । सरकारको नीति र निजी क्षेत्रले सरकारको होस्टेमा हैंसे गर्न सक्ने वातावरण निर्माण गरेमा फूल उत्पादकलाई हौसला प्राप्त हुन जान्छ । जसले गर्दा नेपालका हरेक बाँझो जग्गालाई बाह्रै महिना फूलैफूलले ढकमक्क बनाउन सकिन्छ । अनि पो हुन्छ–फूलको आँखामा फूलै संसार ।
यो पनि…
मासुमा आत्मनिर्भर बन्न खसी–बोकाको उत्पादन बढाए पुग्ने
आलुमा आत्मनिर्भर हुन ३ लाख ४१ हजार मेट्रिक टन खाँचो
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ । बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले १२ असोजदेखि अग्रिम

काठमाडौं – नायक रमेश उप्रेती र रस्ना पौडेल बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण  डान्सिङ शैलीको   ‘छाता ओढाइदेउन’ बोलको

हङकङमा संविधान दिवस धुमधामका साथ मनाइएको छ। हङहङस्थित महावाणिज्यदूतावासले आयोजना गरेको संविधान दिवस तथा शुभकामना कार्यक्रममा महावाणिज्यदूतावासका अधिकारी,विभिन्न संघसंस्थाका प्रतिनिधि,